काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको...

पुरा पढ्नुहाेस्

गर्भावस्थादेखि नै पहिचान गर्न सकिने बाल मूत्ररोग : समयमै उपचार गर्नाले जोगिन्छ बच्चाको भविष्य

1.94K
shares

काठमाडौं । बच्चा जन्मिएपछि उसको स्वास्थ्यबारे अभिभावकहरू निकै सचेत हुन्छन्। तर धेरैलाई थाहा नहुन सक्छ कि कतिपय गम्भीर रोगहरू बच्चा जन्मनुअघि नै आमाको गर्भमा रहँदा पहिचान गर्न सकिन्छ ।

विशेषगरी मिर्गौला, पिसाबको थैली, मूत्रनली तथा यौनाङ्गसँग सम्बन्धित धेरै समस्या गर्भावस्थाकै क्रममा पत्ता लगाउन सकिने र समयमै उपचार गरेमा बच्चाको जीवन नै बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।

वरिष्ठ बाल शल्य चिकित्सक तथा बाल मूत्ररोग विशेषज्ञ डा.रामानन्दनप्रसाद चौधरीका अनुसार बाल युरोलोजी (पेडियाट्रिक युरोलोजी) बालबालिकामा देखिने मूत्र प्रणाली तथा यौनाङ्ग सम्बन्धी रोगहरूको उपचार गर्ने चिकित्सा विज्ञानको विशेष शाखा हो । यो सेवा नेपालमा अझै पनि सीमित मात्रामा उपलब्ध भएपनि बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

के हो बाल युरोलोजी ?

बाल युरोलोजी भनेको जन्मेदेखि १८ वर्षसम्मका बालबालिकामा देखिने मिर्गौला, पिसाबको नली, पिसाबको थैली तथा यौनाङ्ग सम्बन्धी रोगहरूको निदान र उपचार गर्ने चिकित्सा क्षेत्र हो ।

डा. चौधरीका अनुसार धेरै अभिभावकले बच्चालाई पिसाबसम्बन्धी समस्या हुँदा सामान्य संक्रमण वा सानो समस्या ठानेर बेवास्ता गर्ने गर्छन् । तर यस्ता समस्याले दीर्घकालीन रूपमा मिर्गौलालाई गम्भीर क्षति पु¥याउन सक्छ ।

उहाँका अनुसार मिर्गौलामा पानी जम्ने (हाइड्रोनेफ्रोसिस), पिसाबको नलीमा अवरोध हुने (पोस्टेरियर युरेथ्रल भल्भ), पिसाबको प्वाल असामान्य स्थानमा हुने (हाइपोस्पाडियास), मिर्गौलाको ट्युमर, पिसाब बारम्बार संक्रमण हुने तथा लिङ्ग पहिचानमा समस्या हुने (डिसअर्डर अफ सेक्सुअल डेभलपमेन्ट–डीएसडी) जस्ता रोगहरू बाल युरोलोजी अन्तर्गत पर्छन् ।

गर्भमै थाहा हुनसक्छ बच्चाको समस्या

आधुनिक प्रविधिको विकाससँगै अहिले गर्भावस्थामै बच्चाको धेरै स्वास्थ्य समस्या पहिचान गर्न सम्भव भएको छ । गर्भावस्थाको करिब २० हप्तापछि गरिने ‘एनोमली स्क्यान’ मार्फत बच्चाको शारीरिक विकासको विस्तृत मूल्यांकन गर्न सकिने उहाँले जानकारी दिनुभयाे ।

उहाँकाअनुसार यस स्क्यानबाट मिर्गौलामा पानी जमेको छ कि छैन, पिसाबको थैलीको विकास सामान्य छ कि छैन, आन्द्रा वा अन्य अंगमा समस्या छ कि छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।

उहाँले गर्भावस्थामा कुनै समस्या देखियो भन्दैमा बच्चा जन्माउन नहुने भन्ने धारणा गलत भएको बताउनुभयाे । ‘धेरैजसो अवस्थामा जन्मपछि शल्यक्रिया गरेर बच्चालाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ,’ उहाँले भन्नुभयाे ।

नेपालमा पहिले यस्ता रोगहरूको पहिचान ढिलो हुने गरेको भएपनि अहिले सरकारी अस्पतालहरूमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुन थालेपछि प्रारम्भिक पहिचान सहज बन्दै गएको उहाँको भनाइ छ।

समयमै उपचार नभए मिर्गौला बिग्रन सक्छ

बाल मूत्ररोगका धेरै समस्याले प्रत्यक्ष रूपमा मिर्गौलालाई असर गर्छन् । विशेषगरी पिसाबको नलीमा अवरोध भएमा पिसाब सामान्य रूपमा बाहिर ननिस्की मिर्गौलातर्फ फर्किन सक्छ । यसले मिर्गौलामा दबाब बढाएर स्थायी क्षति पु¥याउन सक्छ ।

डा. चौधरीका अनुसार पोस्टेरियर युरेथ्रल भल्भ नामक रोगमा पिसाबको नलीभित्र पर्दाजस्तो अवरोध हुन्छ । यसले बच्चाको दुवै मिर्गौलालाई क्षति पु¥याउन सक्छ । यदि रोग समयमै पत्ता लाग्यो भने शल्यक्रियामार्फत समस्या समाधान गर्न सकिन्छ । त्यसैगरी हाइड्रोनेफ्रोसिस अर्थात् मिर्गौलामा पानी जम्ने समस्या पनि उपचारविहीन अवस्थामा छाडिए मिर्गौलाको कार्यक्षमता घट्दै जान्छ । समयमै शल्यक्रिया गरेर मिर्गौला जोगाउन सकिने भएकाले प्रारम्भिक निदान अत्यन्त महत्वपूर्ण मानिन्छ।

मिर्गौला प्रत्यारोपणभन्दा सस्तो र प्रभावकारी उपाय

उहाँकाअनुसार बाल युरोलोजीका धेरै रोग समयमै उपचार गरेमा भविष्यमा मिर्गौला प्रत्यारोपणसम्मको अवस्था आउन नदिन सकिन्छ ।

नेपालमा एउटा मिर्गौला प्रत्यारोपण गर्न लाखौं रुपैयाँ खर्च लाग्ने र उपयुक्त दाता पनि सहजै नपाइने अवस्था रहेको उल्लेख गर्दै उहाँले प्रारम्भिक उपचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयाे।

‘समयमै शल्यक्रिया गरेमा मिर्गौला जोगाउन सकिन्छ । मिर्गौला जोगियो भने बच्चाको भविष्य सुरक्षित हुन्छ,’ उहाँले भन्नुभयाे।

बच्चा वयस्कको सानो रूप होइन

बालबालिकाको उपचारलाई वयस्कको उपचारसँग तुलना गर्न मिल्दैन । बच्चाको शरीरको बनावट, शारीरिक प्रणाली, मानसिक अवस्था र औषधिको प्रतिक्रिया सबै फरक हुन्छ ।

डा. चौधरी भन्नुहुन्छ, ‘बालबालिका वयस्कको सानो संस्करण होइनन्। उनीहरूको शरीरले काम गर्ने तरिका नै फरक हुन्छ ।’

उदाहरणका लागि, वयस्क मानिसको शरीरमा करिब पाँच लिटर रगत हुन्छ भने नवजात शिशुमा करिब २५०–३०० मिलिलिटर मात्र रगत हुन्छ । त्यसैले थोरै रगत बगे पनि बच्चाको अवस्था गम्भीर हुन सक्छ ।

त्यसैगरी शल्यक्रियाको क्रममा अपरेशन थिएटरको तापक्रमसमेत फरक राख्नुपर्छ। वयस्कका लागि चिसो वातावरण उपयुक्त भए पनि नवजात शिशुका लागि न्यानो वातावरण आवश्यक पर्छ।

किन आवश्यक छ विशेषज्ञसहितको अस्पताल ?

बालबालिकाको सफल उपचारका लागि बाल विशेषज्ञ चिकित्सक, बाल एनेस्थेसियोलोजिस्ट, प्रशिक्षित नर्स तथा विशेष उपकरण आवश्यक पर्छन्।

डा. चौधरीकाअनुसार बाल शल्यक्रियामा प्रत्येक मिलिलिटर तरल पदार्थ तथा रगतको मात्रा गणना गरेर व्यवस्थापन गर्नुपर्छ। यही कारणले बाल अस्पताल तथा बाल विशेषज्ञ टोलीको आवश्यकता पर्ने गर्दछ ।

उहाँले बालबालिकाको शल्यक्रिया सम्भव भएसम्म बाल अस्पतालमै गराउन सुझाव दिनुभएकाे छ ।

जंक फुडले बढाउँदै स्वास्थ्य समस्या

पछिल्लो समय बालबालिकामा जंक फुडको बढ्दो प्रयोगले पनि स्वास्थ्य समस्या बढाएको चिकित्सकहरूको निष्कर्ष छ ।

कुर्कुरे, चाउचाउ, चकलेट, बिस्कुट, कोल्ड ड्रिङ्क्स लगायतका अस्वस्थकर खानाले कब्जियत, ग्यास्ट्रिक तथा पाचन प्रणालीका विभिन्न समस्या निम्त्याउने गरेको डा. चौधरी बताउनुहुन्छ।

उहाँकाअनुसार बाल शल्यचिकित्सा विभागमा आउने धेरै बिरामीहरू कब्जियतको समस्याबाट पीडित हुने गरेका छन्। पर्याप्त पानी नखाने र पौष्टिक खाना कम खाने बानीले समस्या थप जटिल बन्दै गएको छ।

लिङ्ग पहिचानसम्बन्धी जटिलता

बाल युरोलोजीको अर्को संवेदनशील विषय भनेको लिङ्ग पहिचानमा देखिने समस्या हो । कतिपय बच्चाहरूमा जन्मिँदा उनीहरूको यौनाङ्ग स्पष्ट रूपमा पुरुष वा महिला भनेर छुट्याउन कठिन हुने अवस्था देखिन्छ।

यसलाई चिकित्सकीय भाषामा डिसअर्डर अफ सेक्सुअल डेभलपमेन्ट (डीएसडी) भनिन्छ। उहाँले यस्ता अवस्थामा विभिन्न परीक्षण गरेर शरीरको भित्री बनावट तथा गुणसूत्रको अवस्था अध्ययन गरिने बताउनुभयाे । त्यसपछि विशेषज्ञ टोलीको सल्लाह र अभिभावकको निर्णयका आधारमा उपचार प्रक्रिया अघि बढाइन्छ।

उहाँले नेपालजस्तो समाजमा यस्ता विषय अझै संवेदनशील रहेकाले अभिभावकलाई मनोसामाजिक परामर्श पनि आवश्यक हुने बताउनुभयाे ।

रोकथाम नै सबैभन्दा राम्रो उपाय

बाल मूत्ररोगका सबै समस्या रोक्न सम्भव नहुने भए पनि समयमै पहिचान र उपचारबाट गम्भीर असर रोक्न सकिन्छ।

गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण, धूम्रपान र मदिरा सेवनबाट टाढा रहने, चिकित्सकको सल्लाहबिना औषधि प्रयोग नगर्ने तथा जन्मपछि बच्चाको स्वास्थ्यमा असामान्यता देखिए तुरुन्त परीक्षण गराउने बानीले धेरै जोखिम कम गर्न सक्ने उनले जानकारी दिए ।

उहाँले आमाबुबालाई कुनैपनि लक्षणलाई सामान्य ठानेर बेवास्ता नगर्न आग्रह गर्नुभएकाे छ । ‘प्रारम्भिक अवस्थामा रोग पत्ता लाग्यो भने उपचारको सफलता धेरै उच्च हुन्छ,’ उहाँले भन्नुभयाे।

स्वस्थ बच्चा नै देशको भविष्य

बालबालिका भविष्यका जनशक्ति र राष्ट्र निर्माणका आधार भएकाले उनीहरूको स्वास्थ्यमा लगानी गर्नु आवश्यक रहेको चिकित्सकहरूको धारणा छ।

समयमै उपचार पाए बाल मूत्ररोगका जटिल समस्या पनि समाधान गर्न सकिने, मिर्गौला जोगाउन सकिने र बच्चालाई सामान्य जीवनयापन गर्न सक्षम बनाउन सकिने डा. चौधरीको निष्कर्ष छ।

उहाँले भन्नुभयाे, ‘गर्भावस्थादेखि नै नियमित जाँच गरौँ, शंका लागे विशेषज्ञको सल्लाह लिऔँ र बच्चाको स्वास्थ्यलाई प्राथमिकतामा राखौँ। स्वस्थ बालबालिका नै स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार हुन् ।’

बालबालिकामा देखिने सामान्य लक्षण

बालबालिकाले आफ्नो समस्या स्पष्ट रूपमा भन्न नसक्ने भएकाले अभिभावक सचेत हुन आवश्यक हुन्छ । विज्ञहरूका अनुसार निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ–

– पिसाब फेर्न अत्यधिक बल गर्नुपर्ने

– पिसाबको धार कमजोर हुनु

–बारम्बार पिसाब संक्रमण हुनु

– पिसाब गर्दा रुनु

– पिसाबमा रगत देखिनु

–बारम्बार उच्च ज्वरो आउनु

– पेटमा असामान्य डल्लो देखिनु

–लामो समयसम्म पिसाब रोकिनु

विशेषगरी बालिकाहरूमा पिसाब संक्रमणको समस्या बढी देखिने गरेको चिकित्सकहरू बताउँछन्। संक्रमण बारम्बार दोहोरिने अवस्था भए मिर्गौलासम्म असर पुग्न सक्ने भएकाले परीक्षण आवश्यक हुन्छ।