• २०८१ माघ ९ गते बुधवार

काठमाडौं: नेपाल पर्यटन बोर्डले २६औं वार्षिकोत्सव मनाएको छ । साे अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताउनुभयाे । मन्त्री पाण्डले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने पनि बताउनुभयाे ।

मन्त्री पाण्डले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिनुभयाे । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो । नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ।’

संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभयाे ।

बोर्डका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डले बोर्डले पूर्वाधारको विकाससंगै प्रविधिको व्यापक प्रयोग, पर्यटनको लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले यसको लागि पर्यटन प्रर्वद्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने बताउनुभयाे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राख्नुभयो । कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको र सन् २०२४ मा नेपालमा साढे एघार लाख पर्यटकले भ्रमण गरेकोले कोभिडपछिको नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको जानकारी गराउनुभएकाे थियाे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गर्नुभयाे । कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र इनफोकसको विमोचन गर्नका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरेका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *