अब देशले काँचुली फेर्ने समय आएको छ
२०८२ चैत ५ बिहीवार ०९:३४
shares

मलाई अझै पनि प्रस्ट सम्झना छ- पार्टी स्थापनाका प्रारम्भिक दिनहरूमा हाम्रो कुरा सुन्न आउने मानिसहरूको संख्या यत्तिकै पुर्याउन पनि कठिन हुन्थ्यो । कहिलेकाहीँ हामीलाई कार्यक्रमको हल भरिन्छ कि भरिँदैन भन्ने चिन्ता हुन्थ्यो । हाम्रो कुरा सुन्नेहरू थोरै थिए, विश्वास गर्नेहरू सीमित थिए र परिवर्तनको पक्षमा खुलेर उभिनेहरू अझै कम थिए । तर आज परिस्थिति फेरिएको छ ।
आज त्यही संख्यामा त हामी आफ्नै सांसदहरूसहित कार्यक्रम गरिरहेका छौँ । यो परिवर्तन आकस्मिक होइन, यो कुनै संयोगको उपज होइन र यो एकै रातमा आएको परिणाम पनि होइन । यसको आधार हाम्रो निरन्तर जनसम्पर्क, जनतासँगको हाम्रो जीवन्त सम्बन्ध र प्रतिबद्धताको निरन्तर अभ्यास हो ।
हामीले कहिल्यै जनताको आँखाबाट आफ्नो दृष्टि हटाएनौँ, जनताको आँगनबाट टाढा भएनौँ । आकाशमा जति उडे पनि जमिनमा एउटा खुट्टा मजबुत रूपमा टेकिरह्यो- हामीले कहिल्यै यथार्थबाट दूरी बनाएनौँ । हामीलाई सुरुदेखि नै विश्वास थियो- देश परिवर्तन चाहन्छ, जनताले परिवर्तन खोजिरहेका छन् । र, जब जनताले परिवर्तन चाहन्छन्, तब संसारको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन भन्ने कुरामा हामी दृढ थियौँ । आवश्यक थियो त केवल सही नेतृत्व, सही समूह, सही निष्ठा, र सही दिशा । आज लाग्छ, इतिहासको त्यही निर्णायक मोडमा हामी आइपुगेका छौँ ।
नेपाली जनताले हामीमाथि गरेको विश्वास अभूतपूर्व छ-इतिहासमै दुर्लभ । त्यो विश्वासको अभिभावक हुन पाउनु, यो परिवारको हिस्सा हुन पाउनु, मेरो लागि केवल गौरवको विषय मात्र होइन, यो गहिरो जिम्मेवारीको बोध पनि हो । हामीले पाएको यो जनादेश केवल चुनावी सफलता होइन, यो जनताको धैर्य, आशा, अपेक्षा र पीडाबाट जन्मिएको विश्वास हो । यो सामान्य उपलब्धि होइन । यसलाई सामान्य तरिकाले लिन मिल्दैन ।
पार्टीका उपसभापतिज्यूहरू, महामन्त्रीज्यू, केन्द्रीय सदस्यहरू, नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू, शुभचिन्तकहरू, विभिन्न तह र तप्कामा सक्रिय साथीहरू, तथा सञ्चार माध्यममार्फत संसारभर हाम्रा विचार पु¥याइरहनु भएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू- आजको यो अभिमुखीकरण कार्यक्रम मूलतः आन्तरिक छलफलका लागि भए पनि हामीले पारदर्शितालाई प्राथमिकता दिँदै यसलाई सार्वजनिक बनाएका छौँ ।
किनकि राजनीति पारदर्शिताविनाको हुन सक्दैन । राजनीति जनताबाट लुकाइने चिज होइन । जनतामाथि असर पार्ने निर्णय जनतासँग साक्षी राखेर गर्नुपर्ने विषय हो । त्यसैले आज म यहाँ केही तिता र केही मिठा, दुवैखाले कुरा राख्न चाहन्छु-किनकि यथार्थ सधैँ एउटै स्वरमा बोल्दैन ।
एउटा सानो तर अत्यन्त महत्वपूर्ण कुरा- स्वास्थ्यप्रति सचेत रहनुहोस् । पर्याप्त पानी पिउनुहोस्, आवश्यकताभन्दा बढी रोक्ने बानी नबसाल्नुहोस् । चुनावी दौडधुप, कार्यक्रम, सभा, भेटघाट, यात्रा र निरन्तर खटाइका बीचमा यस्ता सामान्य लाग्ने कुरामा ध्यान नदिँदा मैले आफैंले स्वास्थ्य समस्या भोगेको छु । अहिले त्यसबाट बाहिरिने क्रममा छु । यहाँ उपस्थित धेरै साथीहरूको अनुहारमा देखिएको थकानले तपाईंहरूको मेहनत स्पष्ट देखिन्छ । तर त्यही समर्पण, त्यही ऊर्जा, त्यही निरन्तरता तपाईंहरूको पहिचान हो । मेरो अपेक्षा केवल यति हो-यो उत्साह कायम रहोस्, तर स्वास्थ्यको ध्यान राखेर रहोस् ।
आज देशमा एउटा यस्तो अवस्था बनेको छ जहाँ जनतासँग सधैँ भिजेको, असिन–पसिन भएको, जनतासँगै गाँसिएको नेतृत्व र जनताको बीचमा ठूलो दूरी देखिन्छ । धेरै नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्, किनकि उनीहरूलाई त्यो नेतृत्व ‘आफ्नो’ जस्तो लाग्दैन । तर हामीले घर–घर पुगेर नमस्कार गरेका छौँ, जनताको ढोका–ढोकामा पुगेका छौँ, उनीहरूको सुख–दुःख सुनेका छौँ ।
भोलि त्यही जनताको नमस्कार फर्काउन नसक्ने, त्यही जनताको फोन उठाउन नसक्ने, त्यही जनताको घरतिर फर्केर नजाने अवस्थामा हामी पुग्यौँ भने त्यो हाम्रो सबैभन्दा ठूलो असफलता हुनेछ । त्यसैले हामीले निरन्तर सचेत रहनुपर्छ-जनताले त्यस्तो नेतृत्व खोजेका होइनन्, जो चुनावमा मात्र देखियोस् र जितेपछि टाढा जाओस् ।
आज तपाईंहरूले विजयको खुसी मनाइरहनुभएको छ । निधारमा लागेको अबिर अझै मेटिएको छैन । कतिपयले अझै पनि माला र अबिरको उत्सव जारी राख्नुभएको छ । यो स्वाभाविक पनि हो । तपाईं माननीय हुनुभयो भनेर तपाईंको परिवार, आफन्त, देश–विदेशमा कति खुसी मनाइयो होला-केक काटियो होला, दियो बालियो होला, रातभर रमाइलो भयो होला ।
तर अब हाम्रो लक्ष्य के हुनुपर्छ भने- त्यस्तै खुसी, त्यस्तै उत्सव नेपाली जनताले आगामी पाँच वर्षसम्म हरेक दिन अनुभव गर्न सकून् । हामीलाई जिताएकोमा, हामीमाथि भरोसा गरेकोमा, जनताले गर्व गर्न सकून् । यो जिम्मेवारी पूरा गर्न नसक्यौँ भने हाम्रो विजय अधुरो हुनेछ ।
तर अब हाम्रो लक्ष्य के हुनुपर्छ भने- त्यस्तै खुसी, त्यस्तै उत्सव नेपाली जनताले आगामी पाँच वर्षसम्म हरेक दिन अनुभव गर्न सकून् । हामीलाई जिताएकोमा, हामीमाथि भरोसा गरेकोमा, जनताले गर्व गर्न सकून् । यो जिम्मेवारी पूरा गर्न नसक्यौँ भने हाम्रो विजय अधुरो हुनेछ ।
हामीले यो पाँच वर्षलाई सामान्य रूपमा- अघिल्ला चुनावजस्तै- लिएर अघि बढ्यौँ भने त्यसले गम्भीर परिणाम निम्त्याउँछ । राजनीति अब पहिले जस्तो चल्ने छैन । पुरानो ढर्रा, पुरानो सोच, पुरानो अभ्यास, पुरानो सुविधा, पुरानो शैली-यी सबै त्याग्नैपर्छ ।
अब त साँचिकै ‘काँचुली फेर्ने’ बेला आएको छ- सम्पूर्ण रूपमा रूपान्तरण हुने बेला । नेपाली जनताले हामीलाई यही उद्देश्यका लागि मत दिएका हुन् । उनीहरूले अनुहार मात्र फेरोस् भनेर मत दिएका होइनन्; उनीहरूले शैली, सोच, प्राथमिकता, नीति, आचरण र नतिजा फेरियोस् भनेर मत दिएका हुन् ।
हामी यहाँ शक्ति प्रदर्शन गर्न आएका होइनौँ, हामी कानुन निर्माण गर्न आएका हौँ । कानुन बनाउने मुख्य जिम्मेवारी तपाईंहरूको काँधमा छ । जनतालाई सायद थाहा नहोला- कुन कानुनले गर्दा उसको घरसम्म बाटो पुग्दैन, धारामा पानी आउँदैन, बिजुली जोडिँदैन, इन्टरनेट चल्दैन, सेवा प्रभावकारी हुँदैन । तर तपाईंलाई थाहा हुनुपर्छ ।
कुन प्रावधानले विकास रोकिरहेको छ, कुन कानुनी जटिलताले सेवा रोकिरहेको छ, कुन कमजोरीले जनताको जीवन कठिन बनाइरहेको छ भन्ने कुरा बुझ्नका लागि अध्ययन, अनुसन्धान, श्रम, तयारी र गहिरो चिन्तन आवश्यक हुन्छ । सांसद हुनु भनेको केवल मञ्चमा बोल्नु होइन, फोटो खिचिनु होइन, प्रभाव जमाउनु होइन- यो त अध्ययनशील, जिम्मेवार र परिणाममुखी भूमिकामा आफूलाई रूपान्तरण गर्नु हो ।
त्यसैले अब ‘कसलाई भनेर काम गराउने’, ‘कोसँग भेटेर फोटो खिच्ने’, ‘कसको दबाबमा निर्णय गराउने’, ‘कुन पहुँच प्रयोग गर्ने’ जस्ता पुराना प्रवृत्तिहरू अन्त्य गर्नुपर्छ । म आज अलिकति तिता कुरा गरिरहेको छु तर यथार्थ यही हो- हामी कानुन निर्माता हौँ र हाम्रो जिम्मेवारी अत्यन्त गम्भीर छ । संविधान बनेको लामो समय बितिसक्दा पनि धेरै आवश्यक कानुनहरू अझै बन्न सकेका छैनन् ।
अनेक कारण होलान्, अवरोधहरू होलान्, बहानाहरू पनि होलान् । तर अब नेपाली जनताले हामीलाई कुनै बहाना नबनाउन सकिने गरी स्पष्ट र लगभग दुईतिहाइ नजिकको समर्थन दिएका छन् । अब हामीलाई रोक्ने बाह्य कारणहरू छैनन् । यदि केहीले रोक्छ भने त्यो केवल हाम्रो नियतले मात्रै रोक्छ । त्यसैले इमान्दारिता, प्रतिबद्धता, श्रम र जिम्मेवारीका साथ काम गर्नुपर्ने बेला आएको छ ।
मसँग राजनीति गर्ने लामो अनुभव त छैन तर जति समय बिताएँ, त्यो समयभरि विभिन्न प्रकारका चुनौती र प्रहारहरूको सामना गर्नुपर्यो । मुद्दा, आरोप, भ्रम, अविश्वास, व्यवधान- यी सबै हाम्रो यात्रा साथमा रहे । ती अनुभवहरूले मलाई सिकाएको कुरा के हो भने दृढता, स्पष्ट सोच र जनताप्रति निष्ठा भएमा कुनै पनि अवरोध ठूलो हुँदैन । यही विश्वासका साथ अब हामी अगाडि बढ्नुपर्नेछ ।
यो पार्टी जन्मेदेखि नै निरन्तर प्रहारको सामना गर्दै आएको छ । पार्टीकै नाममा मुद्दा चलाइयो, चुनाव चिन्हमाथि आक्रमण गरियो, यहाँसम्म कि त्यसलाई नै समाप्त पार्ने प्रयासहरू भए । स्थापित राजनीतिक दलहरू, विभिन्न स्वार्थ समूहहरू र शक्ति केन्द्रहरूले यसलाई कुल्चने प्रयास गरे । तर हामीले यी सबै चुनौतीहरू सामना गर्यौँ, सह्यौँ र पार्टीलाई बचाएर यहाँसम्म ल्यायौँ ।
हामीले ‘घन्टी’ बचायौँ, किनकि नेपाली जनताका लागि घन्टी बज्नु आवश्यक थियो । यो यात्रा सजिलो थिएन । देशका सबै शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामी नडरायौँ, नहल्लियौँ । किनकि हामीलाई नागरिकको चेतनामाथि पूर्ण विश्वास थियो । हामीले सधैँ भन्यौँ-एकपटक चुनाव आउन दिनुहोस्, हामी परिणाम देखाइदिन्छौँ । त्यसैले हामीले ‘८४’ को लक्ष्य पनि कोरेका थियौँ ।
जनताले हरेक गतिविधि ध्यानपूर्वक हेरिरहेका हुन्छन् । कहिलेकाहीँ केहीले जनताको चेतनामाथि नै प्रश्न उठाउँछन् तर त्यो सही होइन । जनता सचेत नभएको भए, अघिल्लो चुनावमै हामीलाई २१ सिट होइन, सिधै दुई तिहाइ बहुमत दिन सक्थे । तर जनताले विवेकपूर्ण निर्णय गरे- नयाँ शक्तिलाई अवसर दिने तर सीमित रूपमा ताकि उनीहरू बिग्रन नपाऊन् र पुराना दलहरूलाई पनि सुधारिने मौका दिने ।
तर, दुई तिहाइको शक्ति पाएको सरकारले जनताको त्यो विश्वासलाई चुनौती दियो । शक्ति प्राप्त गरेपछि आँखामा पट्टी बाँधिन्छ भने, अब त्यो पट्टी हटाउनुपर्ने समय आएको छ । पुराना राजनीतिक दलहरूलाई नेपाली जनताले ३४–३६ वर्षसम्म पर्खिए तर हामीलाई ३६ महिना त परै जाओस्, ३६ दिन पनि पर्खिने छैनन् । यो कुरा स्पष्ट बुझ्न जरुरी छ- किनकि जनता अब उच्च चेतनामा पुगेका छन् ।
अब, कानुन निर्माता र जनप्रतिनिधिका रूपमा, हाम्रो दौड स्वार्थ समूहहरूको घरतिर होइन, जनताको सेवातिर हुनुपर्छ । गुट बनाएर कांग्रेस वा एमालेलाई हराउन सकिँदैन । कुनै गुट आवश्यक छैन-घन्टीको छायाँमा सबै अट्न सक्छन् । सबैभन्दा ठूलो चुनौती भनेको ‘म’ केन्द्रित राजनीति हो- म कहाँ छु, मेरो पद के हो, मेरो हैसियत के हो भन्ने सोच ।
अब, कानुन निर्माता र जनप्रतिनिधिका रूपमा, हाम्रो दौड स्वार्थ समूहहरूको घरतिर होइन, जनताको सेवातिर हुनुपर्छ । गुट बनाएर कांग्रेस वा एमालेलाई हराउन सकिँदैन । कुनै गुट आवश्यक छैन-घन्टीको छायाँमा सबै अट्न सक्छन् । सबैभन्दा ठूलो चुनौती भनेको ‘म’ केन्द्रित राजनीति हो- म कहाँ छु, मेरो पद के हो, मेरो हैसियत के हो भन्ने सोच ।
हामी यो सोचबाट माथि उठ्न सकेनौँ र देश केन्द्रित राजनीति गर्न सकेनौँ भने, हाम्रो अवस्था पुराना दलका नेताहरूभन्दा पनि खराब हुनेछ । आजसम्म राजनीति सहमतिका नाममा नेताहरूले आफ्ना–आफ्ना स्वार्थ सुरक्षित गर्ने माध्यम बन्यो । पार्टीहरूले आफ्नो स्थान सुरक्षित राखे, नेताहरूले आफ्नो हैसियत जोगाए । तर सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो- के देश सुरक्षित भयो ? के देशलाई केन्द्रमा राखियो ? अब समय आएको छ- देशलाई केन्द्रमा राख्ने राजनीति गर्ने ।
तपाईं र मेरो मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भार यो देशले बोक्दैन । यो समाज मेरो व्यक्तिगत महत्वाकांक्षाको भारी बोक्न बाध्य छैन । बरु, यो समाजले देखेको सामूहिक सपनाको भार हामीले बोक्नुपर्ने हो । त्यसकै लागि जनताले हामीलाई मत दिएर यहाँ पठाएका हुन् । यो सामान्य कुरा होइन ।
यहाँ सहिदकी आमा हुनुहुन्छ । यो कुरा सधैँ स्मरण गर्नुपर्छ । कुनै बिचौलियासँग साठगाँठ गर्नुभन्दा अघि, एक कप चिया पिउनुभन्दा अघि, एक घुट्को पानी खानुभन्दा अघि पनि सहिदकी आमालाई सम्झिनुहोस् । उहाँले आफ्नो छोरो गुमाएर हामीलाई संसदसम्म पुर्याउनुभएको छ । यो त्याग सामान्य होइन । त्यसैले हामीमाथि आएको जिम्मेवारी पनि सामान्य हुन सक्दैन ।
देशमा अहिले बिचौलियागिरीको बिगबिगी छ । छोटो राजनीतिक यात्रामा मैले देखेका र भोगेका अनुभवहरू तपाईंसँग बाँड्दै छु । तपाईंलाई विचलित बनाउन, प्रभावित पार्न, विभाजित गर्न, कमजोर बनाउन, आकर्षित गर्न, थर्काउन- अनेकौँ प्रयास हुनेछन् । देशको अवस्था यस्तो छ कि सरकार बनेको बेलुकादेखि नै अर्को समूह त्यसलाई ढाल्न सक्रिय हुन्छ ।
हामीले पटक–पटक अभूतपूर्व जनमत प्राप्त गरेका छौँ । तर त्यही जनमतसँगै, हामीलाई फुटाउन, कमजोर बनाउन, एकअर्काप्रति अविश्वास पैदा गर्न, विभिन्न तहबाट प्रयासहरू भइरहेका छन् । त्यसैले अरूलाई दोष दिएर मात्र हुँदैन । मुख्य कुरा हामी आफैँ कति बलिया छौँ भन्ने हो । समस्या तब आउँछ, जब हामी आफैँ मिल्न सक्दैनौँ र स्वार्थको बन्दी बन्छौँ ।
विभिन्न राजनीतिक पृष्ठभूमिबाट यहाँ आउनुभएका साथीहरूलाई हार्दिक स्वागत छ । तपाईंहरूले कुनै लघुताभाव राख्नुपर्ने आवश्यकता छैन । हामीले तपाईंलाई खुला हृदयले स्वागत गरेका छौँ । तर एउटा कुरा स्पष्ट छ- पुरानो प्रवृत्तिबाट भने तपाईं पूर्ण रूपमा मुक्त भएर आउनुपर्छ । यो पाँच वर्षको नियमित चुनाव मात्र होइन, यो सहिदहरूको बलिदानबाट प्राप्त अवसर हो । त्यसैले यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने, हल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन । मलाई पनि छैन । समय गम्भीर छ, जिम्मेवारी ठूलो छ र व्यवहार पनि त्यही अनुसार हुनुपर्छ ।
नागरिकले हामीलाई नियालिरहेका छन् । हाम्रा हरेक गतिविधि, हरेक अभिव्यक्ति उनीहरूले ध्यानपूर्वक हेरिरहेका छन् । हामीलाई मत दिएका जनताको शिर झुक्ने गरी कुनै पनि अभिव्यक्ति वा क्रियाकलाप हुनु हुँदैन । सञ्चार माध्यममा बोल्दा रमाइलो लाग्न सक्छ, आफ्नो बारेमा समाचार आउँदा खुसी लाग्न सक्छ ।
तर हामीले दिने अभिव्यक्तिको प्रभाव धेरै गहिरो हुन सक्छ । विशेषगरी वैदेशिक सम्बन्ध, अर्थतन्त्र, संवेदनशील राष्ट्रिय मुद्दाजस्ता विषयमा हल्का टिप्पणीले दीर्घकालीन असर पार्न सक्छ । त्यसैले सोचेर बोल्नुहोस्, जिम्मेवारीका साथ बोल्नुहोस्, र बोल्नुभन्दा अघि पार्टी पंक्तिसँग आवश्यक सरसल्लाह गर्नुहोस् ।
अब तपाईं हिजोको व्यक्ति होइन । तपाईं जिम्मेवार सांसद हुनुहुन्छ, जिम्मेवार राजनीतिकर्मी हुनुहुन्छ, प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ । कसैलाई अझै पनि आफू ‘अभियन्ता’कै भूमिकामा छु भन्ने लाग्छ भने वा पहिले जस्तै जिम्मेवारीविहीन अभिव्यक्ति दिने सोच छ भने त्यस्तो सोच राखेर यो भूमिकामा बस्न आवश्यक छैन । किनकि अब तपाईंको दायित्व स्पष्ट छ-देशका कानुन सुधार गर्ने, आवश्यक संशोधन ल्याउने, नयाँ कानुन निर्माण गर्ने, जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने, घरघरमा खुसी पुर्याउने ।
तपाईंले महसुस गर्नुपर्छ- जसरी तपाईं अस्पताल जाँदा सहज रूपमा बेड पाउन चाहनुहुन्छ, त्यसैगरी सामान्य नागरिकले पनि कुनै ‘सोर्स’ बिना उपचार पाउनुपर्छ । त्यसैले सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमै उपचार गराउनुहोस् । यो बाध्यता होइन, तर महसुस गर्ने माध्यम हो । जनताले भोगिरहेको वास्तविकता बुझ्न, सार्वजनिक सेवा सुधार्न, यो एउटा महत्वपूर्ण अभ्यास हुन सक्छ ।
हाम्रो परिवार ठूलो भइसकेको छ । व्यवसायी, विद्यार्थी, जेन–जी पुस्ता, युवा, महिला, सीमान्तकृत समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, कवि, कलाकार, मोडल, रोल मोडल, पूर्व प्रशासक- सबैजना एउटै परिवारमा जोडिनुभएको छ । यति ठूलो परिवारलाई एउटै धार र एउटै ट्रयाकमा अघि बढाउन अनुशासन अत्यन्त आवश्यक हुन्छ ।
स्वतन्त्रता र अनुशासनबीच एउटा निकै पातलो रेखा हुन्छ । त्यही रेखा नाघ्दा समस्या सुरु हुन्छ । त्यसैले स्वतन्त्रता प्रयोग गर्दा पनि अनुशासनलाई सधैँ स्मरण गर्नुपर्छ । पार्टी स्वतन्त्रताको विरोधी होइन तर अराजकताको पक्षमा पनि होइन । अनुशासन कायम गराउने विषयमा पार्टी स्पष्ट र कडा रहनेछ । किनकि, हामी अनुशासित हुन सकेनौँ भने अराजकता पैदा हुन्छ र त्यो जनादेशको अपमान हुनेछ ।
संसद् चलिरहेका समय बाहेक तपाईंहरूको समय जनतासँग बित्नुपर्छ । जनतामाझ पुग्नुहोस्, उनीहरूको समस्या सुन्नुहोस्, समाधानका लागि काम गर्नुहोस् । त्यही नै हाम्रो असली परीक्षा हो । आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिनुहोस् । तपाईंको क्षेत्रमा कसैले दुख पायो भने त्यसको नैतिक जिम्मेवारी तपाईंको हुनेछ ।
तपाईंलाई मत दिएका जनताले तपाईंलाई आफ्नै सुखका लागि होइन, आफ्नो परिवार र समाजको भलोका लागि पठाएका हुन् । त्यसैले ठूला सम्मेलन, विदेशी सेमिनार वा औपचारिक कार्यक्रममा मात्र ध्यान नदिनुहोस् । गाउँ–टोल, चौतारो, चिया पसल, बजार, विद्यालय- जहाँ जनता छन्, त्यहाँ तपाईं निरन्तर देखिनुपर्छ । सांसद भएको सर्टिफिकेट वा पदले आफैँ ज्ञान दिँदैन । निरन्तर अध्ययन, अनुभव र नागरिकसँगको सम्बन्धले मात्र सांसदलाई सक्षम बनाउँछ ।
आज हामीले इतिहास रच्ने अवसर पाएका छौँ । संसारका धेरै देशले बिरलै पाउने अवसर- आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने अवसर- हामीलाई प्राप्त भएको छ । जनताले हामीलाई केवल सरकार बनाउन पठाएका होइनन्; उनीहरूले हामीलाई आफ्नो भाग्य, आफ्नो भविष्य र आफ्नो आशा सुम्पेका छन् । यो अवसरलाई उत्सवको रूपमा होइन, जिम्मेवारीको रूपमा लिनुपर्छ ।
यो देशको सबैभन्दा ठूलो चुनौती सामाजिक न्याय हो । आम नागरिकको आँखाले देख्ने विकास सडक, पुल, भवन, अस्पताल, पूर्वाधार जस्ता कुरामा सीमित हुन सक्छ । तर न्याय, समानता, समावेशिता र जिम्मेवारीको विकास बिना परिवर्तन स्थायी हुन सक्दैन । मेरा लागि विकासको वास्तविक सूचक सामाजिक न्याय हो । जहाँ विभेद छ, अन्याय छ, अवसरको असमानता छ, त्यस्तो समाज मान्छे बस्ने समाज हुन सक्दैन । हामीले आफ्नो प्रयासले त्यस्तो समाजलाई ‘मान्छे बस्ने समाज’जस्तो बनाउनुपर्छ ।
हामी चाहेर पनि केही समुदायका साथीहरूलाई पर्याप्त प्रतिनिधित्व दिन सकेका छैनौँ । धेरै महिला साथीहरूलाई उठायौँ, समावेशिताको प्रयास गर्यौँ तर अझै पर्याप्त भएन । त्यसलाई स्वीकार गर्ने इमानदारी पनि हामीसँग हुनुपर्छ । आगामी दिनमा समावेशिता हाम्रो प्राथमिकता हुनेछ । कर्णाली, मधेश, सुदूरपश्चिम, हिमाल, पहाड, तराई- सबै ठाउँको विकास एकसाथ हुनुपर्छ ।
विकास भनेको आफ्नो क्षेत्रमा मात्र बजेट तान्नु होइन । देश विकास गर्छ भने सिंगो देश विकास हुनुपर्छ । कर्णालीमा बाटो पुग्यो कि पुगेन ? सुत्केरी आमा बाटोमै मर्नुपर्यो कि परेन ? मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन ? स्वच्छ पानी, पोषण, स्वास्थ्य, सेवा-यही विकासका असली सूचक हुन् ।
विकास भनेको आफ्नो क्षेत्रमा मात्र बजेट तान्नु होइन । देश विकास गर्छ भने सिंगो देश विकास हुनुपर्छ । कर्णालीमा बाटो पुग्यो कि पुगेन ? सुत्केरी आमा बाटोमै मर्नुपर्यो कि परेन ? मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन ? स्वच्छ पानी, पोषण, स्वास्थ्य, सेवा-यही विकासका असली सूचक हुन् ।
अन्त्यमा, म फेरि भन्न चाहन्छु- विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु होइन । विपक्षीलाई अपमान गर्ने अधिकार जितले दिँदैन । पुराना राजनीतिक दल र नेताहरूले गरेको योगदानलाई सम्मान गर्नुपर्छ । इतिहासमा उहाँहरूको भूमिका छ र त्यसलाई अस्वीकार गरेर हामी भविष्य बनाउँदैनौँ । भविष्य बनाउने भनेको सम्मान, सम्वाद, जिम्मेवारी र परिणामका साथ अगाडि बढ्नु हो ।
अबको पाँच वर्ष सहज हुने छैन । हामी संवेदनशील समयमा उभिएका छौँ । अत्यन्त मेहनत गर्नुपर्ने समयमा छौँ । तर, यही समय अवसर पनि हो- देशको भविष्य सुरक्षित गर्ने अवसर । निजी क्षेत्रलाई निर्धक्क भएर काम गर्ने वातावरण दिनेछौँ । विदेशमा रहेका नेपाली डाइअस्पोरालाई देश निर्माणमा साथ दिन आह्वान गर्छौँ ।
अन्तर्राष्ट्रिय समुदायलाई पनि स्पष्ट सन्देश दिन चाहन्छौँ- नेपाल लगानीका लागि सुरक्षित देश हो । देशका विश्वविद्यालय, उद्योग, कलकारखाना, कामधन्दा निरन्तर चल्नुपर्नेछ, रोजगारी सिर्जना हुनुपर्नेछ, सुशासनमा नयाँ मानक स्थापना हुनुपर्नेछ, र देशलाई आर्थिक समृद्धितर्फ निरन्तर अघि बढाइनेछ ।
मुलुक अब नयाँ मान्छेहरूको हातमा छ । कतिपयले लोकतन्त्र खतरामा पर्छ कि, अधिनायकवाद आउँछ कि भन्ने आशंका व्यक्त गरिरहेका छन् । म सबैलाई विश्वास दिलाउन चाहन्छु- मुलुक राम्रो हातमा छ । जनताले दिएको मतलाई हामी प्रेम, सौहार्द्र, करुणा, चनाखोपना र जिम्मेवारीका साथ प्रयोग गर्नेछौँ । हामी अहोरात्र काम गर्नेछौँ ।
नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रममा रास्वपा अध्यक्ष रवि लामिछानेले दिएको मन्तव्यको सम्पादित अंश ।























