• २०८१ जेष्ठ ३ गते बिहिवार

अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूबारेको भ्रम र संकीर्ण सोच भत्काउनुपर्छ

– इशान रेग्मी

हाम्रो समाजमा विविध यौन बिशेषताको बारेमा एकदमै सीमित बुझाई रहेको छ । शिशु जन्मिँदा उसको बाह्य यौनाङ्ग शिश्न भएमा बालक र बाह्य यौनाङ्ग योनी भएमा उसलाई बालिका भनि निर्धारण गर्ने चलन स्थापित छ । सोहिअनुसार व्यक्तिहरूका लागि सामाजिक मूल्य र मान्यताहरूको निर्धारण गरी अभ्यासमा ल्याइदै आइएको छ । त्यही मूल्य मान्यता र अभ्यासलाई नै सामाजिक रुपमा ‘बैध’ र ‘सही’ मानिन्छ । समाजमा यस प्रकारका अभ्यासहरू मात्रै व्यापक रहीरहँदा विविध यौन विशेषता भएका व्यक्ति अर्थात् अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरू बहिष्कृत हुँदै आइरहेका छन् । उनीहरूमाथि समाजका विभिन्न तहमा विभिन्न किसिमका विभेद, लाञ्छना, हिंसा, दूर्व्यवहार र अपमानित व्यवहारहरू हुँदै आइरहेको छ ।

चिकित्सा विज्ञानले यौनाङ्ग, प्रजनन् ग्रन्थि र क्रोमोजोमको ढाँचाहरूको आधारमा विविध यौन बिशेषताको पहिचान गरेको हो । तर हाम्रो समाजले शिश्न र योनी, सन्तानोत्पादन गर्न सक्ने क्षमता र पुरुषमा XY र महिलामा XX गुणसुत्र (क्रोमोसोम) भएका व्यक्तिहरूको अस्तित्वलाई मात्र स्वीकारेको छ । शिश्न र योनीबाहेकको यौनाङ्गको ढाँचा, शिश्न र यौनीसँग सम्बन्धित द्वितीय प्रजनन् ग्रन्थीबाहेका ग्रन्थीको ढाँचा र XY र XX गुणसुत्र (क्रोमोजम) बाहेकको गुणसुत्र (क्रोमोजम) विविधताको बारेमा कहीँ कतै छलफल हुने गर्दैन । त्यसैले हाम्रो समाजमा त्यसबारेको बुझाई तथा ज्ञानको अभाव छ । कुराकानी गरिएको खण्डमा पनि यस्ता विशेषता हुनुलाई “बिकार”, “असामान्य” र पूर्वजन्मको पापको फलको संज्ञा दिने गरिएको छ । यौन विशेषताको विविध पहिचान भएका व्यक्तिहरूलाई अन्तरलिङ्गी विविधता भएका व्यक्ति भनिन्छ भन्ने कुरा बल्ल बल्ल सार्वजनिक वृत्तमा झिनो रुपमा सुन्न र सुनाउन थालिएको छ । विडम्बना, अन्तरलिङ्गी व्यक्तिहरूको अस्तित्वलाई समाजले स्वीकार्न भने सकेको छैन । समाजले नस्विकारिदिँदा घरपरिवारले पनि आफ्ना अन्तरलिङ्गी विविधता भएको सन्तानलाई सहजै अपनाउन र साथ दिनमा कठिनाई पैदा गरिदिएको छ ।

हाम्रो समाजमा अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूप्रतिको सोचाइ र व्याख्या साँघुरो छ । नेपाली भाषाको “लिङ्ग” शब्दको परम्परागत प्रयोगले लिङ्ग (Sex), लैङ्गिकता (gender) दुबैलाई जनाउने भएकोले अन्तरलिङ्गी विविधताका व्यक्तिहरूलाई कतै तेस्रोलिङ्गी (Third gender) र कतै पारलिङ्गी (Transgender) व्यक्ति भनेर सम्बोधन गरिएको छ । यसरी बुझिनु भनेको अन्तरलिङ्गी व्यक्तिहरूको अस्तित्व खुम्च्याउनु हो ।

सन् २०१५ मा संयुक्त राष्ट्र संघद्वारा जारी तथ्यपत्रकानुसार अन्तरलिङ्गी विविधता भएकाहरूको संख्या विश्वकै जम्मा जनसंख्याको करिब ०.५ देखि १.७ प्रतिशत रहेको छ । विभिन्न अध्ययनले ४० भन्दा बढी अन्तरलिङ्गी विविधता रहेको कुरा औंल्याएको छ । तसर्थ अन्तरलिङ्गी यौन विविध बिशेषता आफैमा एउटा छाता शब्द हो । विगत एकदशक यता अन्तरलिङ्गी भन्ने शब्द नेपालका केही यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका निमित्त काम गर्ने संस्था तथा अभियन्ताहरूले प्रयोग गर्दै आएका छन् । तापनि उनीहरूले प्रयोग गर्ने गरेको अन्तरलिङ्गी शब्दको अर्थ, त्यसको परिभाषा र व्याख्यालाई बुझ्दा उनीहरूमा पनि अन्तरलिङ्गी विविधताबारे सीमित ज्ञान रहेको थाहा पाउन सकिन्छ । सीमित ज्ञानकै आधारमा त्यस्तै खालको भाष्यको प्रयोगले गर्दा अन्तरलिङ्गीहरूको बारेमा अझैपनि सान्दर्भिक रुपमा बहस तथा छलफल हुन सकेको छैन । जे जति बहस र छलफल भइरहेका छन् तिनले हाम्रो समाजमा यदि कसैको अस्पष्ट यौनाङ्ग भएमा त्यस्तो व्यक्ति अन्तरलिङ्गी व्यक्ति हो भन्ने सपाट बुझाईलाई नै अनुमोदन गर्दै आइरहेका छन् । जसलाई हाम्रो समाजले संकीर्ण दृष्टिकोण राखेर पूर्व जन्ममा गरेको पापको फलको संज्ञा दिने गरेको छ, जुन सरासर गलत हो । यहि संकीर्ण बुझाइका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको जीवन झन् कष्टकर बनाइदिएको छ ।

नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका LGBTIQA+ सम्बन्धी अधिकारवाला, सरोकारवाला र सरकारबीच विभिन्न खालका साझेदारी तथा समन्वयकारी कामकाजहरू गर्दै आइरहेका छन् । अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको बारेमा तुलनात्मक रुपमा नगण्य मात्रामा मात्रै कामहरू भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अभियान र क्रियाकलापहरूमै पनि अन्तरलिङ्गी विविधताका व्यक्तिहरूबारे खासै छलफल भएको पाइदैन । त्यसले अन्तरलिङ्गी विविधता भएकाहरूको मुद्दालाई झन् ओझेलमा पार्दै लगेको छ । उनीहरूको हक अधिकारको लागि कहिल्यै कतै पनि बहस तथा छलफल हुने वातावरण र ठाउँ बन्न सकीरहेको छैन । नेपालका ऐन कानूनहरूले अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूलाई समेट्न सकेको छैन । विभिन्न मानव अधिकारका अभियानले पनि अन्तरलिङ्गी विविधता भएको जनसंख्याको मुद्दालाई बुझ्न सकेको छैन ।

त्यही तथ्यलाई बुझेर हामीले अन्तरलिङ्गी विविधता भएकाहरूका निमित्त काम गर्नु अतिआवश्यक रहेको निर्क्यौल गर्यौँ । सन् २०१६ मा नेपालका विभिन्न ठाउँमा रहनुभएका हाम्रा सम्पर्कमा आउनुभएका अन्तरलिङ्गी व्यक्तिहरूको एउटा भेला राख्यौँ । नेपालकै सन्दर्भमा त्यो भेला अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको पहिलो राष्ट्रिय भेला थियो, जुन दुई दिनसम्म चलेको थियो । त्यत्तिञ्जेलसम्म निल हिरा समाजले पनि अन्तरलिङ्गी विविधताबारेमा आवाज उठाउन सकीरहेको थिएन । निल हिरा समाजसँगै सम्पर्कमा रहेर विभिन्न कार्यक्रमहरूमा संलग्न रहनुभएका केही व्यक्तिहरूले यौनिक तथा लैंगिक अल्पसंख्यकहरू बारेको अनेक छलफलहरूमा आफ्नो समस्या र सरोकारको कुरा नआएको बारेमा धेरैपल्ट आपसी कुराकानी पनि भएको थियो । त्यसपछि हामी आफैले त्यस्ता समस्याबारेमा सघन संवाद गर्नको लागि भेला राखेका थियौँ । त्यो भेलाले हामीलाई अन्तरलिङ्गी विविधता भएकाहरूका लागि काम नगरी नहुने पक्कपापक्की गर्न सघायो । त्यही भेलामै हामीले अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको एउटा लुज नेटवर्क बनायौँ- तदर्थ समितिको रुपमा । सन् २०१७ मा अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूका लागि काम गर्ने एउटा संस्था- क्याम्पेन फर चेन्ज- स्थापना गर्यौँ ।

संस्था बनाइसकेपछि विभिन्न अन्तर्राष्ट्रिय सकारात्मक अभ्यासहरूलाई अनुसरण गर्दै हामीले संस्थागत तवरबाट काम थाल्यौँ । कहीँ कतैबाट अन्तरलिङ्गी विविधताबारे कुनै काम गरेको छ कि भनेर सोधखोज गर्यौँ । जानकारीमूलक स्रोत सामाग्रीहरू भेटिएला कि भनेर खोज्यौँ । अहँ, हामीले कतैपनि त्यस्ता सामाग्रीहरू भेटेनौँ । त्यसैले हामी आफैले त्यस्ता सामाग्रीहरू निकाल्ने जमर्को गर्न थाल्यौँ । यो पुस्तक त्यसैको अर्को एउटा सानो प्रयास हो । अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूप्रतिको गलत बुझाई, दोषी हेराई परिवर्तन गर्न र गराउन अति आवश्यक छ । त्यसको लागि पर्याप्त मात्रामा यस बारेमा कुराकानी हुनु आवश्यक छ । जानकारीमूलक स्रोत सामाग्रीहरू उत्पादन हुनु आवश्यक छ । त्यस्ता सामाग्रीहरूको व्यापक प्रचारप्रसार र तिनको आधारमा छलफल तथा अन्तरक्रियाहरू हुनु आवश्यक छ ।

त्यस्तै क्रियकलापहरूमा केही त टेवा दिन सकुँ भन्ने हेतुले हामीले यो पुस्तक प्रकाशन गरेका छौँ । यो पुस्तकमा देशका विभिन्न भूभागमा बसोबास गर्नुहुने अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको जीवन संघर्ष पस्केका छौँ । यी कथाले अन्तरलिङ्गी विविधता भएको व्यक्ति भएकै कारणले झेल्नुपरेको कष्ट, घर परिवार तथा समाजको अस्विकार्यता, सामाजिक तथा न्यायिक बहिष्करण र राज्यको असंवेदनशील चरित्र र त्यसकै कारण थप समस्यामा परेको वास्तविकतालाई दर्शाउँछ ।

यो पुस्तकले अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूलाई आफू र आफूजस्ता व्यक्तिहरूका बारेमा जानकार हुन सघाउनेछ । अन्तरलिङ्गी सन्तान भएका अभिभावकहरूलाई आफ्नो सन्तानहरूबारे जानकार हुन र उनीहरूलाई साथ सहयोग दिन प्रेरित गर्न सक्नेछ । यस पुस्तकका कथाकारहरूले आ-आफ्ना व्यक्तिगत कथालाई अन्तरलिङ्गी व्यक्तिहरूको राम्रो जीवनयापनमा केही योगदान दिन सकुँ भन्ने हेतुले समाजसामु ल्याउनुभएको छ । यी कथाहरूले समाजमा अदृश्य पारिएका अरू थुप्रै खालका कथाहरूलाई बाहिर ल्याउन सकारात्मक ऊर्जाको काम गर्नेछ भन्नेमा हामी विश्वश्त छौँ । त्यस अलावा यो पुस्तक यदि कोही पनि व्यक्तिमा भएको अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूबारेको भ्रम, गलत बुझाई र संकीर्ण सोचलाई चिर्न सहयोगी हुन सकेमा पनि हामी हाम्रो प्रयास सफल भएको मान्नेछौँ ।

इशान रेग्मी क्याम्पेन फर चेन्जका सहसंस्थापक तथा कार्यकारी निर्देशक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *