• २०८१ बैशाख १७ गते सोमवार

काठमाडौँ । आधुनिक नेपाली कविताका एक सशक्त हस्ताक्षर वरिष्ठ साहित्यकार तथा पत्रकार हरि अधिकारीका समग्र कविताहरुको संग्रह छिटै सार्वजनिक हुने भएको छ । ‘कवितासँग पाँच दशक’ शीर्षक दिइएको यो कविता संग्रह यसै वर्षभित्र सार्वजनिक हुने पुस्तकका वितरक शब्दविम्ब प्रकाशनसूत्रले जानकारी दिएको छ ।

विक्रम सम्वत् २०२५ मा पहिलोपटक मूलधारको साहित्यिक पत्रिकामा कविता प्रकाशित गर्दै लेखनको दुनियाँमा प्रवेश गर्नुभएका हरि अधिकारीले त्यसयताका पाँच दशकभन्दा लामो अवधिमा निरन्तररुपमा साहित्यका विविध विधामा कलम चलाउँदै आउनु भएको छ । झण्डै छ दशक लामो आफ्नो लेखनयात्रामा वहाँले रचना गर्नुभएका शुरुदेखि अहिलेसम्मका र संग्रह गरेर राख्न सकिएजति कविता संकलन गरेर एउटै संग्रहका रुपमा प्रकाशनमा ल्याउन लागिएको हो ।

लेखनको दुनियाँमा बहुआयमिक व्यक्तित्वको परिचय बनाउनु भएका साहित्यकार हरि अधिकारी कविता विधामात्र नभएर कथा, निवन्ध र आख्यानका साथसाथै समालोचना अनि पत्रकारिताका क्षेत्रका समेत एक कुशल शब्दशिल्पी मानिनुहुन्छ । विविध विधाहरुमा सशक्त ढङ्गबाट कलम चलाउनसक्ने क्षमता भएका लेखक हरि अधिकारी आफूलाई भने मूलतः कवि भन्न रुचाउनु हुन्छ । मानवीय संवेदनालाई केन्द्रमा राखेर सिर्जना गरिएका वहाँका कविताहरूमा नारी संवेदना, आममानिसको मनोभावनाको यथार्थपरक चित्रण अनि सीमान्तकृत, अकिञ्चन र आवाजहीनहरुको आवाजलाई मूल विषयवस्तु बनाइएको हामी पाउँछौँ । कविताको विषयवस्तुको गहनता, भाषाको लालित्य र सुस्पष्टता अनि कविताले व्यक्त गर्न खोजेको भावनाको सरल अभिव्यक्तिका कारण आधुनिक नेपाली कवितामा हरि अधिकारीका कविताहरूको विशिष्ठ स्थान छ ।

हालसम्म तीन कविता संग्रह, दुई कथा संग्रह, दुई निवन्ध संग्रह र एक जीवनीपरक उपन्यास गरेर आठवटा कृति प्रकाशित गरिसक्नुभएका हरि अधिकारीले प्रकाशोन्मुख संग्रहमा आफ्ना जीवनकालमा लेख्नुभएका सयभन्दा बढी कविताहरुलाई एकै ठाउँमा संग्रहित गर्नुभएको छ ।

सम्वत् २०२७ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय महोत्सवमा स्वर्ण पदक हासिल गर्नुभएका अधिकारीले साझा पुरस्कार, वाणी–नवक्षितिज वर्ष पुस्तक पुरस्कार, गरिमा पद्य पुरस्कार, वासुशशी स्मृति पुरस्कार, एन्आरएन् अन्तर्राष्ट्रिय साहित्य पुरस्कार लगायत थुप्रै पुरस्कार र सम्मान पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *