भीमफेदीमा यात्रुवाहक ईभी हाइस दुर्घटना, १० जनाको मृत्यु, पाँच जना गम्भीर घाइते
२०८३ कात्तिक २७ बिहीवार १३:१६
shares

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुवाहक विद्युतीय (ईभी) हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । त्यस्तै, पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालक र तीन पुरुष रहेका छन् । उद्धार गरिएका घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार रहेको खुलेको छ । दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल, कारागार सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमान्डमा १० जनाको टोली परिचालन गरिएको थियो ।
त्यसैगरी, नेपाली सेनाको सेनानी आरोग्य गौतमको कमान्डमा ११ सदस्यीय टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० सदस्यीय टोली र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङ, हेटौँडाबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको कमान्डमा १० सदस्यीय थप टोली उद्धारमा खटिएको थियो ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरतर्फ पर्दछ। सडकबाट करिब ५०० मिटर तल गहिरो भिरमा गाडी खसेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । मृतक तथा घाइतेको विस्तृत पहिचान र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




















