• २०८१ जेष्ठ ५ गते शनिवार

काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए ।

महाधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको दाबी गरे । ‘मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन् ।’

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ । केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ । यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ । निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धिकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *