यी पंक्तिहरु लेख्दासम्म युक्रेनको राजधानी किभ रुसले नियन्त्रण गर्न सकेको छैन। ठुलो संख्यामा रसियन सैनिक, हातहतियारको बलले निकै छिटो युक्रेन रसियाले कब्जा गर्छ भन्ने अनुमान र रसियन राष्ट्रपति पुटिनको चाहना असफल भएको छ। युक्रेनी सेना र जनताले रसियन सेनालाई रोक्न सफल भएका छन्। यद्यपि यो क्षणिक हुनसक्छ र केहि घण्टा वा दिनमै रसियाले युक्रेनलाई कब्जा गर्न सक्छ। तर रसियाले युक्रेनमा हमला गर्दा भन्दा अहिले युक्रेनको स्थिति मजबुत बन्दै गएको प्रतित हुँदैछ।
नेटोले आफ्नो रेस्पोन्स फोर्सलाई सक्रिय बनाएको छ। ४० हजारको संख्यामा रहेको उक्त सैन्य बल यस अघि कहिल्यै पनि सक्रिय बनाएको थिएन। जर्मनी रसियासँग पौंठेजोरी खेल्न हिच्किचाएको थियो तर अहिले उसले पनि सैनिक सामग्री युक्रेन पठाउन तयार भएको छ। जर्मनीले रसियासँगको ग्याँसको पाइपलाइनको काम बन्द गरेको छ। अमेरिका देखि नेटो र युरोपियन युनिएनका राष्ट्रहरु एकजुट भएका छन्। युक्रेनलाई नेटोको सदस्यता दिने वा नदिने भन्नेमा विभाजित नेटोका सदस्य राष्ट्रहरु एकजुट भएका छन्।
रसिया माथि यतिबेला चर्को नाकाबन्दी सुरू भएको छ। बिशेष गरी पुटिनको व्यक्तिगत सम्पत्ति र कारोबार रोक्का गरिएको छ। उनका विदेश मन्त्रि ओलिगार्क साथीहरुका बिदेशमा रहेका बैंक खाता फ्रीज गरिएको छ। रसियन बैंकहरुले कारोबार गर्न पैसा प्रबाह हुने स्विफ्ट प्रणालीबाट मुख्य बैंकहरुलाई हटाइएको छ। रसियन जहाजहरुको उडानलाइ नेटोका सदस्य राष्ट्रहरुको आकाशमा प्रतिबन्ध लगाइएको छ। रसिया भित्र पनि युद्धको बिरोधमा प्रदर्शन भैरहेका छन्।
यिनै कारणले रसियाले युक्रेनसँग बार्ताको प्रस्ताव गरेको छ भने विश्वलाइ त्रसित पार्न आणविक हतियारहरुलाई “उच्च सतर्क” बनाउने घोषणा गरेर आफु माथि पर्न कुन हदसम्म जानसक्छ भनेर चेतावनी दिएको छ। युक्रेनसँगको युद्धमा अन्य देश संलग्न भए इतिहासकै ठुलो क्षति व्यहोर्नु पर्ने चेतवानी दिएका पुटिनले आणविक हतियार तर्फ इशारा गर्नुले मा पराजित हुने भय उत्पन्न भैसकेको अनुमान गर्न थालिएको छ। युक्रेनमा करिव दुइलाख सैनिक उतारेर केहि दिनमै कब्जा गरी कठपुतली सरकार गठन गरेर फिर्ता हुने आंकलन गरेका पुटिनले युद्ध लम्बिने मात्र होइन पराजित समेत हुनसक्ने आंकलन गरेरै आणविक हतियारको धम्कि दिएको बुझ्न सकिन्छ।
युरोपियन युनियन, नेटो र अमेरिका अहिलेसम्म एक स्वतन्त्र राष्ट्र युक्रेन माथिको अतिक्रमणलाइ बिरोध र सानो स्तरमा सहयोग गरेको अबस्थामा बिस्तारै स्थितिमा पनि परिवर्तन आउने संकेत देखा परेको छ। बिशेष गरी पुटिनको मानसिकता बुझेका पश्चिमी राष्ट्रहरु उनी युक्रेनमा मात्र सिमित रहन सक्ने अवस्था देख्दैनन्। पुर्बी युरोपमा रहेका देशहरु अहिले युक्रेनको युद्धलाई निकै गम्भिरतापुर्बक लिन थालेका छन् र अधिकतम सहयोग गर्ने अबस्थामा पुगेका छन्। सिधै युक्रेनको पक्षमा लाग्दा बिस्वयुद्धको खतरा देखेर सतर्कतापुर्बक अगाढी बढेका यी राष्ट्रहरुलाई पुटिनले जबर्जस्ति युद्धमा होमिने अवस्था निर्माण गरेका छन् जसले तेश्रो बिस्वयुद्ध समेत हुन सक्ने वा पुटिनले रासायनिक हतियारको प्रयोग गरेर मानव संहारको अवस्था समेत आउन सक्ने चिन्ता व्यक्त गर्न थालिएको छ।
के हो रसिया युक्रेन बिबाद ?
१९९० मा सोभियत युनियनको पतन भए पछि १९९१ मा युक्रेनले पूर्ण स्वतन्त्रता प्राप्त गरेको हो। करिव साढे चार करोड जनसंख्या भएको युक्रेनको हजार बर्ष भन्दा लामो इतिहास छ। यो क्षेत्रफल रसिया पछिको सबभन्दा ठुलो देश हो। युक्रेनमा ठुलो जनसंख्या रसियन मुलका मानिसहरुको छ।
युक्रेनको पुर्बका दुइ राज्यहरु अधिकांश रसियन मुलका छन् जसले युक्रेनबाट अलग हुन हिंसात्मक पृथकताबादी आन्दोलन चलाई रहेका छन्। केहि दिन अघि फेब्रुअरी २१ मा मात्र पुटिनले ती राज्यहरुलाई स्वतन्त्र भएको मान्यता दिंदै त्यहाँ आफ्ना सेना पठाउने घोषणा गरेका थिए।
पुटिन पुरानो सोभियत संघ ब्युँताउने अभियानमा रहेको प्रस्ट देखिन्छ। त्यसैको फलस्वरूप उनले बिस्तारै छुट्टिएका राज्यहरुमा कठपुतली सरकार निर्माण गर्दै जाने नीति लिएका छन्। त्यसको लागि नेटो उनको मार्गमा तगारो बन्न लागेको महशुस पुटिनले गरेका छन्। २०१४ मा युक्रेनको स्वामित्वमा रहेको क्राइमिया कब्जा गरेका पुटिन २०१४ मै रसियासँग नजिक मानिएका तत्कालिन रास्ट्रपति भिक्टर यानुकोभिचको जबर्जस्ति बहिर्गमनबाट असन्तुस्ट थिए। २०१३ मा युरोपियन युनियनमा जोडिने कुरालाई अस्विकार गरेका रास्ट्रपति यानुकोभिच २०१४ मा रसियामा निर्बासित हुन बाध्य भएका थिए। २०१९ मा कमेडियनबाट रास्ट्रपति बनेका भ्लादिमिर जेलेन्सकी बने पछि रसियासँगको सम्बन्ध झन् बिग्रियो।
वर्तमान रास्ट्रपति जेलेन्सकी नेटोमा आबद्ध हुन निकै अग्रसर हुँदै आएका छन्। त्यसले गर्दा एकातिर पुटिन आफ्नो राज्य बिस्तारमा बाधकको रुपमा लिंदै युक्रेनमा आक्रमण गरेका छन् भने रसियामा राजनीतिक रुपमा कम्जोर हुँदै गएकोमा रास्ट्रियताको आडमा बलियो बन्ने योजना उनको देखिन्छ। अमेरिका र नेटोको प्रभाव युक्रेनमा बढे आफ्नो सुरक्षामा खतरा हुने तर्क गर्दै युक्रेनलाइ निशस्त्र बनाउने उनको योजना रहेको बताउने गरेका छन्। महत्वाकान्क्षी पुटिनको यहि हठका कारण अहिले युक्रेन युद्धमा छ र बिस्व युद्धको त्रासमा बाँच्न बाध्य छ।
अहिलेको अबस्थामा बिजयी पुटिन र पराजित पुटिन विश्वका लागि खतरा बनेका छन्। पराजयको भयले आणविक हतियार चलाएर नरसंहार गर्ने दिशातर्फ पुटिन लम्किने संभावना बढ्दो छ । पुटिनले यसमा सफलता प्राप्त गरेमा पुर्बी युरोपका राष्ट्रहरुको सम्प्रभुताको लागि घातक हुनसक्छन । यसमा युक्रेनको स्वतन्त्रता पनि कायम रहने, पुटिन पराजित नभएको भन्ने खालको मध्यमार्गी बाटोमा अमेरिका हिंड्न खोजेको देखिन्छ।
अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो खाले नीतिलाई कतिपयले कमजोरीको रुपमा ब्याख्या गर्ने प्रयास गरेका छन् । संभावित तेस्रो विश्वयुध्दको खतराबाट विश्वलाइ जोगाउन र ठुलो नरसंहारको पथमा अहिलेको लडाइ नजाओस भन्नेहरुको लागि बाइडेनको सतर्क प्रतिक्रिया खुशीको कुरा हो। अमेरिकाले ठुल्दाइको भूमिका खेल्दै रसिया माथि आक्रमण गरिहाल्नु पर्छ भन्ने युद्ध प्रेमीहरुले त्यसबाट हुने मानबिय क्षतिमा नजरअन्दाज गरेको देखिन्छ।