• २०८१ बैशाख २८ गते शुक्रवार

म एघार बाहृ वर्षको हुँदाको कुरा हो एक पटक हाम्रो गाँउमा एउटा हल्ला फैलियो। हाम्रो गाँउबाट निकै टाढा पर्ने कोगटे
भन्ने गाँउकि एक जना जनजाति महिला बौलाइछिन् । प्रायःजसो उनी हाम्रो गाँउमा आफ्ना बारीमा फलेका मौसमी तरकारी तथा सागपात डोकोमा हालेर बेच्न ल्याउँथिन् र बेचेर आएको पैसाले नून तेल मटिृतेल मरमसला किनेर लग्थिन् ।

यसै गरी उनको गुजारा चलेको थियो । गोरो वर्णकि डम्म परेको जीउकि ठूला ठूला आँखामा गाजल लगाएर कोरी बाटी गरेर हिंड्दा उनी ज्यादै सुन्दरी देखिन्थिन् । गाउँको उकाली ओराली बाटोमा डोकोभरि सामान बोकेर हिंड्दा निस्केको पसिनाले उनको सौन्दर्य झन निखार्थ्यो । बजारका धनीमानीका छोरीहरू उनको सामु फिका लाग्दथे । अनुहारमा कुनै लिपपोत नभए पनि प्रकृतिले दिएको उनको सुन्दर रूपरङ्ग र हँसिलो मुस्कानमा हामीभन्दा बढी उमेरका गाउँले दाजुहरू उनलाई देखेर मुग्ध हुने गर्थे र उनको छेउमा पुग्न लालयित हुन्थे ।

असार साउनको बेला बाढी आएर खोलो बढेपछि उनी बजारमा देखा पर्न सकिनन् । त्यही बिच असारमा उनको आफ्नै गाउँको एउटा केटासंग बिहे भएछ । बजारका केटाहरू हेरेको हेर्यै भए।बिडम्वनाको कुरा बिहे गरेको तीन महिना बित्न नपाउँदै उनको लोग्नेको मृत्यु भएछ । त्यही पीडा सहन नसकी उनी बौलाही भइछन् । खाली डोको बोकेर उनी एक्लै कराउँदै रूँदै हिंड्न थालिछन् । गाँउका मान्छेले उनलाई सम्झाउने बुझाउने गर्दा पनि उनी होसमा आउन सकिनन् । धामी झाँक्री देखाउने र भूतप्रेत मन्छाउने काम समेत गरेछन् । हाम्रो गाउँका मान्छेले उनलाई डाक्टरलाई जँचाउने सल्लाह दिएछन् तर त्यति बेला भीमफेदीको अस्पतालमा डाक्टर नभएको कारण उनलाई काठमाडौं लगेर उपचार गराउन भनेपछि सुने अनुसार उनको नजिकको देबर पर्ने एक जनाले उनलाई डोकोमै राखेर भीमफेदीबाट चित्लाङ्ग हुँदै काठमाडौं लगेछन् ।

काठमाडौं पुग्दा साँझ परिसकेकोले भोलिपल्ट बिहान वीर अस्पताल लग्ने बिचारले सुन्धाराको एउटा होटेलमा बास बसेछन् । बिरामी भाउजूलाई एउटा कोठामा सुताएर आफू अर्को कोठामा सुत्दा बौलाही भाउजूले झ्यालबाट हाम्फालिन् वा अर्को कुनै अनर्थ गर्लिन् भनेर देवरले दुईटा बेड भएको एउटा मात्र कोठा लिएर बसेछन् । बौलाएकी भाउजू कहिले खाने कहिले नखाने रातभर आफू पनि नसुत्ने र कराएर अरूलाई पनि सुत्न नदिने गर्थिन् रे। खाना खानु अघि देबरले थकाई मेट्न भनी एक बोत्तल रक्सी मगाएर खान थालेछन् । त्यो देखेर भाउजुले पनि रक्सी मागेर घट्घटी पिउन थालिछन् । रक्सीसँग मासु च्युरा खाएर दुबै आ आफ्नो ओछ्यानमा पल्टिएछन् ।

राति भाउजू कुन बेला देवरसँग टाँसिन पुगिछन् । रक्सीको रन्को एकातिर थियो भने अर्कोतिर मस्त जवान भाउजूको न्यानो अँगालोमा देवर पग्लन थालेछन् । भाउजूलाई पनि रक्सीको मात त लागेकै थियो । कुन बेला देवर भाउजू एकाकार हुन पुगे पत्तो पाएनछन् । देवर भाउजू धेरै बेरसम्म चुर्लुम्म डुबेछन् मायाको पोखरीमा । कुन बेला भुसुक्क निदाए । भाउजूको चिच्याहट पनि सुनिएनछ । रूवाई पनि सुनिएनछ । भोलिपल्ट मध्याह्नमा बल्ल दुबैको निद्रा खुलेछ । दुबै शान्त गम्भीर । थाकेको शरीरमा बेग्लै फुर्ती । भाउजू कराउन छाडेर चुपचाप छिन् । शरीर चङ्गा झैं भएछ दुबै जनाको । नराम्रो सपना देखेर ब्यूँझदा सुन्दर बिहानी देखेपछि मन जसरी प्रफुल्लित हुन्छ त्यस्तै मनोदशा देखिएछ भाउजूको । अस्पतालमा टिकट काट्ने समय नाघिसकेकोले अब अर्को दिन मात्र अस्पताल जाने निधो गरेर देवर भाउजू दिनभरि होटेलमै बसेछन् ।

साँझ पर्यो पुनःहिजोकै पुनरावृत्ति दोहरिएछ । हिजोभन्दा आज झन धेरै पटक । धेरै समयसम्म । फेरि दुबैजना हाम्फालेछन् प्रेम कुण्डभित्र र पौड्न थालेछन् हाँस्दै रमाउँदै । भाउजू हिजोभन्दा आज झन ठिक देखिन थालिछन् । सन्कीपन हटेछ । लोग्ने मरेको बिर्सिछन् । बौलाएर कराउँदै हिंडेको झन के को याद हुनु । उनको पागलपन क्रमशः घटेर निको हुन थालेको महसूस गरेछन् देवरले । तैपनि डाक्टरलाई जचाँउन पर्यो भनेर पर्सिपल्ट समयमै अस्पताल पुगेछन् । डाक्टरले सबै जाँच गरे सोधपूछ गरे । रोग केही देखिएन । भाउजूको सारा बृतान्त देवरले बताए ।

डाक्टरले मुसुमुसु हाँस्दै सबै विवरण ओकल्न लगाए । भाउजूलाई केही भएको छैन अलि अलि कमजोरी मात्र हो भनेर केही भिटामिन खानु भनी लेखी दिएछन् डाक्टले । भाउजूको रोग तपाईंले नै ठिक पारी सक्नु भएको छ डाक्टरले भनेछन् । धन्दा मान्नु पर्दैन । तपाईं पनि अविवाहित हुनु हुँदो रहेछ । तपाईंहरूको समाजमा भाउजू बिहे गर्न मिल्छ भने बरू बिहे नै गर्नुहोस् । भाउजूको रोग तपाईंले निको पारी सक्नुभयो । अब उहाँको रेखदेख र सुरक्षा पनि गर्नु होस् । तपाईंहरू अब ढुक्क भएर घर जान सक्नुहुन्छ । भाउजूको ख्याल राख्नुहोस् अब त्यस्तो हुँदैन भनेर मनोरोग विशेषज्ञ डाक्टर विष्णु शर्माले आफैं ढोकासम्म आई देवरसँग हात मिलाएर बिदा गरेछन् । त्यसपछि उनीहरू अरू केही दिन काठमाडौं बसेर डोको होटेलमै छाडेर गाडीमा बसी बाइरोडको बाटो भएर घर गाँउ फर्केर आएको यो सत्य घटनाको कथा सुनेको पनि आज पाँच दशक भइसके छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *