काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

चार दिनको अविरल वर्षापछिको बाढी-पहिरोमा परी २७ जनाको मृत्यु, ४ बेपत्ता र २ हजारभन्दा बढीको उद्धार

707
shares

काठमाडौं । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा, बाढी र पहिरोमा परी देशभर २७ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १२ गते जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशभर विपद्का ५४२ वटा घटना घटेका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार पहिरोका ३०४ घटनामा २० जना, बाढीका ८७ घटनामा ४ जना र भारी वर्षाका १५१ घटनामा ३ जनाले ज्यान गुमाएका छन्। विपद्मा परी ८ जना घाइते भएका छन् भने १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। भौतिक क्षतितर्फ २२७ वटा घर पूर्ण रूपमा तथा १४२ वटा घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३१ वटा पुल र १० वटा गोठमा क्षति पुग्नुका साथै ११४ वटा पशु चौपाया नष्ट भएका छन् ।

चार दिनको निरन्तर वर्षाका क्रममा देशभरका १८६ वटा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डेढगाउँमा सबैभन्दा बढी ५४४.२ मि.मि., कास्कीको पञ्चासेमा ५००.२ मि.मि. र तनहुँको अत्रौलीटारमा ४७२ मि.मि. वर्षा मापन भएको प्राधिकरणले जनाएको छ ।

विपद्पछि सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रबाट करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । दुर्गम तथा जोखिमयुक्त स्थानबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४,६६० जना सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ । असोज ११ गते म्याग्दीको पाउद्धारबाट जोखिममा परेका ७८ जना, जाजरकोटको कुदुस्थित भेरी नदीको टापुबाट ४ जना तथा रसुवा, दैलेख, हुम्ला र मुगुबाट घाइते तथा बिरामीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । यता, हिमलुङ हिमालमा क्याम्प स्थापना गर्न गएका २२ जना नेपालीमध्ये ४ जनाको शव फेला परेको र थप खोजी तथा उद्धार कार्य जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

विपद् पूर्वतयारीका लागि प्राधिकरणको ‘सिचुएसन रुम’ निरन्तर ७६ घण्टा सक्रिय राखिएको थियो । सम्भावित बाढी र पहिरोको जोखिमबारे टेलिकममार्फत ९ लाख ८० हजारभन्दा बढी नागरिकलाई सतर्कता एसएमएस, ४७ घण्टासम्म रिङ ब्याक टोन तथा ५ हजारभन्दा बढी रेस्पोन्डरहरूलाई अलर्ट सन्देश पठाइएको थियो ।

हाल मनाङ, म्याग्दी, बागलुङ, पर्वत, नवलपरासी लगायतका जिल्लाहरूमा स्थानीय तह, प्रशासन तथा सुरक्षा निकायको समन्वयमा विस्थापितहरूलाई अस्थायी आवास (विद्यालय, होल्डिङ सेन्टर, टेन्ट) तथा खाद्यान्नको व्यवस्था मिलाइएको छ । नदीहरूको जलसतह क्रमैसँग घट्दै गई स्थिति सामान्यतर्फ उन्मुख भइरहेको र अवरुद्ध सडक तथा पूर्वाधार खुलाउने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ ।