आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदै
२०८२ मंसिर १ सोमवार ०५:१५
shares

काठमाडौं: नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाजबीच खेल हुनेछ ।
किर्तिपुरस्थित टियु मैदानमा हुने यो पहिलो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुनेछ । दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते फाईनल खेल हुनेछ । यस पटक कुल ३२ खेल हुने छन् । क्यानले गत वर्ष एनपिएलका लागि आठ सहरका नाममा टिम छुट्याएर बिक्री गरेको थियो । विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।

सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर टिम तयार पारेका छन् । हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ । यस पटक फाप डुप्लेसि, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी पनि थपिएका छन् । दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन् । सहभागी टिमहरूले खेलाडी मात्र होइन, विश्वका नामी प्रशिक्षकलाई पनि आबद्ध गरेर दोस्रो एनपिएलको आकर्षण बढाएका छन् ।
यसपालि आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका छन् । गत वर्ष जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउने पुबुदु दसनायके विराटनगर किङ्सको प्रशिक्षक बनेका छन् । अन्य चार विदेशी प्रशिक्षक नयाँ छन् । जनकपुरले वेस्ट इन्डिजका महान् ब्याट्सम्यानमध्ये एक शिवनारायण चन्दरपलले प्रमुख प्रशिक्षकका रूपमा टिममा भित्र्याएको छ । नेपालका पूर्वप्रशिक्षक मोन्टी देसाईमाथि काठमाडौँ गोर्खाजले विश्वास गरेको छ । यसैगरी पोखरा एभेन्जर्सले भारतका राजीव कुमार र लुम्बिनी लाइन्सले भारतीय मूलका टिनु योहान्नालाई आफ्नो टिमलाई च्याम्पियन बनाउने जिम्मेवारी सुम्पेका छन् ।
एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुनेछ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुनेछ । त्यस्तै मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुनेछ ।




















