प्रशान्त सापकोटा (फिनु) को “काव्या” उपन्यास बजारमा
२०८२ साउन १२ सोमवार १०:१२
shares

आर्टिकल्सपेपर, काठमाडौँ । फार्मेसीमा स्नातक प्रशान्त सापकोटा (फिनु) ले प्रेमकथामा आधारित उपन्यास “काव्या” लिएर झुल्केका छन् ।
कास्की जिल्लाको साविक थुमाकोडाँडा, तारकाङमा वि.सं. २०५६ मा जन्मेर पोखरा महानगरपालिका, रानीपौवामा बसोबास गर्ने प्रशान्त “काव्या” उपन्यासमार्फत साहित्यमा डेब्बु गरेका छन् । “काव्या” उपन्यास यौवनावस्थाका युवा युवतीको कथा हो । पोखरा र काठमाडौंको परिवेशमा लेखिएको यो प्रेम उपन्यासले पाठकलाई पोखरा र काठमाडौंका विभिन्न स्थानको भ्रमण पनि गराउँछ ।
“काव्या” उपन्यास वर्तमान पुस्ताको प्रेमकथा हो । आधुनिक सञ्चार प्रविधि, सभ्यता र संस्कृतिले जन्माएको वातावरण र त्यस वातावरणमा अङ्कुरित हुन लागेको प्रेम र उक्त प्रेमलाई परिपुष्ट बनाउन युवाजगत्ले पु¥याउनुपर्ने सचेतता सम्बन्धमा स्पष्ट हुन प्रेरित गर्ने प्रस्तुत उपन्यास युवा समाजले आफूलाई पनि विषयवस्तुसँगै घुलन गर्दै पढ्न उत्सुक बनाउँछ । विश्व नै एउटा गाउँको रूपमा स्थापित हुन लागेको वर्तमान युगमा जीवन चलाउनुपर्ने आजको युवाजमातले आफूलाई कसरी सफलीभूत गर्ने भन्ने सम्बन्धमा गतिलो खुराक पस्कन प्रयासरत उपन्यासको रूपमा यसलाई लिन सकिन्छ ।

प्रेमलाई नै सर्वोपरी ठान्ने वर्तमान नयाँ पुस्ता अभिभावकहरूको सहमतिमा नै अगाडि बढ्दा सकारात्मक परिणाम आउने सन्देश उपन्यास पढ्दा जानकारी हुन्छ । चाहे नयाँ पुस्ताले आफ्ना अभिभावकलाई बुझाएर होस् वा अभिभावकले नयाँ पुस्तालाई बुझाएर होस् । युवा पुस्तामा जरा गाडेर बसेको हर्मोनल प्रेमले ल्याएको घटना र परिघटना र सच्चा प्रेमबाट आएको शान्त वातावरण उपन्यासमा पाइन्छ । जे होस् वर्तमान समाजले अध्ययन मनन गर्नुपर्ने विषयवस्तु यसमा अन्तर्निहित छ ।
खेमराज सापकोटा प्रकाशक रहेको यो “काव्या” उपन्यासको भाषा सम्पादन वेदराज ढुङ्गानाले गरेका छन् । उपन्यासको लेआउट र डिजाइन एस.के.डी. ग्राफिक्स एन्ड प्रिन्टिङ सोलुसन तथा डिजाइनर सन्तोषकुमार दाहालले गरेका छन् । कुल २२० पृष्ठको यस उपन्यासको मूल्य ४०० रुपैयाँ रहेको छ ।


















