निबन्ध : कपटीहरूको सङ्गत
२०८२ साउन २७ मंगलवार ०५:५४
shares

आर्टिकल्सपेपर, काठमाडौँ ।
साह्रो के हुन्छ – “ढुंगो, त्यो भन्दा साह्रो मन” यो भनाइ नेपालीहरूका लागि नौलो होइन । ढुंगोभन्दा अझ साह्रो त कपटी हुँदो रहेछ । जागिरको दौरानमा यस्ता कपटीहरू धेरै भेटिन्छ । विदा माग्यो हाकिमले कान सुन्दैन् । दिनभरिको कामको समीक्षा गर्यो तलका कर्मचारीले सुन्दैनन् । अलि चर्को स्वर ग¥यो, प्रयास गरिरहेका छौँ को रेडिमेड जवाफ । कहिलेकाहीँ वाक्क लाग्छ ।
हाकिमलाई कतै जानु परोस् लुसुक्क कोठामा प्रवेश गर्छ र म बाहिर जाँदैछु, बाँकी काम पत्ते गर्नुहोला भन्छ । थाहा छैन उसले अनुरोध गरेको हो कि निर्देशन दिएको । अरुले आफुमाथि गरेको अन्याय देखेर आफु पनि उनीहरू जस्तै बनौँं नलाग्ने होइन । फेरि घरको शिक्षा र संस्कार संझन्छु । कानमा आएर गुन्जिन्छ, अरुलाई सहयोग गर्ने मान्छे कहिल्यै नर्क जाँदैन । थाहा छैन मेरा बाले स्वर्ग देखेका छन् कि छैनन् ? तर धर्ममा अझै नर्कको डर छ ।
एक दिन हाकिमले संस्थागत नीति परिवर्तन भएको सुनाए । अव राम्रै काम हुने भएछ भन्ने लाग्यो । तर उनले कुन नीतिमा के परिवर्तन गरिएको हो भन्ने जानकारी दिएनन् । पुसको महिना थियो लामो हुस्सुपछि आकास खुलेको । घामको तेज रापिलो त थिएन् तर सबै कर्मचारी कोठामा हिटर बालेर घाम ताप्दै गफमा मस्त थिए । सेवाग्राही कर्मचारी खोज्दै कोठाकोठा पुगे । कर्मचारी नभेटेपछि एक स्थानीयले भने “मालपोट” कर्मचारीले हट्ताल गरेछ । जिउ तताएर एघार बजे मात्र कुर्सीमा बस्ने रे ।
त्यसैदिन सतर्कता केन्द्रको छापा प¥यो । सबै कर्मचारीको हाजिर भएको तर कार्यकक्षमा नभएकोमा कार्यालय प्रमुखलाई सोधियो । प्रमुखले भने हामीले नीतिमा परिवर्तन गर्यौ, अव एघार बजेसम्म घाम ताप्ने । अनि जनताको काम त्यो त तपाईंहरूले छड्केमार्फत गर्नुनै भएको छ । सचिवज्यूले पनि सिसिटिभीमा हेरिरहनु भएको छ । मिडियाले हामीसँगै सहकार्य गरेर सेवा सुविधा लिइरहनु भएको छ । पत्याउनु भएन लु हेर्नुस् त तेलको विल ! यी खाजा भत्ता बुझेको भर्पाई ।

छड्के सकियो कसैलाई नसियत भएन । नसियत नहुनुको कारण थियो प्रमुख छापामार्ने व्यक्तिले महिनाको अतिरिक्त लाभांश बुझेको निलो चिर्कटो । कार्यालय प्रमुखले कारवाही भोग्नु पहिला आफ्ना सहयोगीलाई बोलाएर भनेका थिए– सरको एघार लाख बैंक दाखिलाको भर्पाइ कता छ हँ ? अरुले मुखामुख गरे । लेखापालले फाइल पल्टायो र बाँकी सत्र सय देखियो सर अहिले नै दिऊँ कि फेरि दाखिला गरौँ भन्यो ? हाकिमले कानमा गहना त लगाएका थिएनन् तर गहना खसे झैं गरेर लोती छामे ।
पियनकोे भागमा खाजा चिया मात्र परेको थियो । हाकिम र लेखाको कुरा सुनेर मुखमा च्यापेको खैनी औंलाले निकाल्यो र गुड्क्याएर पर पुग्ने गरी फाल्यो । हाकिमले छरिएर गएका खैनीका स–साना कणलाई एकटकले टोलाएर हे¥यो । मनमनमा भन्दो हो, हो यसरी नै बाँड्नुपर्छ विलो, एक डल्लो हेर्दाहेर्दै कसरी कण भएको छ । तर, केही बोल्न सकेन । यहाँ बोल्नुभन्दा कपटी हुनु फाइदाजनक थियो ।
छड्के हिँडेपछि आकस्मिक बैंठक बस्यो । प्रशासन फाँटले सूचना तयार पा¥यो, “आज कार्यालय बन्द रहने छ ।” हाकिमले सही ठोके । दर्ता चलानीवालाले झ्याप्प छाप हान्यो । पियनले ड्याम्म ढोका लगायो । रानो नभेटेर अतालिएका मौरी झैं सबै छिन्नभिन्न भए । सेवाग्राही एकोहोरो हेरिरहे पहिरो गएको पाखो ।
पहिरोपछि कस्को घर कहाँ थियो भन्ने एकीन नभए झैं उदास देखिए सुब्बा तहका कर्मचारी । हाकिम गाडी लिएर हुँइकिए विभाग छोडेर सिधै मन्त्रालय । फाँटवालाहरू कहाँबाट कति कमिसन लिन बाँकी छ, सरुवा चिठ्ठी हातलाग्नु पूर्व मिलान गर्नुपर्छ भनेर हिसाबमा लागे । फसाद लेखालाई प¥यो । ऊ पनि हानियो महालेखा नियन्त्रकको कार्यालयतिर ।
दिनभरि झटारो हानेको अरिंगालको गोलो जस्तै तितरवितर देखियो कार्यालय । साँझपरेपछि फोनमा सबैको संवाद भयो । कसैले खुलेर यर्थाथता बताउन सकेनन् । हाकिमले के अपमानित हुनु भनेर होला अर्को मालदार कार्यालयमा सरुवा मिलाएछन् । बिहान ताला खुल्नुपूर्व नै बरबुझारथ गरेर हाकिमले रमाना लिएको खबर बाहिर फुटेको सिमलको भुवाजस्तै फैलियो ।
हिजोसम्म जेरी जस्तै रहेको कार्यालय पुवामा परिणत भयो । काक्रा जस्तै गोला र गोलभेडा जस्ता राता गाला भएका कर्मचारीको अनुहार खडेरीले खाएको तोरिमा परिणत भयो । पावरमा भएकाहरूले पावर नै प्रयोग गर्ने स्थान पाए । पावरमा नभएकाहरू टाउको निहु¥याएर च्यातिएको कार्पेट र हाकिमको खाली कुर्सी हेरिरहे ।
दिन बित्यो । छोडेर जाने हाकिमले कार्य सम्पादनमा सय नम्बर पायो । अव उहाँको बढुवा पक्का छ । दुर्गम त पहिला नै दुई वर्ष बस्नु भएको हो क्यारे, पछाडिबाट कसैले बोल्यो । होस् न त अख्तियारले पनि त उनको थोपा सिंचाइ बारे अध्ययन गर्दै होला, कार्यालय सहयोगीले पिच्च थुक्यो । अहो ! चिया बसाएको थिएँ, डढ्यो होला । आफुले पाउने भनेको त्यही हो, त्यो पनि सकियो भने । उसको चिन्ता रोकिएन । दौडिएर पुग्यो किचनमा, जहाँ मगमगाएर चुलोमा पोखिएर बाँकी रहेको चिया उम्लिरहेको थियो । आहा मेरो भाग्य । हाकिम छैनन् मलाई पुगी जान्छ ।
कार्यालय तोकआदेश विना नै चल्यो । नयाँ हाकिम आएर पहिले पार्किङ हेरे, दोस्रो बरण्डा । आफ्नो कार्यकक्ष कस्तो छ भन्ने चासो देखाएनन् । सबै कर्मचारी आश्र्चयमा परे । एक सुब्बाले सोधे– पार्किङ र बरण्डामा नजर किन गढ्यो हजुर ? ल सुब्बा सा’ब अव छिट्टै अधिकृत हुनुहोस् है । हाकिम नभइ धेरै कुरा कहाँ सिक्न पाइन्छ र । सुब्बा मुखभरिको जवाफ पाएर आग्लो लागेको ढोका भयो ।

प्रशासन फाँटको प्रमुख आएर हाजिर रजिष्टर तेर्स्यायो । पर्दैन हो विनोदजी हाजिर साजिर । म यहाँ काम गर्न आएको हो र हाजिर गर्नु ? म त नयाँ गाडी किन्ने र घुम्ने । घुमिसकेर बरण्डामा बसेर घाम ताप्ने । बल्ल अरुले बुझे हाकिमले पार्किङ र बरण्डा हेरेको । लेखालाई बोलाएर आम्दानीको अवस्था जाँचे । प्रशासनिक र विकास खर्चको आँकडा तुलना भयो । उठ्ने राजश्व र उठाउनु पर्ने बक्यौतामा कति कमिसन आउन सक्छ । अघिल्लो वर्षको आयमा तुलना भयो ।
बजेट खर्च भएको, राजश्व उठ्न धेरै बाँकी नरहेको र उठाउनु पर्ने बक्यौता पहिलो हाकिमले उठाइसकेको फेहरिस्ता लेखाले दियो । टेबुलमा नयाँ फेरिएको तौलियामाथि राखिएको हाकिमको हात विजुली गतिमा निधारमा पुग्यो । स्वीच थिचेर चालकलाई बोलाए । सरुवा र पदस्थापनको चिठ्ठी गोजीमा नै राखेर हाजिर नै नगरी मन्त्रालय हाकिए । भोलिपल्ट चालक र गाडी फिर्ता आयो । टेवुलमा राखिएको नयाँ ल्यापटप र हाकिम फर्केनन् ।
चिया चिनी हालेको खान्थे कि नहालेको, कालो खान्थे कि दूध हालेको थाहै नपाइ हाकिम गए, कार्यालय सहयोगीले गुनासो गरे । भोलिको विदा प्रशासनबाट लिनुपर्ला । आखिर हाकिम नभएको समयमा आराम पनि त गर्नुपर्यो । मेरो विदा धेरै बाँकी छ क्यारे । पहिला जस्तो संचय विदाको पैसा पनि त आउँदैन ।
सबैलाई खुङ्गामा हालेर आफु नदीमा पौडिएकोमा पूर्व हाकिमप्रति सबै रिसले मुर्मुरिए । निमित्तको जिम्मेवारीमा अधिकृत सातौँ रमायो । प्रशासन फाँटको आठौँ तहको अधिकृतको निमित्तसँग बोलचाल हरायो । सुब्बाले विवरण सच्याउन सेवाग्राही आएको र अहिले हाकिम नभएकोले सच्याउन नसकिने बतायो । अधिकृत सातौंले के गर्न सकिन्छ भनेर आठौँसँग सल्लाह लिने प्रवन्ध सुब्बाले मिलायो । मलाई एक काँटी हुन्छ भने फाइल मगाऊ, नत्र भने भोलि भन्नु । अधिकृत आठौँको निर्देशनले अधिकृत सातौँ आश्चर्य भयो ।
सहयोगीले “कैँटेभन्दा कपटी ठिक भन्यो ।” सबै हाँसे । दुई काँटीमा कागजात सच्याइयो । कपटीहरूकोसंगले काम मात्र होइन ज्ञान पनि बढ्छ, सातौँ र आठौँ एकै पटक हाँसे । सहयोगीले दूध चिया टेबुलमा राख्यो । केही क्षणपछि कप खाली देखियो । कपको विटले टेवुलमा भने गोलो घेरा बनाएको थियो ।
बोधराज पौडेल, खोटाङ


















