• २०८१ बैशाख २८ गते शुक्रवार

काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटघाट भएको छ । भेटले सत्ता समीकरणमा तरंग ल्याएको छ ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला र वैकल्पिक गठबन्धनको कुरा उठिरहेका बेला दुई नेताको भेटघाट भएको हो । सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरेपनि एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज अपराह्न ५ बजे सकिँदैछ । भेटमा वैकल्पिक गठबन्धन बनाउने विषयमा खुलेर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार देउवा र नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भएको छ । बुधबार मात्रै सचिवालय बैठकबाट अहिलेको सरकारप्रति एस पार्टीले असन्तुष्टि व्यक्त गरेको थियो ।

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा सोडारीलाई अघि सार्दा एमालेले भने अझै त्यस विषयमा ठोस निर्णय गरेको छैन । स्रोतका अनुसार एमाले नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार छ तर मुख्यमन्त्रीमा सोडारी बाहेकलाई अघि सार्नुपर्ने उसले सर्त राखेको थियो । एमालेको यो प्रस्तावलाईसमेत बवास्ता गरेका माधव नेपालले शेरबहादुर देउवासँग गोप्य भेटघाट गरेका हुन् ।

नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफू तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ । एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ । देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउँदा प्रचण्डले १५७ मत पाएका थिए । त्यस आधारमा २२ मत कम हुँदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन् ।

अखबार नेपालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *