एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

म, मेरो नाक र कोरोना

189
shares

कुरा २०५५ सालतिरको । मैले कामविशेषले जन्मथलो छाड्नुपर्ने भयो । १६ बर्से उमेर थियो, त्यसताका । त्यो क्षण बाध्यता नै नभए पनि जीवन र जगतका लागि भने अत्यन्तै महत्वपूर्ण थियो । त्यो कामविशेषलाई नघुमाईकन भन्दा मैले त्यसबेलाको एसएलसी अनि अहिलेको एसईई पुरा गरेको थिएँ । त्यसपछिको शिक्षालाई उच्चशिक्षा भनेर जानिन्थ्यो, त्यतिबेला । त्यही शिक्षा आर्जनका लागि म खोटाङ जिल्लाबाट देशको राजधानी काठमाडौं पुगेँ ।  

राजधानी पुग्नुअघि मलाई ‘म’ मान्छे हुँ अनि मान्छे विभिन्न अङ्ग मिलेर बनेको हुन्छ भन्नेसम्मको सामान्य जानकारी थियो । काठमाडौंमा केही समय बसेपछि मेरो शरीरमा भएका अङ्गमध्ये मैले नाकलाई अरुभन्दा राम्ररी चिन्न थालेँ । किनकि, क्याम्पस जाने-आउने एवं काठमाडौं सहर घुम्ने क्रममा मैले नाकलाई नजिकबाट चिन्न थालेको हुँ । गाउँमा बस्दा शरीरमा भएका सबै अङ्ग आ-आफ्नै तरिकाले सहज रुपमा परिमार्जन भए तापनि सहर आएपछि अन्यको तुलनामा नाकको रुप अलि बढी वा असहज रुपमा परिमार्जन हुन पुग्यो । यसो हुनुको कारण सहरको घरबाट बाहिर निस्केपछि फोहोरबाट नाकलाई जोगाउने नाममा चोरऔंला र बुढीऔंला प्रयोग गरी च्याप्ने अनि घरमा हुँदा सधैंजसो रुघा लागिरहने हुँदा नाकमा भएको रुघा निकाल्न यसलाई तानिरहनुपर्ने हुनाले काठमाडौं बसाइको करिब १६ वर्षको अन्तरालमा यसको आकार असामान्य रुपमा परिमार्जन हुन पुग्यो । यो अन्तरालमा मलाई गाउँमा वा पूर्वनाकमा चिन्नेले काठमाडौंमा परिमार्जन भएको नाकसँग देख्दा नचिनेका क्षणहरू पनि सम्झनामा छन् । 

सहर बसाइका १६ वर्षपछि संयोगवश मलाई संयुक्त राज्य अमेरिका आउने ‘अवसर वा बाध्यता’ मिल्यो । यहाँ आएपछि त नाकले केही सहज परिवेश पाउला र सामान्य अवस्थामा आउला भन्ने लागेको थियो । र, यस्तै हुँदै पनि थियो । तर, प्रकृतिका उपज हामी, प्रकृतिकै लय र तालमा जीवनलाई डोर्याउनुपर्ने रहेछ । अचानक प्रकृतिले सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको युहान सहरबाट कोरोनाभाइरसको उत्पत्ति गरायो र विश्वभरि फैलायो । यो लेखलाई यहाँसम्म ल्याएर गुगल सर्च गर्दा विश्वभर कोरोनाभाइरसबाट (२६ फेब्रुअरी २०२२ बेलुकासम्म) संक्रमित हुनेको संख्या ‘मसहित’ ४३४,८८८,५२३ रहेछ भने निको भएको संख्या ३६४,८२१,७५३ रहेछ । जसको कारणले ज्यान गुमाउनेको संख्या ५,९६३,५५० पुगेको रहेछ ।  

कोरोनाभाइरसको उत्पत्तिले नाकप्रतिको मेरो आशालाई पुनः निराशामा परिणत गराइदियो । कोरोनाभाइरसको सुरुवातपछि विश्वभरि नै नाकलाई असर पर्ने साधन मुखौटो ‘मास्क’ अनिवार्य प्रयोग गर्नुपर्ने बाध्यता बन्यो । कोरोनाको जन्मपछि मास्कको प्रयोगले सबैभन्दा बढी पीडा मेरो नाकलाई नै परेको छ । किनकि, मास्क बन्दा औसत आकारमा बन्ने रहेछन्, आफ्नो नाक पहिले नै औसत आकारबाट पार भइसकेको थियो । सत्यता यही नै हो,  म घरबाट निस्किएको करिब २४ वर्षको अन्तरालमा मैले मेरो नाकलाई सहज वातावरणमा राख्न सकेको छैन ।  

जब मास्कको प्रयोग गरेर जीवन बचाउने युगमा आइपुगियो तब विभिन्न अनुभव र घटनाको पनि सामना गर्नुपरिरहेको छ । मास्कको प्रयोग गर्दा नाक र कानलाई पर्ने असर आफ्नै ठाउँमा छ, यसको साथै अरु विभिन्न घटना पनि हुने गरेका छन् । यो पछिल्लो दुई वर्षको अन्तरालमा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएपछि भूलवश मैले मात्र नभएर आममानिसले विभिन्न आरोह-अवरोह बेहोर्नुपरेको छ । मास्कका कारण विविध घटना घट्ने गरेका छन् । यस्ता घटना कुनै रमाइलो हुने गर्छ भने कुनै पीडादायी पनि । प्रसंग धेरै भए पनि प्रायः मैले अनुभव गरेका र अरूले गरेको देखेका केही घटना उल्लेख गर्ने प्रयास गरेको छु । तरल कुरा जस्तै- पानी, चिया, जुस आदि खाँदा मास्क नखोली धेरै पटक मुखमा हालियो अनि अरुले पनि त्यसै गरेको देखियो । त्यस्तै, मास्क लगाएको बिर्सिएर परिस्थितिवश कुनैबेला थुकियो अनि केही कुरा हटाउनलाई फुकियो । धेरै पटक मास्क लगाएकै अवस्थामा मुख धोइयो भने खानेकुरा मुखमा हालियो ।  

यस्तै, अन्य रमाइला अनुभव के छन् भने कुनै राम्रो वा नयाँ ठाउँमा, साथीभाइ एवं आफन्तसँग फोटो खिच्दा मास्क नै नखोली बल्लतल्त खिस्स हाँसेर पोज दिएको तर पछि फोटो हेर्दा मास्क नै नखोलेका क्षण पनि धेरै बनेका छन् । त्योभन्दा पनि रमाइलो कुरा त कोरोनाको उत्पत्तिपश्चात् मास्कसहित चिनजान भएका र सँगै काम गरेका व्यक्तिलाई विनामास्क हुँदा नचिनेर पुनः परिचय मागेका घटना पनि थुप्रै छन् । साथै, मास्क लगाएको व्यक्तिलाई आँखा र निधार देखेको भरमा यस्तो होला भनेर कल्पना गर्दा र विनामास्क देख्दा अकल्पनीय फरक भएका क्षण । मास्कमा भाइ-बहिनी भनेर सम्बोधन गरेका व्यक्तिलाई विनामास्क देख्दा दाजु-दिदी भन्नुपर्ने अवस्था पनि भोगियो भने कुनैबेला यसको विपरीत पनि । यसरी विभिन्न परिस्थितिको सामना गर्नु परे तापनि समग्रमा भन्नुपर्दा पुरा अनुहार हेर्न नपर्ने भएकाले होला, मास्क नलगाएकोभन्दा लगाएको मान्छे नै राम्रो देखियो । 

हुँदा-हुँदा आजभोलि त साना बालबालिकामा यो मास्क पनि अनिवार्य ड्रेस नै हो र घरबाट बाहिर जाँदा यो लाउनैपर्छ भन्ने अवधारणा बनिसकेको छ । यस्तै-यस्तै विविध क्षणको सामना गर्ने क्रम यथावत् नै छ, जिन्दगानीमा । थाहा छैन, अरु कति समय मास्कले नाकलाई सताउँछ अनि अर्को कस्तो क्षणको सामना गर्नुपर्छ यो नाकले, त्यो त समयको हातमा छ । आशा छ, भविष्यमा कोरोनाजस्ता कुनै पनि प्रकारका महामारी एवम् रोगहरूको उत्पत्ति नहोस् । अझै धेरै कामना छ, यसरी नाकलाई नै दुःख दिने खालका रोग-व्याधी यो धरतीबाटै हराऊन् । साथै, सबैमा कोरोनाभाइरसबाट बच्ने उपाय अपनाउन अनुरोध पनि गर्दछु । सबैको जय होस् ।

साभार: हिमालाय खबर डट कम