नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

‘दसैँ’ कि ‘दशैँ’ ?

भाषिक शुद्धता र एकरूपताका लागि सर्वस्वीकार्य मानक अपरिहार्य

3.49K
shares

नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक बहस सधैँ सतहमा आउँछ— यो पर्वलाई ‘दसैँ’ लेख्ने कि ‘दशैँ’ ? सदाझैँ  यस पटक पनि विशेषगरी सामाजिक सञ्जालमा यो विविधता देखिएको छ । यसरी एउटै चाडको नाम फरक-फरक हिज्जेमा प्रयोग हुँदा यसले आम जनमानस, विद्यार्थी र सिकारु सबैमा अन्योलता सिर्जना गर्नुका साथै नेपाली भाषाको स्तरीकरणमा समेत चुनौती थपेको छ।

व्याकरणिक शुद्धता र स्थापित परम्परा

कुनै पनि शब्दको हिज्जे विवादित हुँदा त्यसको निरूपण गर्ने आधिकारिक निकाय नेपाल प्रज्ञा-प्रतिष्ठान हो । नेपाल सरकारको आधिकारिक पछिल्लो शब्दकोश ‘नेपाली बृहत् शब्दकोश’ आधुनिक व्याकरणअनुसार, संस्कृतको ‘दशमी’ शब्दबाट रूपान्तरण भएर आएको तद्भव शब्द भएकाले यसमा पातलो ‘स’ प्रयोग गरी ‘दसैँ’ लेख्नुलाई शुद्ध र मानक मानिएको छ। त्यस्तै, उच्चारणको नियमअनुसार अन्तिमको ‘ऐ’ नाके स्वर (अनुनासिक) भएकाले पञ्चम वर्णको सट्टामा लाग्ने शिरबिन्दु (ं) भन्दा चन्द्रबिन्दु (ँ) को प्रयोग व्याकरणिक रूपमा शुद्ध मानिन्छ। यसैगरी, भाषाविद् शरच्चन्द्र वस्तीलगायत ‘मानक नेपाली भाषा अभियान’का अगुवाहरूले शब्दको मूल स्रोत र समाजमा स्थापित परम्परालाई जोड दिएका छन् । उनीहरूको तर्कअनुसार मूल संस्कृत शब्द ‘दशमी’मा मोटो ‘श’ प्रयोग हुने भएकाले नेपाली समाजले लामो समयदेखि अपनत्व ग्रहण गरेको ‘दशैँ’ हिज्जेलाई चलाउनु हुँदैन।

अस्थिरताले ल्याएको मनोवैज्ञानिक प्रभाव

एउटै शब्दलाई फरक हिज्जेमा लेख्दा भाषिक एकरूपता मात्र भत्किएको छैन, यसले समाजलाई मनोवैज्ञानिक रूपमा विभाजनसमेत गरेको छ। नेपाली भाषाको वर्णविन्यास परिवर्तनसम्बन्धमा पाठ्यक्रम विकास केन्द्रमार्फत तयार पारिएको ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’ सम्बन्धी टिप्पणीलाई ‘२०६९ साउन २२ गते’ नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सदर गरिएपछि भाषामा केही अन्योलता उत्पन्न भएको थियो । सो अन्योलतालाई हटाउनका लागि सर्वोच्च अदालतको ‘२०८१ असार ९ गते’ मा भएको फैसलाले बाटो खोलिदएको देखिन्छ ।

भाषा भनेको केवल व्याकरणको कठोर नियम होइन; यो समाजको भावना, सांस्कृतिक पहिचान र जनजिब्रोको साझा सम्पत्ति हो। व्याकरणका नियमहरू आधिकारिक निकायबाट एकतर्फी लाद्न खोजिँदा जनमानसले त्यसलाई सहजै स्वीकार गर्दैन भन्ने यथार्थ यो अहिलेको ‘दसैँ’ र ‘दशैँ’ को प्रयोगबाट पनि प्रस्ट देखिन्छ।

समाधानको बाटो: सर्वमान्य मानकको निर्माण

भाषालाई सर्वमान्य र सम्मानित बनाउन अब सबै पक्षबाट आ-आफ्नो हठ त्याग्नुपर्ने देखिएको छ । देशको कानुन, आधिकारिक निकायको मर्यादा र जनमानसको भावना सबैलाई सन्तुलनमा राखेर भाषिक एकता कायम गर्न निम्न कदमहरू चाल्न उपयुक्त हुन्छ:

लचकता र सहमति: नेपाल प्रज्ञा-प्रतिष्ठानले आफूलाई खुला भावनाका साथ भाषाविद्, साहित्यकार र सञ्चारकर्मीसहितको फराकिलो छलफलबाट सिर्जित सर्वमान्य रुपमा भाषालाई आवश्यक परिमार्जन गर्नका लागि वातावरण निर्माण गर्नुपर्छ। साथै, ऐतिहासिक शब्दहरूको हिज्जे चलाउँदा जनमानसको मनोविज्ञानलाई सम्मान गरिनुपर्छ।

साझा शैलीपुस्तिका: सञ्चारमाध्यमहरूले समाजलाई सही सूचनाबाट सु-सूचित पार्ने हुनाले सरकारी र निजी मिडिया तथा सम्पादक समाजले एउटै ‘सम्पादकीय शैलीपुस्तिका’ (Stylebook) निर्माण गरी लागू गर्नुपर्छ।

शैक्षिक एकरूपता: प्रज्ञा-प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रबीच पूर्ण समन्वय गरेर आमपाठ्यपुस्तकमा एउटै हिज्जे समावेश गरिनुपर्छ, ताकि विद्यार्थी द्विविधामा नपरून्।

राष्ट्रिय भाषिक मानक: नेपाल सरकारले सरोकारवालाहरूको समन्वयमा आधिकारिक नियमलाई अनुमोदन गरी सम्पूर्ण दस्ताबेज र अभ्यासमा लागू गर्ने वातावरण र अनुशासनको विकास गर्नुपर्छ।

अन्त्यमा, भाषाको मूल उद्देश्य विचार र भावनाको सहज सम्प्रेषण गर्नुका साथै समाजलाई एकताबद्ध बनाउनु हो। यसका लागि भाषिक शुद्धता, स्पष्टता र एकरूपता उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यसैले नेपाल सरकार, प्राज्ञिक वर्ग, भाषाविद्, सञ्चारमाध्यम तथा सम्बन्धित सरोकारवालाले आपसी मतभेद र असमझदारीलाई त्यागेर सर्वस्वीकार्य भाषिक मानक निर्माणमा साझा प्रयास गर्नु अपरिहार्य छ । यस विषयमा व्यापक छलफल, अध्ययन र सहमतिका आधारमा तयार गरिएको आधिकारिक भाषिक मापदण्डले मात्र ‘दसैँ’ वा ‘दशैँ’ जस्ता विवादित हिज्जेमध्ये कुनलाई मानकका रूपमा अपनाउने भन्ने अन्योल हटाउन सक्छ। यस्तो साझा मापदण्डको निर्माण र प्रभावकारी कार्यान्वयनसँगै सबै वर्ग, क्षेत्र र निकायले जिम्मेवारीपूर्वक एकरूप भाषिक प्रयोगलाई आत्मसात् गर्न सके नेपाली भाषामा विद्यमान अन्योल कम हुँदै जानेछ। अतः भाषिक विविधताको सम्मान गर्दै शुद्धता, स्पष्टता र एकरूपताप्रति सबै सचेत र उत्तरदायी बन्नु आजको आवश्यकता हो।

बडादसैँ – २०८३ को हार्दिक शुभकामना !