काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

बाढीपछि कुन–कुन रोग फैलिन सक्छन्, यस्तो छ चिकित्सकको सुझाव

बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने जोखिम

2.13K
shares

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्।

दूषित पानी, असुरक्षित खानेकुरा, पानी जम्ने स्थान, लामखुट्टेको वृद्धि, सरसफाइको अभाव र विस्थापितहरू एउटै स्थानमा बस्नुपर्ने अवस्थाका कारण बाढीपछि विभिन्न सरुवा रोगको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ।

टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाढीमा परी मृत्यु भएका मानिस तथा पशुचौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिनेभन्दा पनि शवमा आकर्षित हुने मुसा, किराफट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढी हुने बताउनुभयाे ।

उहाँले बाढी प्रभावित क्षेत्रमा शव लामो समयसम्म व्यवस्थापन हुन नसक्दा त्यसमा मुसा तथा अन्य जीवजन्तु आकर्षित हुन सक्ने भन्दै संक्रमित मुसाको पिसाब तथा अन्य माध्यमबाट लेप्टोस्पाइरोसिसजस्ता रोग फैलिन सक्ने बताउएकाे छ।

उहाँकाअनुसार त्यस्तै कीटजन्य रोगको जोखिम पनि बढ्न सक्ने सम्भावना हुन्छ ।

उहाँले भन्नुभयाे,‘शवबाट नै अचानक संक्रमण फैलिनेभन्दा पनि पशुचौपायादेखि लिएर मानिसको शवमा विभिन्न प्रकारका जनावर, मुसा वा किराहरू आकर्षित हुन्छन् । त्यस्तो चिजहरूले विस्थापित भएका मानिसहरू वा त्यहाँ काम गर्न गएका व्यक्तिहरूलाई जोखिममा पार्न सक्छ । मुसाको उदाहरण लिने हो भने संक्रमित मुसाको पिसाबबाट लेप्टोस्पाइरोसिस फैलिन सक्छ । त्यस्तै स्क्रब टाइफसजस्ता कीटजन्य रोग पनि फैलिन सक्छन् । विस्थापित मानिसहरू वा उद्धार तथा व्यवस्थापनमा खटिएका व्यक्तिहरूको त्यस्ता स्रोतसँग निकटता बढ्दा रोग फैलिने सम्भावना हुन्छ ।’

डा. पुनले बाढीपछि शवबाट मात्र संक्रमण फैलिने भन्ने बुझाइ सही नभएको बताउनुभयाे । बाढी प्रभावित क्षेत्रमा पानी, सरसफाइ, शौचालय, खानेकुरा र लामखुट्टेको व्यवस्थापन गर्न नसकिए संक्रमण फैलिने सम्भावना बढी हुने उहाँले बताउनुभयाे।

उहाँकाअनुसार सुरक्षित खानेपानीको अभाव भएमा हैजा, झाडापखाला, टाइफाइड तथा कमलपित्तजस्ता पानीजन्य रोग देखिन सक्छन्। त्यस्तै बाढीको पानी जमेर लामखुट्टे बढ्ने वातावरण बनेमा डेंगु र मलेरियाको जोखिम पनि बढ्न सक्छ।

उहाँले भन्नुभयाे, ‘यदि केहीगरी सुरक्षित पानी पिउन सकेनौँ वा पाएनौँ भने हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तका समस्या आउन सक्छन् । पानी जम्मा भइरहेकाले लामखुट्टे बढ्ने वातावरण बन्छ, जसले गर्दा मलेरिया र डेंगुको जोखिम पनि जोडिएर आउँछ।’

पछिल्लो समय बाढी आउनुअघि नै झाडापखाला र ज्वरोका बिरामी बढिरहेको तथा लामखुट्टेको संख्या पनि बढ्दै गएको डा. पुनले बताए । डेंगुका बिरामीसमेत फाट्टफुट्ट देखिन थालेकाले बाढीपछि स्वास्थ्य जोखिम थप चुनौतीपूर्ण बन्न सक्ने उहाँको भनाइ छ।

‘पछिल्लो समयमा बाढी आउनुभन्दा अगाडि झाडापखाला, ज्वरोका बिरामी बढ्दै गइरहेका थिए । अहिले लामखुट्टे पनि एकदम बढ्दै गएको छ, डेंगु फाट्टफुट्ट देखिने क्रम जारी छ । आगामी दिन चुनौतीपूर्ण पनि छ’, उहाँले भन्नुभयाे ।

बाढी प्रभावित क्षेत्रमा विस्थापित नागरिकहरू अस्थायी आश्रयस्थलमा ठूलो संख्यामा बस्नुपर्ने भएकाले शौचालय तथा सरसफाइको उचित व्यवस्था हुन नसके संक्रमण फैलिने जोखिम अझ बढ्ने उहाँको भनाइ छ ।

डा. पुनका अनुसार कतिपय संक्रामक रोग लागेका व्यक्तिमा सुरुवातमा कुनै लक्षण नदेखिन पनि सक्छ । तर उनीहरूको दिसा तथा पिसाबबाट संक्रमण बाहिर निस्कने भएकाले उचित शौचालय र सरसफाइको अभावमा एउटै ठाउँमा बसिरहेका अन्य मानिसमा रोग फैलिन सक्छ ।

उहाँले भन्नुभयाे,‘कतिपय संक्रामक रोगमा लक्षण देखिँदैन, हेर्दा मानिस ठीक देखिन्छ तर उसको दिसा–पिसाबबाट संक्रमण निस्किरहेको हुनसक्छ । त्यसैले गर्दा त्यहाँ बसिरहेका विस्थापितहरूमा रोग फैलिन सक्छ । त्यसैले शौचालय एकदम महत्त्वपूर्ण छ ।’

उहाँले बाढी प्रभावित क्षेत्रमा साबुनपानीको पर्याप्त व्यवस्था गर्न सके संक्रमणको जोखिम धेरै कम गर्न सकिने बताउनुभयाे । खाना खानुअघि र शौचालय प्रयोग गरेपछि हात धुने बानीलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ।

बालबालिका र गर्भवती महिलालाई विशेष ध्यान

बाढी तथा विपद्का बेला बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने डा. पुनले बताउनुभयाे । बालबालिकामा सामान्य संक्रमणसमेत गम्भीर बन्न सक्ने भएकाले सुरक्षित खानेकुरा, सफा पानी र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे।

गर्भवती महिलाका लागि औषधिसँगै पोषणयुक्त खानेकुरा र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे,‘गर्भवती महिलालाई एन्टिबायोटिक मात्र दिमागमा राखेर हुँदैन । उहाँहरूलाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा र स्वास्थ्यबाट दिन सकिने सुविधालाई पनि ध्यानमा राख्नुपर्छ। बालबालिकालाई पनि संक्रमणबाट सुरक्षित राख्नुपर्छ र जथाभावी खानेकुरा खान दिनु हुँदैन।’

उहाँले विगतमा तराई क्षेत्रमा बाढीका बेला आफूले छालासम्बन्धी रोग तथा पोषणको समस्या बढी देखेको अनुभव सुनाउँदै अहिले पनि बाढी प्रभावित क्षेत्रमा त्यस्ता समस्यालाई बेवास्ता गर्न नहुने बताउनुभयाे।

बिरामीको तत्काल उपचार आवश्यक

बाढी प्रभावित क्षेत्रमा कुनै व्यक्तिमा झाडापखाला, ज्वरो वा अन्य संक्रमणको लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पु¥याएर उपचार गर्नुपर्ने डा. पुनले बताउनुभयाे । एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्यकर्मी पर्याप्त मात्रामा परिचालन गर्नुपर्ने उहाँको सुझाव छ ।

‘त्यहाँबाट कुनैपनि रोग इमर्ज हुनसक्ने सम्भावना रहन्छ । झाडापखाला लाग्यो भने पनि तुरुन्त उद्धार गरेर उपचार गर्नुप¥यो, ताकि सो व्यक्तिबाट रोग नफैलियोस् । समयमै सकेसम्म ठाउँ–ठाउँमा औषधिको उपलब्धता हुनुप¥यो,’उहाँले भन्नुभयाे ।

उहाँले प्रभावित क्षेत्रमा कति मानिस विस्थापित भएका छन् भन्ने आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने बताउनुभयाे । औषधि र स्वास्थ्यकर्मी पठाउनुका साथै स्थानीय वातावरणको अवस्थासमेत अध्ययन गरेर आवश्यक स्वास्थ्य सेवा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

तीन तहका सरकारबीच समन्वय आवश्यक

बाढीपछि स्वास्थ्य जोखिम नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको डा. पुनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारी तथा गैरसरकारी निकायबीच पनि समन्वय गरेर कुन क्षेत्रमा कति सहयोग आवश्यक छ भन्ने मूल्याङ्कन गर्नुपर्ने उहाँले बताउनुभयाे ।

यसमा थप्दै उहाँले भन्नुभयाे, ‘यो काम एकीकृत र समन्वयात्मक रूपमा ग¥यो भने अझ राम्रो हुन्छ । तीन तहको सरकारसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अरू निकायको पनि समन्वय चाहिन्छ । कुन ठाउँमा कति सहयोग आवश्यक छ भन्ने आकलन गरेर त्यहीअनुसार व्यवस्थापन गर्नुपर्छ ।’

‘स्वास्थ्यलाई बेवास्ता गर्न हुँदैन’

विपद्को समयमा नागरिकको पहिलो आवश्यकता गाँस, बास र कपास भए पनि त्यससँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने डा. पुनले बताउनुभयाे । व्यक्तिगत सरसफाइ र सुरक्षित खानेकुरामा सामान्य सावधानी अपनाउन सके धेरै प्रकारका संक्रमणबाट बच्न सकिने उहाँको भनाइ छ ।

‘पहिलो प्राथमिकता त गाँस, बास, कपास होला तर त्यो भन्दैमा स्वास्थ्यलाई छाड्न मिल्दैन । यदि व्यक्तिगत सरसफाइ र खानेकुरामा मात्र पनि ध्यान दियौँ भने अधिकांश रोगबाट हामी बच्न सक्छौँ’, उहाँले भन्नुभयाे ।

पानी जम्ने स्थानमा लामखुट्टेको वृद्धि रोक्ने, सुरक्षित पानीको व्यवस्था गर्ने, शौचालयको उचित प्रबन्ध गर्ने, साबुनपानी उपलब्ध गराउने तथा बिरामीलाई समयमै उपचारको पहुँचमा पु¥याउने कामलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयाे ।

बाढीका कारण खोजी, उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र केन्द्रित भइरहेका बेला नियमित स्वास्थ्य सेवामा कमी आउन नदिन पनि सचेत हुनुपर्ने डा. पुनको सुझाव छ।

उहाँले भन्नुभयाे,‘बाढी–पहिरोका कारण हाम्रो प्रयास अर्कैतिर केन्द्रित हुँदा स्वास्थ्यतर्फको प्रयास कम भएर अर्को समस्या नआओस् भन्ने हो । प्रभावित क्षेत्रमा पनि समस्या नहोस् र अन्य क्षेत्रमा पनि सरुवा रोग नफैलियोस् भन्नका लागि सबै ठाउँबाट सतर्क रहनुपर्छ ।’

उहाँले बाढीपछि देखिनसक्ने पानीजन्य, कीटजन्य र हावाजन्य रोगको सम्भावित जोखिमलाई अहिले नै अनुमान गरेर आवश्यक तयारी गर्नुपर्ने बताउनुभयाे ।

प्राकृतिक विपद् अप्रत्याशित भएपनि त्यसपछि आउन सक्ने स्वास्थ्य जोखिमबारे पूर्वतयारी गर्न सकिने भएकाले सम्बन्धित निकायले तत्कालै निगरानी र रोकथामको काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ।