सांसद आकृति अवस्थीकाे संघर्ष र सफलताको नयाँ अध्याय
ज्ञान, संघर्ष र सेवाको यो यात्राले सांसद आकृति अवस्थीलाई नयाँ पुस्ताको अध्ययनशील, संवेदनशील र परिणाममुखी राजनीतिक नेतृत्वका रूपमा थप स्थापित गरेको छ
२०८३ असार १३ शनिवार ००:२२
shares

आर्टिकल्स पेपर, काठमाडौँ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले सुदूरपश्चिम विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्दै सार्वजनिक नेतृत्व र शैक्षिक उत्कृष्टताको प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएकाे छ ।
व्यस्त संसदीय जिम्मेवारीका बीच पनि अध्ययनलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गर्नुभएकी अवस्थीले राजनीति र ज्ञानलाई सँगसँगै अघि बढाउन सकिने सन्देश दिनुभएकाे छ । विकास अध्ययनमा प्राप्त यो उपाधिले सामाजिक न्याय, महिला सशक्तीकरण, समावेशी विकास र प्रमाणमा आधारित नीति निर्माणप्रतिको उनको प्रतिबद्धतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
व्यस्त संसदीय जिम्मेवारीका बीच पनि अध्ययनलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गर्नुभएकी अवस्थीले राजनीति र ज्ञानलाई सँगसँगै अघि बढाउन सकिने सन्देश दिनुभएकाे छ ।
राजनीतिमा प्रवेश गर्नुअघि अवस्थीले छ वर्षभन्दा बढी समय विकास, मानवीय सहायता, विपद् व्यवस्थापन, लैङ्गिक समानता, समुदाय सशक्तीकरण, जलवायु अनुकूल विकास तथा सीमापार जलस्रोत व्यवस्थापन जस्ता क्षेत्रमा काम गर्नुभएकाे छ । अक्सफाम र मर्सी कोप्र्स जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य, परियोजना व्यवस्थापन, महिला नेतृत्व, खाद्य तथा पोषण सुरक्षा र समुदायमा आधारित विकासका क्षेत्रमा उनको अनुभव उल्लेखनीय रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा ‘यङ्ग फेमेनिस्ट लिडरसिप एसिया पोग्राम–थाइल्याण्ड’ र ‘एसिया युथ क्याइमेट जस्टिस क्याम्प–बंगलादेश’मा सहभागिता जनाएकी अवस्थीले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म विकास र सामाजिक न्यायका मुद्दामा आफ्नो नेतृत्व क्षमता स्थापित गरिसक्नुभएकाे छ।
आकृति अवस्थी हालैका जेन–जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका युवा मुकेश अवस्थीकी दिदी पनि हुनुहुन्छ । प्रदर्शनका क्रममा गोली लागेर मुकेश अवस्थीले आफ्नो एक खुट्टाको तल्लो भाग गुमाएका थिए । परिवारले भोगेको त्यो पीडादायी अनुभवले मानव अधिकार, सामाजिक न्याय र राज्यको जवाफदेहिताका विषयमा आकृति अवस्थीको संवेदनशीलता र प्रतिबद्धतालाई अझ गहिरो बनाएको उहाँका निकटस्थहरू बताउँछन्।
संसदमा महिला तथा सामाजिक मामिला समितिको नेतृत्व गरिरहनुभएकी अवस्थीको यो शैक्षिक उपलब्धिले अब महिला अधिकार, सामाजिक सुरक्षा, युवा अवसर, जलवायु न्याय, विपद् व्यवस्थापन र समावेशी विकासका मुद्दामा उहाँको नीति निर्माण क्षमतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
ज्ञान, संघर्ष र सेवाको यो यात्राले सांसद आकृति अवस्थीलाई नयाँ पुस्ताको अध्ययनशील, संवेदनशील र परिणाममुखी राजनीतिक नेतृत्वका रूपमा थप स्थापित गरेको छ ।





















