एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

मौन सम्झौताभित्रको प्रेम

805
shares

काठमाडौंको साँझ प्रायः थाकेको देखिन्छ । शिशिर ऋतुको चिसो हावाले त्यो थकान अझ गहिरो बनाइदिएको भान हुन्छ ।

तीनकुनेको एउटा कुनाबाट बागमती नदी किनारमा टल्किएका बत्तीहरू, कफी पसलबाट निस्किने बासना, हल्का संगीतका धुनहरू, ब्रेकलाइट बाल्दै–निभाउँदै गुडिरहेका गाडीहरू, स्कुल छुटेर घर फर्किंदै गरेका बालबालिकाका निष्कपट हाँसो र अफिसबाट फर्किंदै गरेका अनुहारहरू, सबै दृश्यहरू आफ्नै लयमा बगिरहेका छन् ।

त्यही भीडभित्र म पनि छु । म पनि अरूजस्तै सामान्य जीवन यात्री हुँ, कसैको जीवनसाथी, कसैको जिम्मेवार सन्तान, कसैको कुरा धैर्यले सुन्ने, शब्द तौल्दै सल्लाह दिने, संयमित र भर पर्न सकिने एक आम मानिस ।

तर, सबै परिचयभन्दा भित्र, मेरो पनि आफ्नै संघर्ष छ । अनि मनको कुनाभित्र कतै नदेखिने कथाहरू छन् । शान्तसँग बगिरहेको एउटा मौन कथा ।

सामान्यतया कार्यालयका दिनहरूमा कसैको करियर दोधारमा अड्किएको हुन्छ, कसैको सम्बन्ध चुपचाप चिरिएको । त्यस्ता बेला म उनीहरूको छेउमा बस्छु, शब्दभन्दा पहिले उनीहरूको मौनता सुन्छु, अनि विस्तारै भन्छु- समयलाई अलिकति समय दिऔँ, सबै कुरा आफ्नो ठाउँमा आउँछ ।

म अरूका जीवनका गाँठा फुकाउन सक्छु तर आफ्नै मनको गाँठो खोल्न अत्यन्तै डराउँछु । त्यसैले आज फेरि डायरी खोलेको छु । मेरो अन्तरात्माले सास फेर्ने, थाकेको मनले टेक्ने एउटा शीतल ठाउँ हो यो ।

‘डियर डायरी, आज फेरि तिमीलाई नै लेख्दै छु…’

मेरो जीवनमा अनु छिन् । उनी मेरी पत्नी हुन् । हामी एउटै छानामुनि बस्छौँ, एउटै टेबलमा खाना खान्छौँ । समाजले हामीलाई आदर्श दम्पती मान्छ । उनी बिरामी पर्दा म सयौँ पटक रातभर जाग्राम बसेको छु । घर, परिवार, चाडपर्व, भविष्य आदि सबै जिम्मेवारी निभाइरहेकै छु । तर बिडम्बना उनको आँखामा म कहिल्यै प्रेम भएर उज्यालिन सकिनँ ।

सम्बन्ध सुरक्षित छ तर न्यानो छैन । सम्मान छ तर आत्मीयता छैन । कर्तव्य साझा छ तर धड्कन एउटै छैन ।

हामी एक-अर्काप्रति अन्याय गरिरहेका छैनौँ । हामी दुवै कर्तव्यलाई नै प्रेम ठानेर आफूलाई सम्झाइरहेका छौँ । सायद हामी मौन सम्झौतामा बाँधिएका दुई सभ्य आत्मा हौँ ।

त्यही मौनताको तहभित्र अनायास सारा आइन् । जसरी साँझले आफ्नै उज्यालोलाई नदीमा विस्तारै छोड्दै जान्छ ।

सारासँगको प्रेम कुनै विशेष सुरुवातको थिएन । त्यो मौनता, दृष्टि र अनुभूतिबाट सुरु भएको थियो । हामीबीच नबोलेका भावनाहरू धेरै अघि नै चोट खाइसकेका शब्दहरू जस्तै परिपक्व थिए । दृष्टिहरू मिल्ने क्षणमै छुट्टिने बाटो खोजिरहेका थिए र मौनता त्यसको साक्षी बनिरहेको थियो ।

बागमती किनारको एउटा साँझ थियो । आकाशले दिनभरको उज्यालो विस्तारै नदीको काखमा झार्दै थियो । हातमा तातो कफी थियो, कपको बाफले औँलाहरू तताइरहेको थियो तर छातीभित्र अझ गहिरो न्यानोपन उनको मौन उपस्थितिबाट फैलिँदै थियो ।

हावाले उनको कपाल हल्का चलाइरहेको थियो, नदीले आफ्नै भाषा बोलिरहेको थियो र बत्तीहरूको प्रतिबिम्ब पानीमा थरथराइरहेको थियो ।

हामीबीच शब्द कम थिए । किनकि शब्दहरूले त्यो साँझको भार बोक्न सक्दैनथे । तर, महसुसहरू नदीजस्तै गहिरा थिए । अदृश्य, अनन्त र निरन्तर बगिरहने ।

उनले मेरो आवाजभन्दा मेरो मौनता राम्रोसँग चिनेकी थिइन् । मेरो हाँसोभित्र लुकेको थकान उनको आँखाले सजिलै पढ्थ्यो । उनीसँग हुँदा म समाजले थोपरेको ‘छोरा मान्छे बलियो देखिनै पर्छ’ भन्ने अभिनयबाट मुक्त हुन्थेँ ।

उनी मेरो विश्राम थिइन् । मेरो निःशब्द स्वीकृति पनि ।

उनले मलाई म जस्तो छु, त्यही रूपमा माया गरिन् । न सुधार्न खोजिन्, न बदल्न दबाब दिइन् । त्यतिबेला बुझेँ, प्रेम सधैं समयको अनुमतिमा र जीवनको अनुकूलनमा मात्र आउँदैन रहेछ ।

आफ्नै जीवन नियाल्दा मलाई बारम्बार श्रीमद्भागवतको कथा सम्झना आउँथ्यो । आँखामा दुई पात्र उभिन्थे– राधा र रुक्मिणी ।

राधा प्रेम थिइन्, रुक्मिणी जीवन । कृष्णले राधालाई अस्वीकार गर्नुभएन तर जीवनको जिम्मेवारी रुक्मिणीसँग बाँड्नुभयो ।

त्यो कथा केवल धर्मको होइन, विवेकको कथा थियो । मेरो जीवन पनि त्यही दुई सत्यको बीच उभिएको रहेछ । सारा मेरो प्रेम । अनु मेरो जिम्मेवारी ।

म कुनै छल गरिरहेको थिइनँ । तर आफैँलाई, आफ्नै जीवनलाई, अत्यन्तै चर्को मूल्य तिराइरहेको थिएँ ।

धेरै रात निद्रा लागेन । आँखा बन्द गर्दा पनि निर्णयहरू खुला नै रहन्थे । प्रेम र कर्तव्य दुवैको तौल बराबरी थियो तर दुवैले मनलाई एउटै ठाउँमा च्यापिरहेको भान हुन्थ्यो ।

अनुसँगको मौनता अब पहिलेजस्तो सहज लाग्न छोड्यो । उनी अझै बिहान मेरो लागि चिया बनाउँथिन्, म उनलाई समयमै औषधि खायौ कि खाइनौ भनेर सोध्थेँ । हामीबीच कुनै वैमनस्य थिएन तर शान्ति पनि थिएन ।

म सोच्थेँ- महिलाको सहनशीलता कहिलेसम्म प्रेम ठानिन्छ ? अनि पुरुषको मौनता कहिलेसम्म जिम्मेवारी कहलिन्छ ?

सारासँग भेट हुँदा मन सधैं उकुसमुकुस हुन्थ्यो । तर, उनलाई नदेख्दा मन अझ रित्तो हुन्थ्यो । उनी कुनै समाधान थिइनन् । उनी त प्रश्न थिइन् । जसको उत्तर दिन खोज्दा हरेक रात म अझ कमजोर बन्दै गइरहेको थिएँ ।

एक दिन उनले सोधिन्, ‘प्रेम नै गलत हुँदैन भने हामी किन यति डराएका छौँ ?’

मसँग जवाफ थिएन । किनकि सत्य के हो भने प्रेम गलत थिएन, म पो कमजोर थिएँ ।

साराले मलाई रोजेकी थिईइन् तर मैले आफूलाई कहिल्यै पूर्ण रूपमा रोज्न सकेको थिइनँ । अनुले मलाई जीवन दिएकी थिइन् तर मैले उनको जीवनमा प्रेमको खाली ठाउँ भर्न सकेको थिइनँ ।

त्यस रात डायरीमा लेखेँ, ‘कहिलेकाहीँ प्रेम पाउनु भन्दा, प्रेममा बाँचिरहनु झन् गाह्रो हुन्छ ।’

मानिस अझै पनि प्रेमलाई निर्णयभन्दा सजिलो ठान्छन् ।

विभिन्न प्रतिकूल मौसम – जाडो, गर्मी, प्रदूषण, बन्द, हड्ताल – बीच आज पनि काठमाडौं बाँचिरहेको छ । धेरै समयपछि, म पनि यही तवरले बाँचिरहेको छु ।

म पनि त्यही भीडमा छु । कुनै दिन अनुको हात समातेको, कुनै दिन साराको सन्देश नपढेरै फोन बन्द गरेको । कुनै दिन आफूलाई सही ठान्ने, फेरि कुनै दिन आफैँलाई अन्योलमा पाउने ।

कहिलेकाहीँ म कृष्णको कथा सम्झिन्छु । कसैलाई दोष दिन होइन, आफूलाई बुझ्न ।

राधा प्रेम थिइन्- निर्मल, स्वतन्त्र र सीमाहीन । रुक्मिणी जीवन थिइन्- स्थिर, जिम्मेवार र संसारसँग जोडिएको । कृष्णले दुवैलाई आफ्नै स्थानमा राख्नुभयो । कुनै तुलना बिना, कुनै अपमान बिना । त्यसैले उहाँको कथा देवत्वको कथा बन्यो ।

मानिसको जीवन भने फरक हुन्छ । हामी प्रेम र जिम्मेवारीलाई एकै ठाउँमा राख्न खोज्छौँ अनि दुवैलाई अधुरो बनाउँछौँ । दुवैलाई धूमिल बनाउँछौँ ।

मेरो जीवनमा पनि राधाजस्तो प्रेम आयो र रुक्मिणीजस्तो साथ छ । फरक यत्ति हो, म कृष्ण होइन । मसँग समयको उत्तर छैन, केवल निर्णयको अलमल छ ।

कृष्णको कथाले सन्तुलन सिकाउँछ । मेरो कथाले असन्तुलन स्वीकार गर्छ ।

प्रेमको सबैभन्दा ठूलो परीक्षा पाउनु होइन । ठीक ठाउँमा राख्न सक्नु हो ।

आज पनि म त्यही ठाउँ खोज्दै छु । जहाँ प्रेमले विश्वास नतोडोस् र कर्तव्यले आत्मा नथिचोस् ।

किनकि केही प्रेमहरू मिलनका लागि होइन, मानिसलाई आजीवन इमानदार बनाइराख्न जन्मिन्छन् ।

 

लेखक प्रल्हाद गैरापिप्ली विकास र सञ्चार क्षेत्रका विज्ञ हुन् ।