• २०८१ बैशाख २८ गते शुक्रवार

डा. गणेशप्रसाद भट्टराई

आज म बिहानै उठेर बिहानी यात्रामा निस्केँ । ढोकामा एउटा लुते कुकुर सुतेको रहेछ । देख्नासाथ मभित्रको बहादुरी उम्लियो । कस्सेर लात्तले हिर्काएँ । मेरा शब्दकोशमा भएसम्मका अश्लील शब्दले गाली गरेँ । अलिक अगाडि बाटो बिग्रेछ । रातभरि आएको पानीले बाटो भत्केछ । नगरपालिका, वडाध्यक्ष्य र नेता मेरो इसारामा परे । मैले ती सबैलाई कामै गर्न नसक्ने नालायक प्रमाणित गरेँ । सकेसम्म गाली गरेँ ।

सधैँको मार्ग परिवर्तन गरेर म खोला किनारको बाटो अघि बढेँ । राती पानी परेकाले आज थोरै मानिस मात्र बिहानी यात्रामा निस्केछन् । यिनलाई स्वास्थ्यको के ख्याल ? खाएका छन् । मोटाएको छन् । सबै भ्रष्टाचारी छन् । ल्ट्छन्, खान्छन् र सुत्छन् । मेरो सोचले मलाई मात्र सदाचारी ठान्यो । स्वास्थ्यको रक्षा गर्ने पनि म मात्र रहेँछु सायद संसारकै सबैभन्दा जान्ने र अनुभवी डाक्टर । सोच्दै अघि बड्दै थिएँ, जमेको पानीमा मेरो कपडाको जुत्तासहितको खुट्टा पस्यो । हैन यति बाटो पनि बनाउने नसक्ने यहाँका मानिस के मानिस ? नेता कता गए ? यस्तालाई किन जिताएका होलान् ? यी असभ्य मान्छे ! यस्तो फोहोर छ । बाटो बिग्रेको छ । कसरी बस्छन् हँ यी वनमान्छे ? मेरो मस्तिष्कले फेरि मलाई नै सभ्य र सभ्यता सर्जक ठान्यो । भिजेको जुत्ता टकटक्याँउदै अघि बढेँ । एउटा मानिसले चुरोटको धुवाँ फाल्दै बाटो काट्यो । त्यसलाई देखेर मेरो कन्पारो तात्यो । मर्ने भइस् क्यान्सरले भन्दै नाक छोपेर अघि बढेँ । अगाडि एउटा रुख लडेको रहेछ । सानो पहिरो गएर बाटो पुरिएछ ।

पुरिएको बाटो, पहिरो र लडेको रुखले मेरो मस्तिष्कमा भुइँचालो ल्यायो । यी कसैलाई वातावरण र जलवायुको ज्ञान छैन π मानिसका कारण बाढी पहिराको समस्या बढेको छ । सबै रुख काट्छन्, रोप्ने कोही छैन । रोपिहाले भने पनि जोगाउने कोही छैन । गमलामा धान फल्छ ? मैले भएभरका गलत काम गर्ने अरु नै भएको प्रमाणित गरेँ । यति बेलासम्ममा मैले झन्डै एक किलोमिटरको यात्रा पूरा गरेँछु । सधैँ नआएको बाटामा आएकाले सबै ठाउँका बारेमा थाहा थिएन । हेर्दे अघि बढ्दै थिएँ । नजिकै एउटा टहरामा मानिस भेला भएका थिए । बाहिर लेखिएको थियो : स्वास्थ्य र मनोपरामर्श केन्द्र । म पनि भित्र पसेँ ।
आत्मीयजन ! अब तपाईँहरू सुखासन, बज्रासन वा अरु सजिलो आसनमा बस्नुहोस् । ढाड सिधा राख्नुहोस् । अब हामी एउटा यात्रामा जाँदै छौँ । तपाईँहरू आँखा चिम्लेर मैले भने जसरी नै यात्रा गर्नुहोस् है त । मलाई रमाइलो लाग्यो । ती मानिससँगै बसेर आँखा चिम्लेँ ।

उनी भन्न थाले : तपाईँ घरबाट निस्कनुभयो । बाहिर चिसो हावा चलिरहेको छ । चराचुरुङ्गी चिरबिराइरहेका छन् । फराकिलो बाटो छ । बाटाको दुवैतिर हरियाली छ । घाम झुल्कनै लाग्यो, कति रमाइलो छ है । आकाशतिर हेर्नुहोस् त स्वच्छ, निर्मल आकाश π यस्तै विशाल हुन पाए ? त्यो बगैँचा कति राम्रो π चराचुरुङ्गी चिरबिराएका छन् । सानो नदीको कलकल आवाजले त साङ्गीतिक वातावरणको सृष्टि गरेको छ नि । यी रङ्गीचङ्गी फूलको बास्ना कति मिठो ? चमेली, जुही, केवराले जस्तै बास्ना छर्न पाए ? स्पर्श गर्नुहोस् त त्यो दुबोलाई । प्रकृतिको आनन्द पाउनुहुने छ । कोइली कराएको सुन्नुभो ? सुगा, मैना, कोइलीलाई मिठो स्वर निकाल्न कसले सिकायो ? हाम्रो जिब्राले त कहिलेकाहीँ झुटो आवाज निकाल्छ । सायद पशु र चराचुरुङ्गीमा जस्तो सत्य नभएर हो कि ? कि विकसित भएर होला ? हाम्रा आँखाले सुन्दर दृश्य हेरिदिए सबैतिर सौन्दर्य हुन्छ । कानले असल मात्र सुनिदिए सोच सकारात्मक हुन्छ । नाकले बास्ना थाहा पाए गन्ध रूपान्तरण हुन्छ । जिब्राले सत्य बोलिदिए चम्किलो सूर्य उदाउँछ । स्पर्श हर्षित भए क्षितिजभरि शान्ति मौलाउँछ । अगाडि हेनुहोस् त ती भद्र व्यक्तिलाई आफ्नो घरअगाडिको खाल्डो पुर्न नगरपालिका चाहियो ? नेता चाहियो ? कान्लामा रुख रोपेर हरियाली पार्न वातावरणशास्त्र पढ्नुपर्छ र ? हाम्रो संस्कार त काम नगरी केही नखाने हो नि ? पशुले हामीलाई बिनसित्तिमा दुःख दिन्छ ? गाईको दुध दुहुँदा बाच्छाले आन्दोलन गरेको छ ? घारबाट मह झिक्दा मौरीले तपाईँको बाटो छेक्यो ! बरु हामीले चुनाव हार्दा एम्बुलेन्स रोकेर सुत्केरी व्यथालाई अस्पताल पुग्न दिएका छैनौँ । असहायको अस्मिता लुटेर घाँटीमा आफ्नै वजनभन्दा बढीको माला भिरेका छौँ । स्वाभिमानी चोकमा बेइमानी शालिक उभ्याएका छौँ । अगाडि हेर्नुहोस् त आत्मीयजन ! त्यस चित्रमा सर्प र भ्यागुतो, बाघ र मृग मिलेर खेल्दै छन् हैन र ? के सिकाएका हुन् तिनले ? के ती केश फुलेका अध्यापक होइनन् र ?

आत्मीयजन ! हामी यात्रामा धेरै टाढा पुगिसक्यौँ । अब तपाईँले एकपटक आफूलाई हेर्नुहोस्, शिरदेखि पाउसम्म हेर्नुहोस्, आफूभित्र हेर्नुहोस् । दुई हत्केला रगड्नुहोस् र हत्केलाको ताताले अनुहार सेक्नुहोस् । हत्केलाले आँखा छोप्नुहोस् र बिस्तारै आँखा खोलेर आफ्नै हत्केला हेर्नुहोस् । कस्तो लाग्यो तपाईँलाई ?

मैले पनि त्यसै गरेँ । शरीर हल्का भएझैँ लाग्यो । मन शान्त भएझैँ लाग्यो । अरुका अनुहारमा हेरेँ । कोही गम्भीर बनेका थिए । कोही मुस्काउँदै थिए । कोही आफूलाई ठुलै पछुतो भएझैँ गर्दै थिए । मलाई भने आज एक ठुलै महाकाव्यको एक अध्याय पढेँझैँ लाग्यो । बाहिर निस्केँ । घाम लागिसकेको थियो । बगैँचामा हेरेँ, फूल मुस्काइरहेका थिए । तिनले मलाई मुस्काउने साथी बोलाएझैँ लाग्यो । चराचुरुङ्गीले सारेगम गाएझैँ लाग्यो । गम्दै अघि बढेँ, आज मलाई के भयो ? यी रुख, बाटो, माटो सबैले मलाई नै हेर्दे छन्, सुन्दै छन् । यिनको स्पर्श किन न्यानो लाग्छ मलाई ? घर पगेँ । बिहानको लुते कुकुर त्यही ठाउँमा सुतिरहेको थियो । मैले नजिकैको पसलबाट पाउरोटी बिनेर एक टुव्रmा दिएँ । त्यसले मेरो अनुहारदेखि खुट्टासम्म हे¥यो । कुइँय्य करायो, पुच्छर हल्लायो र र कपाकप खायो । सायद त्यो तीन दिनदेखिको भोको थियो ।

आज मैले सिकेँ : सोच जस्तो बनायो त्यस्तै बन्छ । मन परिवर्तनशील छ । मानिस उजिलिन सक्नुपर्छ ।


लेखक डा. गणेशप्रसाद भट्टराई नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीका निर्देशक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *