सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

  आर्टिकल्स पेपर, काठमाडौं । हाम्रो पूर्वीय दर्शनमा न्यायाधीशलाई न्यायका प्रतीक धर्मराजजस्तै कसैप्रति पूर्वाग्रह...

पुरा पढ्नुहाेस्

नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

साहित्यमा चेतन कार्की

सन्दर्भ: चेतन कार्कीको ८८ औं जन्मजयन्ती

2.65K
shares

सारसङ्क्षेप

देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले चेतन कार्कीलाई कला र साहित्यतर्फ आकर्षित गर्यो । वि.सं. २०१८ देखि सरकारी सेवा (पोखरा ताल विकास) बाट नोकरी सुरु गरे पनि पोखरा र काठमाडौँको साङ्गीतिक एवं सांस्कृतिक सहभागिताले उनको साहित्यिक यात्रालाई झन् उर्बर बनायो । ‘आत्मा बेचेको छैन’ (जातीय र राष्ट्रिय स्वाभिमानयुक्त पहिलो उपन्यास) सहित केही उपन्यास, ‘हो मेरो देश पनि’ गजल सङ्ग्रहमार्फत नेपाली समाजका विकृतिविरुद्ध प्रहार, ‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ (टुक्राटाक्री) सङ्ग्रहमा सामाजिक एवं राजनीतिक विसङ्गतिप्रति आक्रोश, नेपाली चलचित्र (जस्तै: परिवर्तन, कान्छी, मायाप्रीति, राँको आदि) का लागि थुप्रै लोकप्रिय र कालजयी गीतहरूको रचना (नारायण गोपाल, तारादेवी आदिद्वारा गाइएको)। लोकलय र आञ्चलिकताको सुन्दर प्रयोग, हिन्दी तथा उर्दू भाषामा ‘दिल जिगर के टुकडे’ जस्ता मिश्रित काव्य सङ्ग्रह र ‘बसी बियाँलो’ कथा सङ्ग्रह र हिन्दी काव्यको ‘कुण्डली’ शैलीलाई नेपाली साहित्यमा भित्र्याउने प्रयत्न चेतन कार्कीका साहित्यिक सिर्जनाका विशेषाता हुन् ।

विषय प्रवेश

यस लेखमा बहुप्रतिभाशाली स्रष्टा चेतन कार्कीको जन्म, बाल्यकाल, शिक्षादीक्षा तथा उनको समग्र साहित्यिक एवं साङ्गीतिक यात्राको परिचर्चा गरिएको छ। स्याङ्जाको बाँहेटारीमा जन्मिएर भारतको देहरादूनमा हुर्किएका कार्कीमा बाल्यकालकै वातावरणले गीत, सङ्गीत र साहित्यप्रति गहिरो अनुराग पैदा गरेको पृष्ठभूमि यस लेखको मुख्य उठान हो । साथै, उनले उपन्यास, गजल, मुक्तक, गीत, कविता र कथा जस्ता साहित्यका विविध विधामा पुर्याएको योगदानको चिरफार गर्नु यस लेखको मूल उद्देश्य रहेको छ ।

साहित्यप्रतिको झुकाव

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका, आरुखर्कअन्तर्गतको बाँहेटारी गाउँ (सेतीखोलाभन्दा माथि) मा वि.सं. १९९५ कात्तिक २२ गते जन्मेका चेतन कार्कीको विद्यार्थी काल भारतको देहरादूनमा बित्यो । बाबु कप्तान जुद्धवीर कार्की भारतीय सेनामा भर्ती भएका र उनले आफ्ना सन्तानलाई आफू कार्यरत गोर्खाली फौजको देहरादूनस्थित गोर्खा मिलिटरी स्कुलमा भर्ना गरिदिएका थिए ।

चार वर्षको उमेरमा देहरादून गएका चेतन कार्की त्यहाँस्थित गोर्खाली फौजमा आयोजना हुने नाचगान कार्यक्रमलाई नजिकबाट देखेका चेतन कार्कीमा गीत, सङ्गीत र साहित्यप्रति लगाव बढाउन त्यहाँको वातावरणले उत्प्रेरित गर्यो । विद्यार्थी जीवनका चौध वर्ष जुनियर कमिसन्ड अफिसर्स क्वार्टर र अफिसर्स क्वार्टरमा बिताएका चेतन छाउनी बाहिरको वातावरणमा पाँच वर्ष बिताए । यस समयमा उनमा कला, साहित्य, गीत तथा सङ्गीतप्रति मनको कुनै कुनामा बीउ अङ्कुरित भइसकेको थियो ।

छाउनी स्कुलमा कक्षा ६ देखि १० पढ्दा नेतृत्व गर्ने टोलीमा हुँदा पनि गीत गाउने आँट नभएका चेतनले हाफ डे हुने शनिबारका दिनमा चिल्ड्रेल स्कुलमा पुगेर हेडमास्टरको अनुरोधमा हिन्दी फिल्म सफरको युगल गीत (कभी याद कर के, गलफ पार कर के, चली आना हमारे अंगना, चली आना हामरे अंगना । राजा मेरे मन के, तेरी रानी बन के, चली आऊँ तुम्हारे अंगना, चली आऊँ तुम्हारे अंगना) गाएर सबैलाई चकित पारेका थिए । छाउनीको गोर्खा स्कुल र डि.ए.बी. कलेज पढ्दा उनले खासै गीत गाएनन् । तर, डाकरा गाउँमा हुने सत्यनारायणको पूजामा कथापछि हुने नाचगानमा “झमझम परेली” बोलको गीत गाएर प्रशंसा भने बटुलेका थिए । एम. ए. पढ्दा कलेजका बिदाइ कार्यक्रममा आफूले रचेका कविता तथा गीत र नेपाली लोक गीत गाउने गरेका थिए ।

देहरादून पढ्दा स्कुल र कलेजका साथीहरू, गुरुजनहरू, बडा दशैंको कालरात्रिको सन्ध्यामा ९ गोर्खा राइफल, वीरपुर छाउनीको दशैं घरमा प्रदर्शन गरिने मारुनी तथा सोरठी नाँच, दशैंको अवसरमा प्रदर्शन गरिने रामलीला, हिन्दी चलचित्रका कालजयी गीत तथा सङ्गीतले चेतन कार्कीमा साहित्य, कला, गीत तथा सङ्गीतप्रति लगाव बढाउँदै लग्यो ।

विद्यालय तहको शिक्षा गोर्खा मिलिटरी स्कुल देहरादूनबाट प्राप्त गरेका चेतन कार्कीले आइएस्सी र बिएस्सी जीवविज्ञान र हिन्दी साहित्यमा एम.ए. देहरादूनको डिएभी कलेजबाट गरेका थिए । मस्त्य विकास तथा प्रशासनसम्बन्धी एफडिए डिप्लोमा समेत गरेका चेतन कार्कीले वि.सं. २०१८ माघ १ गतेदेखि पोखरा ताल विकासको आयोजना प्रमुख भएर नोकरी सुरु गरेका थिए ।

पोखराको साङ्गीतिक वातावरणले चेतनलाई गीत, सङ्गीत र साहित्यतिर लाग्न प्रशस्त आधार तयार गर्यो । वि. सं. २०२१ मा मीनभवनको कृषि कलेज, पोखराको पृथ्वीनारायण कलेज, राजाको पोखरा सवारी हुँदा रत्न मन्दिरमा आयोजना भएका विभिन्न कार्यक्रममा लोग गीत गाएर गायन क्षेत्रमा स्थापित भइसकेका थिए ।

वि.सं. २०२१ मा मीनभवनको कृषि कलेजमा प्रदर्शन गरिएको सांस्कृतिक कार्यक्रममा चेतन कार्की पहिलो पटक एक गायक, एक नर्तक र अभिनेताका रूपमा रङ्गमञ्चमा उत्रेका थिए ।

पोखराको जागिरपछि भने चेतन कार्कीको साहित्यिक यात्रा झन उर्बर हुँदै गयो । हिमाञ्चल सांस्कृतिक परिषद्को सल्लाहकार भएपछि त काठमाडौँमा आयोजना हुने कार्यक्रममा भाग लिने टोलीको नेतृत्व गर्दै गीत, नाटक, गजल, मुक्तक, कविता, गीति नाटक, उपन्यास, कथा जस्ता विविध विधामा कलम चल्न थाल्यो ।

विभिन्न पत्रपत्रिका तथा स्मारिकाहरूमा सयौँ लेख रचना, गीत, गजल, मुक्तक, कथा तथा कविताहरू प्रकाशित भए । देहरादूनमा रहँदा सन् १९५७ मा गोर्खा छात्र सङ्घको पत्रिका ‘बिहान’ सम्पादन गरे, दून समाज नेपालको त्रैमासिक पत्रिकाको वि.सं. २०६२ देखि २०६९ सम्म सम्पादन गरे । दश ओटा जति गीति नाटकको लेखनका साथै मञ्चनसमेत गराए । वि.सं. २०२५ देखि नेपाली चलचित्रको क्षेत्रमा निर्माण नियन्त्रक, सहायक निर्देशक, गीतकार, प्राविधिक सल्लाहकार, लेखक (कथा, पदकथा, स‌वाद) निर्देशक जस्ता भूमिका निर्वाह गरे । नेपाली कथानक चलचित्र ‘विश्वास‘, ‘भूमरी‘ र ‘पहिलो प्रेम‘ को कथा, पटकथा, संवाद, गीत लेखन मात्र गरेनन्, निर्देशन पनि गरे ।

चेतन कार्कीका प्रकाशित कृतिहरू नौ ओटा रहेका छन्; १. ‘आत्म बेचेको छैन‘ उपन्यास, २. ‘हनीमून‘ उपन्यास, ३. ‘ढलेको गिलास’ लघु उपन्यास, ४. ‘कल्पना टूट चुकी हैं’ हिन्दी तथा उर्दू कविता सङ्ग्रह, ५. ‘हत्केलाले सँधैंभरि सूर्य छेकिदैँन’, कविता–मुक्तक (टुक्राटाक्री) सङ्ग्रह, ६. ‘हो देश यो मेरो पनि’ गजल सङ्ग्रह, ७. ‘‘बसी बियाँलो’ ’, कथा सङ्ग्रह, ८. ‘जून निँदाउन थाल्यो’ गीत–कविता सङ्ग्रह, ९. ‘माया प्रीतिको चोखो कथा’ गीत–कविता सङ्ग्रह जस्ता साहित्यक कृतिहरू प्रकाशित छन् । उनले नेपाली, हिन्दी, उर्दू भाषामा मात्र लेखेका छैनन्, सहलेखनमा अङ्ग्रेजी भाषामा पनि सिर्जना गरेका छन्; Sight, Sound and Pulse ।

यहाँ चेतन कार्कीले साहित्यका विविध विधामा दिएको योगदान र उनका सिर्जनाको चर्चा गर्न खोजिएको छ । तर ‘हनीमून‘ उपन्यास, ‘ढलेको गिलास’ लघु उपन्यास, ‘कल्पना टूट चुकी हैं’ हिन्दी तथा उर्दू कविता सङ्ग्रह र अङ्ग्रेजी भाषाको सिर्जना Sight, Sound and Pulse यस लेख लेख्ने क्रममा उपलब्ध हुन सकेनन् ।

उपन्यासकारका रूपमा चेतन कार्की

‘आत्मा बेचेको छैन’ उपन्यास चेतन कार्कीको पुस्तकको रूपमा प्रकाशित पहिलो कृति हो । यस उपन्यासको पहिलो संस्करण कल्याण पाकेट बुक्स, पोखराले वि. सं. २०२३ मा प्रकाशित गरेको थियो । दोस्रो संस्करण भवानी घिमिरेको प्रयासले भानु प्रकाशन, डिल्लीबजारले वि.सं. २०३० मा प्रकाशित गरेको थियो । यसको तेस्रो संस्करणको प्रकाशन गङ्गा कार्कीबाट वि.सं. २०७१ मा भएको थियो । हुनत: भवानी घिमिरेले भानु प्रकाशनमार्फत् चेतन कार्कीका ‘हनीमून’ र ‘गिलास गिलास’ शीर्षकका उपन्यास पनि प्रकाशित गरेका थिए, यो आलेख तयार गर्ने क्रममा यी दुई उपन्यास उपलब्ध हुन सकेनन् ।

‘आत्मा बेचेको छैन’ जातीय तथा राष्ट्रिय स्वाभिमानले ओतप्रोत भएको उपन्यास हो । उपन्यासकारको भनाइअनुसार “उपन्यास लेख्दा गल्लावालाहरूप्रति जुन आक्रोश मैले व्यक्त गरेको थिएँ, त्यो अरू क्यै नभएर, त्यस बेला मेरो मनमा अत्यन्त उत्कट रूपमा रहेको राष्ट्र प्रेम थियो (कार्की, २०७१: पृ. न) ।” उपन्यासको पहिलो प्रकाशनको समयमा उपन्यासकार २८ वर्षको अल्लारे ठिटा थिए ।

उपन्यासको कथा स्याङ्जा जिल्लाको आरुखर्कअन्तर्गतको बाँहेटारीको फेदीमा बग्ने सेतीखोलाको वरिपरिबाट सुरु हुन्छ । उपन्यास लेखनको समयमा गण्डकी क्षेत्रका; विशेषगरी; क्षत्री, गुरुङ, मगरहरू सके मलाया वा ब्रिटिस वा सिङ्गापुर, सो नभए इन्डियामा भर्ती भएर लाहुरे कहलिने र सो पनि नभए नेपालीका फौजीमा भर्ती हुने चलन थियो । नेपाली फौजी भनेको जङ्गी र प्रहरी पर्दथ्यो । इन्डियामा भर्ती भएको रामुको कथा हो यो उपन्यास ।

उपन्यास लेखनको पृष्ठभूमि नाटकबाट सुरु भएको हो । मल्टी पर्पज स्कुलका प्रधानाध्यापक श्याम पन्तको अनुरोधमा विद्यार्थीहरूले अभिनय गर्ने गरी लाहुरे जीवनलाई आधार मानेर चेतन कार्कीले नाटक तयार गरे । तत्कालीन गण्डकी अञ्चलका सहायक अञ्चलाधीश गङ्गाबहादुर बस्नेतले नाटक प्रदर्शनमा लगाउन खोजेको रोक प्रयासका बावजुद नाटक मञ्चन भयो ।

सहायक अञ्चलाधीशको गलत आशय बुझेपछि चेतन कार्कीलाई नाटकलाई उपन्यासको रूप दिएर प्रकाशन गर्ने मन लाग्यो । उपन्यासको रूप तयार भएपछि पोखराको भैरवटोलको “लक्ष्मी प्रेस” मा उपन्यास छपाइको काम सुरु भयो । फेरि सहायक अञ्चलाधीशले “उपन्यास नछाप्नू, छापेमा प्रेस र प्रेस मालिकलाई कारबाही हुने” धम्की दिए । चेतन कार्कीको चेतावनीपछि सहायक अञ्चलाधीशले उपन्यास छपाइमा हस्तक्षेप गरेनन्, अन्तत ‘कल्याण पाकेट बुक्स–१’ प्रकाशकको नाममा उपन्यास छापियो, बजारमा आयो ।

नाटकको रूपान्तरण भएको आख्यान भएकाले उपन्यास चलचित्रको पटकथा जस्तो भयो भन्ने पाठकको प्रतिक्रिया र उपन्यासको स्वीकारोक्ति पनि देखिन्छ । यससम्बन्धमा उपन्यासकार लेख्छन्:

(क) यसले उपन्यासको रूप लिनु अधि नाटककै रूपमा जन्म लिएको थियो । (ख) यसको रचनाकारको    मनको भित्री कुनामा कतै एउटा भावी चलचित्र लेखक र निर्देशक लुकेको थियो । (ग) यसको    कथावस्तु गण्डकी अञ्चलको गाउँले परिवेश र लाहुरे संस्कृक्तिको वरिपरि घुम्ने हुनाले तथा गीत र   नाच नेपाली जीवन शैली नै भएको हुनाले, त्यसबाट लेखकको कलम मुक्त हुन सकेन र (घ)      उपन्यासमा निहित कथामा नाटकीयता ल्याउने लोभ संवरण गर्न नसकेकाले उपन्यास पटकथा जस्तो    हुन गए‌को हो (कार्की, २०७१: पृ. प) ।

उपन्यासका पात्रहरू गण्डकी अञ्चल, स्याङ्जा जिल्लाको उत्तरी भेगको गाउँले परिवेशका भएकाले भाषामा स्थानीयता र आञ्चलिकता पाइन्छ । भारतीय गोर्खा पल्टनमा भर्ती भएका लाहुरेको भाषा, देहरादूनमा गोर्खाली भाषा तथा गोरखपुरमा बोलिने हिन्दी भाषा उपन्यासमा ठाउँ ठाउँमा प्रयोग भएको पाइन्छ । यो कथा र पात्रले मागेअनुसारको भाषा हो, उपन्यासकारले जबरजस्ती लादेको चाहिँ होइन । जस्तै: उजेलो, मजेत्रो, बुजो, जाम, अउठेरो, ह्वैन, हुन्च, रैच्यौँ, पँदेलो, कैल्हे, फर्कन्चस्, गीद्, आम्नन्, रैच, जल्दी, कुछ बी, अच्छा, नाराज, काफी, बल्कि, फरकी, बात, कर्न, छोकडा ।

उपन्यासमा स्वाभाविक रूपमा गीतहरू आएका छन् । अङ्क एकको तेस्रो अनुच्छेदपछि नै गीत आएको छ । उपन्यासमा उल्लेख भएका गीतहरू यस्तो छन्:

“सुपारी काटेर आधा, मायालाई पर्छ कि पिर बाधा ।

जाऊँ भने कलकत्ता कताच, नजाऊँ भने मायालु बेपत्ता (कार्की, २०७१: पृ. १) ।”

“हाँसी हाँसी बिताउँला यो घडी, भोलिको कस्लाई थाहा

तिमी त रहूली यहीँ वारि, म पारि गै जाउँला (कार्की, २०७१: पृ. ५) ।”

“हे.. राजाको दरिबार स्यानु, राजाको दरिबार स्यानु,

छोडी जाने नुन्यालो, कसरी घरिबार स्यानु (कार्की, २०७१: पृ. ११) ।”

“जन्मेको देश छोडेर जान्छौ, आमाको माया मारेर जान्छौ ।

आँसुको भेलमा बगेर मनलाई, भुमरी बिच पारेर जान्छौ (कार्की, २०७१: पृ. १६) ।”

“बाँचे आमा यैबाटो फिरनी, यैबाटो फिरनी

मरे आमा राइफलको सिरानी (कार्की, २०७१: पृ. १७) ।”

“‘दाइलाई बोलाऊँ भने, लेख सोर पुग्दैन, बोलाई रन हुँदैन’ (कार्की, २०७१: पृ. ३१) ।”

“जिबा हेकुरार हैं, कोई बहार हैं

आइजा मेरा पहलमान, तेरा इन्कुजार हैं ।

(जिया बेकरार हैं, छाई बहार हैं

आजा मोरे बालमा, तेरो इन्तेजार हैं) (कार्की, २०७१: पृ. ३२) ।”

झलकमान गन्धर्वका पिता दुर्गबहादुर मिजारको गीत “आमाले सोध्लिन्‌” लाई उपन्यासकारले कथानुरूप साभार गरेका छन्:

“हे बरै…. आमाले सोध्लिन्‌ नि खै छोरा भन्लिन् (२) रजा खुल्दैछ भन्दिनु (कार्की, २०७१: पृ. ४६) ।”

उपन्यासकारले लेखकीयमा आफू साहित्यकार नभई साहित्यानुरी भएको, भाषाशास्त्री नभई भाषानुरागी भएको, संस्कृतिविद् नभई संस्कृतिकर्मी भएको, चलचित्र विज्ञ नभई चलचित्रकर्मी भएको उल्लेख गर्दै आफूले उपन्यास, नाटक, गीत, कविता, पटकथा, सम्वाद लेखेर साहित्यको सेवा गरेको भाव व्यक्त गरेका छन् ।

लेखक:       चेतन कार्की

पुस्तक:       ‘आत्मा बेचेको छैन’

विधा:        उपन्यास

प्रकाशक:      गङ्गा कार्की

संस्करण:     पहिलो (२०७१)

पृष्ठ:        ८३

मूल्य:        रु. १२५/–

गजलकारका रूपमा चेतन कार्की

चेतन कार्कीले साहित्यका विभिन्न विधामा कलम चलाउने क्रममा गजल विधामा पनि हात हालेका छन् । वि. सं. २०६८ मा ‘हो मेरो देश पनि’ नामको गजल सङ्ग्रह नै प्रकाशित छ । यसमा सङ्ग्रहमा ५१ ओटा गजल सङ्ग्रहीत छन् । चेतन कार्की गजललाई हेर्ने नभएर दत्तचित्त भएर सुन्ने विधा मानेका छन् । उर्दू भनेपछि भुतुक्तै हुने उनीले उर्दू भाषा र साहित्यको विधिवत् अध्ययन नगरे पनि रुचिका हिसाबले उर्दू साहित्य सुन्ने र पढ्ने गरेको भएर गजलप्रति रस नै बसेको जस्तो देखिन्छ ।

“उर्दू भाषाको व्याकरणबाट सर्वथा अनभिज्ञ, पुलिङ्ग र स्त्रीलिङ्गका प्रयोग कसरी गर्ने भन्ने ज्ञानबाट बञ्चित र गैन र गाफ कुन कहाँ प्रयोग गर्ने भन्ने कुरामा जैल्हे पनि अल्मलिने अल्पज्ञानीबाछ, धेरै आशा गर्न हुँदैन भनेर जान्दा जान्दै पनि धृष्टता गरेको छु” भनेर चेतन कार्कीले ‘दिल जिगर के टुकडे’ पुस्तकमा लेखकीय भनाइ राखेका चेतन कार्कीले नेपालमा गजलका म हुँ भन्ने विद्वानहरूलाई राम्रै झट्का दिएका छन् यस सन्देशमार्फत् ।

एउटै वजन र बहरका शेरहरूको समूहलाई गजल मान्ने कार्की अरबी, फारसी, उर्दू र हिन्दी हुँदै नेपाली काव्य जगत्‌मा प्रवेश गरेको मान्यता राख्छन् कार्की । गजलको भाषा सुकोमल हुनुपर्छ, कमनीय हुनु पर्छ, सुललित हुनु पर्छ भन्ने मान्यता राख्ने कार्की कहिलेकाहीँ नेपाली समाजमा जरो गाड्दै गैरहेको विकृति र विसङ्गतिप्रति सोझो प्रहार पनि गरेका छन् गजलमार्फत् । “तिम्रा बाउको पेवा हैन” शीर्षकको गजलमा कार्की आफ्नो आक्रोह यसरी पोख्छन्:

“खै के भनूँ कहानी, नेपालीको रगतको

इतिहास जानी जानी, नेपालीको रगतको ।।

राजालाई आफ्नु हैन, देशलाई आफ्नु हैन ।

विदेशमा बगी जानी, नेपालीको रगतको ।।

तिम्रा बाउको पेवा हैन, नेपाल नेपालीको ।

किन गर्छौ मानहानि, नेपालीको रगतको कार्की, २०६८, पृ. १ र २) ।”

‘हो मेरो देश पनि’ पुस्तकबाट ।

उनको आक्रोश “नेताले बोले भावी राष्ट्र भाषा” शीर्षकको अर्को गजलमा यसरी पोखिन्छ:

“सबै छन् मगन्ते, कोई छैन दाता ।

बिर्सेछ मान्छेले, मान्छेको नाता ।।

तातो छारो केही, पनि छैन भित्र ।

झिलिमिली झ्याई छ, पुस्तकको गाता (कार्की, २०६८, पृ. ४८) ।”

‘हो मेरो देश पनि’ पुस्तकबाट ।

 

पुस्तक:       ‘हो मेरो देश पनि’

विधा:        गजल सङ्ग्रह

लेखक:       चेतन कार्की

प्रकाशक:      गङ्गा कार्की

संस्करण:     पहिलो (२०६८)

पृष्ठ:        ५८

मूल्य:        रु. १००/–

मुक्तककारका रूपमा चेतन कार्की

मुक्तक चेतन कार्कीले सर्वाधिक रुचाएको काव्यको लघुत्तम रूप हो । लेखकले ‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ कृतिलाई टुक्राटाक्रुी भने पनि यस कृतिका अधिकांश सिर्जना मुक्तक रहेका छन् । यस टुक्राटाक्रीमा लेखकले आफ्ना व्यक्तिगत भोगाइ, देखे सुनेका र पढेका कुरा, समाजमा जरो गाड्दै गएका विकृति र विसङ्गति तथा सामाजिक मूल्य तथा मान्यतामा आएको ह्रासबाट उत्पन्न क्षोभ र ग्लानी, गुटगत र स्वार्थी राजनीतिप्रति उठेका घृणा, आक्रोश व्यक्त गरेका छन् ।

मुक्तकलाई कार्कीले महाकाव्य वा खण्डकाव्यका नियमहरूबाट मुक्त आफैँमा पूर्ण, सानो रचना भनेका छन् । कार्की भन्छन् हुन त मुक्तकको चतुष्पदी पनि आफ्नु आचारसंहिता छ । मुक्तक वार्णिक हुन सक्छ, मात्रिक हुन सक्छ वा अन्त्यानुप्रास हुन सक्छ । पहिलो, दोस्रो र चौथो पदमा अन्त्यानुप्रास हुनै पर्छ । तर, कार्कीका केही मुक्तकहरूमा तेस्रो पदमा समेत अन्त्यानुप्रास पाइन्छ

“रूप होस् अभिमान नहोस्, सम्भव नै छैन ।

बैंस होस् गुनाम नहोस्, सम्भव नै छैन ।।

क्रान्ति होस् बलिदान नहोस्, सम्भव नै छैन ।

नेता होस् बेईमान् नहोस् सम्भव नै छैन (कार्की, २०६८, पृ. ३५) ।”

‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ पुस्तकबाट ।

कवि कार्की कहिलेकाहीँ देशलाई अस्तव्यस्त पार्ने राजनीतिज्ञलाई वनका ब्वाँसा सहर पसेका भन्दै देशको अवस्था देखेर कहिले रुने र कहिले मन हराउने भइरहेको यसरी व्यक्त गर्छन् मुक्तकमा:

“आगो लगाई वनमा, ब्वाँसा पसे शहरमा ।

भैंचालो गैरहन्छ, मेरो देशमा हर प्रहरमा ।।

यी आँखा छुट्छन् कहिले, कहिले हराउँछ यो मन ।

म आफू सग्लो कैल्है, कैल्है पुगिन घरमा (कार्की, २०६८, पृ. ३२) ।”     ‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ पुस्तकबाट ।

पुस्तकको शीर्षक नै ‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ रहेको पुस्तकको शीर्ष मुक्तक पुस्तकको अन्तिम पृष्ठमा राखिएको छ । यस पुस्तकमा नेपाली राजनीतिलाई बदनाम गर्ने, जातीय स्वाभिमानलाई कलङ्कित पार्ने र राष्ट्रलाई विखण्डनतर्फ लैजाने दुष्प्रयास गरिरहेका विदेशी दलालहरूका क्रियाकलापहरूबाट कवि तथा मुक्तककार कार्कीका मनमा उत्पन्न घृणा तथा आक्रोश व्यक्त गर्दा गर्दै पुस्तकको नाम पनि हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ राख्न पुगेको स्वीकारोक्ति पाइन्छ ।

“हत्केलाले सधैं भरि, सूर्य छेकिँदैन ।

राष्ट्रघातीहरूको कीर्ति कथा लेखिँदैन ।।

कान खोली सुन हे विदेशी दलाल हो

सालिक ढलाउँदैमा हाम्रो आस्था मेटिँदैन ।।

सालिक ढलाउँदैमा, इतिहास मेटिँदैन (कार्की, २०६८, पृ. ४१) ।”

‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ पुस्तकबाट ।

‘नयाँ नेपाल होइन’ शीर्षकको कविताबाट सुरु भएको टुक्राटाक्री (मुक्तक तथा कविता सङ्ग्रह) विधाको ‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’ पुस्तकमा एक कवितासहित १२२ ओटा मुक्तक र कविता रहेका छन् ।

लेखक:       चेतन कार्की

पुस्तक:       ‘हत्केलाले सधैँ भरि सूर्य छेकिँदैन’

विधा:        टुक्राटाक्री (मुक्तक तथा कविता सङ्ग्रह)

लेखक:       चेतन कार्की

प्रकाशक:      गङ्गा कार्की

संस्करण:     पहिलो (२०६८)

पृष्ठ:        ४१

मूल्य:        रु. १००/–

गीतकारका रूपमा चेतन कार्की

चेतन कार्की भन्ने बित्तिकै गीत स्वत: जोडिएर आउँछ । ‘दाइलाई बोलाऊँ भने, लेख सोर पुग्दैन, बोलाई रन हुँदैन’ बोलको गीत यो गीत गण्डकी क्षेत्रमा गाइने रोइलो भाखा (कतै कतै चुड्का पनि भन्छन्) को यो गीतलाई नातिकाजीले सङ्गीतबद्ध गरेका थिए भने तारादेवी र भुवन थापाले स्वर दिएको यो गीत चेतन कार्कीको जीवनमा रेडियो नेपालमा रेकर्ड भई प्रसारण भएको पहिलो गीत थियो ।

चेतन कार्की वि.सं. २०२५ देखि चलचित्र क्षेत्रमा लागे; पटकथा लेखन, संवाद लेखन, गीत लेखन, निर्देशन गर्नका लागि ।

‘किन नबोलेको, लाउँला माया भनेको, लाउँला माया भनेको’ रोहिलो भाखामा यो गीतमा ‘परिवर्तन’ चलचित्रका लागि लेखिएको थियो । ह्वी. बलसाराले सङ्गीत भरेको यस गीतमा नारायण गोपाल, मीरा राणा र साथीहरूको स्वर रहेको छ ।

‘बैनीको दया छ भने, रोदी घर दाइ नाच्यो नभने’ झ्याउरे चुड्का रोइलो भाखा निकै लोकप्रिय गीत हो । चेतन कार्कीले ‘परिवर्तन’ चलचित्रका लाग लेखेको । ह्वी. बलसाराले सङ्गीत भरेको यस गीतमा नारायण गोपाल, मीरा राणा र साथीहरूको स्वर रहेको छ । शास्त्रीय सङ्गीतमा आधारित आधुनिक गीत गाउने नारायण गोपाललाई लोक गीत, त्यसमा पनि रोइलो भाखामा गाउने मेसोमेलो मिलाउने चेतन कार्की नै थिए ।

मीरा राणाको स्वरमा ह्वी. बलसाराले सङ्गीतबद्ध गरेको ‘सुन मौसमले के भन्छ, रङ्ग भनेको यौवन हो’ बोलको गीतकी गायिकालाई सर्वप्रथम चलचित्रमा गीत गाउने अवसर दिने चेतन कार्कीको नेपाली चलचित्रमा पहिलो ‘क्याब्रे’ गीतको रचना गरेको दावी थियो (कार्की, २०७१:पृ. ८) ।

वि. सं. २०७१ मा प्रकाशित ‘माया प्रीतिको चोखो कथा’ गीत कविता सङ्गहमा १११ ओटा गीत तथा कविता सङ्ग्रहीत ‘छन् ।

चेतन कार्कीले गीत लेखेका नेपाली कथानक चलचित्रहरूमा परिवर्तन, कान्छी, कन्यादान, विश्वास, मायाप्रीति, भुँमरी, पहिलो प्रेम, राँको, मनका आँखा, शिखर आरोहण, विद्रोही, नेपाल प्यारो छ, जून तारा, परदेशी, फूलको थुँगा, चित्कार, स्वर रहेका छन् ।

चेतन कार्कीले लेखेका चलचित्रका गीतहरूमा सङ्गीत भर्ने सङ्गीतकारहरूमा ह्वी. बलसारा (‘परिवर्तन’ फिल्म), गोपाल योञ्जन (‘कान्छी’, ‘विश्वास’, ‘भुमरी’, ‘मायाप्रीति’, ‘पहिलो प्रेम’ फिल्म, ‘राँको’ फिल्म, ‘मनको आँखा’ फिल्म), दिव्य खालिङ (‘शिखर आरोहण’ फिल्म), शम्भुजित बास्कोटा (‘विद्रोही’ फिल्म, ‘नेपाल प्यारो छ’ फिल्म, ‘जूनतारा’), मनोहर सिंह (‘कन्यादान’ फिल्म) मुख्य हुन् । चेतन कार्कीका अन्य गीतहरूभन्दा चलचित्रका गीतहरू बढी चर्चित पनि छन् । जस्तै; ‘बैनीको दया छ भने, रोदी घर दाइ नाच्यो नभने’ (परिवर्तन), यो ओठ तिम्रा, मुस्कान तिम्रै (कान्छी), छोरीको जन्म हारेको कर्म (कान्छी), कल्कल, सल्सल, छल्छल, चञ्चल (कान्छी), कान्छी हे कान्छी (कान्छी), माया प्रीतिको चोखो कथा (मायाप्रीति), हे यो मायाको मोहनी आँखा (भुमरी), सानुलाई राखौँला काखैमा (पहिलो प्रेम), सलल पानी यो जिन्दगानी, बगेरै जाने हो चट्ट मायालु (राँको), तीजको रहर आयो बरिलै (कन्यादान) ।

चलचित्रभन्दा बाहेकका गीतहरूमा सङ्गीत भर्ने सङ्गीतकारहरूमा नातिकाजी श्रेष्ठ, प्रवीण बराइली, शिलाबहादुर मोक्तान, मदन दिपबिन, पूर्ण नेपाली, विमला राई, पदम विष्ट, सुशील विश्वकर्मा, सुदेश शर्मा, दीपचन्द्र मोक्तान, शक्तिबल्लभ, प्रदीप बमजन, प्रकाश गुरुङ आदि हुन् ।

चेतन कार्कीका शब्दलाई स्वर दिएर जीवन्त बनाउने गायक गायिकाहरूमा कुन्ती मोक्तान, शैलेश सिंह, ममता दिपबिन, राजेश पायल राई, कुसु गुरुङ विष्ट, सान्दाइ मार्मिक, आनन्द कार्की, प्रदीप बमजन, तारादेवी, भुवन थापा, नारायण गोपाल, मीरा राणा, अरुणा लामा, प्रकाश श्रेष्ठ, प्रसाद श्रेष्ठ, किरण प्रधान, कुमार कान्छा, सुष्मा श्रेष्ठ, गोपाल योञ्जन, सुक्मित अधिकारी गुरुङ, दीप श्रेष्ठ, सुनिता सुब्बा, सङ्गीता प्रधान, प्रेमराजा महत, ज्ञानु राणा, योगेन्द्र घतानी, शम्भु राई, लोचन भट्टराई, जयानन्द लामा, लस्मिता राई, यम बराल, देविका प्रधान, शर्मिला बर्देवा, अरविन्द मालाकार, सपनाश्री, रीमा होडा गुरुङ मुख्य हुन् ।

चेतन कार्कीका गीतमा लोकको सुसेली बोल्छ, लोकभाका बोल्छ, जनजिब्रोको भाषा बोल्छ । उनका गीतमा आञ्चलिक शब्दको बाहुल्यता पाइन्छ । गण्डकी क्षेत्रमा बोलिने शब्दहरूको अधिक प्रयोग र अनुप्रासको छ्याल्लब्याल्ल प्रयोग भएको पाइन्छ । तलको गीतमा ‘स्वर’ लाई ‘सोर’, ‘बोलाइरहन’ लाई ‘बोलाई रन’, ‘हर्ष’ लाई ‘हर्ख’ यसका उचित नमुना हुन्:

दाइलाई बोलाऊँ भने, लेक सोर पुग्दैन, बोलाई रन हुँदैन….

माथि काली लेक, तल पर्यो निरह ।

पापी पिरतीले दियो, कस्तो मलाई विरहॽ

कुनै पनि हर्खले अब मनलाई छुँदैन, बोलाई रन हुँदैन….. (कार्की, २०७१ पृ. १) ।

‘माया प्रीतिको चोखो कथा’ पुस्तकबाट ।

तलको गीतमा पनि ‘बोलौँला’ लाई ‘बोलम्ला’, ‘खोलौँला’ लाई ‘खोलम्ला’ जस्ता शब्द प्रयोग भएका छन् । नेपाली भाषाको पूर्वेली भाषिकाको उपभाषिका पर्वतेको उपयोग गरिएको छ ।

पुरुष: किन नबोलेको, लाउँला माया भनेको, लाउँला माया भनेको ।

नारी:  बोली पियाराले, बोलाऊ दाइ म बोलम्ला, मनको कुरा खोलम्ला । (कार्की, २०७१ पृ. ३) ।

‘माया प्रीतिको चोखो कथा’ पुस्तकबाट कार्कीका गीतमा अनुप्रास र अन्त्यानुप्रासको खोलै बग्छ, यसले नै उनका गीत कर्णप्रिय, श्रुतिमधु र लगात्मक हुन्छन् । तलको गीत यसको उत्कृष्ट नमुना हो:

यो ओठ तिम्रा, मुस्कान तिम्रै

यो मुटु तिम्रो, ज्यू ज्यान तिम्रै

मेरो यो माया तिम्रै हो, मेरो यो माया तिम्रै हो (कार्की, २०७१ पृ. ९) ।

‘माया प्रीतिको चोखो कथा’ पुस्तकबाट ।

कार्कीले रचना गरेको नेपाली कथानक चलचित्र ‘कान्छी’ को तलको गीत चालिसको दशकमा निकै लोकप्रिय थियो । मानिसका ओठ ओठमा झुण्डिएको यो चलचित्रको गीत भएर पनि सदाबहार र कालजयी हुन पुगेको छ ।

कल्कल, सल्सल, छल्छल चञ्चल, निर्मल निश्छल खोली

बगी जानी पानीको, मलाई के आशा छोडी जानेको (कार्की, २०७१ पृ. ११) ।

‘माया प्रीतिको चोखो कथा’ पुस्तकबाट

कार्कीले चलचित्रको कथामा आधारित भई लेखेको ‘मायाप्रीति’ फिल्मको तलको गीत पनि सदाबहार नै छ:

मायाप्रीतिको चोखो कथा यो, जुग जुग सुनाइरहून्

पाखा पर्वतले गुन्जाइरहून्, खोलानालाले गाइरहून् (कार्की, २०७१ पृ. २२) ।

‘माया प्रीतिको चोखो कथा’ पुस्तकबाट ।

चेतन कार्कीले लोक लयमा आधारित भई ‘राँको’ चलचित्रका लागि लेखेको गीत जीवन र जोवन बग्ने पानी जस्तै हो भने अति उत्तम उपमा दिएका छन् । यस गीतमा कार्कीले आञ्चलिकतालाई अति सुन्दर तरिकाले प्रयोग गरेका छन्:

पुरुष:  सलल पानी यो जिन्दगानी बगेरै जाने हो चट्ट मायालु

नारी:  यो लाली जोवन यो लर्के बैंश कसले पो लाने हो चट्ट मायालु (कार्की, २०७१ पृ. ३६) ।

‘माया प्रीतिको चोखो कथा’ पुस्तकबाट ।

सेती है खोला, बैदामे ताल, झोलीको पिठो, पैलो, मैलो, सनई, जोगी, अन्मेको जस्ता आञ्चलिक स्थान र लोक शब्दको प्रयोग यस गीतका अन्य अन्तरामा गरेका छन् ।

चेतन कार्कीले प्रयोग गरेका अनुप्रास र अन्त्यानुप्रासका केही उदाहरण तल दिइएको छ:

पुरुष:  उकालीबाट जोगी है झर्यो झोलीमा पिठो चट्ट मायालु

भेटघाट पैलो, मन छ कि मैलो, बोली छ मिठो चट्ट मायालु

नारी:  सानु छ तर संसारै देख्छ, आँखाको नानीले

बैंशको तिर्खा मायाले मेट्छ, मेटिन्न पानीले (कार्की, २०७१ पृ. ३७) ।

‘माया प्रीतिको चोखो कथा’ पुस्तकबाट ।

चेतन कार्कीका यस्ता सङ्गीत तथा स्वरबद्ध भएका गीतहरू कति थिए, त्यसको अध्ययन भएको छैन । त्यसैले, कति गीत लेखिए, कति गाइए, कति रिमिक्स भर्सनमा आए भन्ने कुरा खोजको विषय हुन सक्छ । यस सम्बन्धमा ‘बसी बियाँलो’ पुस्तकको लेखकीय मन्तव्यमा चेतन कार्कीले लेखेका छन्: “मेरा कतिपय मौलिक गीत रचनाहरू, जुन कतिपय नेपाली चलचित्रहरूमा समावेश गरिएका छन्, ‘रीमिक्स’ का नाममा बर्बाद गरिएका छन् । मैले ती ‘डाँकू’ हरू माथि त मुद्दा हालेको छैन भने ….. यी त…. (कार्की, २०७१: पृ. ज)।”

चेतन कार्कीको ‘भन्थी सानीले’ बोलको गीतको अन्तिम अन्तरामा आउने “हिलो लाग्छ हजुर नाइनलको साडीमा, भन्थी सानीले” भित्रको “हजुर” र “भन्थी सानीले” हटाएर नेपाली कथानक चलचित्र छक्का पञ्जा–२ मा “हिलो लाग्छ नाइनलको साडीमा ।” बोल राखिएकामा गीतकारको आपत्ति भएको हुन सक्छ । कार्की रिमिक्सको विरोधी चाहिँ थिएनन्, तर रिमिक्स गर्दा गीतकारको पूर्व सहमति र गीतको वास्तविक लय, मर्म चाहिँ मर्नु हुँदैन भन्ने थियो । रिमिक्स गीत रेकर्ड गरिएपछि गीतकारले सुनेर पूर्ण सहमति दिएपछि मात्र सार्वजनिक गर्नुपर्छ भन्ने मान्यता कार्कीमा थियो ।

‘भन्थी सानीले’ बोलको चेतन कार्कीको चर्चित गीत हो । यस गीतका वास्तविक गायक तीर्थ शेरचन हुन् । यसलाई विधान श्रेष्ठले रिमिक्स भर्सनमा गाएका पनि छन् । यस गीतका केही अन्तराहरू यस प्रकार थिए:

“असल मार्यो, बुधुना मार्यो, टिमुरको विषैले

बोलाउँद पनि नबोली बस्छौ कहिलेको रिसैले

जूनले बरु पोल्ला हजुर ताराले पोलदैन

ढुङ्गा बरु बोल्ला हजुर मायालु बोल्दैन, भन्थी सानीले ।”

“आए है माया खुर्सानी बारी म पर्खी बसुँला

बाबा रिसाए केही परी आए मुग्लानै पसुँला

जान्नँ म त हजुर खुर्सानी बारीमा,

हिलो लाग्छ हजुर नाइनलको साडीमा, भन्थी सानीले ।”

पुस्तक:       ‘माया प्रीतिको चोखो कथा’

विधा:        गीत–कविता

लेखक:       चेतन कार्की

प्रकाशक:      गङ्गा कार्की

संस्करण:     पहिलो (२०७१)

पृष्ठ:        १११

मूल्य:        रु. १७५/–

 कविका रूपमा चेतन कार्की

चेतन कार्कीले नेपाली भाषामा मात्र साहित्य सिर्जना गरेका छैनन्, डि. ए. भी. कलेज, देहरादूनबाट हिन्दी साहित्यमा एम. ए. गरेका उनले हिन्दी तथा उर्दू भाषामा पनि साहित्य सिर्जना गरेका थिए । वि. सं. २०७३ सालमा प्रकाशित ‘दिल जिगर के टुकडे’ उर्दू भाषामा लेखिएको मिश्रित काव्य सङ्ग्रह (बयाज) हो । उर्दू भाषामा लेखिए पनि यसको लिपि देवनागरी छ ।

यस कृतिमा फस्ल–१ रुबाईमा १७४ ओटा सिर्जना छन् । प्रत्येक सिर्जना लेखनको मिति विक्रम संवत् र इस्वी संवत् दुवैमा दिएको छ । फस्ल–२ मा दुईओटा नज्म राखिएको छ । यस्तै, फस्ल–३ मा नौओटा गजल छन् । फस्ल–४ मा कत्आतमा चारओटा सिर्जना गरिएको छ । फस्ल–१ को रुबाईको नमुना;

“दिल वालों से बुरा, दुनियाँ में कोई नहीँ ।

रंग में कालो से बुरा, दुनियाँ मे कोई नहीं ।।

मेरी मानिए तो गोरे गालों पर काले ।

तिल वालों से बुरा, दुनियाँ मे कोई नहीं (कार्की, २०७३: पृ. १) ।”

‘दिल जिगर के टुकडे’ पुस्तकबाट ।

चेतन कार्कीले ‘दिल जिगर के टुकडे’ मा उर्दू भाषामा लेखेको गजलको नमुना;

“कौन कहता है भला, यारों के यार हैं हमॽ

अपने ही दिल से परेशाँ हैं, बेजार हैं हम ।।

हुई है नजर इनायत जब से हम पे ।

इक अजीब सी कैफियत से दो चार हैं हम (कार्की, २०७३: पृ. ९४)” ।

‘दिल जिगर के टुकडे’ पुस्तकबाट ।

कविता, गजल आदिका भावनाहरूसित तादाम्त्य स्थापना गर्न र पाठकलाई भाव बुझ्न सहज होस् भनी लेखकले पुस्तकको अन्त्यमा क्लिष्ट उर्दूको अर्थ दिएको छ । यसरी अर्थ दिँदा हरेक सिर्जनाको सिलसिलेबार सङ्ख्यालाई आधार मानिएको छ ।

पुस्तक:       ‘दिल जिगर के टुकडे’

विधा:        बयाज मिश्रित काव्य सङ्ग्रह

लेखक:       चेतन कार्की

प्रकाशक:      गङ्गा कार्की

संस्करण:     पहिलो (२०७३)

पृष्ठ:        १२५

मूल्य:        रु. १५०/–

 कथाकारका रूपमा चेतन कार्की

चेतन कार्कीले चलचित्रका कथा लेखे, पटकथा लेख, सम्वाद लेखे । यसका अलवा कार्कीले ‘बसी बियाँलो’ शीर्षकमा कथा सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । यस कथा सङ्ग्रहमा तीनओटा ‘बसी बियाँलो’ रहेका छन्; ‘‘बसी बियाँलो’ खण्ड–१, ‘बसी बियाँलो’ खण्ड–२ र ‘बसी बियाँलो’ खण्ड–३ ।

पहिलो खण्डका कथामा देशको दिन दिनै बिग्रँदै गएको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, धार्मिक तथा राजनीतिक स्थितिले देश नै हाँस्यको पात्र बन्न पुगेको विषयमा व्यङ्ग्य गरिएको छ । यस खण्डमा ‘मान्छेको आयु’, ‘मीतले खबर पठाए’ र ‘जल देवता जिल्ल परे’ शीर्षकका तीनओटा कथा रहेका छन् ।

यी तीनैओटा कथाको अन्त्यमा कथाकारले तलको लोक चलनमा कथावाचनपछि भनिने श्लोक राखेका छन्:

“भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला ।

यो कथा बैकुठ जाला, जहाँ बस्छन् अविनाशी काला (कार्की, २०७१, पृ. १७) ।”

दोस्रो खण्डमा अन्धविश्वास भनेर उडाउन खोजेएता पनि नेपाली समाजमा गहिरो जरा गाडिसकेको ‘बोक्सी’ सम्बन्धी अवधारणाबारे लेखकका व्यक्तिगत अनुभवलाई पाठकसँग साट्ने आकाङ्क्षाअनुरूप कथा बुनिएको छ । यस खण्डमा ‘बोक्सी’, ‘सिंहेको आमा’ र ‘पुतला’ शीर्षकका तीनओटा कथा रहेका छन् । ‘पुतला’ कथा त कथाकारको आफ्नै गाउँ स्याङ्जा जिल्लाको थुम आरुखर्कअन्तर्गतको बाँहेटारीको हो भनिएको पनि छ ।

‘बसी बियाँलो’ को तेस्रो खण्ड वास्तवमा कथा होइन, किन कथाकारले यसलाई कथा सङ्ग्रहभित्र राखे त्यो कथाकारले नै जान्ने विषय हो । हुनत: कथाकारले ‘बसी बियाँलो’ शीर्षकको पुस्तकमा विधाअन्तर्गत कथा र कुण्डली भनेका छन् । लेखकले फुर्सदका समयमा आफूले सुनेका, जानेका, पढेका घतलाग्दा भएकाले पुनर्लेखन गर्न मन लागेर खासै लेख्नका लागि नलेखिकन समयको उपयोगका लागि लेख्न बसेजस्तो ‘बसी बियाँलो’ गरेको भन्ने लेखककै स्वीकारोक्ति छ ।

यस ‘बसी बियालो’ को तेस्रो खण्ड ज्यादै रोचक छ । यसलाई कुण्डली भनिएको छ; अत्यन्त सशक्त काव्य शैली । नेपाल साहित्यमा फारसी, उर्दू, जापानी, कोरियाली भाषाका गजल, रुबाई, हाइकु तथा तान्का र सिन्जो शैली आयात गरिए पनि हिन्दी साहित्यको कविता काव्यको लोकप्रिय उपविधा कुण्डली शैलीले नेपाली साहित्यमा प्रवेश नपाएकामा चेतन कार्की आश्चर्यमा परेको कुरा उनले ‘बसी बियाँलो’ पुस्तकमा उल्लेख गरेका छन् । हुनत: कार्की हिन्दी साहित्यमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्ति थिए । हिन्दी साहित्यका विषयमा उनलाई प्रशस्त ज्ञान थियो ।

कृतिकार चेतन कार्कीले हिन्दी साहित्यअन्तर्गत काव्यका विभिन्न शैलीमध्ये कुण्डलीको विशेषता देहाएअनुसार उल्लेख गरेका छन्:

हुन त यो पनि मुक्तक शैली नै हो तर यो दुई पाउको (द्विपदी) तीन पाउको (त्रिपदी) वा चार पाउको (चतुष्पदी) नभएर छ पाउको (षट्पदी) हुन्छ ।

यसको दोस्रो विशेषता– ‘कुण्डल’ वृत्ताकार हुन्छ। जुन बिन्दुबाट वृत्तको ‘अथ’ हुन्छ, त्यही बिन्दुमा पुगेर त्यसको ‘इति’ पनि हुने हुँदा;

जुन् शब्दबाट कुण्डलीको शुभारम्भ हुन्छ, त्यसै शब्दबाट अन्त पनि गरिनु पर्दछ ।

कुण्डलीको तेस्रो विशेषता– दोस्रो पाउको उत्तरार्द्धलाई, तेस्रो पाउको पूर्वार्द्धमा प्रयोग गर्ने पर्दछ ।

चौथो विशेषता– पाँचौं पाउमा, कविको नाउँ आउनै पर्छ, गजलको मक्तामा शायरको नाम राखिए झै (कार्की, २०७१, पृ. ८६) ।

बसी बियाँलो’ पुस्तकबाट ।

पाँचओटा कुण्डली लेखेका छन् चेतन कार्कीले ‘बसी बियाँलो’ पुस्तकमा । वि. सं. २०७१ जेठ १४, १६. १७ गते एक एकओटा र १९ गते दुईओटा कुण्डली रचना गरेको कुरा हरेक कुण्डलीको अन्त्यमा मिति समेत उल्लेख गरेबाट स्पष्ट हुन्छ । चेतन कार्कीले लेखेका कुण्डलीको एक नमुना तल दिइएको छ:

“‘हात्ती बलियो कि हात्ती छाप ?’ छोरी सोध्छिन् आमालाई।

‘उस्तै उस्तै हैन त भाइ ?’ आमा सोध्छिन् मामालाई ॥

आमा सोध्छिन् मामालाई, ‘गनतन्त्र’ अनि ‘गणतन्त्र’को भेद ।

‘उस्तै उस्तै लाग्छ मलाई त’ मामा प्रकट गर्छन् खेद ॥

भन्छन् ‘चेतन’ कविकुलगौरव, तन्त्रलाई हानौं लात्ती ।

ढल्यो भने परलोकतन्त्र भो, ढलेन भने त्यो हात्ती (कार्की, २०७१, पृ. ८७) ।”

(२०७१।२।१६) ‘बसी बियाँलो’ पुस्तकबाट ।

लेखक:       चेतन कार्की

पुस्तक:       ‘‘बसी बियाँलो’

विधा:        कथा र कुण्डली

लेखक:       चेतन कार्की

प्रकाशक:      गङ्गा कार्की

संस्करण:     पहिलो (२०७१)

पृष्ठ:        ८८

मूल्य:        रु. १५०/–

निष्कर्ष

चेतन कार्की केवल एक विधाका स्रष्टा नभई उपन्यास, नाटक, कथा, गीत, गजल, मुक्तक र चलचित्र निर्देशन जस्ता धेरै क्षेत्रमा एकसाथ कलम चलाउने बहुमुखी प्रतिभा हुन् । विशेष गरी, नेपाली लोक लय, आञ्चलिकता र राष्ट्रप्रेमलाई आफ्नो सिर्जनाको मूल मन्त्र बनाएका कार्की नेपाली साङ्गीतिक र साहित्यिक आकाशका एक चम्किला नक्षत्र हुन् ।

सन्दर्भ सामग्री

कार्की, चेतन (२०६८),  जिगर हो मेरो देश पनि, ललितपुर: गङ्गा कार्की, पृ. १, २ र ४८ ।

कार्की, चेतन (२०६८),  हत्केलाले सँधैंभरि सूर्य छेकिँदैन, ललितपुर: गङ्गा कार्की, पृ. ३२, ३५ र ४१ ।

कार्की, चेतन (२०७१), ‘बसी बियाँलो’ , ललितपुर: गङ्गा कार्की, पृ. ज ।

कार्की, चेतन (२०७१), माया प्रीतिको चोखो कथा, ललितपुर: गङ्गा कार्की, पृ. ८ ।

कार्की, चेतन (२०७१), आत्मा बेचेको छैन, ललितपुर: गङ्गा कार्की, पृ. ८ ।

कार्की, चेतन (२०७३), दिल जिगर के टुकडे, ललितपुर: गङ्गा कार्की, पृ. १ र ९४ ।