• २०८१ बैशाख १७ गते सोमवार

काठमाडौँ । खोटाङ जिल्लास्थित खोटेहाङ गाउँपालिकाबाट तलव, भत्ता लगायतका आर्थिक सुविधा प्राप्त गर्ने शिक्षक, कर्मचारी र निर्वाचित जनप्रतिधिहरुले अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने भएको छ ।

शिक्षक, कर्मचारी तथा राजनीतिक दलका नेताहरुकोसमेत लगानीमा धमाधम नीजि विद्यालय स्थापना गरी आफ्ना बालबालिकाहरु निजी विद्यालयमा नै पढाउने गरेकाले सामुदायिक विद्यालयको शिक्षामा सुधार आउन नसकेको भन्ने टिप्पणी भएरहेको र अधिकांश सामुदायिक विद्यालयको पठन पाठन दिनानुदिन खस्किदै गइरहेका बेला गाउँपालिकाले यस्तो निती तथा निर्णय गर्नु शिक्षा क्षेत्रमा सुधारको संकेत पक्कै देखिएको छ । साथै यस निर्णयलाई कार्यान्वयन गर्नु गराउनु पनि उत्तिकै चुनौतिपूर्ण पनि देखिन्छ ।

खोटेहाङ गाउँपालिकाले सूचना जारी गर्दै भनेको छ,– “खोटेहाङ गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकाबाट तलब, भत्तालगायतका आर्थिक सुविधा प्राप्त गर्ने शिक्ष, कर्मचारी र निर्वाचित जन प्रतिनिधिहरुका बालबालिकाहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने भनि भएको व्यवस्था साथै मिति २०८०/१२/०८ मा गाउँ कार्यपालिकाको ब्रठकको निर्णयानुसार सबै प्रकारका कर्मचारी, सबै प्रकारका शिक्षक तथा सम्पूर्ण निर्वाचित जन प्रतिनिधिहरुलाई आगामी शैक्षिक सत्र २०८१ आ आफ्ना बालबालिकाहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्नुहुन अनुरोध छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति गाउँपालिकाले अबलम्बन गरेको यस नीतिलाई सहयोग गर्न सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, शिक्षा प्रेमीलगायत सकारोकारवालासँग गाउँपालिका हार्दिक अपिल गर्दछ ।

नोटः यदि यो सूचनालाई वेवास्ता गरी आफ्ना बालबालिकाहरुलाई निजी विद्यालयमा भर्ना/अध्ययन/अध्यापन गरेको पाइएमा सम्बन्धित व्यक्तिको तलव, भत्ता लगायतका सेवा सुविधा गाउँपालिकाको कार्यालयदेखि रोक्का हुने जानकारी गराइन्छ ।” भनिएको सूचना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले सार्वजनिक गर्नुभएको छ ।

खोटोहाङ गाउँपालिकाका अध्यक्ष श्री उदिम बहादुर राईले आर्टिकल्स पेपरसँग कुरा गर्दै भन्नुभयाे- “शिक्षालाई गुणस्तरीय र मर्यादित बनाउनका लागि आम सर्वसाधारण जनता र शिक्षामा सरोकार राख्ने शिक्षा प्रेमीहरुको सल्लाह सुझावलाई मध्यनजर गरी यस्तो नीति लिइएको हो । यस विषयमा सबैको साथ सहयोग आवश्यक छ, जसले शिक्षालाई प्रभावकारी र बलियो बनाउन मद्दत पुग्ने छ ।”

खोटेहाङ गाउँपालिकामा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ ।

खोटेहाङ गाउँपालिकाबाट जारी सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *