• २०८१ बैशाख १७ गते सोमवार

बनेको छ सत्ता मोहले जीवन मेरो
बगेको छ सकुनी नीति रगतमा मेरो
छिमेकको तालमा नाच्ने
जनतालाई ढाँट्ने आकाशको फल देखाउने
ठुला सपना बाँड्ने
जहिले पनि टुट्ने प्रतीज्ञा गर्ने बानी छ मेरो
तर भुक्न जानेको म कुलङ्गार छोरो ।

जनताको रगतमा खेल्ने मनमा जे लाग्छ बोल्ने
कुर्ची प्राप्तिको लागि जस्तो तिकडम नि गर्ने
आफन्त जनहरुलाई पद बक्सिस्मा दिने
पैसाको दममा सेटिङ् मिलाएर जे गर्न नि जान्ने
जे गरे नी यहाँ झोला बोक्नेहरु धेरै छन मेरो
तर भुक्न जानेको म कुलङ्गार छोरो ।

कहिले उत्तर माइती मान्ने कहिले दक्षिण मान्ने
ताक परे तिवारी नत्र गोतामे भन्ने
मुखले संविधानको रटान लगाउने
आफ्नो स्वार्थ पूरा गर्न त्यसलाई मिच्दै जाने
अनि सरकारी जग्गा मिलिजुली खाने
जे गरे नी यहाँ कानुनले केही बिगार गर्दैन मेरो
तर भुक्न जानेको म कुलङ्गार छोरो ।

सुम्पेको छु मालिक भक्तमा विवेक मेरो
बितेको छ कुर्ची दौड खेल्दैमा जिन्दगी मेरो
जनधनको सुरक्षामा खर्च किन हो र गर्ने?
अनि मरेकालाई शहिद भनेर उम्किने
जनता जिउँदै जल्दा विज्ञप्ती दिएर पुग्ने
सुरक्षागार्ड बिना आफू एक पाइला हिंड्न नसक्ने
यस्तै दिनचर्यामा जीवन मोजसँग चलेको छ मेरो
तर भुक्न जानेको म कुलङ्गार छोरो ।

धर्म निरपेक्षताको नाउँमा आनो संस्कृतिलाई बेच्ने
पन्च अमृतभन्दा होली वाइनको बखान गर्ने
दुई चोटि खोकी लागे उपचार गर्न विदेश हिंड्न्ने
जनता त मर्नको लागि हुन् गुणस्तरीय अस्पातल यहाँ किन खोल्ने ?
जे हुर्मत गरे नि यहाँ लाग्छन् जनता पछि मेरो
तर भुक्न जानेको म कुलङ्गार छोरो ।

छिन छिनमै बोली फेर्ने लाजै नमान्ने,
छेपारोले भन्दा नि चाडो रङ्ग फेर्ने
कस्को रिमोटबाट चलेको किन हो कुन्नि ?
तर जनतालाई झुक्याउन कति दाउ हान्ने
कति धेरै रुप हजार जिव्रा भएका शेषनागले बयान गर्न नसक्ने
मोहिनी के लाग्यो जनता कठै पछि लाग्छन है मेरो
तर भुक्न जानेको म कुलङ्गार छोरो ।

दाउ पाए आमालाई बेच्ने मौका हेर्ने
म एक क्रान्तिकारीको नाममा विनाशवादी कुलङ्गारे मोरो
“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे”
यो दिव्य मन्त्र भेडाले बुझ्छन् कि भन्ने सन्ताप छ मेरो
अब त जनताले आत्मा निरीक्षण गर्लान् कि भन्ने डर पो छ मेरो ।

मन्जु भट्टराईद्वारा लिखित कवितासंग्रह “म खुसी म” बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *