नेजाद्वारा सामुदायिक पत्रकारिता र डायस्पोरा विषयक कार्यक्रम सम्पन्न
२०८३ भदौ ८ सोमवार ०१:४३
shares

अगस्ट १६, क्यानाडा- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले क्यानाडामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा इन क्यानाडा थ्रु कम्युनिटी जर्नालिज्म’ विषयमा एक कार्यक्रम सम्पन्न गरेको छ । नेजाको आयोजना तथा एनआरएनए क्यानाडा र फेडेरेसन अफ क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको सहआयोजनामा अगस्ट ९, २०२६ आइतबार क्यानाडाको टोरन्टो सहरमा सो कार्यक्रम गरिएको हो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत भरतराज पौड्यालले विदेशमा रहेका नेपालीहरूलाई स्वदेशमै लगानी गर्न जोडदार आह्वान गर्नुभएको थियो । यसैगरी, युनिभर्सिटी अफ ओटवाका प्राध्यापक डा. भानुभक्त आचार्यले पत्रकारितामा एआईको प्रयोग, यसका राम्रा र नराम्रा पक्षबारे अनुभव प्रस्तुत गर्नुभएको थियो ।

दुई भागमा विभाजन गरिएको कार्यक्रमको पहिलो सत्रमा क्यानाडामा नेपाली पत्रकारिताका अभ्यास, चुनौती र सम्भावना तथा पत्रकारितामा एआईको प्रयोगबारे चर्चा गरिएको थियो । यसैगरी, दोस्रो सत्रमा क्यानाडामा व्यवसाय सञ्चालनका अनुभव तथा नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
पहिलो सत्रमा नेपाल टच मिडियाका सम्पादक बेनुप भट्टराईले क्यानाडामा नेपालीभाषी पाठक, दर्शक र श्रोतालाई लक्षित गरी पत्रकारिता गर्दाका चुनौती र सम्भावनाबारे आफ्ता विचार प्रस्तुत गर्नुभएको थियो । यसैगरी, नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसीएनसी) का अध्यक्ष वेदनिधी गौतमले विदेशमा बस्ने नेपालीलाई विदेशबाटै सञ्चालित नेपाली भाषाका सञ्चारमाध्यमले मातृभाषामै समाचार प्रवाह गरिरहेको बताउनुभएको थियो । यस्तै, अनुभवी पत्रकार अनिल थापाले सैद्धान्तिक पक्षबारे चर्चा गर्दै बदलिँदो समयमा पत्रकारिताको मूल्य-मान्यता जोगाएर पाठकलाई सुसूचित गर्ने काममा चुनौती र अवसर दुवै रहेको बताउनुभएको थियो ।
दोस्रो सत्रमा सहभागी व्यवसायी तथा विज्ञहरूले लगानीका अवसरसँगै यसका चुनौतीबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । टोरन्टोस्थित सेन्टेनियल कलेजका प्राध्यापक डा. तुल्सी धरेल, व्यवसायी तथा सामाजिक अगुवा विजय पौडेल, रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्ट्यान्ट मुगाराज भण्डारी र रियल्टर ऋषिराम गैरे प्यानलिस्टका रूपमा प्रस्तुत हुनुहुन्थ्यो ।

सो कार्यक्रमको पहिलो सत्रको सहजीकरण नेजाका सदस्य यशोदा तिम्सिना र दोस्रो सत्रको सहजीकरण एनआरएनए क्यानाडाका वरिष्ठ उपाध्यक्ष डा. पुण्यसागर मरहट्टाले गर्नुभएको थियो ।
कार्यक्रममा एनआरएनएका सचिव अभिमन्यु बस्नेत, नेजा क्यानाडा पूर्वसंयोजक गोकर्ण लामिछाने, लक्ष्मण मण्डल, नवीन लुइँटेल, डा. चन्द्र पौडेल, लेखक नरेश ज्ञवाली, दिलीप पौडेल, जयराम गौतम, शिशिर सिम्खडा, लोकबहादुर गुरुङ, देवेन्द्र नेपाल, धर्म न्यौपाने, विजय अधिकारी, विन्देश खनाल, विकास गौतमलगायत समाजसेवी एवम् सञ्चारकर्मीले आ-आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।
समाचार स्रोत: नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।





















