• २०८१ माघ ९ गते बुधवार

मनका सँघारहरूमा
पोखिएनन् घामका पाइलाहरू
बटारिएका बिचरा बाङ्गाटिङ्गा खुशीहरू
कठै ! रुझिरहेका छन्
सजल दिलका गहिरा सागरहरूमा
आमा भातसँगै
कसौ“डीमा फत्किरहेकी हुन्छिन्
बा, खेतसँग एकोहोरो लाप्पा खेलिरहेछन् ।

समयले दोहोलो काढेको छ
गाउँहरू निस्ताएको पटक्कै रुचि छैन प्रकृतिलाई
सुन्दरता ब्याउँदैन गाउँमा
मेरो मनको गाउँ पनि भाले मेवाजस्तै भएको छ
फाटेका रित्ता अनुहारहरू थाकेका छन्
बै“स बगेदेखि
दिग्दारिएका छन् गाउँका पखेटाहरू
चिरिएको मन
खै ! कसरी सिउने, कसरी टाल्ने हो ?

थाकेका पाखुरीहरू
परदेश बनाइरहन विवश छन्
उर्लँदो बै“सको मदानी बालुवामा रगडिएको छ
ओर्लँदो जवानी सिरानीमा चेपेर
मनको ओछ्यान भिजाइरहेकी छन् प्रियतमा
परदेश दुःखको घर भएको छ
घरदेश मनको किनाराको बगर भएको छ
भाले नबास्ता देशमा
उषालाई उज्यालो कोरल्न गाह्रो भएको छ
उफ! जिन्दगी पनि
नाम्लाले थिचेको टोपीजस्तै भएको छ ।

चकमन्न अँध्यारोमा क्षितिजको पल्लो छेउमा
उज्यालाको एउटा छेस्को बोकेर
लम्कँदै गरेको आकृति
जीवनमा भरोसाको दीयो भएको छ
हुनसक्छ ऊ
युद्ध अगाडिको विजयोन्मुख पाञ्चजन्य
कि वा अपराजित सत्य
आशातीत आधुनिक महाभारतको हस्तिनापुर ।

आशाका त्यान्द्रामा तुनिएको लहरे जिन्दगी
फित्ता चुँडिएको चप्पलजस्तै भएको छ
टाल्दै लाउँदै गरिएको करिमबक्सको जुत्ता जस्तो
जिन्दगीको भद्दा पोयो पनि
तन्काउनै पर्ने चुइङ्गम जस्तै भएको छ
निष्ठुरी सत्ता र समय पनि
भद्दा जिन्दगीको उपहास गरिरहेकै छ
प्राप्तिको होनहार जिन्दगी खोज्दाखोज्दै
समाप्तिको चाङ लागेको छ
के जिन्दगी फगत
जन्मनु र मर्नुको निरन्तरता मात्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *