काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

लघुकथा : पैतालाका डोब

4.95K
shares
आर्टिकल्स पेपर, काठमाडौँ ।
ढुङ्गामाथि ढुङ्गा मिल्दै थिए । चौको तयार हुँदै थियो । सन्तोषले निधारको पसिना पुछ्दै अर्को ढुङ्गा बाको हातमा थमायो ।
“बा, त्यो पाख्री बडाबाको हो नि, हैन?”
बाले टाकटुकेले ढुङ्गाको ताँती मिलाउँदै भने, “हो, अंशबण्डामा दाजुको भागमा परेको ।”
“रोप्नुभयो त हजुरबा र तपाईंले?”
हल्का मुस्कुराए ।
“हो त कान्छा, यो चौको जस्तै त्यो चौको पनि हामीले नै उठाएका हौं । हिउँदमा गाईभैंसीलाई घाँस हुन्छ भनेर रोप्यौं, पछि दाजुको भागमा पर्यो ।”
“तपाईँले दुख गर्ने, अनि बडाबाको कसरी भयो ?”
“रोप्नेले सधैँ खान पाउँदैन, कान्छा ।”
सन्तोष केहीबेर चुप लागेर कुटोले माटो तानिरह्यो ।
“अनि यो चौको?”
“हामी बनाउँदैछौँ ।”
पछि?”
तँलाई पर्न सक्छ, दाइलाई पनि पर्न सक्छ ।”
“दाइलाई पर्‍यो भने?”
“दाइकै हुन्छ।”
कुटोको धार माटोमै अडियो ।
“अनि म किन दुःख गर्ने?”
“धत्! कस्तो कुरा गरेको? दाइको हुनु भनेको आफ्नै हुनु त हो नि ।” बाले हप्काए ।
सन्तोष चुप रह्यो ।
बाले ढुङ्गा मिलाउँदै भने, “हजुरबाले रोपेको डाले घाँस हामीले काट्यौँ । हामीले रोपेको कसले काट्ला, कसलाई थाहा? आफूले रोपेको सबै आफ्नै भागमा पर्दैन । कहिलेकाहीँ रुख रोप्नेले सबै छायाँ पाउँदैन, कान्छा । दुःखले आफ्नो मान्छे छान्दैन, पुस्ता छान्छ ।”
सन्तोषले कुनै उत्तर दिएन । उसले कुटो उठायो, फेरि माटो तान्न थाल्यो ।
साँझ पर्नुअघि चौको तयार भयो । बाबुछोराले कलिलो पाख्री रोपे । घर फर्कँदा बाले पिठ्युको डोको मिलाइरहे; सन्तोष भने पटक–पटक पछाडि फर्केर त्यही बिरुवातिर हेरिरह्यो ।
राति बतास चलिरह्यो । झ्यालबाट दिउँसो काम गरेको दिशातिर हेर्दै सन्तोष धेरैबेर जागै थियो ।
रातभर घरमाथि बतास सुसायो । ओछ्यानमा पल्टिएको सन्तोषले कोल्टे फेरिरह्यो । निद्रा परेन । झ्यालबाट देखिने कालो डाँडाभरि उसलाई चौकोका ढुङ्गाहरू मात्र देखिए ।
भोलिपल्ट बिहान बा हिजो बनाएको चौकोतिर गए ।
चौकामा ढुङ्गाहरू छरपस्ट भएर ओरालातिर फर्किसकेका थिए ।
कलिलो पाख्रीको बिरुवाबाटै उखेलिएर माटोमाथि तेर्सिएको थियो ।
बा झुके ।
बिरुवाको जरामा टाँसिएको ओसिलो माटो अझै खसिरहेको थियो ।
उनले वरिपरि हेरे ।
ओसमा परेका साना पैतालाका डोबहरू चौकोबाट घरतिर सोझिएका थिए ।
बा धेरैबेर नबोली उभिरहे ।
त्यसपछि उनी झुके, उखेलिएको बिरुवा फेरि रोपे र ओरालोतिर फर्किएका ढुङ्गाहरू सावधानीका साथ पहिल्यैको ठाउँमा राखिदिए ।