• २०८१ बैशाख २८ गते शुक्रवार

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’

सानो छँदा कपाल काट्न भनेपछि मेरो सातो जान्थ्यो । कपाल काटिसकेपछि भने म रमाई रमाई नुहाउने गर्थें । वर्षाको बेला झरी पर्नासाथ गाउँका भुराभुरी साथीसङ्ग म पनि नाङ्गै भुतुङ्गो बलेँसीको पानीमा नुहाउन जान्थें । जिउमा आएका घमौरा र अन्य खटिराहरू पनि आकाशे पानीमा नुहाउँदा हराएर जान्छ भनेर घरका मान्छेले पनि गाली नगर्ने हुँदा उफ्री उफ्री कुद्दै नुहाउँथ्यौँ । कपाल काट्न भनेपछि मनै लाग्दैनथ्यो । त्यसको पनि कारण थियो तर म कसैलाई बताउन सक्दिनथें ।

कात्तिकमा जन्मेको मान्छे झन त्यसमाथि आइतबारे पर्यो भने रोगी हुन्छन् भन्थे नभन्दै हो रहेछ । म पेटको रोगी थिएँ सानैदेखि । खाएको पचाउन नसक्ने । जे खाए पनि निस्की हाल्थ्यो पिर्र पिर्र । रोगी मान्छेको कपाल र नङ्ग मात्र बढ्छ भन्थे । त्यो पनि सत्य साबित भयो आफ्नो लागि । मेरो पनि कपाल र नङ्ग चाँड्चाँडै बढने गर्थ्यो र आफूलाई भने कपाल बढेकोमा दिक्क लाग्थ्यो
त्यो स्थिति अझै कायमै छ भनौँ । यसले खाएको जति जिउमा नलागेर खाली कपाल र नङ्गमा लाग्दो रहेछ भनेर घरका सबैले सुनाउने गर्थे । एक पटक काटेको कपाल महिना दिन नपुग्दै फेरि काट्नु पर्ने भइसक्थ्यो । कपाल पाल्न पाइन्नथ्यो । बाध्य भएर पनि कटाई रहनु पर्थ्यो । हामी सानो छँदा अहिलेको जस्तो घुम्ने मेचमाथि बसेर कपाल काटी दिने सैलुनको चलन थिएन ।

हाम्रो गाउँमा तराईतिरका एक जना वृद्ध हजाम थिए । उनलाई सबै जना ठाकुर भनी बोलाउने गर्थे । गणेशस्थाननेर
बजारमा उनले एउटा सानो कोठा डेरा लिएर बसेका थिए । म सात वर्षको हुँदो हुँ । ती ठाकुर ग्राहक पाउँदा आफ्नै डेरामा र नपाउँदा गाउँ डुली डुली घर घर चाहारी कपाल काट्दै हिंड्थे । जो ग्राहक जहाँ भेट्यो त्यहीं टुक्रुक्क भूईंमै बसी कैंची चलाई हाल्थे । हातमा एउटा सानो काठको बक्सा र एउटा काठको सानो पिर्का हुन्थ्यो । काठको बक्सामा दुई चार वटा काँगियो दुई तीन थान कैंची दारी काट्ने छुरी एउटा सानो ऐना र दारी काट्नु अघि लगाउने एउटा क्रिम र ब्रस एउटा सानो सिलाभर कचौरा अनि एउटा फिटकिरीको टुक्रा र डिटोलमा टन्न पानी हालेर बनाएको झोलको एउटा बोतल हुन्थो । कपाल र दारी काट्ने बेलाँ घाँटीमा बेर्न भनी आफैंले घाँटीमा बेरेको मैलो एउटा गम्छा प्रयोग गर्ने गर्थे । ग्राहक हेरी उनको फरक व्यवहार हुने गर्थ्यो ।

गाउँतिरबाट झरेका सोझा साझाको दारी काट्दा क्रिम नदलेर केवल पानीले काम चलाउँथे भने फिटकिरी मात्र दलेर डिटोल पानी पनि बचाउँथे । बाल कटाई बाल कटाई भनेर घर घर डुली कपाल काटेर उनले जिविका चलाएका थिए । हामी पनि ती ठाकुरसङ्ग कपाल कटाउँथ्यौँ । हाम्रो कपाल काट्न ठाकुरलाई बुबाले घरमै बोलाउने गर्नु हुन्थ्यो । घरमा बोलाउँदा दाजुभाइ र बुबाको पनि कपाल काट्न एकै ठाउँमा सजिलो हुन्थ्यो । त्यसमाथि आफ्नै घरको पिर्कामाथि आरामसंग बसेर काट्न पाइन्थ्यो भने आफ्नै घरको सफा गम्छा घाँटीमा बेर्न पाइन्थ्यो । जब मेरो पालो आउँथ्यो मलाई उकुसमुकुस हुन थाल्थ्यो । मेरो टाउकोमाथि कैंची चल्न थालेपछि काउकुती लागेर म चलमलाउन थाल्थें ।

ठाकुर मेरो टाउकोलाई उनको दुइटा घुँडाले अँठ्याएर निहुरिन बाध्य पार्थे । निहुरिंदा मलाई अपठ्यारो हुन्थ्यो उनी झन घुँडा कस्न थाल्थे । निहुरिएर बस्दा उनले लगाएको पातलो मर्दानी धोतिभित्रबाट यामानको कालो माल र त्यसमाथि थुचुक्क बसेको कालो थुतुनो भएको चरा जस्तै एउटा भयानक दृश्य देख्न म विवश हुन्थें । हाइड्रोशिल भएकोले ठाकुरले धोतीभित्र अर्को वश्त्र लगाउँदा रहेनछन् । त्यो देखेर मेरो होस हवास नै उड्थ्यो । भीमफेदीको चिसो ठाउँमा कति दिनदेखि ननुहाएको उनको शरीर ठस्स गन्हाउँथ्यो । वाक वाकी लागेर कति पटक त मैले ठाकुरको धोतीमै थुकी दिएको छु । धन्न थाहा पाएनन् र पो नत्र मार्थे होलान् । ठाकुरको एउटा आँखा डेढो थियो । चलमलाउँदा कानै काटी देलान् भन्ने डरले चुपचाप आँखा चिम्लिएर निहुरिने गर्थें ।

मुखभरि सूर्तीको टुक्रा राखेर चपाई रहन्थे र पिच्च पिच्च थुक्थे । सूर्तीको गन्धले पेट बटारिन थाल्थ्यो । कुन बेला कपाल काटी सक्छन् र मुक्त्त हुन पाईन्छ भन्ने मात्र ध्याउन्न हुन्थ्यो । बुबा र दाजुहरूले कपाल काट्दा सायद यो समस्या भोग्नु परेन । म फुच्चे भएर पनि होला कपाल काट्दा नचलोस् भनेर घुँडाले अँठ्याउने गर्थे । मैले भोग्नु परेको समस्या कसैलाई पनि सुनाउन सकिनँ र भन्ने आँटै आएन । कपाल काटीसकेपछि उनको ज्याला रकम दिएर चियापानी पिलाई आफ्नो बारीमा फलेका मौसमी तरकारीहरू समेत कोशेली दिई बुबाले ठाकुरलाई बिदा गर्नु हुन्थ्यो । ती ठाकुरले केही वर्षपछि जगदिश नाम गरेका आफ्नो युवा छोरालाई पनि भीमफेदीमा ल्याएर राखेपछि मात्र सैलुनको पहिलो शुरूवात भयो ।

कोठाको चारैतिर ठूल- ठूला ऐनाहरू हेर्दै काठको घु्म्ने मेचमाथि बसेर सफा एप्रोन घाँटीमा बेरी सफा काँगियोहरू र कैंचीबाट आरामसाथ बल्ल कपाल काट्न पाइयो । ती जगदिशको आगमनको केही वर्षपछि आफ्नो गाँउ गएका ठाकुर चाहिं घर गृहस्थीमै लागेछन् र फेरि भीमफेदी फर्केर आएनन् । जगदिश पनि अैले कहाँ छन् थाहा छैन तर उनले शुरू गरेको सैलुनमा अरू नै कोही छन् । दशकौँ अघि नै दिवङ्गत भइसकेका ती बंगाली ठाकुरको सम्झनामा हार्दिक श्रद्धाञ्जली।
२०७७/०९/०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *