ट्राफिक सचेतना कक्ष अब अनलाइनबाटै लिन सकिने
२०८२ असार ३० सोमवार ११:१७
shares

काठमाडौँ । प्रविधिमैत्री सेवा प्रवाहमा फड्को मार्ने क्रममा नेपाल प्रहरीले ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकहरुलाई सवारीसम्बन्धी नियम-कानूनको जानकारी भौतिक उपस्थितिमा सचेतना कक्षामार्फत् गराउने गरेकोमा अझ सरल, व्यवस्थित एवं सहज बनाउने उद्देश्यका साथ अब अनलाइन कक्षासमेत सञ्चालनमा ल्याएको छ । मादक पदार्थ सेवन, रातो बत्ती, लेन अनुशासन तथा तीव्रगतिलगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुका लागि सरल, व्यवस्थित र सहज तरिकाले सवारीसम्बन्धी नियम-कानूनको जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन कक्षाको गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच विधिवत शुभारम्भ गरेका छन् ।
नेपाल प्रहरीले ज्ञान बजार प्रालिसँगको सहकार्यमा सञ्चालनमा ल्याएको अनलाइन कक्षा सेवाग्राहीमैत्री भएको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । उहाँले नेपाल प्रहरी एकपछि अर्को प्रविधिमा प्रवेश गरिराखेको, प्रविधिको प्रयोगमार्फत् कक्षा लिन सकिने व्यवस्थाले नेपाल प्रहरीमा प्रविधि भित्र्याउने नयाँ आयाम थप भएको बताउनु भयो । नेपाल प्रहरी जनताका बीचमा लोकप्रिय रहेको भन्दै गृहमन्त्री लेखकले नागरिकको प्रहरीप्रति आस्था र विश्वास बढेको, कुनै समस्या पर्दा नागरिकले सबैभन्दा पहिला सम्झिने संगठन नेपाल प्रहरी भएकाले जनताको आस्था, भरोषा र विश्वास जोगाइराख्न आग्रह गर्नुभयो । प्रविधिको प्रयोगले कहिलेकाहीँ जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरीले प्रविधिको प्रयोगलाई नजर(अन्दाज नगरी सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्रथम प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई सेवाग्राहीमैत्री बनाइएको चर्चा गर्नुभयो । उहाँले लापसे (लागू पदार्थ सेवन) गरेर सवारी चलाउने सवारी चालकलाई समेत कारबाही गर्ने गरिएको बताउनुभयो । नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको प्रहरी महानिरीक्षक थापाले उल्लेख गर्नुभयो । आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दूर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिबृद्धि र सेवा प्रवाहमा सुधार भएको सम्झाउनुभयो । अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकाले सेवाग्राहीहरूको पनि पर्याप्त सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । अनलाइन माध्यमबाट हुने यस किसिमका कक्षाहरूमा सेवा प्रयोगकर्ताबाट हुन सक्ने लापरवाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्याप्त सजगता अपनाउनु पर्नेमा प्रहरी महानिरीक्षक थापाको जोड थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले भन्नुभयो- ‘अनलाइन सचेतना कक्षामा सहभागी भइसकेपछि मोबाइलको क्यामेरा आफ्नो अनुहारतिर फर्काइराख्नुपर्ने हुन्छ । शुरुदेखि अन्त्यसम्म सेवाग्राहीको अनुहारलाई एआई मोड्युले मोनिटरिङ गरिरहने हुँदा कक्षाको क्रममा क्यामेरा एक मिनेटसम्म अफ भएमा वा अनुहार नपाएमा एवं तीनपटक अलर्ट म्यासेज आएमा वा ६ प्रश्नमध्ये कम्तीमा तीन प्रश्नको सही उत्तर नदिएमा कक्षा डिस्कनेक्ट हुनेछ । पुनः सचेतना कक्षामा १२ घण्टापश्चात् मात्र सहभागी हुने व्यवस्था मिलाइएको छ । उक्त कक्षा अर्को दिन पनि पूरा नभएमा अथवा सवारी दर्ता किताब र सडक इजाजतपत्रको कारबाहीमा सम्बन्धित कार्यालयको भौतिक उपस्थितमा कक्षा लिइने व्यवस्था गरिएको छ ।’


















