काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले संगठन...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रुपमा पठाएको ७...

पुरा पढ्नुहाेस्

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी...

पुरा पढ्नुहाेस्

सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : पराजुली

658
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध नेपालको परिकल्पना पूरा गर्न सकिने बताउनुभएको छ ।

नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलीले संसद्का विभिन्न समितिमार्फत नीतिगत सुधारका लागि काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो पुस्ताले राजनीति मार्फत राष्ट्रलाई सही दिशामा अगाडि बढाउने जिम्मेवारी लिएको भन्दै त्यसका लागि नागरिकको विश्वासलाई बलियो आधारका रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले संसद्को प्रभावकारी अभ्यासबाट नीति निर्माण र सुधारका केही उदाहरण स्थापित गर्न सफल भएको उल्लेख गर्दै राजनीतिले दिएको अवसर र जनताले गरेको विश्वासलाई परिणाममा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । पराजुलीले समृद्ध नेपालको परिकल्पनाको आधार सुशासनयुक्त समाज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बलियो धरातल निर्माण गर्नुपर्छ । त्यो धरातल भनेको सुशासनयुक्त समाज हो,” पराजुलिले भन्नुभयो, “सुशासनको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार हो । त्यसलाई अन्त्य गर्न प्रणाली सुधारमा केन्द्रित भएर काम गर्न आवश्यक छ ।”

उहाँले नेपालको प्रशासनिक तथा शासकीय प्रणाली विगतदेखि नै विभिन्न विकृति र विसंगतिबाट प्रभावित रहेको उल्लेख गर्दै त्यसको असर निजी क्षेत्रसम्म पुगेको बताउनुभयो । निजी क्षेत्र सञ्चालन गरिरहेका व्यवसायीहरूसँग पनि राज्य संयन्त्रसँग सम्बन्धित अनेक अनुभव रहेको उहाँको भनाइ थियो ।

“व्यवसाय सञ्चालनका क्रममा बाध्यता वा व्यक्तिगत स्वार्थका कारण विकसित भएका विकृतिहरू समयसँगै संस्थागत समस्याका रूपमा देखा परे,” उनले भने, “ती समस्यालाई समाधान गर्न विभिन्न कालखण्डमा नेताहरूले प्रतिबद्धता जनाए, प्रयास पनि गरे। तर समस्या यति गहिरो भइसकेको थियो कि त्यसको प्रभावकारी समाधान सहज थिएन ।”

उहाँले विगतका शासक तथा नेतृत्व तहका व्यक्तिहरूले आफन्त र निकट वर्तीहरूमाथि कारबाही गर्न नसक्दा भ्रष्टाचार र विकृति नियन्त्रण हुन नसकेको टिप्पणी गर्नुभयो । त्यस्ता कमजोरीका कारण राज्य प्रणालीमा सुधार अपेक्षाअनुसार हुन नसकेको उहाँको भनाइ छ ।

सांसद पराजुलीले अहिले भने त्यस्तो अवस्थाबाट मुक्ति पाउने समयको सुरुवात भएको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारले कानुनी शासन र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने बताउनुभयो ।

“सरकारले नियमनको प्रक्रियालाई कडाइका साथ लागू गर्दै सुशासन कायम गर्नुपर्छ,” उहाँले भन्नुभयो, “कानुन साना व्यक्तिलाई मात्र होइन, शक्तिशाली र प्रभावशाली व्यक्तिलाई पनि समान रूपमा लागू हुन्छ भन्ने विश्वास स्थापित गर्न सके मात्रै भ्रष्टाचारको जरा हल्लाउन सकिन्छ ।” उहाँले शक्तिशाली व्यक्तिहरूलाई कानुनी दायराभन्दा बाहिर राखेर सुशासनको लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पार्नुभयो । जनताले देखेको समृद्ध र व्यवस्थित नेपालको सपना पूरा गर्न कानुनको निष्पक्ष कार्यान्वयन अपरिहार्य रहेको उहाँको भनाइ थियो।

पराजुलीले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रले पनि सुशासन अभियानमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । “यो अभियान डरको होइन, विश्वासको अभियान हो,” उनले भने, “राष्ट्र निर्माणको महाअभियानमा निजी क्षेत्रले पनि अग्रसरता देखाउनुपर्छ। सरकारले प्रणालीभित्र रहेका विकृति र फोहोरहरू नियन्त्रण गर्ने काम गरिरहेको छ ।”

उहाँले सरकार, निजी क्षेत्र र नागरिक समाजबिच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सके मुलुकलाई आर्थिक समृद्धि र सुशासनतर्फ अघि बढाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।