• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौं: १८५औँ विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवस नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा मनाउन थालिएको हो ।

विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आज ललितपुरको पाटन दरबार क्षेत्रमा जलवायु परिवर्तनसँग सम्बन्धित रहेर ‘When Mountain Smiles’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ यो धेरै राम्रो काम भएको बताए ।

प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसँग सम्बन्धित फोटोहरु प्रदर्शनमा राखिएको फोटो प्रदर्शनी कार्यक्रमका संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए । एनएफपिजे नेपालले गएको वर्षमा पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो ।

पछिल्लो समय विश्वभर जलवायु परिवर्तनका कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । अध्यक्ष वन्तले जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको र पर्वतीय क्षेत्रलाई जलवायुको संकटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी रहेको बताए ।

फोटो प्रदर्शनीको अवलोकन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १८५औँ विश्व फोटोग्राफी दिवसको अवसरमा सम्पूर्ण फोटो पत्रकारलाई शुभकामना दिँदै प्रदर्शनीमा राखिएको फोटोले आफूलाई ध्यान केन्द्रीत बनाएको र साह्रै मन परेको प्रतिक्रिया दिए । हालको जल्दोबल्दो जलवायु परिवर्तन विश्वलाई समाचार सम्प्रेषण गर्छ जुन ग्लोबल वार्मिङको कारणले गर्दा हिमालमा हिउँ हुनु पर्ने हो त्यो चाहिँ पग्लेर गईरहेको छ । जसले गर्दा नेपाल लगायत विश्वले नै सिक्नुपर्छ भन्ने बुलन्द यो फोटो प्रदर्शनीले देखाएको मेयर महर्जनले बताए । फोटो प्रदर्शनीमा विभिन्न क्षेत्रका र सर्वसाधरणहरुले जिज्ञासाका साथ प्रदर्शनमा राखिएका फोटोहरुको अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *