अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी, तीन दिनभित्र सक्ने लक्ष्य
२०८२ फागुन २ शनिवार ११:३४
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइ मात्र बाँकी रहेको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छापिइसकेको छ । छपाइ सम्पन्न भएका जिल्लामध्ये डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुमपश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी र डडेल्धुरा रहेका छन् ।
त्यसैगरी दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र मोरङको मतपत्र पनि छापिइसकेको छ ।
यस्तै उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रे गरी कुल ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । तीन दिनभित्र सम्पूर्ण छपाइ कार्य सकिने अनुमान गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
छापिएका जिल्लाका मतपत्र प्याकिङ भइसकेका छन् । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ सम्पन्न भइसकेको छ । दैनिक करिब एक हजार बाकस प्याकिङ तथा ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।
पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको छ । दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ ।
यसैबीच छपाइ सम्पन्न भएका मतपत्र आजैदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरिएको छ । सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
















