धादिङ बस दुर्घटनाको छानबिनका लागि समिति गठन
२०८२ फागुन ११ सोमवार १२:१०
shares

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्ने निर्णय गरिएको छ । ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायबीच छलफल भएको थियो । छलफलले घटनाको विस्तृत छानबिनका लागि समिति बनाउने निष्कर्ष निकालेको हो ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग. २ ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ स्थित भैंसेगौडाबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । तीमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । प्रहरीका अनुसार कलंकीस्थित नेसनल अस्पतालमा एक महिलासहित १० जना र ट्रमा सेन्टरमा १५ जनालाई ल्याइएको छ । ट्रमा सेन्टरमा एक युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको छ ।
















