डा. बरालको नयाँ उपन्यास “प्रतिरूप” को परिचर्चा
२०८२ असार १० मंगलवार १०:३०
shares

काठमाडौँ । नेपाली साहित्यका निरन्तर कलम चलाइरहने लेखक डा. खगराज बरालको नयाँ उपन्यास प्रतिरूपको परिचर्चा कार्यक्रम असार ७ गते शनिबारको दिन एम्बिसन कलेज, पुतलीसडक, काठमाडौँमा सम्पन्न भयो । “आखिर जीवन भनेको तोरणको पूmल जस्तै रहेछ”, प्रतिरूप उपन्यासको अन्तिम पृष्ठको वाक्यलाई उद्धृत गर्दै कार्यक्रम सञ्चालक पवनकुमार न्यौपानेले परिचर्चा कार्यक्रम प्रारम्भ गरेका थिए ।
उपन्यासप्रेमी महानुभावहरूको उपस्थितिमा सञ्चालन भएको परिचर्चा कार्यक्रमका प्रमुख वक्ता संयुक्त राष्ट्र सङ्घका लागि नेपालको तर्फबाट राजदूत भइसक्नुभएका प्राध्यापक डा. जयराज आचार्यले भन्नुभयो, “साहित्यिक विषयको परिचर्चा गर्दा सानो समूहमा नै गर्नुपर्ने, ठुलो समुदायको उपस्थितिमा सभा गृह जस्ता ठुला हलहरुमा हल्लाखल्ला गर्ने विषय साहित्य नभएको र साहित्य भनेको साह्रै गम्भीर विषय भएकाले सानो समूहमा यसको सूक्ष्म विश्लेषणसहितको परिचर्चा हुनुपर्छ ।”

विश्व साहित्यमा रसियन साहित्यको योगदानको चर्चा गर्दै बौद्ध दर्शन, पोलिनेसियन नृत्य र इस्लामिक आर्किटेकको अतुलनीय देन रहेको र यस्ता विधा र विषयले विश्वलाई धेरै योगदान दिएको उल्लेख गर्नुभयो । साहित्यका विधाहरुमा उपन्यास पनि त्यत्तिकै महत्त्वपूर्ण विधा रहेको उल्लेख गर्दै प्रा. डा. आचार्यले साहित्यकार इन्द्रबहादुर राईको आफ्नो कृतिको व्याख्या कृतिकारले नै गर्नु राम्रो र फलदायी हुने भनाइलाई याद गर्नुभयो । साथै, अङ्ग्रेजी स्वच्छन्दतावादी कवि वर्डवर्थले प्रिफेस टु लिरिकल ब्यालेड भनेर आफ्नो कविताको व्याख्या आफैँ गरेको कुरालाई सान्दर्भिक रुपमा उल्लेख गर्नुभयो ।
उपन्यासकार बरालले “प्रतिरूप” उपन्यास लेखनको प्रसङ्ग उल्लेख गर्दै यसको कथाको सुरुवात वि.सं. २०६९ मा एसएलसी परीक्षाको प्रश्नपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षित मुद्रणालयका जाँदा त्यहाँ काम गर्ने कर्मचारी मुमबहादुर मगरले भारतको मेघालयको कोइलाखानीमा काम गर्दाको अनुभव सुनाएपछि आफूलाई कोइलाखानीमा काम गर्ने मजदूरका विषयमा लेख्न प्रेरित गरेको बताए । कथाको बीजका रुपमा कोइलाखानीका मजदूरको लिए पनि उसको नेपालस्थित परिवारका साथै तत्कालीन समयको नेपाली समुदायको आर्थिक, शैक्षिक तथा सामाजिक अवस्थालाई उपन्यासमा चित्र गरेको कृतिकार बरालले बताए ।
यस उपन्यास लेखनमा गुलाब चौधरी, नारायणप्रसाद सुवेदी, मुमबहादुर मगर, बरखुप्रसाद रजक, श्रीनेवास पाल, भेषराज बराल, बेदविक्रम हमाल, पाराश्वर ढुङ्गाना जस्ता व्यक्तित्वबाट विषयगत स्पष्टताका लागि सहयोग मिलेको कुरा पनि बरालले उल्लेख गरे । उपन्यास लेखनमा दुई वर्ष लागेको र विषयगत स्पष्टताका लागि नेपालको प्रचलित कानुन, अदालतका फैसला, स्थानीय भूगोल तथा सामाजिक अवस्थाको अध्ययन गुगल तथा विभिन्न वेबसाइटका जानकारी सङ्कलन, विभिन्न व्यक्तिसँग भेटघाट र विभिन्न विज्ञसँग छलफल गरेको लेखक बरालले बताए । पात्रहरु काल्पनिक भए पनि घटना भने वास्तविक भएको जिकिर बरालले गरे ।

उपन्यास नारी प्रधान देखिए पनि पुरुषहरुको कष्टपूर्ण जीवन पनि उत्तिकै सान्दर्भिक भएर आएको छ । उपन्यासका पात्रहरु निम्न मध्यम वर्गका भएका र यिनै पात्रहरुको जीवन सङ्घर्षका कथालाई मालामा उनेजस्तै गरी पस्किएको कुरा कार्यक्रम सञ्चालन पवनकुमार न्यौपानेले बताए । उपन्यासमा कौतुहूलताको भरपूर उपयोग भएको बताउँदै न्यौपानेले भने, “उपन्यासका सुरुका चार पाँच अङ्क पढ्दैमा पूरै उपन्यासको धारणा बनाउनु गलत हुने कुरा यस उपन्यासको पूरा पढेपछि थाहा हुने भएकाले उपन्यास पूरै पढेपछि मात्र उपन्याससम्बन्धी धारणा बनाउनेपर्ने हुन्छ ।”
परिचर्चा कार्यक्रममा चिरञ्जीवी बराल, केशवप्रसाद दाहाल, दिपक बराम, शान्ति पौडेल, दिवाकर गौतम, पवनकुमार न्यौपाने, सुमन खनाल लगायतका सहभागीहरूले उपन्याससँग सान्दर्भिक रहेर जिज्ञासा राख्नुभएको थियो । परिचर्चा कार्यक्रममा सहभागीहरूबाट उठाइएका जिज्ञासाहरूको जवाफ लेखक बरालले दिनुभएको थियो । उपन्यासका लेखकसँग प्रत्यक्ष कुराकानी गर्न पाएकामा सहभागीहरूले खुसी प्रकट गरेका थिए ।



















