प्राइमरी चुनावः अग्रिम मतदान (Early Voting) 'आज' जुन १८, अन्तिम मतदान जुन २३ जुन...

पुरा पढ्नुहाेस्

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय...

पुरा पढ्नुहाेस्

काठमाडौं । बच्चा जन्मिएपछि उसको स्वास्थ्यबारे अभिभावकहरू निकै सचेत हुन्छन्। तर धेरैलाई थाहा नहुन...

पुरा पढ्नुहाेस्

मेरिल्यान्ड सांसदका लागि चापागाईंको उम्मेदवारी

'चुनावी माहोल एकदमै राम्रो छ, जितको नजिक छु'

861
shares

प्राइमरी चुनावः अग्रिम मतदान (Early Voting) ‘आज’ जुन १८, अन्तिम मतदान जुन २३

जुन १८, अमेरिका ।

अमेरिकास्थित मेरिल्यान्ड राज्यको सांसद ‘हाउस अफ डेलिगेट्स’ (तल्लो सदन) पदका लागि नेपाली मूलका सतीश चापागाईं चुनावी अभियानमा हुनुहुन्छ । चापागाईं आगामी नोभेम्बर २०२६ मा हुने राज्यस्तरीय आमनिर्वाचनका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार चुनिनका लागि प्राइमरी चुनावमा ‘मेरिल्यान्ड राज्य, डिस्ट्रिक्ट ७ (ए)’ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । चापागाईंको यो अभियानलाई मेरिल्यान्ड राज्यका बहालवाला सांसद ह्यारी भण्डारीले औपचारिक रुपमा अनुमोदन (Endorse) गरी सहयोग गरिरहनुभएको छ ।

मेरिल्यान्ड राज्यको सांसद ‘हाउस अफ डेलिगेट्स’ (डिस्ट्रिक्ट ७ए) को प्राइमरी चुनावको अन्तिम घडी नजिकिँदै गर्दा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका नेपाली मूलका सतीश चापागाईंले आफ्नो चुनावी माहोल निकै सकारात्मक रहेको बताउनुभएको छ । चापागाईंले आफूलाई यस क्षेत्रमा रहेका सबै समुदायबाट प्राप्त भइरहेको समर्थनले जितको नजिक पुर्‍याएको दाबी गर्नुभयो । ‘मलाई एसियन, अमेरिकनलगायत सबै समुदायले उत्साहपूर्वक समर्थन र सहयोग गरिरहनुभएको छ,’ आफ्नो चुनावी अभियानबारे जानकारी दिँदै चापागाईंले भन्नुभयो, ‘चुनावी माहोल एकदमै राम्रो छ, म जितको नजिक छु ।’

मतदानका लागि विशेष अपिल गर्दै चापागाईंले भन्नुभयो, ‘प्राइमरी चुनावको कार्यतालिकाअनुसार आज जुन १८, २०२६ (बिहीबार) अग्रिम मतदान (Early Voting) को अन्तिम दिन हो भने अन्तिम मुख्य मतदान आगामी जुन २३ मा हुँदैछ ।’ यस सन्दर्भमा उनले सम्पूर्ण योग्य मतदाताहरूलाई समय मिलाएर आफ्नो अमूल्य मत हाल्न आग्रह गर्नुभएको छ । साथै, उक्त निर्वाचन क्षेत्रभन्दा बाहिर बसोबास गर्ने व्यक्तिहरूलाई पनि डिस्ट्रिक्ट ७ (ए) भित्र रहेका आफ्ना आफन्त, इष्टमित्र र साथीभाइहरूलाई मतदानका लागि प्रेरित गरिदिन चापागाईंले विशेष अनुरोध गर्नुभएको छ ।

आर्थिक तथा नैतिक सहयोगको आह्वान गर्दै चापागाईंले निर्वाचन अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन उम्मेदवारका लागि जनसमर्थन र सहयोग अपरिहार्य हुने भएकाले आर्थिक सहयोग (Donation) का लागिसमेत आह्वान गर्नुभयो । ‘यहाँहरूको आर्थिक सहयोग (Donation) मार्फत सहयोग केवल आर्थिक सहयोग मात्र नभएर यो सहयोगका लागि उपयुक्त माध्यम हो, जसमा जुन रकम नभएर यहाँहरूको सहभागिताले मेरो राजनीतिक करियरका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ र पार्टीभित्र एउटा बलियो आधार बन्नेछ,’ चापागाईंले भन्नुभयो ।

प्राइमरी चुनावका लागि अग्रिम मतदान (Early Voting)  सुरु भइसकेको छ भने अन्तिम मतदान जुन २३, २०२६ मङ्गलबार हुँदैछ । यस चुनावबाट डेमोक्रेटिक पार्टीको तर्फबाट सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार छनोट हुनेछन्, जसले नोभेम्बरमा रिपब्लिकन उम्मेदवारसँग अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।

आगामी नोभेम्बरमा हुने आमनिर्वाचनका लागि चुनिनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट यस प्राइमरी चुनावी प्रतिस्पर्धामा चारजना प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा सतीश चापागाईं, टम बेकर, लिडिया ब्राउन र क्लिभल्यान्ड रेनोल्ड्स जुनियर हुनुहुन्छ । अर्कोतर्फ रिपब्लिकन पार्टीबाट भने नोभेम्बरमा हुने आमनिर्वाचनका लागि रायन नारोक्की र क्याथी जेलिगा चयन भइसक्नुभएको छ ।

मेरिल्यान्ड स्टेट बोर्ड अफ इलेक्सन्सको तथ्यांकअनुसार, मेरिल्यान्डको डिस्ट्रिक्ट ७ (ए) को कुल मतदाता संख्या ८३ हजार रहेको छ । यस्तै, डेमोक्र्याटिक पार्टीका मतदाता: ३४.७ प्रतिशत, रिपब्लिकन पार्टीका मतदाता: ४४.९ प्रतिशत र इन्डिपेन्डेन्ट (स्वतन्त्र) मतदाता: १८.९ प्रतिशत रहेका छन् । यसैगरी, कुल मतदातामध्ये ४ प्रतिशत एसियाली मूलका मतदाता रहेका छन् । यस क्षेत्रमा अघिल्लो प्राइमरी चुनाव (सन् २०२२ को गभर्नेटोरियल प्राइमरी इलेक्सन) मा कुल मतदाताको संख्या ६२ हजार रहेको थियो भने कुल संख्याको  ५३.४३ प्रतिशत मतदान भएको थियो ।

आप्रवासी र सीमान्तकृत समुदायको आवाजलाई नीति-निर्माणको तहसम्म पुर्‍याउने अठोट लिनुभएका चापागाईंका प्रमुख एजेन्डाहरूमध्ये पहिलो रहेको छ, समावेशी समाजको निर्माण अर्थात् अमेरिकामा आप्रवासीहरूलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने । यस्तै, शिक्षा र स्वास्थ्यमा पहुँच अर्थात् राज्यका हरेक विद्यालयमा गुणस्तरीय र विश्वस्तरीय शिक्षा पुर्‍याउने एवम् निःशुल्क वा सुलभ रुपमा स्वास्थ्य सेवाको व्यवस्था गर्ने । यसैगरी, आर्थिक राहत अर्थात् बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने, जनताको क्रय क्षमता अभिवृद्धि गर्ने र करमा छुट तथा सहुलियत प्रदान गर्ने । साथै, करको सही सदुपयोग अर्थात् जनताले तिरेको कर युद्ध वा लडाइँमा नभई समुदायको विकास, शिक्षा र स्वास्थ्यमा लगानी गर्नेजस्ता आमसमुदायमाझ अतिउपयोगी र आवश्यक एजेन्डाका साथ चापागाईं अमेरिकी मूलधारको राजनीतिमा सक्रिय रुपमा अगाडि बढ्नुभएको हो । नेपाली मूलका व्यक्ति अमेरिकी राज्यस्तरको नीति-निर्माण तहमा पुग्ने यो महत्त्वपूर्ण अवसर भएकाले पनि चापागाईंको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ ।

नेपालको पाल्पा जिल्लाबाट १८ वर्षअघि (सन् २००८ मा) अमेरिका आउनुभएका चापागाईं हाल मेरिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र दुई छोरीका साथ बसोबास गर्दै आउनुभएको छ । चापागाईंको राजनीतिक, सामाजिक र साहित्यिक पृष्ठभूमि निकै बलियो रहेको छ । राजनीतिक अनुभवः सन् २०२१ देखि उहाँ अमेरिकाको मूलधारको राजनीतिमा प्रवेश गर्नुभएको थियो भने त्यतिबेला मेरिल्यान्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यमा ४ हजारभन्दा बढी मत ल्याएर उहाँ निर्वाचित हुनुभएको थियो । यस्तै, चापागाईं एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर (AAPI) समितिका पूर्वसदस्य पनि हुनुहुन्छ । पत्रकारिता:  नेपालमा रहँदा उहाँले पत्रकारितामा लामो समय काम गर्नुभएको थियो । यस दौरानमा चापागाईंले एफएम, राष्ट्रिय दैनिकजस्ता सञ्चारमाध्यमा विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । यस्तै, चापागाईंले नेपाल प्रेस युनियन पाल्पाको सभापति र केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । चापागाईंले आफ्नो पत्रकारिता पेसालाई निरन्तरतास्वरुप हाल अमेरिकामा ‘नेपालीडायास्पोरा डटकम’ नामक अनलाइन साञ्चारमाध्यम सञ्चालन गर्दै आउनुभएको छ । सामाजिक नेतृत्व: चापागाईंको समाजसेवा र राजनीतिप्रतिको लगावका कारण निरन्तर रुपमा विभिन्न सामाजिक एवम् पेसागत संघ-संस्थामा सक्रिय रुपमा सहभागिता रहने गरेको छ । फलस्वरुप, गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाको सल्लाहकार तथा पूर्व मिडिया संयोजक, नेपाल अमेरिका पत्रकार संघ (नेजा) को विभिन्न समितिको संयोजक एवम् बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (BANA) पूर्वउपाध्यक्षको भूमिका सफल रुपमा पूरा गर्नुभएको छ । साहित्य र कला: चापागाईं विविध विधागत क्षेत्रका साथै साहित्य विधामा पनि चर्चित हुनुहुन्छ । जसअन्तर्गत चापागाईं विषेशगरी कविता र गीत सिर्जनामा चर्चित हुनुहुन्छ ।

पछिल्लो केही समयदेखि अमेरिका रहेका नेपालीहरू अमेरिकी मूलधारको राजनीतिमा सक्रिय रुपमा सहभागी हुन थालेका छन् । हालसम्म जानकारीमा आएसम्म नेपाली मूलबाट अमेरिकी मूलधारको राजनीतिमा राज्यस्तरीय र स्थानीय तहमा विभिन्न व्यक्तिले प्रतिनिधित्व गर्नुभएको छ । जसअन्तर्गत राज्यस्तरीय रुपमा मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्समा ह्यारी भण्डारी आमनेपालीमाझ चर्चित नाम हो । यस्तै, न्यूह्याम्पसायर राज्यको हाउस अफ रिप्रिजेन्टेटिभ्समा सुरज बुढाथोकी रहनुभएको छ भने मेम्बर अफ द न्युयोर्क स्टेट एसेम्बलीमा सराहना श्रेष्ठ रहनुभएको छ । यसैगरी स्थानीय तहमा जनप्रतिनिधिका रुपमा क्रियाशील रहनुभएका व्यक्तिहरूमा, किरण सिटौला (मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेड) र टीका पौडेल (टेक्सास राज्यस्थित युलेस सहरका उपमेयर) हुनुहुन्छ । यसैगरी, स्थानीय तहको सदस्य (सिटी काउन्सिल मेम्बर) मा डिल्ली भट्टराई, भुवन प्याकुरेल, मधु पन्थी, रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ र चिरन न्यौपाने रहनुभएको छ ।

चापागाईंले आफ्नो चुनावी अभियानमा ऐक्यबद्धता जनाउँदै सहयोग गर्न चाहने जोकोहीले विश्वको जुनसुकै स्थानबाट पनि तल दिइएको आफ्नो आधिकारिक लिंकमार्फत जोडिनका लागि आग्रहसमेत गर्नुभयो । चापागाईंलाई सहयोग गर्नका लागि आधिकारिक लिङ्क: https://secure.actblue.com/donate/satish-chapagain रहेको छ ।