• २०८१ मङ्सिर ६ गते बिहिवार

काठमाडौँ । विभिन्न कार्यक्रमका साथ मंगलबार १७औँ गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवस मनाउने गरिन्छ । पहिलो संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ । यो दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनको रूपमा मनाइने गरिएको छ ।

राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही कदम चालेपछि संसद्‌वादी दल र माओवादीबीच कार्यगत एकता भयो । फलस्वरूप २०६२ मङ्सिरमा संसद्‌वादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्र स्थापना निम्ति आन्दोलन शुरू भयो । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । यही आन्दोलन गणतन्त्र स्थापनाको जगको रूपमा स्थापित भयो ।

गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमको आयोजना गरिं मनाईदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन् । दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *