नास्ट सुधारको बहस : बाह्य संरचना कि आन्तरिक प्रणाली
आजको निर्णयले भोलिको वैज्ञानिक नेपाल निर्धारण गर्नेछ । त्यसैले, यो बहस केवल नास्टसँग मात्र सीमित नभई नेपालको भविष्यसँग पनि जोडिएको छ ।
२०८३ भदौ २७ शनिवार १९:२०
shares

आर्टिकल्स पेपर, काठमाडौँ ।
प्रस्तावना: बहसको वास्तविक प्रश्न
नेपाल विकासको नयाँ मोडमा उभिएको छ । एकातिर ज्ञान–आधारित अर्थतन्त्रतर्फ अघि बढ्ने आकांक्षा छ भने अर्कोतिर कमजोर संस्थागत र सुस्त नवप्रवर्तन प्रणालीको यथार्थ उजागर छ । यही परिस्थिति बीच आज एउटा महत्त्वपूर्ण बहस उभिएको छ । यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई प्रभावकारी र नतिजामूलक बनाउने सुधारको बहस हो । यो बहस छलफल केवल एउटा संस्थाको पुनसंरचनाको विषय मात्र नभई नेपालले आफ्नो वैज्ञानिक भविष्य कसरी निर्माण गर्छ भन्ने निर्णयक गहन प्रश्न हो । अहिले उठिरहेको बहसले एउटा गहिरो सन्देश के दिन खोजेको हो भने हामी साँच्चै सुधारतर्फ अघि बढिरहेका छौं कि केवल परिवर्तनको भ्रम सिर्जना गरिरहेका छौं । मूल प्रश्न अझै पनि अनुत्तरित छ । के हामी देखिने संरचना परिवर्तनमै सीमित छौं, जसबाट अनुसन्धानलाई नवप्रवर्तनमा र नवप्रवर्तनलाई विकासमा रूपान्तरण गर्न सम्भव छ ?
आजको निर्णयले भोलिको वैज्ञानिक नेपाल निर्धारण गर्नेछ । त्यसैले, यो बहस केवल नास्टसँग मात्र सीमित नभई नेपालको भविष्यसँग पनि जोडिएको छ ।
बाह्य संरचना कि आन्तरिक प्रणाली
नेपालमा सुधारको नाममा धेरैजसो संस्थागत परिवर्तनहरू बाह्य स्वरूपमा केन्द्रित हुने गरेको पाइन्छ । प्रायजसो रूपान्तरणको नाममा विभागहरू फेरिन्छन्, कर्मचारी सङ्ख्या घटाइन्छ वा बढाइन्छ, पदनाम परिवर्तन गरिन्छ वा यस्तै यस्तै । यस्ता फेरबदल केवल सबै देखिने सुधारका उदाहरण मात्र हुन् । तर, विज्ञान र नवप्रवर्तन जस्तो जटिल क्षेत्रमा वास्तविक परिवर्तन ल्याउने कुरा भनेको आन्तरिक पक्षहरूलाई जरैदेखि मजबुत र समयसापेक्ष बनाउनु हो । जस्तै: नीति निर्माणको गुणस्तर, कार्यान्वयन प्रक्रिया, संस्थागत समन्वय र अनुसन्धानलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्ने क्षमता आदि पर्दछन् । यदि यी पक्षहरू कमजोर रहे भने बाह्य संरचनामा गरिएको रूपान्तरणहरूले अपेक्षित नतिजा दिन सक्दैनन् । यस्ता परिवर्तनहरूले संस्थाको मूल कार्यक्षमता र दीर्घकालीन प्रभावकारितामा कति योगदान पुर्याउँछन् भन्ने प्रश्न प्रायः ओझेलमै रहन्छ ।
आजको निर्णयले भोलिको वैज्ञानिक नेपाल निर्धारण गर्नेछ । त्यसैले, यो बहस केवल नास्टसँग मात्र सीमित नभई नेपालको भविष्यसँग पनि जोडिएको छ ।
विशेषगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन जस्ता जटिल र ज्ञान–आधारित क्षेत्रमा वास्तविक परिवर्तन बाह्य संरचनाभन्दा पनि गहिरो प्रणालीगत पक्षहरूमा निर्भर हुन्छ । नीति निर्माणको गुणस्तर, कार्यान्वयन प्रक्रियाको प्रभावकारिता, विभिन्न संस्थाबिचको समन्वय र अनुसन्धानलाई व्यावहारिक तथा आर्थिक परिणाममा रूपान्तरण गर्ने क्षमता नै वास्तविक सुधारका आधार हुन् । यस्ता प्रकारका आन्तरिक आयामहरू सुदृढ नभएसम्म देखिने संरचनामा गरिएको परिवर्तनले अपेक्षित परिणाम दिन सक्दैन । यस अर्थमा, सुधारको सार केवल के परिवर्तन हुन्छ भन्नेमा होइन, कसरी काम हुन्छ र कुनै निकायले कसरी आफ्नो उद्देश्य हासिल गर्छ भन्नेमा निहित हुन्छ । त्यसैले, यदि सुधारलाई दीर्घकालीन र परिणाममुखी बनाउने हो भने, ध्यान संरचनाभन्दा बढी प्रणाली सुदृढीकरणतर्फ केन्द्रित हुन आवश्यक छ । नेपालमा संस्थागत सुधारको बहस प्रायः गलत दिशामा केन्द्रित हुने गरेको छ । सुधारको नाममा विभागीय पुनर्गठन, कर्मचारी सङ्ख्या हेरफेर, पद सिर्जना वा कटौती जस्ता देखिने संरचनागत परिवर्तनहरूलाई नै उपलब्धि जस्तो प्रस्तुत गरिन्छ । यस्ता कदमहरूले तत्काल प्रभाव देखिएको आभास दिन्छन् तर यिनले संस्थाको वास्तविक क्षमता र परिणाममा कति सुधार ल्याउँछन् भन्ने प्रश्न प्रायः बेवास्ता गरिन्छ । वस्तुतः यस्ता सतही परिवर्तनहरूले समस्याको मूल जरा समात्न सक्दैनन् । वास्तविक समस्या भनेको प्रणालीको अदृश्य क्षेत्रमा रहेको छ, जसतर्फ हाम्रो ध्यान पुग्न सकेको छैन वा जानाजानी मोडिएको छ । अनुसन्धान कोषको अभाव, सार्वजनिक खरिद प्रक्रियाको कठोरता, नीति र कार्यान्वयनबिचको कमजोर समन्वय र नवप्रवर्तन प्रणालीको न्यून विकास नै संस्थालाई कमजोर बनाउने मुख्य कारणहरू हुन् । तर विडम्बना के छ भने, सुधारका बहसहरूमा यिनै आधारभूत मुद्दाहरूलाई प्राथमिकतामा राख्ने इच्छाशक्ति कम देखिन्छ ।
उदाहरणका लागि, अनुसन्धानका लागि आवश्यक उपकरण खरिद गर्न महिनौंदेखि वर्षौंसम्म लाग्ने अवस्था छ, जसले अनुसन्धानलाई प्रारम्भमै अवरुद्ध बनाउँछ । प्रतिस्पर्धात्मक अनुसन्धान कोषको अभावले प्रतिभाशाली वैज्ञानिकहरू निरुत्साहित हुन्छन्, र नवप्रवर्तन प्रणाली कमजोर हुँदा अनुसन्धान प्रयोगशालामै सीमित रहन्छ । यस्तो अवस्थामा केवल संरचना फेरबदल गरेर सुधार भएको दाबी गर्नु वास्तविक भन्दा टाढाको कुरा हो । यसले एउटा स्पष्ट सन्देश दिन्छ – हामी समस्या समाधानभन्दा बढी सुधारको प्रदर्शनमा केन्द्रित छौं । देखिने संरचना परिवर्तन गर्न सजिलो छ, तर नदेखिने प्रणाली सुधार्न राजनीतिक इच्छाशक्ति, दीर्घकालीन सोच र संस्थागत प्रतिबद्धता आवश्यक पर्छ । जबसम्म यी पक्षहरूमा गम्भीर देखिँदैन, तबसम्म सुधारका प्रयासहरू सतही र असफल रहिरहने छन् ।
अन्ततः संस्थाको वास्तविक शक्ति यसको संरचनामा होइन, यसको प्रणालीमा हुन्छ । यदि नदेखिने प्रणालीलाई सुदृढ गर्न सकिएन भने, जति नै संरचना परिवर्तन गरिए पनि परिणाम उही रहन्छ; कमजोर संस्थाहरू, सीमित अनुसन्धान र सुस्त नवप्रवर्तन । त्यसैले, अबको बहस स्पष्ट हुनुपर्छ: हामी सुधारको भ्रम सिर्जना गर्दैछौं कि वास्तविक परिवर्तनतर्फ अघि बढ्दैछौं ?
विज्ञान प्रतिष्ठानको आवश्यकता
विज्ञान तथा प्रविधि एकेडेमी कुनै सामान्य प्रशासनिक संस्थामा मात्र सीमित नभई देशको वैज्ञानिक प्रणालीको केन्द्रीय आधार र मार्गदर्शक निकाय हो । यसले दीर्घकालीन विकासको दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । आधुनिक राज्य व्यवस्थामा नीति निर्माण केवल राजनीतिक प्राथमिकता वा अनुभवमा आधारित मात्र हुन सक्दैनन् । यसका लागि ठोस वैज्ञानिक प्रमाण, विश्लेषण र दीर्घकालीन दृष्टिकोण आवश्यक पर्छ । स्वास्थ्य नीति, जलवायु परिवर्तन अनुकूल रणनीति, कृषि आधुनिकरण, ऊर्जा सुरक्षा जस्ता संवेदनशील क्षेत्रहरूमा गरिने निर्णयहरू वैज्ञानिक आधारमा हुनुपर्छ । यही सन्दर्भमा, विज्ञान प्रतिष्ठानले सरकारलाई निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित सल्लाह प्रदान गर्ने महत्त्वपूर्ण जिम्मेवारी वहन गर्छ ।
त्यसैगरी, प्रतिष्ठानले देशको विकास आवश्यकतासँग मेल खाने गरी अनुसन्धानको प्राथमिकता निर्धारण गर्न मद्दत गर्छ । अनुसन्धान क्षेत्रहरू विखण्डित र असम्बद्ध हुँदा स्रोतको दुरुपयोग हुन्छ र अपेक्षित परिणाम प्राप्त हुँदैन । प्रतिष्ठानले राष्ट्रिय प्राथमिकताका आधारमा अनुसन्धानलाई दिशा दिन्छ । जसले सीमित स्रोतको अधिकतम् उपयोग सुनिश्चित गर्नुका साथै अनुसन्धानलाई उद्देश्यपूर्ण र परिणाममुखी बनाउँछ । यसले वैज्ञानिक उत्कृष्टताका साथै राष्ट्रिय हितसँग जोडिएको अनुसन्धान संस्कृतिको विकासमा पनि योगदान पुर्याउँछ ।
प्रतिष्ठान (एकेडेमी) को अनुसन्धानदेखि नवप्रवर्तनसम्मको भूमिका
विज्ञान प्रतिष्ठानको अर्को महत्त्वपूर्ण भूमिका भनेको अनुसन्धानलाई व्यावहारिक नवप्रवर्तनमा रूपान्तरण गर्ने प्रक्रियालाई सुदृढ गर्नु हो । नेपालमा हाल धेरै अनुसन्धान विश्वविद्यालय र प्रयोगशालामा सीमित रहने प्रवृत्ति छ । यसले समाज र अर्थतन्त्रमा उपेक्षित प्रभाव पार्न सक्दैन । अनुसन्धानबाट सिर्जित ज्ञान, प्रविधि वा आविष्कारलाई उद्योग र बजारसँग जोड्न सके मात्र त्यसले वास्तविक आर्थिक मूल्य र सामाजिक लाभ प्रदान गर्न सक्छ । यही सन्दर्भमा, विज्ञान एकेडेमीले अनुसन्धान र उद्योगबीच पुलको रूपमा काम गर्न सक्छ । “Lab to Market” अवधारणालाई कार्यान्वयनमा ल्याउन एकेडेमीले प्रविधि हस्तान्तरण (Technology Transfer), नवप्रवर्तन प्रवर्द्धन र उद्योग– प्रतिष्ठान सहकार्यलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यसले अनुसन्धानलाई उत्पादनमा, उत्पादनलाई उद्योगमा र उद्यमलाई रोजगारी तथा आर्थिक वृद्धिमा रूपान्तरण गर्ने मार्ग खोल्छ । यदि यस्तो प्रणाली सुदृढ गर्न सकियो भने, नवप्रवर्तन केवल शैक्षिक अभ्यासमा मात्र सीमित नरहेर यो राष्ट्रिय अर्थतन्त्रको चालक शक्तिका रूपमा स्थापित हुन सक्छ । त्यसैले, अनुसन्धानदेखि नवप्रवर्तनसम्मको सम्पूर्ण शृङ्खलालाई प्रभावकारी बनाउन विज्ञान एकेडेमीको भूमिका केन्द्रीय र अपरिहार्य रहन्छ ।
विज्ञान एकेडेमी सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव: सफलताको सूत्र
विश्वका सफल देशहरूको अनुभवले स्पष्ट रूपमा देखाउँछ कि बलियो र स्वायत्त विज्ञान एकेडेमी बिना दिगो तथा ज्ञान–आधारित विकास सम्भव हुँदैन । आज विकसित अर्थतन्त्र भएका देशहरूले विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई आफ्नो विकासको केन्द्रमा राखेका छन् र यस प्रक्रियामा विज्ञान एकेडेमीहरूले रणनीतिक भूमिका निर्वाह गरेका छन् । उदाहरणका रूपमा, National Academies of Science, Engineering and Medicine ले संयुक्त राज्य अमेरिकामा सरकारलाई अत्यन्त महत्त्वपूर्ण नीतिगत सल्लाह प्रदान गर्दै आएको छ । स्वास्थ्य सङ्कट, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र उदयमान प्रविधिहरू जस्ता जटिल विषयहरूमा यस संस्थाले वैज्ञानिक प्रमाणमा आधारित सिफारिसहरू प्रस्तुत गर्छ । यसले नीतिनिर्माण प्रक्रियालाई सुदृढ र विश्वसनीय बनाउँछ । यस एकेडेमीको विशेषता भनेको यसको स्वतन्त्रता र वैज्ञानिक विश्वसनीयता हो । यसकारण यो एकेडेमीमार्फत् गरिने सल्लाहहरू उच्च स्तरमा स्वीकार गरिन्छन् ।
त्यस्तै, Royal Society ले बेलायतमा अनुसन्धान उत्कृष्टताको मापदण्ड स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले उच्चस्तरीय अनुसन्धानलाई प्रवर्द्धन गर्नुका साथै वैज्ञानिक ज्ञानको प्रसार, नीति संवाद र अन्तर्राष्ट्रिय सहकार्यलाई समेत सुदृढ बनाएको छ । यस सोसाइटीको दीर्घकालीन योगदानले बेलायतलाई विश्व वैज्ञानिक समुदायमा अग्रणी स्थानमा रहन ठूलो भूमिका निर्वाह गरेको छ । चीनको सन्दर्भमा, Chinese Academy of Science को भूमिका अझ व्यापक र प्रभावकारी रूपमा देखिन्छ । यस संस्थाले अनुसन्धानलाई प्रत्यक्ष रूपमा औद्योगिक विकाससँग जोड्ने रणनीति अपनाएको छ । उच्च प्रविधि, अन्तरिक्ष अनुसन्धान, जैविकप्रविधि र कृत्रिम बुद्धि जस्ता क्षेत्रमा यसले गरेको योगदानले चीनलाई विश्वकै प्रमुख प्रविधि शक्तिहरू मध्ये एकमा रूपान्तरण गर्न सहयोग पुर्याएको छ । यहाँ एकेडेमी केवल सल्लाह दिने निकाय मात्र नभएर अनुसन्धान र नवप्रवर्तन कार्यान्वयन गर्ने सक्रिय संस्था पनि हो ।
यी सबै उदाहरणबाट प्राप्त गर्ने एउटा साझा सन्देश नै विज्ञान एकेडेमी केवल औपचारिक संस्था होइन, यो नीति, अनुसन्धान र उद्योगबिचको गतिशील सेतु (Connecting bridge) हो । यसले वैज्ञानिक ज्ञानलाई नीतिमा रूपान्तरण गर्छ, अनुसन्धानलाई नवप्रवर्तनमा रूपान्तरण गर्छ र अन्ततः नवप्रवर्तनलाई आर्थिक तथा सामाजिक विकासमा रूपान्तरण गर्न सहयोग गर्छ । यही कारणले गर्दा कुनै पनि देशले दीर्घकालीन रूपमा प्रतिस्पर्धी र समृद्ध बन्न चाहन्छ भने उसले आफ्नो विज्ञान एकेडेमीलाई सशक्त, स्वायत्त र प्रभावकारी बनाउनु अनिवार्य हुन्छ ।
नेपालको सन्दर्भमा नास्टका वर्तमान चुनौती
नेपालको सन्दर्भमा समस्या विज्ञान एकेडेमीको अस्तित्वमा होइन, यसको प्रभावकारिता, कार्यप्रणाली र समग्र प्रणालीगत कमजोरीमा निहित छ । नास्टजस्तो संस्थाबाट अपेक्षा गरिए अनुसारको प्रभाव नदेखिनुका पछाडि विभिन्न संरचनागत तथा प्रक्रियागत अवरोधहरू जिम्मेवार रहेका छन् । केही मध्ये महत्त्वपूर्ण चुनौतीहरू बुँदागत रूपमा तल प्रस्तुत गरिएको छ:
१. अनुसन्धान तथा विकास (Research & Developmetn-R & D) मा अत्यन्त न्यून लगानी एक प्रमुख चुनौती हो । वैज्ञानिक, अनुसन्धान दीर्घकालीन लगानी र निरन्तर स्रोतको आवश्यक पर्ने क्षेत्र हो । तर, नेपालमा यस क्षेत्रमा बजेटको प्राथमिकता साह्रै कम देखिन्छ । सीमित स्रोतका कारण उच्चस्तरीय प्रयोगशाला विकास, उपकरण खरिद र गुणस्तरीय अनुसन्धान सञ्चालनमा कठिनाइ उत्पन्न हुन्छ । परिणामस्वरूप, अनुसन्धानको स्तर र प्रभाव दुवै सीमित रहन्छन् ।
२. संस्थागत समन्वयको अभावले वैज्ञानिक प्रणालीलाई कमजोर बनाएको हुन्छ । विश्वविद्यालय, सरकारी निकाय, उद्योग क्षेत्र र अनुसन्धान संस्थाहरूबिच प्रभावकारी सहकार्य नहुँदा अनुसन्धान विखण्डित हुन्छ र यसको परिणाम राष्ट्रिय विकाससँग जोडिन सक्दैन । यस्तो अवस्थामा नास्टजस्तो केन्द्रीय निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भए तापनि व्यवहारमा त्यो कार्यान्वयन भएको देखिँदैन ।
३. अनुसन्धानको व्यावसायीकरणमा कमजोरी स्पष्ट देखिन्छ । नेपालमा धेरै अनुसन्धानहरू शैक्षिक प्रकाशनमै सीमित रहने प्रवृत्ति छ । यसले उद्योग, उत्पादन वा सेवामा रूपान्तरण हुन पाउँदैन । “Lab to Market” प्रक्रिया कमजोर हुँदा नवप्रवर्तनले आर्थिक मूल्य सिर्जना गर्न सक्दैन र अनुसन्धानको प्रत्यक्ष सामाजिक–आर्थिक प्रभाव न्यून रहन्छ ।
४. नीति निर्माण र कार्यान्वयन बिचको दुरी अर्को गम्भीर समस्या हो । वैज्ञानिक सल्लाह र अनुसन्धानबाट प्राप्त निष्कर्षहरू नीतिमा समावेश हुने क्रम कमजोर छ र भएका नीतिहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्दैनन् । यसले गर्दा वैज्ञानिक ज्ञान र सरकारी निर्णयबीच तालमेलको अभाव रहन्छ, जसले समग्र विकास प्रक्रियालाई प्रभावित पार्छ ।
५. सार्वजनिक खरिद (Public Procurement) प्रणालीको जटिलता, जुन अनुसन्धान क्षेत्रका लागि विशेष रूपमा समस्याग्रस्त छ । वैज्ञानिक उपकरण, रसायन खरिद, प्रविधि अद्यावधिक गर्नुपर्ने अवस्थामा लामो प्रक्रियागत ढिलाइ, न्यूनतम दर (Lowest Bidder) मा आधारित छनोट र अनुसन्धान–मैत्री लचिलताको अभावले कामलाई ढिलो र कहिलेकाहीँ अप्रासंगिक Irrelevant) समेत बनाउँछ । अनुसन्धान समय–संवेदनशील हुने भएकाले यस्तो ढिलाइले परियोजनाको गुणस्तर र विश्वसनीयतामा प्रत्यक्ष असर पार्छ । यी सबै कारणहरूको संयुक्त प्रभावस्वरूप, अनुसन्धान समयमै सम्पन्न हुन सक्दैन । नवप्रवर्तनको गति सुस्त हुन्छ र वैज्ञानिक प्रणालीले अपेक्षित योगदान दिन सक्दैन । त्यसैले, नास्ट सुधारको बहसलाई प्रभावकारी बनाउन यी प्रणालीगत चुनौतीहरूको गहिरो विश्लेषण र समाधान आवश्यक छ ।
सुधारका लागि के गर्नुपर्छ ?
यदि नास्टलाई वास्तवमै सशक्त र प्रभावकारी बनाउने हो भने सुधारको केन्द्र संरचनागत फेरबदलमा होइन, प्रणाली सुदृढीकरण हुनुपर्छ । यसका लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम भनेको नास्टको स्पष्ट कार्यादेश (Mandate) निर्धारण गर्नु हो । नास्टलाई केवल अनुसन्धान गर्ने संस्था वा प्रशासनिक निकायको रूपमा होइन, Policy Advisory, Research Coordination र Innovation Promotion गर्ने केन्द्रीय संस्थाका रूपमा पुनः परिभाषित गर्न आवश्यक छ । यसले संस्थाको भूमिका स्पष्ट बनाउनुका साथै जिम्मेवारी र अपेक्षालाई पनि स्पष्ट रूपमा निर्धारण गर्छ ।
दोस्रो, राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र पारदर्शी National Research Fund स्थापना गर्न अत्यावश्यक छ । नेपालमा अनुसन्धानको स्तर उकास्नका लागि Peer-review आधारित अनुदान प्रणाली विकास गर्नुपर्छ । यसबाट उत्कृष्ट अनुसन्धान प्रस्तावहरूले प्राथमिकता पाउँछन् । यसले केवल अनुसन्धानको गुणस्तर बढाउने मात्र होइन, युवा वैज्ञानिकहरूलाई आकर्षित गर्ने र वैज्ञानिक प्रतिस्पर्धा बढाउने वातावरण सिर्जना गर्छ ।
तेस्रो, अनुसन्धानलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्न Technology Transfer Office (TTO) को स्थापना अनिवार्य छ । अहिले नेपालमा धेरै अनुसन्धान शैक्षिक प्रकाशनमै सीमित रहने प्रवृत्ति छ । TTO मार्फत् अनुसन्धानका नतिजाहरूलाई उद्योग, उद्यम र बजारसँग जोड्ने व्यवस्था गर्न सकिन्छ । यसले Lab to Market प्रक्रियालाई सुदृढ बनाउँछ । यसले नवप्रवर्तनलाई आर्थिक गतिविधिमा रूपान्तरण गर्न सहयोग पुर्याउँछ ।
चौथो, विश्वविद्यालय–उद्योग–सरकारबिचको सहकार्य संस्थागत रूपमा सुदृढ गर्नुपर्छ । अहिले यी तीनवटा क्षेत्र अलग–अलग रूपमा सञ्चालन भइरहेका छन्, जसका कारण अनुसन्धानको प्रभाव सीमित रहन्छ । Triple Helix मोडलअनुसार यी क्षेत्रबिच सहकार्य बढाएर अनुसन्धानलाई उत्पादन र सेवामा रूपान्तरण गर्न सकिन्छ ।
पाँचौं, सार्वजनिक खरिद (Procurement) प्रक्रियामा सुधार नगरी अनुसन्धान प्रणाली सुदृढ हुन सक्दैन । वैज्ञानिक उपकरण, रसायन र प्रविधि खरिदका लागि Research-friendly Procurement Mechanism विकास गर्नुपर्छ, यसले गर्दा समयमै आवश्यक सामग्री उपलब्ध हुन्छ । हालको ढिलो र कठोर प्रणालीले अनुसन्धान अवरुद्ध गरिरहेको छ, जसलाई लचिलता र गुणस्तर–आधारित प्रणालीतर्फ रूपान्तरण गर्न आवश्यक छ ।
छैटौं, राष्ट्रिय योजना आयोग (National Planning Commission) सँग नास्टको प्रत्यक्ष र प्रभावकारी समन्वय स्थापित गर्नुपर्छ । नीति निर्माण र अनुसन्धान बिचको दुरी घटाउन नास्टबाट प्राप्त वैज्ञानिक सल्लाहहरूलाई राष्ट्रिय योजना र नीतिहरूमा समावेश गर्ने स्पष्ट संयन्त्र आवश्यक छ । यसले तथ्यमा आधारित नीति निर्माण (Evidence-based Policy Making) लाई सुदृढ बनाउँछ ।
यसका साथै, नास्टमा कार्यसम्पादनमा आधारित (Performance-based) मूल्याङ्कन प्रणाली लागू गर्न, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न र नेपाली वैज्ञानिक डायस्पोरालाई संलग्न गराउने कार्यक्रमहरू सञ्चालन गर्न पनि आवश्यक छ । यी सबै उपायहरूको संयुक्त कार्यान्वयनबाटै नास्टलाई एउटा जीवित, सक्रिय र प्रभावकारी विज्ञान एकेडेमीका रूपमा रूपान्तरण गर्न सक्छन् ।
नास्टलाई केवल अनुसन्धान गर्ने संस्था वा प्रशासनिक निकायको रूपमा होइन, Policy Advisory, Research Coordination र Innovation Promotion गर्ने केन्द्रीय संस्थाका रूपमा पुनः परिभाषित गर्न आवश्यक छ ।
जोखिम र अवसर
नास्ट सुधारको बहसमा जोखिम र अवसर दुवै पक्ष स्पष्ट रूपमा देखिन्छन् र सुधारको दिशाअनुसार यसको परिणाम पूर्णतः फरक हुन सक्छ । यदि सुधार केवल संरचनागत परिवर्तनमा सीमित रह्यो भने यसको नतिजा अपेक्षाभन्दा उल्टो हुन सक्ने सम्भावना रहन्छ । संस्थागत क्षमता कमजोर हुन सक्छ किनकि मूल समस्यालाई सम्बोधन नगरी बाह्य ढाँचामा मात्र परिवर्तन गरिन्छ । वैज्ञानिक स्वतन्त्रता घट्न सक्ने जोखिम पनि उत्तिकै गम्भीर छ । विशेषतः यदि निर्णय प्रक्रियामा अनावश्यक प्रशासनिक वा राजनीतिक हस्तक्षेप बढ्यो भने यस्तो अवस्थामा अनुसन्धानको गुणस्तर र विश्वसनीयता प्रभावित हुन्छ, र अन्ततः सम्पूर्ण वैज्ञानिक प्रणाली अझ कमजोर बन्न सक्छ ।
यसको विपरीत, यदि सुधारलाई प्रणाली सुदृढीकरणतर्फ केन्द्रित गरियो भने यसको व्यापक र दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ । अनुसन्धानलाई प्रभावकारी रूपमा नवप्रवर्तनमा रूपान्तरण गर्न सकिन्छ, जसले नयाँ प्रविधि, उत्पादन र सेवाहरू विकास गर्ने आधार तयार गर्छ ।
नवप्रवर्तनलाई उद्योगसँग जोड्दा आर्थिक गतिविधि विस्तार हुन्छ र यसले रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिमा योगदान पुर्याउँछ । यसरी अनुसन्धान → नवप्रवर्तन → उद्योग → रोजगारीको श्रृंखला सुदृढ हुँदै जाँदा देश क्रमशः ज्ञान—आधारित अर्थतन्त्रतर्फ अग्रसर हुन सक्छ । यस प्रक्रियाले दीर्घकालीन आर्थिक प्रतिस्पर्धात्मकता र आत्मनिर्भरता दुवैलाई बलियो बनाउँछ ।
निष्कर्ष: सही प्रश्न, सही बाटो
अन्ततः नास्ट सुधारको बहसमा सबैभन्दा महत्त्वपूर्ण कुरा सही प्रश्न उठाउनु हो । सुधारको सार के हो भन्ने बुझाइबिना गरिने कुनै पनि परिवर्तन दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्दैन । आजको सन्दर्भको मुख्य प्रश्न यही हो; के हामी देखिने संरचना परिवर्तन मात्र केन्द्रित छौं कि नदेखिने वा आन्तरिक प्रणाली सुदृढीकरणतर्फ गम्भीर रूपमा अग्रसर छौं ?
नेपाललाई अब केवल पुनसंरचना होइन, सुदृढ वैज्ञानिक प्रणाली निर्माण आवश्यक छ । जबसम्म नीति, अनुसन्धान र नवप्रवर्तन प्रभावकारी सम्बन्ध स्थापित हुँदैन, तबसम्म विकासको गति सीमित रहनेछ । त्यसैले, सुधारको सही बाटो भनेको संरचनागत परिवर्तनभन्दा माथि उठेर प्रणालीगत सुधारलाई प्राथमिकता दिनु हो ।
अन्ततः, संरचना परिवर्तनले तत्काल देखिने परिणाम दिन सक्छ, तर दिगो परिवर्तन प्रणाली सुदृढीकरणबाट मात्र सम्भव हुन्छ । यदि नेपालले आफ्नो वैज्ञानिक र प्रविधिगत भविष्यलाई सुदृढ बनाउन चाहन्छ भने, अबको निर्णय स्पष्ट हुनुपर्छ: सतही परिवर्तन होइन, गहिरो प्रणालीगत रूपान्तरण ।






















