नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

पुस्तक समीक्षा : गीताश्री शर्माको ‘समयको रेखाहरूको रेखा रेखा केलाउँदा’

770
shares

आर्टिकल्स पेपर, काठमाडौँ । जुलाई २३, २०२६ मा गीताश्री शर्मा नामबाट मेरो फेसबुक मेसेन्जरमा सन्देश आयो, “नमस्कार सर !”

फेसबुकबाट सन्देश पठाउने व्यक्तिको जानकारी लिने प्रयास गरेँ । प्रोफाइल फोटो स्केज गरेको र मेरो चिरपरिचित मित्र नभएकाले मैले तुरुन्तै जवाफ फर्काइनँ । मेसेन्जरबाटै उहाँको फेसबुकलाई नियाले । जनपक्ष प्रकाशन, गान्तोक सिक्किममा बसोबास गर्ने गीताश्री शर्माका साथीहरू र पोस्ट गरेका सामग्री हेरेपछि सोही दिन जवाफ फर्काएँ, “नमस्कार !”

लगत्तै उताबाट जवाफ आयो, “सर “स्यानी” पढ्दै छु । अनि हजुरलाई यता खोजेँ ।”

मेरो उपन्यास देशबाहिर सिक्किमका पाठकका हातमा पुगेको र पाठकले पढेर सम्पर्क गरेकामा म उत्साहित भएँ । त्यसपछि सामाजिक सञ्जालमा जोडियौँ । ह्वास्एप र मेसेन्जरमा हामीबिच संवाद हुन थाल्यो साहित्यको । एक अर्काका पुस्तक आदानप्रदान गर्ने सहमति भयो ।

सामाजिक सञ्जालमा साथी भएपछि हेर्दै जाँदा जुलाई १७, २०१६ मा गीताश्री शर्माले पुस्तक प्राप्ति सूचना भनेर फेसबुक स्टाटस लेख्नु भएको रहेछ । साहित्यकार शरद प्रधानसँग सम्बद्ध स्टाटसमा मसँग सम्बन्धित विषय पनि देखेँ । सन्देश यस्तो थियो:

“खगराज बरालको प्रकाशित कृति “स्यानी”  उपन्यास पढ्नु है बहिनी भनेर धुपौरे अनलाइन पत्रिकाका सम्पादक श्री रतन छेत्रीले धेरै पहिला भन्नु भएको थियो । उक्त उपन्यास यता कतै नपाउँदा मैले शरद दाजुसँग काठमाडौँमा पाउँछ कि भनेर गफ मात्रै गरेकी थिएँ भोलिपल्ट नै लिइदिएको छु भनेर खबर गर्नुभयो ।”

३० जुलाई २०२६ मा “स्यानी” उपन्यास पढेपछि उहाँले फेरि स्टाटस लेख्नुभयो:

“धेरै दिनदेखि पढ्न मन परेर मैले खोजिरहेको उपन्यास “स्यानी” हात परेपछि पढिसक्दा मैले पनि दिवङ्गत हुनुभएकी आमासँग थप समय बिताएको अनुभूति गरेँ । यस उपन्यासमा लेखकले स्थानीय भाषा-संस्कृतिका सन्दर्भसहित आफ्नो गाउँघरको पाटो-पाखो र बाटोघाटो झल्काउनुभएको छ । घटनाको प्रसङ्ग, प्राकृतिक परिवेश, रीतिरिवाज र संस्कृति एकै खाले भएकाले पुस्तक पढिरहँदा कहिले पश्चिम नेपाल त कहिले सिक्किम भ्रमण गरेको जस्तो लाग्यो ।

उपन्यास पढ्दै गर्दा मैले यो अनुभव गरेँ: “जुन आमाले “खगराज बराल” लाई यस धर्तीमा जन्माउनुभयो, उनै छोराले आमाको कृतिशेषपछि उपन्यासमा आमालाई पुनर्जन्म दिएर आमालाई युगौँयुगसम्म अमर बनाएका छन् । प्रार्थना छ यस्ता सुपुत्रहरू आमाहरूले यस धर्तीमा जन्माइरहुन् ।”

“स्यानी” पढिसकेपछि प्रतिक्रिया दिनका लागि मैले अनुरोध गरेको थिएँ ।

उहाँले मेसेन्जरमा प्रतिक्रिया यसरी पठाउनु भयो, “स्यानी” पढेर सकेँ । मार्मिक उपन्यास अनि आमाको तेह्र दिनको काजकिरियामा आमासँगको सारा जीवन यादहरू नौलो पाराले समेट्नु भएको रहेछ । गहिरो कथावस्तु, नौलो ढाँचामा आमाको ममता जति पढेँ मैले मेरै आमासँग समय बिताएको अनुभूति भयो । “स्यानी”  मार्फत मैले पनि सँगै आमासँग समय बिताउने समय पाएँ । “स्यानी” ले गर्दा हजुरलाई भेट्नर् अवसर जुर्यो । खुसी लागेको छ ।

“स्यानी” मा हजुरलाई देखिरहेँ । कतिपय घटना मेरो जीवनसँग मिल्दा सँगै रोएँ, सँगै हाँसे । आधा कथावस्तु एकै पाउँदा मै छक्क परेँ । कसरी एकै खाल्का घटनाहरू भए भनेर । मेरो यथार्थता अनि “स्यानी” को आमाछोराको कथा ।”

गीताश्री शर्मासँग संवाद भएपछि उहाँको पुस्तक पढ्ने रुचि भएकाले मैले लेखेका आठ र मेरा पिताजीले लेख्नुभएका दुई गरी उहाँले दिएकै ठेगानामा अगस्टको पहिलो हप्ता नै कुरियर्यमार्फत बिर्तामोड पठाएँ । त्यसपछि उहााले २४ अगस्ट, २०२६ मा पुस्तकहरू पाएपछि फेसबुकमा पुस्तक प्राप्तिको जानकारी राख्न अनुमति माग्नुभयो, मैले सहर्ष सहमति जनाए । त्यसपछि उहाँको फेसबुल स्टाटर निम्नानुसारको आयो: Bottom of Form

“वरिष्ठ साहित्यकार श्री खगराज बरालज्यूको चर्चित उपन्यास “स्यानी”  मैले निकै खोजेर प्राप्त गरेकी थिएँ । उपन्यास पढ्दै जाँदा मैले सामाजिक सञ्जालमा उहाँलाई खोजेर जोडिएँ अनि “स्यानी” पढ्दैछु” भनेर जानकारी गराएँ ।

एउटा स्रष्टालाई आफ्नो कृति कसैले खोजी गरेर, किनेर पढ्यो वा पढ्दैछु भन्दा त्योभन्दा ठूलो उपहार अरू के होला र! सायद यही आत्मीयताको फलस्वरूप आज उहाँका अन्य कृतिहरू मेरो सामु आइपुगेका छन् ।

सम्बन्ध रगत, सिन्दुर र मानवताको मात्र हुँदैन। सम्बन्ध अक्षर, शब्द, भावना र कृतिहरूको पनि हुन्छ । अक्षर, शब्द र भावनाले जोडिएपछि काठमाडौँबाट साहित्यकार खगराज बरालज्यूले केही दिनअघि पुस्तकहरूको ठेली बिर्तामोड पठाइदिनुभएको खबर गर्नु भएको थियो । अलिकदिन म आफैँ अस्वस्थ थिएँ । त्यसपछि भाषा दिवसको व्यस्तताले रिसिभ गर्न जान सकिरहेकी थिइनँ । त्यो अमूल्य उपहारको ठेली बोकेर स्नेही छोरा “कृष्ण न्यौपाने” र बुहारी “कमला भट्टराई” ले मलाई सिलगढी घरमै ल्याएर पुर्‍याइदिएर फर्किनुभयो । पुस्तकहरू क्रमशः पढ्ने छु। कृतिहरू पठाइदिनुभएकोमा साहित्यकार खगराज बरालज्यूप्रति हार्दिक नमन ज्ञापन गर्दछु साथै छोरा-बुहारीलाई धन्यवादसहित आशीर्वाद ।”

२४ अगस्ट, २०२६ गीताश्रीले सिक्किमबाट आफूले लेखन तथा सम्पादन गर्नभएका पाँच र  पति पुण्यप्रसाद शर्मा नेउपाने लेखन तथा सम्पादन गर्नुभएका दुई गरी सातओटा पुस्तकहरू पठाइदिनुभएको थियो, मेरो घर लोकन्थली, भक्तपुरमा नै प्राप्त गरेँ । ”

साहित्यमा यति धेरै रुचि र लगाव भएका व्यक्तिका रचना पढेपछि समीक्षा गर्नुपर्छ भनेर मैले गीताश्री शर्माद्वारा लिखित कथा सङ्ग्रह ‘समयका रेखाहरू’ को समीक्षा लेख्ने जमर्को गरेको छु ।

+++

पूर्वी नेपालसँग सिमाना जोडिएको भारतको एक राज्य सिक्किमको दक्षिण सिक्किमको लिङ्गोमा वि.सं. २०३० सन् १९७४ मा जन्मेकी गीता शर्मा नेउपाने न्यौपाने को साहित्यिक नाम गीताश्री शर्मा हो । पति पुण्यप्रसाद नेउपानेसँग सहकार्य गर्दै जनपक्ष प्रकाशन, सुपरमार्केट, गान्तोकमा प्रकाशन व्यवसाय गरिरहेकी गीताश्री शर्मा साहित्यिक लेखन, सम्पादन तथा प्रकाशनमा निकै सक्रिय छन् ।

‘अमृत–वाणी’, ‘विश्व प्रसिद्ध व्यक्तिहरूका महान् वाणीहरूको सङ्कलन’ तथा विद्यालयका पाठ्यपुस्तकहरू सम्पादन गरेकी शर्माका ‘मुक्ता’ (मुक्तक सङ्‌ग्रह), वर्षा कविता सङ्ग्रह (सन् २०२३), ‘तिलस्मी’ रम्बास कविता सङ्ग्रह (सन् २०२२), ‘समयका रेखाहरू’ कथा सङ्‌ग्रह (सन् २०२२), ‘ढुङ्गाका फूल’ मुक्तक सङ्ग्रह (सन् २०२६), ‘शब्दभित्र आमा’ संस्मरण (सन् २०२६), प्रकाशित कृति हुन् । शर्माले सन् २०२३ मा ‘काव्याञ्जलि’ शीर्षकको रम्बास कविता सङ्ग्रहको सम्पादन पनि गरेकी छन् ।

सामाजिक, साहित्यिक, प्रकाशन तथा गैह्रसरकारी संस्थाहरूसँग आबद्ध शर्माका कृतिहरू मुख्य रूपमा पत्रपत्रिका, साहित्यिक पोर्टल तथा सङ्ग्रहहरूमा प्रकाशित छन् । उनी, विशेष गरी, फुटकर कविता, कथा, लघुकथा र मुक्तक विधामा विशेष सक्रिय छिन् ।

उनका यी रचनाहरू सिक्किम तथा नेपालका विभिन्न नेपाली पत्रपत्रिका र अनलाइन साहित्यिक पोर्टलहरूमा उनका कविता तथा रचनाहरू नियमित रूपमा प्रकाशित र लोकप्रिय हुँदै आएका छन् ।

गीताश्री शर्माका रचनाहरूलाई नियाल्दा उनका सिर्जनामा समाजभित्रका असमानता, नारी जीवनका भोगाइ, विभेद र आन्तरिक वेदनाहरूलाई संवेदनशील रूपमा प्रस्तुत गरिएको हुन्छ । जटिल र क्लिष्ट शब्दावलीभन्दा सरल, सरस र सर्वसाधारणले सहजै बुझ्न सक्ने भाषाको प्रयोग उनको मूल विशेषता हो । सिक्किमको प्राकृतिक सौन्दर्य, पहाडी जीवनका चुनौती र स्थानीय परिवेशलाई उनले आफ्ना कविता तथा रचनाहरूमा बिम्बका रूपमा कलात्मक ढङ्गले उतारेकी छन् । मानिसका स-साना खुसी, निराशा, सम्बन्धका आयाम र दैनिक जीवनका सूक्ष्म अनुभूतिहरूलाई कथा वा कविताको रूप दिने प्रवृत्ति उनमा पाइन्छ । विषयवस्तुका हिसाबले उनका रचनाहरूमा सामाजिक संवेदना, मानव जीवनका भोगाइ, प्राकृतिक सौन्दर्य र वातावरणीय सचेतनाका पक्षहरू पाइन्छन् ।

लघु-संरचनामा जोड दिने गीताश्री शर्मा लघुकथा, मुक्तक र रम्बास कवितामा छोटा तर चोटिला अभिव्यक्तिमार्फत गहन सन्देश दिने सूक्ष्म काव्य-संरचनामा उनी बढी पोख्त छिन् । यद्यपि उनका कथा सङ्ग्रह पनि प्रकाशित छ । समग्रमा, उनको साहित्य जीवनमुखी, सरल र गहिरो मानवीय अनुभूतिले भरिएको छ ।

गीताश्री शर्माद्वारा लिखित ‘ढुङ्गाका फूल’ मुक्तक सङ्ग्रह (सन् २०२६) को भूमिकामा प्रा. डा. देवी नेपाल शर्माका सम्बन्धमा भन्छन्, “नेपाली साहित्यका कविता, मुक्तक, कथा, लघुकथा, रम्बास कविता आदिको सिर्जनामा आफूलाई लामो समयदेखि समर्पित गर्दै आए पनि बाह्य रूपमा भने उहाँको प्रकटीकरण सन् २०२१ बाट मात्र भएको हो ।”

गीताश्री शर्मा भारतको सिक्किमकी एक समसामयिक नेपाली साहित्यकार, कवयित्री तथा कथाकार हुन् । गान्तोक, सिक्किममा आधारित रहेर उनले नेपाली साहित्यको सिर्जना क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी छन् । उनले भारतीय नेपाली साहित्यको विकास र प्रवर्द्धनमा आफ्नो सिर्जनात्मक माध्यमबाट उल्लेखनीय योगदान दिइरहेकी छन्।

+++

आदिम कालदेखि नै कथाप्रति मानिसको रुचि र मोह हुनाको कारण कथा अहिले पनि उत्तिकै क्रियाशील रहेको छ । गद्य साहित्यको प्राचीन तथा सर्वाधिध लोकप्रिय विधा पनि हो । आरम्भमा कथा वक्ताले भन्ने र स्रोताले सुन्ने श्रवण–वाचन परम्पराबाट सुरु भएको हो ।

कथा (आख्यान) साहित्यको एउटा लोकप्रिय गद्य विधा हो । कुनै घटना, पात्र, वातावरण वा जीवनको खास प्रसंगलाई रोचक र प्रभावकारी ढङ्गले सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नु नै कथा हो ।  जीवन वा समाजको कुनै एक अंश वा घटनालाई मुख्य पात्रका माध्यमबाट छोटो, प्रभावकारी र कौतुहलगोचर शैलीमा प्रस्तुत गरिएको गद्यात्मक रचनालाई कथा भनिन्छ । यसका प्रमुख तत्वहरूमा कथावस्तु (घटनाक्रम), पात्र वा चरित्रचित्रण, परिवेश (स्थान, समय र वातावरण), संवाद, उद्देश्य, शैली र भाषा मुख्य हुन् ।

कथा (आख्यान) साहित्यको एउटा लोकप्रिय गद्य विधा हो । कुनै घटना, पात्र, वातावरण वा जीवनको खास प्रसंगलाई रोचक र प्रभावकारी ढङ्गले सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नु नै कथा हो ।  जीवन वा समाजको कुनै एक अंश वा घटनालाई मुख्य पात्रका माध्यमबाट छोटो, प्रभावकारी र कौतुहलगोचर शैलीमा प्रस्तुत गरिएको गद्यात्मक रचनालाई कथा भनिन्छ । यसका प्रमुख तत्वहरूमा कथावस्तु (घटनाक्रम), पात्र वा चरित्रचित्रण, परिवेश (स्थान, समय र वातावरण), संवाद, उद्देश्य, शैली र भाषा मुख्य हुन् ।

कथा साहित्यको घटना प्रधान विधा हो । कथामा विभिन्न घटनाले कथानकको काम गरेका हुन्छन् । रोचक घटना, सरल विषयवस्तु, कथ्य भाषाको प्रयोग, संवादको उपयोग, वर्णनात्मकता, सरल शब्द, शृङ्खलागत प्रस्तुति, कौतुहूलता जस्ता विशेषता कथामा हुन्छन् । कथामा उखान, टुक्का, लोकोक्ति, निपात, भूतकालीन क्रियापद आदिको प्रयोग गरिएको हुन्छ ।

विषयगत हिसाबले कथालाई लोक कथा, नीति कथा, पौराणिक कथा, दन्त्य कथा, ऐतिहासिक कथा, सामाजिक कथा, बाल कथा, मनोवैज्ञानिक कथा, आदर्शवादी कथा, यथार्थवादी कथा, प्रगतिवादी कथामा वर्गीकरण गर्न सकिन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले कथालाई किस्सा भनेका छन् । छोटो किस्सा एउटा सानो आँखीझ्याल हझ, जहाँबाट एउटा सानो चियाइन्छ भन्ने देवकोटाको भनाइ कथालाई परिभाषित गर्न उपयोग गरिन्छ । त्यस्तै, विश्व प्रसिद्ध साहित्यकार लियो टल्सटयले कथालाई केवल घटना सुनाउनु होइन; लेखकले अनुभूत गरेका जीवन भाव पाठकले पनि अनुभूत गर्ने गरी कलात्मक रूपमा संप्रेषण गर्नु हो भनेका छन् ।

+++

वि.सं. १९५८ भन्दा अगाडिको कालखण्डलाई नेपाली कथाको प्राथमिक काल मानिएको छ । यस कालमा धर्म, नीति, आदर्श तथा उपदेशमा आधारित भई कथा सिर्जना भएका थिए । पौराणिक, राणिक-अद्भूत र दन्त्यकथात्मक प्रकृतिका कथा रचना भएको यस कालखण्डमा संस्कृत साहित्यका कथाको प्रभाव रहेको थियो । महाभारत तथा रामायणमा आधारित कथाहरू, पिनासको कथा, तीन आहान, दशकुमारचरित, सिंहसनबत्तीसी जस्ता कथाहरू यस खण्डका उपलब्धि हुन् ।

वि.संश्. १९५८ देखि १९९१ सम्मको कथा साहित्यको माध्यमिक काल थियो । यसमा जासुसी, तिलस्मी, अद्भुत र मनोरञ्जनात्मक विषयवस्तुका साथै सामाजिक सुधार र नैतिक शिक्षाको थालनी भएको थियो । वि.सं. १९५८ देखि प्रकाशन हुन थालेको ‘गोरखापत्र’ र ‘सुन्दरी’, ‘माधवी’ जस्ता पत्रिकाको उदयले पनि कथा साहित्यको उत्थानका लागि सहयोग गरेको थियो ।

शकुन्तलोपाख्यान (१९६५), सुनकेसरी रानीको कथा (१९७०), अबोला मैयाको कथा (१९७०), सदाशिव शर्माको वीरबल कौतुक १९८२, शम्भुप्रसाद ज्ञवालीको देवीको वली १९८३, रूपनारायण सिंहको अन्नपूर्णा र परिवर्तन १९८३ लाई माध्यमिक कालका कथाका रूपमा उल्लेख गर्न सकिन्छ ।

वि.सं. १९९२ देखि हालसम्मको अवस्थालाई सामाजिक यथार्थवाद, मनोवैज्ञानिक तथा प्रगतिवादी धाराका रूपमा हेर्न सकिन्छ । डार्बिनको विकासवाद, सिग्मन्ड फ्राइडको मनोविश्लेषणवाद र कार्लमार्क्सको द्वन्द्वात्मक भौतिकवाद जस्ता वैज्ञानिक अवधारणा र दर्शनका आधारमा नै यथार्थवादको जन्म भएको हो । बिस्तारै आधुनिक नेपाली कथामा प्रयोगवादिता, यौन मनोविज्ञान र उत्तरआधुनिकतामा साथसाथै  विविध आयाम र शैलीगत प्रयोग पनि भित्रिएको छ ।

नेपाली आधुनिक कथाको इतिहास गुरुप्रसाद मैनालीको ‘नासो’ कथाबाट प्रारम्भ हुन्छ । गुरुप्रसाद मैनालीको वि.सं. १९९२ मा प्रकाशित ‘नासो’ कथालाई नेपाली आधुनिक कथा साहित्यको प्रस्थानबिन्दु मानिन्छ । उनको कथाको प्रवृत्ति आदर्शोन्मूख सामाजिक यथार्थवाद थियो । मैनाली प्रवृत्त यस धाराले समाजका यथार्थ घटना, दुःख, कुरीति र ग्रामीण जीवनलाई मुख्य विषय बनाएको छ । बालकृष्ण सम, पुष्करशम्शेर राणा, विश्वेश्वरप्रसाद (वी. पी.) कोइरालाको ‘चन्दवदन’ (वि.सं. १९९२) मनोवैज्ञानिक यथार्थवादमा आधारित कथा हो । त्यस्तै वी.पी. कोइरालाको ‘दोषी चश्मा’ (वि.सं.२००६) ले नेपाली कथामा प्रथम पटक आन्तरिक र यौन मनोविज्ञानको ढोका खोलेको थियो । वी.पी. कोइराला, तारिणीप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, पोषण पाण्डे आदिले पात्रहरूको बाह्य घटनाभन्दा आन्तरिक मन, भावना, दमित इच्छा र यौन मनोविज्ञानलाई कथाको केन्द्रमा राखे। वी.पी. का ‘दोषी चश्मा’, ‘श्वेतभैरवी’, भवानी भिक्षुका ‘गुनकेहरी’, ‘मैयासाहेब’, ‘त्यो फेरि फर्कला’, ‘मेरो सानु साथी’, गोविन्दबहादुर मल्ल ‘गोठाले’ को ‘कथैकथा’, ‘म जुजुमान’, विजय मल्लको ‘एक छोरीको जन्म’, ‘पाटन’ जस्ता कथा यस प्रवृत्तिका उपलब्धि हुन् ।

रमेश विकल, श्यामप्रसाद शर्मा र पारिजात जस्ता कथाकारहरूले वर्गसङ्घर्ष, शोषण, उत्पीडन र शोषित वर्गको चेतनालाई मुख्य विषय बनाएर प्रगतिवादी धाराका कथा रचना गरे । रमेश विकलको ‘लाहुरी भैंसी’, ‘सिँगारी बाख्रो’, पारिजातको ‘मैले नजन्माएको छोरो’ यस धाराका उपलब्धिमूलक कथा हुन् ।

इन्द्रबहादुर राईको ‘तेस्रो आयाम’ र ‘लीलालेखन’ सँगै नेपाली कथामा नयाँ संरचनागत, भाषा र शैलीगत प्रयोगहरू भए । यसमा अमूर्तता, उत्तरआधुनिक चेतना, र विखण्डनवाद देखिन्छ। तेस्रो आयाम आन्दोलनबाट आयामेली कथाकार इन्द्रबहादुर राई र ईश्वरबल्लभले परम्परा विरोधी (संरचना तथा रूपविन्यास दुवै दृष्टिले) कथा लिएर आए । राईको ‘विपना कतिपय’, ईश्वर बल्लभको ‘धुवाँको तन्दा’ तेस्रो आयामका उपलब्धिमूलक कथा हुन् ।

नेपाली कथाको श्रीवृद्धिमा दौलतविक्रम विष्ट, ध्रुवचन्द्र गौतम, धनुषचन्द्र गोतामे जस्ता साहित्यकारको योगदानलाई कम आँक्न मिल्दैन । वि.सं. २०२० पछि नेपाल कथामा फरक किसिमका धारहरू पनि देखा परे प्रयोगवादी धार; तेस्रो आयाम, राल्फा, अस्वीकृत जमात, अमलेख, अकथा, बुटपालिस आदि ।

नेपाली कथामा समसामयिक प्रवृत्तिमा उत्तरआधुनिक धारा, नवचेतनावाद, अस्तित्ववाद, विसङ्गतिवादका साथै शैलीमा स्वैरकल्पनाको प्रयोग हुन थालेको छ ।  वर्तमान समयका कथाहरूमा वैदेशिक रोजगारको पीडा, पहिचानको खोजी (जातीय, लैङ्गिक), डायस्पोरिक चेतना, र प्रविधिको प्रभाव जस्ता विषयवस्तुहरू प्राथमिकताका साथ समेटिएका छन् ।

+++

नेपाली कथा साहित्यको विकासमा नेपालबाहिर विशेष गरी, असम, दार्जिलिङ, मेघालय, सिक्किम, बनारस, देहरादूनका प्रतिभाहरूको पनि महत्त्वपूर्ण योगदान छ ।

बसाइँ उपन्यासका लेखक असमेली साहित्यकार लीलबहादुर क्षत्रीको पङ्कज पल्लभ प्रकाशनद्वारा सन् १९८३ मा प्रकाशित ‘तीस दशक: बीस अभिव्यक्ति’ शीर्षकको कथा सङ्ग्रह प्रकाशित थियो । यसै कथालाई वि.सं. २०५३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ‘लीलबहादुर क्षत्रीका कथाहरू’ शीर्षकमा पुन: प्रकाशन भएको थियो । यसमा १८ ओटा कथा सङ्ग्रहीत छन् । यस्तै, असममा थुप्रै नेपाली साहित्यकारहरूले कथा लेखनमा हात हालेका छन् ।

दार्जिलिङका सूर्यविक्रम ज्ञवाली, रूपनारायण सिंह, इन्द्रबहादुर राई, शिवकुमार राई, शरद क्षत्री, जय धमला, नन्द हांगखिम, मटिल्डा राई, पूर्वाञ्चल भारतका दुर्वासा उपाध्याय, बनारसका दुर्गाप्रसाद श्रेष्ठ लगायतका साहित्यकारहरूले नेपाली कथा साहित्यमा योगदान दिइसकेका छन् ।

सूर्यविक्रम ज्ञवालीको लाहुरे छद्मनाममा लेखिएको ‘देवीको बली’, रूपनारायण सिंहको ‘आमा’, ‘बितेका कुरा’, शिवकुमार राईको ‘माछाको मोल’, ‘दिल्लीको सुर्मावाला’, इन्द्रबहादुर राईको ‘खीर’, ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’, इन्द्र सुन्दासको ‘ढिको सुन’, ‘अद्भूत रोग’, एम. एस. गुरुङको ‘गाइने’ जस्ता कथा दार्जिलिङमा लोकप्रिय थिए ।

सिक्किमका सानु लामा, महानन्द पौड्याल, तुलसीराम कश्यप, पूर्ण राई, जीवन थिङ, राज के. श्रेष्ठ, गहर ‘उदासी’, विरुप्रसाद शर्मा, मोहन पी. राई, काजीमान गजमेर, मुना बराल, युवा बराल ‘अनन्त’, गीताश्री शर्मा, लगायतका कथाकारहरूले नेपाली कथा साहित्यलाई मलजल गरेका छन् । दक्षिण सिक्किमका मोहनप्रकाश राईले सन् २०२५ मा ‘सिक्किमेली कथा अवलोकन’ दोस्रो संस्करण निकालेका छन् । यसमा ९० कथाकारका एक एक ओटा कथा समावेश गरिएको छ । उनै राईले सन् १९८४ मा ‘सिक्किमेली कथा अवलोकन’ पहिलो  संस्करण प्रकाशन गरेका थिए, यसमा २३ ओटा कथा रहेका थिए ।

सन् २०२५ मा कथा विधामा भारतको साहित्य अकादमी पुरस्कार सिक्किमेली कथाकार युवा बराल ‘अनन्त’ को ‘छिचिमिरा’ ले प्राप्त गरेपछि सिक्किमको नेपाली साहित्यमा कथा विधाले थप उचाइ हासिल गरेको छ ।

यिनै परिवेशमा गीताश्री शर्माको सन् २०२२ मा जनपक्ष प्रकाशनद्वारा प्रकाशित ‘समयका रेखाहरू’ कथा सङ्ग्रहको समीक्षा गर्ने जमर्को गरिएको छ ।

+++

सन् २०२२ गीताश्री शर्माको जनपथ प्रकाशन, सिक्किममार्फत १६ ओटा कथा लिएर ‘समयमा रेखाहरू’ पाठक माझ आयो ।  साधारण पाठकले पनि बुझ्न सक्ने शैलीमा लेखिएका यी १६ ओटा कथामा पाठक रमाउँछन्, रुन्छन्, पढेपछि बिर्सिँदैनन् ।

यस कथा सङ्ग्रहमा दार्जिलिङका नरबहादुर दाहालले कथा र गीताश्री शीर्षकको भूमिकामा गीताश्रीका कथा विभिन्न प्रयोगबाट मुक्त छन् । नेपालीमा एकथरीका यस्ता पाठकहरू अझै पनि छन्, जो रूपनारायण सिंह, शिवकुमार राई, इन्द्रबहादुर राई जस्ताका कथा पढेर रमाउँछन् । यस्ता पाठकहरू साधारण कथा रुचाउने पाठकहरू हुन् । दाहाल लेख्छन् नेपाली कथा लेख्दा यस्ता सानासाना कुराहरूमा पनि विचार पुर्याउनुपर्छ (पृ. ७) ।

यस कथा सङ्ग्रहका लागि आख्यानमय शुभकामना दिने डा. शैलेन्दप्रकाश नेपालले “सङ्ग्रहमा रहेका १६ वटा कथा रचनाले व्यक्तिगत, पारिवारिक, र सामाजिक समस्या र पीडाव्यथालाई सूक्ष्मतासाथ चित्रण गरेको पाइन्छ” भनेर लेखेका छन् (पृ. १२) ।

त्यस्तै, सोही शुभकामनामा नेपाल लेख्छन्, “कुनै विषय सन्दर्भलाई समातेर त्यसमा साहित्यिक रङ्ग र मिठास भर्न सक्ने कामना कथाकार गीताश्रीमा देखिन्छ । सरल, सरस भाषा र मौलिक शैलीमा संरचित कथाहरूको पठनक्रममा आँखाहरू रसाउँछन् । त्यही नै कथाकारको सफलता हो (पृ. १२) ।”

कथा सङ्ग्रहमा शुभकामना दिँदै गुरुदत्त ज्ञवाली लेख्छन्, “घर परिवार, समाज, शिक्षा, मनोवाद, मनोरञ्जन, हाँसो, पीडा वा रोदन; सबै कुराको समिश्रण यो कथा सङ्ग्रह हो । अत्यन्त सरल भाषा शैली तथा स्थानीय जनबोली प्रचूर मात्रामा प्रयोग भएको छन् । यस्तो पनि लाग्छ, कथा पढ्दा त्यसै कथाको परिवेशसँगै पाठक पनि गएका छन् (पृ. १४) ।”

कथा सङ्ग्रहका लेखकले लेखकीय मन्तव्यमा लेखेकी छन्, “कथिएका कथा पनि कहीँ आफ्नै जिन्दगी हो र आफूले बाँचेको जिन्दगी पनि आफ्नो कथा हो जस्तो मलाघ लाग्छ (पृ. १६) ।”

कथा लेख्ने परिवेशलाई उल्लेख गर्दै गीताश्री लेख्छिन्, “आफूले प्रत्यक्ष देखेका, भोगेका कुराहरू कविता, कथा, सामाजिक सञ्जालमार्फत् आम पाठकसमक्ष साझा गर्ने हिम्मत बनाएँ । कति कविता, मुक्तक तथा कथाहरू जीवनले अँगालेका र कतिपय प्रत्यक्ष भएर आएका पनि छन् (पृ. १६) ।” यो कथाकारको स्वीकारोक्ति हो ।

अनुभूति हुने कुरा आँखाले देखेर मात्र हुँदैन, सुनेर, छामेर, स्वाद लिएर, सुघेर पनि हुन्छ । यसका लागि कान, छाला, जिब्रो र नाकको पनि भूमिका हुन्छ । यतिले मात्र पुग्दैन, अनुभूति त अनुभवले पनि दिन्छ । यस सङ्ग्रहका कथाहरूमा लेखकलाई विविध किसिमले अनुभूति भएको छ । अनि मात्र शब्दको माध्यमबाट कथा विधामा पोखिएका छन् ।

भारतीय नेपाली कथाकारहरूको शृङ्खलामा गीताश्री शर्मा नवोदित कथाकार मात्र होइन, सशक्त नारी हस्ताक्षर पनि हुन् ।

‘समयमा रेखाहरू’ कथा सङ्ग्रहमा सङ्ग्रहीत अधिकांश कथाहरू ग्रामीण परिवेशमा लेखिएका छन् । कथाका घटना, पात्र, परिवेश, वर्णन, संवाद, भाषा सबैमा स्थानीयता पाइन्छ । सिक्किम राज्यको परिवेशमा लेखिएका हुनाले कथाहरूमा वर्णित स्थानहरू स्थानीय नै छन् । सिक्किम बाहिरका पाठकका लागि यी नौला तर उत्सुकसुता जगाउने किसिमका छन् । कथाका घटना तथा पात्रहरू कतै भेटिएका, देखिएका वा अनुभव गरिएका जस्ता लाग्छन्, कतै कतै त पाठकका आफ्नै परिवेशमा घटित भएका वा हुन सक्ने प्रकृतिका पनि अनुभूत गर्न सकिन्छ ।

‘अन्धविश्वास’ यस कथा सङ्ग्रहको पहिलो कथा हो । यस कथाले संसारका अनेकौ ठाउँमा बसोबास गर्ने नेपाली समुदायबिच विश्वासको घर बनाएको छ । बाबुछोरीबिच ग्रह जुधेको भन्ने ज्योतिषको भनाइमा विश्वास गरी बाबुछोरी छुट्टाछुट्टै बसे पनि बाबु बिरामी भएपछि ग्रह जुधेको कुरालाई वास्ता नगरी छोरीलाई घरमै ल्याउने बाबु र बाबुको दुखत अन्त्यलाई कथामा मर्मस्पर्शी ढङ्गले व्यक्त गरिएको छ । अन्धविश्वासमाथि प्रहार गर्न खोज्दाखोज्दै पनि छोरी घर आएपछि बाबुको मृत्यु हुनुले अन्धविश्वास नै विश्वासमा परिणत हुन पुगेको हो कि भन्ने आभास कथाले दिन पुग्छ । कथाकारले कथाको अन्त्यमा लेखेकी छन्, “अन्धविश्वास अलिअलि पालेर ज्यादाजस्तो मारेर! (पृ. २५) ।

‘आराधना’ शीर्षकको कथा राम्रो वातावरण भएको परिवारमा पत्नीको मृत्युपछि छोराबुहारीले गरेको व्यवहार र भौतारिँदै सिक्किम पुगेका गोविन्दको कथा छ । सम्पत्तिको स्वार्थका लागि छोराबुहारीको व्यवहार, भौतारिँदै गर्दा सिक्किमका शिव र गोमाले देखाएको आत्मियता, गोविन्दलाई इलाम ल्याइपुर्याउन गोमाको छोरा स‌ंस्कारले गरेको व्यवहार र गोविन्दका नातिनातिनीले देखाएको आत्मियताले पाठकलाई द्रविभूत पार्दछ । गुरुदत्त ज्ञवालीका अनुसार ‘आराधना’ कथाले सकारात्मक भावुकता तथा सन्देश दिएर पाठकप्रति आकर्षण बढाएको छ ।

‘दिदी’ शीर्षकको कथा विधवा विवाहसँग सम्बन्धित छ, विधवा विवाह मात्र होइन, विधुर विवाह पनि यो कथा सम्बन्धित छ । दिदी झुमाले बैंसालु उमेरमै वैधव्य जीवन बिताएको देख्न नसकेकी बहिनी अञ्जनाले दिदीको नेपालका एक विधुरसँग विवाहको प्रपञ्च मिलाइन् । दुर्भाग्य, बच्चा जन्माउन नसकेर पेटका जुम्ल्याहा नानीसँगै मृत्युवरण गरिन् । कथा सुरुमा नै दु:खान्त थियो नै, गर्भवती झुमाको निधनले पाठकलाई घुक्कघुक्क बनाउँछ ।

“दोषी को?” शीर्षकको कथामा अनामिकाले आफ्नो विवाहपश्चात् आमासँग मागेर भाइ रमणलाई पनि सँगै लैजान्छिन् । दिदी अनामिका र भिनाजु आमिषको न्यायो माया र अभिभावकत्व पाएर रमणले स्कुल शिक्षा पूरा गरी विश्वविद्यालय शिक्षातर्फ लागे । रमणले दिदीभिनाजुलाई खबरै नगरी ललिता नामको केटीसँग प्रेम विवाह गर्यो । सम्पर्क टुटेको चौथो दिन भिनाजु आमिषलाई फोन गरेर थाहा दियो । दिदी भिनाजुको अभिभावकत्वमा विद्यार्थी जीवन बिताएको रमणको लापरवाही र भूलले अनामिका र आमिष दुखित भए पनि आफ्नो कर्तव्य पूरा गर्न चुकेनन् । सम्पत्तिको फूर्ति गर्ने ललिताले दिदीभाइ र सालाभेन बिचको सम्बन्धमा दूरता ल्याउने अनेकौ प्रपञ्च गरिन् । अन्तत: उनी सफल पनि भइन् । भाइ दिदीको घरमा आउन छाड्यो, ललिताका व्यवहार दुश्मनले पनि नगर्ने किसिमको हुँदै गयो । दिदीभिनाजुप्रति कृतज्ञ हुनुपर्ने रमण कृतघ्न देखियो ।

यस कथामा कथाकारले मनबहादुर मुखियाको प्रसिद्ध नाटक “अनि देउराली रुन्छ” का लागि लेखिएको, कर्म योञ्जनले सङ्गीतबद्ध गरिएको र कुमार सुब्बाले गाएको गीतलाई प्रसङ्ग मिलाएर प्रस्तुत गरेकी छन् । कथामा अनामिकाले माइतीघर छोडेर पराया घर जाने समयकी बेहुलीको मनको पीडा र त्यसले घरपरिवारमा पार्ने शून्यतालाई प्रस्तु गर्न कथाकारले यस गीतलाई कथाा उपयोग गरेकी छन्:

“हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि  (पृ. ५०) ।”

‘घर’ कथा एक सानो र खुसी परिवारको कथा हो; आमा भूमिका, बाबा आकाश र छोरा बादल । घर सञ्चालनमा भूमिकाको भूमिका नै अतुलनीय देखिन्छ । आवश्यक पर्दा पति आकाशलाई उचित सल्लाह दिन पछि पर्दिनन् । सहरमा भन्दा ग्रामीण जीवन आनन्ददायक हुने तर्क गर्दै पतिलाई गाउँको पैतृक सम्पत्ति बेच्नबाट रोकिन् । बादलको गान्तोक कलेजमा पढ्ने चाहनालाई पनि पूरा गर्न सहयोग गरिन् । योग्य आमाबाबाको योग्य छोरा बनेर बादलले बीए पास गर्यो, सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागमा उपनिर्देशकको सरकारी नोकरी पायो । सुशील कन्यासँग बिहे गर्यो । सेवानिवृत्त बाबा र आमालाई बिदाको समयमा नियमित घर पुगेर सँगै बसेर खुसी बनाएको छ । यही सामान्य दैनिक जीवनमा आधारित भई यो कथा बुनिएको छ ।

“खुसी” यस कथा सङ्ग्रहको सबैभन्दा छोटो कथा हो । खुसी चञ्चलताले पूर्ण एक बालिका हुन् । उनकी नीलमसँग निकै प्रेम बसेको छ, नीलमको पनि खुसीसँग । खुसी घर आउँदाको रौनक र जाँदा अँध्यारो महसुस गर्छिन् नीलम ।

“नियत” शीर्षकको कथा सामाजिक सञ्जाल प्रयोग गर्दा यसको दुरुपयोग गर्ने नियत भएका प्रवृत्तिसँग सम्बन्धित छ । स्मार्ट फोन पाएकी छोरी वृक्षाले आमा धरतीलाई आफूले प्रयोग गर्दै आएको स्क्रिन टच मोबाइल दिँदै यसको प्रयोगको तरिका सिकाउनुका साथै फेसबुक, ह्वास्एको खाता खोलिदिन्छन् । फेसबुकमा आमाछोरीको फोटो पोस्ट भएपछि कमेन्ट आउँदा अपरिचित व्यक्तिले फोटो सेयर गरेको र सेयर गरेको फोटो हटाउन अनुरोध गर्दा नगरेको घटना यस कथामा आउँछ । पटकपटक भिन्न भिन्न एकाउन्ट खोलेर सोही व्यक्ति फ्रेन्ड रिक्वेस्ट पठाउन थालेपछि धरतीले फोन नम्बर मागेर साइबर क्राइममा उजुरी दर्ता गर्ने चेतावनी दिएपछि सम्पर्क गर्न र फ्रेन्ड रिक्वेस्ट पठाउन छोडेको घटना उल्लेख गर्दै कथाले सामाजिक सञ्जाल प्रयोगबाट सावधानी नअपनाए दुरुपयोग हुने र अन्तत: यसैको शिकार हुन सक्ने सन्देश दिएको छ ।

“पितृ प्रसाद” पारिवारिक कथामा हो । एक जजमानी परिवारको सङ्घर्ष र सन्तानहरूले लिएका सुमति र कुमति यस कथाभित्र छन् । बा घनश्यामले पुरोहित पेसाले नै छ जनाको परिवार धानेका थिए । धनश्याम र आमा धनमति सन्तानलाई सही बाटामा लगाउन तल्लिन हुँदाहुँदै जेठो छोरा कुलप्रसादले गलत बाटो समायो । माहिलो छोरा धनराजले संस्कृत पाठशाला खोली शिक्षकको नियुक्ति पनि पायो । कान्छो छोरा तेज अध्ययनकै क्रममा थियो । बिरामी भएका घनश्यामले छोरी तुलसाको बिहे गरिदिए । कुलप्रसाद सुध्रन्छ कि भनेर बिहे गरिदिए । बिग्रेको छोरो घरपरिवारले सुधार्न नसकेपछि बिहे गरिदिने र अर्काकी छोरीलाई सुधार्ने जिम्मा दिने प्रवृत्तिलाई कथाकारले यसरी उल्लेख गरेकी छन्: “विवाह गरेपछि परिवारको माया मोहमा परेर छोरो सुध्रिन्छ कि भन्ने एउटा अन्तिम आशा थियो । अनि अर्को पीर पनि थियो बढेको छोरो कहीँ कतै केही उपद्रो गरेर विपद् आउँछ कि भन्ने ! बेलैमा जोडी बाँधिदिए (पृ. ७६–७७) ।” गुरुदत्त ज्ञवालीका अनुसार ‘पितृप्रसाद’ कथाले सकारात्मक भावुकता तथा सन्देश दिएर पाठकप्रति आकर्षण बढाएको छ ।

‘समयका रेखाहरू’ शीर्षकको कथाबाट नै यो कथा सङ्ग्रहको नामाकरण भएको छ । यो कथा रमला भाउजूको जीवन कथा वरिपरि घुमेको छ । पढालेखा, शिक्षित र सफल गृहणी रमला र विद्युत विभागका साधारण कर्मचारी रविको जीवन रमाइलो किसिमले चलिरहेको बेला विजुलीको पोस्टमा चढेर बत्ती बनाउँदै गर्दा करेन्ट लागेर मृत्यु वरण गरेपछि रमलाका जीवनमा आएका आँधीबेहरी र समुदायमा पति बितेपछि गरिने घोचपेच, लाञ्छना र खिसिट्युरीले दु:खित बनाउँछ । सहासी र पुरातन सोचको विरोधी रमलालाई उनका पति विद्युत विभागको कर्मचारी भएकै नाताले रमलालाई सिक्किम सरकारले जुनियर हाइस्कुलको शिक्षक पदमा नियुक्ति दिन्छ । पछि सरकारले उनलाई गाउँकै बेनस्कुलमा सरुवा भएपछि आफ्ना विरु्दध कुरा काट्ने समुदायका मानिसहरूलाई राम्रो पाठ सिकाउँदै गाउँको सेवा गर्छिन् ।

‘साथी’ शीर्षकको कथा दुई जनाको मित्रताको प्रतीक हो । सँगसँगै स्कुल पढेका साथी दिव्या र डोमाबिच पच्चिस वर्षपछि डोमाको दाजुबाट सम्पर्क नम्बर पाएपछि भएको संवाद र दिव्याको परिवार डोमाको घर दार्जिलिङमा पुगेर गरेको भेटघाटले साथीसाथीबिचको मित्रता लामो समयको अन्तरालमा पनि प्रगाढ हुने रहेछ भन्ने सन्देश प्रवाह गरेको छ ।

“तीज” शीर्षकको कथामा विवाहित चेली र माइतीको प्रसङ्ग पाइन्छ । तीज मान्ने समुदायमा चेलीलाई लिन माइती जाने प्रचलन छ । तीजको समयमा गाउँघर तथा छिमेकीका घरमा चेली लिन आउने माइतीको ताँती लाग्छ । चेली पनि लिन आउने माइतीको बाटो हेरिरहेका हुन्छ । वल्पपल्लो घरका महिला तथा देउरानीजेठानी पनि माइती लिन आए नआएको चनाखो रूपमा हेरिरहेका हुन्छन् । सबैका लिन आउँदा र आफूलाई लिन नआउँदा चेलीको मन ज्यादै नै दुख्छ । यसै विषयमा कौशिला पात्रमार्फत कथाकारले तीजको चेली माइतीबिचको सम्बन्धलाई उल्लेख गरेकी छन् ।

यसै कथामा कथाकार गीताश्रीले कौशिलाका श्रीमान्‌मार्फत भनाउँछिन्, “यो तीज भनेको यस्तो चाड हो कि ! माइतबाट नबोलाई अथवा दाज्यू–भाइ, आमा–बाबा लिन नआइकन पटक्क जानु हुँदैन, हाम्रो परम्पराले यही भन्छ । नबोलाइकन गए भने, इज्जत पनि हुँदैन, अरू बेला आउँदा–जाँदा केही फरक पर्दैन (पृ. १०३) ।”

पाँच पाँच जना दाजुभाइ भए पनि बिहे भएको दस वर्षसमम्म कौशिलालाई माइतीबाट तीजमा कोही पनि लिन आएका थिएनन् । तर, तिनै तीजमा लिन नआउने माइतीका दाजुभाइलाई तिहारमा भाइटीका गर्दा लगाइदिने मालाका लागि सयपत्री, गोदावरी र मखमली फूल रोपेकी छन् कौशिलाले । दशैंमा टीका लगाउन जाँदा पाँचैजना दाजुभाइलाई सयपत्रीको फूलको थुँगा दिँदै, “तिहारमा सबैजना मेरा माइतीराजाहरूलाई भाइटीकाको निम्ता हैं !” भनेर तीजमा लिन नआउने माइतीलाई बदला लिइन् कौशिलाले (पृ. १०७) ।

“यात्रा” शीर्षकको कथा सिलगढीदेखि गान्तोकसम्मको यात्रामा सृष्टि, सवारी चालक र गाडीका यात्रुबिचको संवाद हो । यसमा विपरीत दिशाबाट आएको कारलाई गाडीका चालकको सावधानीका कारण जोगिन पुगेको र आवेगमा आएका चालकको “कस्ती आइमाई रहिछ?” भन्ने भनाइको केन्द्रमा रहेर नारीको सम्मान, नारीको पारिवारिक भूमिका, नारीलाई समाजले हेर्ने दृष्टिकोण र व्यवहारको चर्चा पाइन्छ । अन्त्यमा, सवारी चालकले आवेगमा आएर बोलेको कुरा गलत भएको महसुस गर्दै नारीको सम्मान हुनुपर्नेमा सहमत भए ।

“मैले नजन्माएको छोरी”      शीर्षकको कथा पारिजातको “मैले नजन्माएको छोरो” शीर्षकको कथासँग कता कता तादात्म्यता राख्न खोजेको जस्तो लाग्छ । सामाजिक सञ्जालबाट परिचय भएकी नित्या नामकी युवतीसँग रमाको आमाछोरीको साइनो बस्न पुग्छ । फोन, भिडियो कल तथा ह्वाट्स्एपमा सन्देश आदानप्रदान तथा कुराकानी हुँदा यति न नजिकिन्छन् कि नित्या रमाकै कोखबाट जन्मेकी हुन् जस्तो लाग्छ । कथा पढ्दै जाँदा रमा शर्माका पति राज शर्मा, उनीहरूको गान्तोक र सिलगढीमा व्यापार व्यवसाय, अनि दुघ छोरी आवृत्ति र प्रकृति; कतै कथाकारले आफ्नै परिवारको कथा त लेखेकी होइनन् जस्तो लाग्छ । रमा शर्मा= गीताश्री शर्मा, राज शर्मा= पुण्यप्रसाद शर्मा, मुक्ता र वर्षा= प्रकृति र आवृत्ति, सिलगुढी र गान्तोकको व्यापार व्यवसाय= सिलगुढी र गान्तोकको पुस्तक व्यापार र जनपक्ष प्रकाशन ।

‘अकल्पनीय संयोग’ शीर्षकको कथा सबैभन्दा लामो कथा हो २३ पृष्ठको । यो कथा सामाजिक सञ्जालबाट भएको परिचय बिस्तारै भौतिक उपस्थितिमा नै पारिवारिक भेटघाट र घुमघामपछि प्रगाढ भएको छ । कथाकी पात्र सानु जसको वास्तविक नाम काव्य छ, अवास्तविक फेक अकाउन्ट खोलेर देहरादून घर भएका बैंगलुरुमा कार्यक्षेत्र बनाएर काम गरेका सरकारी उच्च तहका कर्मचारी ऋषिसँग सामाजिक सञ्जालमार्फत परिचय बनाएर एकअर्कामा सन्देश आदानप्रदान हुन्छ । बिस्तारै काव्यलाई फेक अकान्टबाट साथी बनाएकामा ग्लानि हुन पुग्छ र वास्तविक अकाउन्टमार्फत पुन सम्पर्क स्थापित हुन्छ । एकअर्काका आग्रहमा ऋषि पत्नि सुवर्णा र छोरी लावण्यसहित सिक्किम घुम्न जान्छन् । काव्य र उनका पति श्रवणले पाहुनालाई ससम्मान सिक्किम घुमाउँछन्, खाना खुवाउँछन्, कोसेली पठाउँछन् । यस कथामा काव्यको छोरा प्रतीकको प्रसङ्गवश नाम आए पनि कथामा कुनै भूमिका दिइएको छैन । सामाजिक सञ्जालबाट दुई परिवारमा आत्मियताका साथ मित्रता बढेको यस कथाको सन्देश हो । साथै, वर्तमान समयमा सामाजिक सञ्जालको प्रयोग गर्नै सर्तक रहनुपर्ने र सदुपयोग गर्न सके निकै उपलब्धिमूलक हुन सक्ने अप्रत्यक्ष सन्देश पनि यस कथाले प्रवाह गरेको छ ।

“अनुभव” शीर्षकको कथा एक विद्यालयकी प्राचार्य वाणीको वरिपरि घुमेको छ । उच्च शिक्षा हासिल गरेकी वाणी सिनियर सेकेन्डरी स्कुलकी शिक्षक हुन्, उनलाई शिक्षा विभागले प्राचार्यमा छनोट गरी पूर्वी सिक्किमस्थित तुमिनको कैजरबहादुर सेकेन्डरी स्कुलको रिक्त प्राचार्य पदमा पदस्थापना भएपछि उक्त स्कुलमा पुगेकी हुन् । उनी प्राचार्य भएपछि विद्यालयमा आएको सुधार र परिवर्तन यस कथामा पाइन्छ । स्नातकोत्तरसम्म अध्ययन गरी नेट, टेट र बीएडसमेत गरेकी वाणी योग्यतामा मात्र होइन, संस्कार र आचरणमा पनि उत्ति नै अनुकरणीय थिइन् । ग्रामीण भेगको स्कुलमा प्रार्चाय भएर जाँदा पेइङ गेस्ट पिजी रूपमा बस्ने र डेरामा बस्दा आफ्नै घर जस्तो हेरचाह र चासो दिने वाणी शर्माको प्रवृत्ति अनुकरणीय छ नै, मैनाली आमाको घरमा उनको प्रयत्नले आएको परिवर्तन प्रशंसनीय छ । कथाको शीर्षक वाणीले मैनाली आमाको जीवनमा आधारित लेखिएको उपन्यास हो भन्ने कुरा कथाको अन्त्यमा आएर बुझिन्छ ।

‘लोकन्ते’ यस कथा सङ्ग्रहको अन्तिम कथा हो । यस कथाका मुख्य पात्र मदन हुन् । उनी फुपूका छोरा शङ्करको बिहेमा लोकन्ते भएर गएपछि बेहुलीतर्फको लोकन्ती सदीक्षासँगको अव्यक्त प्रेम वरिपरि कथा घुमेको छ । कथाका प्रारम्भमा मदनको परिवारको चर्चा गरिएको छ, हिन्दु सनातनी ब्राह्मण परिवारमा गरिने संस्कारको फेहरस्ती दिइएको छ । पत्नी किरण, छोरा प्रज्ञान, बुहारी राधा र नाति पङ्कजसहितको सानो तथा सुखी परिवारमा सेवा निवृत्त जीवन बिताएका मदनलाई सामाजिक सञ्जालमार्फत धेरै पुरानो बिहेमा भेटिएकी लोकन्तीसँग मित्रता बढाउँछन् र दैनिक औपचारिक सन्देश आदानप्रदान हुने गर्छ । कथामा एक कुरा भने रमाइलो गरी उठाइएको छ: “बिहा बटुलो भनेपछि केटाहरू भन्दा केटीहरू ज्यादा उत्ताउला हुन्छन् (पृ. १७१) ।” यस्तो प्रवृत्ति भूगोलभित्र सीमित नहुने कुरा रहेछ ।

कथामा नित्याले कालिम्पोङका आफ्ना बाबाआमाभन्दा गान्तोकका रमा र राजलाई बिहेको सन्दर्भमा बढी विश्वास गर्नु र रमाले ‘आफ्ना आमाबाबाको इच्छा र अनुमति बेगर निर्णय नगर्नू’ भन्न नसक्नुले कथामा उल्लिखित ब्राह्मण परिवारको छोरीलाई सिकाइने संस्कार र व्यवहारमा विरोधाभास देखिएको छ । कथामा भनिएको छ, आमाबाबा, छरछिमेक अलि परम्परावादी छन् (पृ. १२३) । परम्परावादी हुनु भनेको नराम्रो होइन, बरु अन्धविश्वासी हुनु नराम्रो हो । संयुक्त अधिराज्यमा कन्जरभेटिभ दलले धेरै वर्ष सरकार चलाएको थियो, यो अन्धविश्वासी दल थिएन, अपितु परम्परावादी दल थियो । परम्परालाई संरक्षण गर्नुपर्ने, आफ्नो रीतिरिवाज बचाउने, संस्कार र संस्कृति जोगाउने नै परम्परावादी हुन् ।

+++

कथाकार सिक्किम निवासी ब्राह्मण परिवारको भएकाले कथामा वर्णित परम्परा, धार्मिक अनुष्ठान, प्रचलन, नियम, संस्कृति, कर्मकाण्ड त्यही अनुरूप पाइन्छ । यसले कथाहरूलाई जीवन्त बनाएका छन् । यस सङ्ग्रहका विभिन्न कथाहरूमा पूजाआजा, किरिया कर्म, चाडपर्व, विवाह कर्म आदिको सबिस्तार चर्चा पाइन्छ । कथाकारको संस्कार र संस्कृति प्रतिको मोह कथा पढ्दै जाँदा झल्कन्छ ।

कथामा पर्याप्त मात्रमा स्थानीय लवज पाइन्छ । शब्दहरूको प्रयोगमा पनि स्थानीयता झल्कन्छ । यस कथामा प्रयोग गरिएका केही स्थानीय शब्दहरू हुन्; सिकुवा, हाऊ, मुरई, बिस्किट सिस्किट, जुठेल्नो, करेसो, बगडा, डोको, पँधेरो, अन्धशुक्र, चाबी, हेराउन कोराउन, अम्बक, किनेमा, पिरा, खोसेला, थान्कोमान्को, समसाँझै, लोदरे, निस्पट, चुक घोप्ट्याए झै, गग्रेटो, मरिकुच्चे, चुल्हो, लिपपोत, माचिस, छ्वास्स, तोसक, लट्टे झाक्री, दैलो, तालाचाबी, मक्किन, कुचो, मतान, सर्जाम, अँगेनु, वनमारा, थाङ्ग्रा, खोले, भकारो, लुर, पैसठ, पोस्तक, खँदाल, खाश मजारा, मैलो, मजेत्रो, कल, डबका, बटुका, घुर्यान, राखनधरन, मेलापात, अस्ति, भुर्कुट, च्यादर, चिप्लेटी, लालगेढी, सखारै, सौदापात, भदैनी, कित्ली, बर्गत, भरअभर, दुधेरी, कुँडे, मोहीको सोल्लर, पुरेतसुरेत, नाम्लो, थुन्से, डालो, दाउनु, मधौरो, उपद्रो, लिङ्गो, फाल्तु, भातखौँरे, लोकन्ती, चियासिया, पर्सिन, फिलहाल, प्रभारी, रङपचेरा, बिस्याहार, कडक, आम्खोरा, भनाभैरी, हली तिहार, रिङ्गटा, हाराबारा, फर्माइली, नोकरीचाकरी, सरकारी सिन्दूर, सञ्चसुबिस्ता, कमरा, सौदा, आलो, अम्बक, करेसो, जिउती, कटेरा, दुधेरो, कुटे, आग्या, किराया, ठिका, तीनठुन्का, औरत, ढिकी, न्वागी, जोरीपारी, माखामुन्द्रा, कमेरो, कोठेबारी, सेञ्जोमेञ्जो आदि । यस्ता स्थानीय लवजका शब्दहरूको प्रयोगले कथामा मिठास थपिदिएको छ ।

यस सङ्ग्रहका लगभग अधिकांश कथाहरू सिक्किमेली परिवेशमा लेखिएका छन् । त्यसैले, स्थानीय ठाउँका नाम ज्यादै हुनाले आञ्चालिकता प्रचुर छ । सिक्किमका विभिन्न स्थानलाई आधार मानी कथा रचिएको छ । यस्ता स्थानहरूमा गान्तोक, जङ्गु, देउराली बजार, बेन गाउँ, तिमीतार्कू, सिङ्ताम, एम. जी. मार्ग, सिलगढी, प्रधाननगर, सेवक रोड, बाघपुल, कालीझोडा, रानीपुल, किर्ने, तादोङ, नाम्ची, सोलोफोक, राभाङ्ला, लालबजार, कालिम्पोङ, माङपुङ, टिस्टा, रम्बी, आशाबारी, बाग्राकोट, तिन्तेक, राक्दोङ, साम्दोङ, तुमिन, पाकिम महकुमा, डुगालाखा, खेचीपेरी, गेजिङ, नाम्ची, बाघडोग्रा, मल्ली, जोरथाङ, लेगसेप, पेलिङ, खर्साङ, चेरेंजी, तिमी बजार, जीरो, नेपाल गाउँ, पाबोङ, सिरवानी, सिङ्ताम, नाथुला, छाङ्गु, गुरुदोङ्मार, युमथाङ आदि मुख्य छन् । कथा पढ्दै जाँदा सिक्किमका गाउँ गाउँ र ठाउँ ठाउँमा पुगिन्छ ।

नेपाली ग्रामीण परिवेशमा विगतमा प्रचलनमा रहेका तर बिस्तारै लोप हुँदै गएका व्यवहारहरूलाई पनि कथामा प्रशस्त स्थान दिइएको छ । जस्तै– भुइँ सोहोरेर ढोग्ने, घरको व्यक्ति बाहिर गएपछि कुचो नलगाउने, मूल ढोका नलगाउने, धागोले बाँधेको चिठी मृत्युको सन्देश आदि । यस्ता प्रचलन लोप हुँदै गए पनि कथा पढ्दा पुराना दिनहरूको याद दिलाउँछ पाठकलाई । राजनीतिक सिमानाले फरक देश भए पनि नेपाली मूलका नागरिक बसेका बस्तीका विशेषता नेपालका ग्रामीण भेगसँग मिल्ने रहेछन् ।

उखान टुक्काको प्रयोगले यस कथा सङ्ग्रहका कथालाई सरल र मिठासपूर्ण बनाएका छन् । कथाकारले कथाको घटनाको परिवेश हेरेर कथाको भावलाई तिख्खर बनाउन नेपाली भाषाका उखान टुक्काको उपयोग गरेकी छन् । यसका केही उदाहरणहरू हुन्; कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको, विधिको विधान, हुने हुनामी टार्न कसले सक्छ र, कालो अक्षर भैंसी बराबर, एक थुकी सुकी हजार थुकी नदी, जसका छोरा उसको धन, जसको भैंसी उसको धन, इँटको जवाफ पत्थर से, रिस खा आफू, बुद्धि खा अरू, ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गा, खसी किन्नु मान्छे चिन्नु आदि ।

यस कथा सङ्ग्रहमा १६ ओटा कथा रहेकामा कथाहरूको लम्बाइमा विविधता छ । “खुशी” कथा चार पृष्ठको छ भने “अकल्पनीय संयोग” कथा २३ पृष्ठको रहेको छ । अन्य कथाहरूमा पाँच पृष्ठका २, छ पृष्ठका ४, आठ पृष्ठका २, नौ पृष्ठको १, एघार पृष्ठको १, तेह्र पृष्ठका २, पन्ध्र पृष्ठको १, अठार पृष्ठको १ रहेका छन् । कथाहरूको कथागत लम्बाइ असमान हुनु यस कथा सङ्ग्रहको विशेषता हो ।

कथा सङ्ग्रहमा अङ्ग्रेजी शब्दको भरमार उपयोग गरिएको छ । यस्ता अङ्ग्रेजी शब्दको प्रयोग सान्दर्भिक र आवश्यक स्थानमा भएका छन् । अङ्ग्रेजी शब्दको प्रयोगबाट पाठकलाई कथा बुझ्न कुनै कठिनाइ महसुस हुँदैन, बरु बुझ्नलाई सहयोगी नै हुन्छन् । यस्ता केही शब्दहरू हुन्; एसएनटी, पिजी, भेकेन्सी, सेकेन्डरी, एसेम्ली, प्रिन्सिपल, एसिस्टेन, नोटप्याड, प्लानिङ, मिस अन्डरस्टान्डिङ, आइडी, फेक, मेसेज, ओभर अल, ट्रान्सफरेबल जब, ह्याङ्गर, कन्टेनर, सेन्ड, मिटिङ, सिम्बल, एपोइन्टमेन्ट, लोड, फाइनल, इन्टेलिजेन्स, लोकेसन, फ्लाइट, नेट, टेट, बीएड, प्लानिङ, प्रोफाइल, फ्रेन्ड फलोइङ,  टेक रेस्ट, गुड नाइट, फर्न्ट सिट, कन्ट्रोल, सिनियर सेकेन्डरी, पोलिटिकल साइन्स, पिजिटी, बिजी, क्रसिङ, माइन्ड, पर्क, बिफ, मास्टर, गिल्टीफिल, स्टार्ट, टान्सफर सर्टिफिकेट, रजिस्ट्रर, हेडमिस्ट्रेस, डिउटी, जोइन, जोइनिङ रिपोर्ट, बिल्डिङ आदि ।

+++

कथा सङ्ग्रह प्रकाशनपूर्व यसको सम्पादनमा ध्यान दिनुपर्थ्यो भन्ने लाग्छ । सम्पादनमा पर्याप्त ध्यान दिन पाएका भए कथामा अनावश्यक कुरा दोहोरिँदैथे । साथै, अनुच्छेदका नियमहरू पनि पालना हुने थिए । यस कुरामा कथाकारले यसको दोस्रो संस्करणमा ध्यान दिनु हुने नै छ ।

कथामा कथाको मूल विषयवस्तुभन्दा अन्य घटनाहरू अनावश्यक रूपमा आएका छन् । यस्ता घटना हटाउँदा पनि कथाको मूल मर्म मर्दैनथ्यो, कथा चुस्त र दुरुस्थ हुन्थ्यो । कहीँ कहीँ त वाक्यहरू पनि अति लामा छन् । जस्तै, पृष्ठ १०३ को अन्तिम अनुच्छेदमा पाँच हरफको एक वाक्य छ । पाठकलाई एक वाक्य पढ्न पाँच पटक सास फेर्नुपर्ने हुन सक्छ ।

कथाकार गीताश्री शर्माको यो पहिलो कथा सङ्ग्रह भएकाले आगामी दिनमा प्रशस्त अपेक्षा गर्न सकिने प्रशस्त ठाउँ छ । साहित्यका अन्य विधामा त उहाँको कलम निरन्तर चलिरहेकै छ ।

‘समयका रेखाहरू’ कथा सङ्ग्रह पठनीय छ । नेपाल र नेपालबाहिर रहेका नेपाली भाषाीहरूका लागि यो कथाले आफ्नो पुर्खा, संस्कार र संस्कृतिको जगेर्ना गर्न उत्प्रेरणा दिन्छ । सिक्किम बस्ने नेपाली भाषी लेखिकाले नेपाली भाषा र साहित्यको संमृद्धिका लागि गरेको योगदानको प्रशंसनीय छ । यसका पनि, नेपाल बाहिर नारी हस्ताक्षरको उपस्थिति कम भएको अवस्थामा गीताश्रीको उपस्थिति उल्लेखनीय छ ।

+++

कथाकार गीताश्री शर्मा भावी दिनमा अझै सशक्त लेखनको अपेक्षा गर्दै हार्दिक शुभकामना ।

कृति: ‘समयका रेखाहरू’

विधा: कथा

लेखक: गीताश्री शर्मा

संस्करण:     पहिलो (सन् २०२२)

पृष्ठ:        १७६