यूएईका राष्ट्रपति र नेपालका प्रधानमन्त्री कार्कीबीच टेलिफोन वार्ता
२०८२ फागुन २३ शनिवार १९:२९
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
संवादका क्रममा प्रधानमन्त्री कार्कीले यूएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गर्नुभएको छ । युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उहाँले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताउनुभयो । नेपालले परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकोमा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकहरू सहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसहरूको समान रूपमा हेरचाह गरेकोमा यूएई सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाएको थाहा पाउँदा आफूलाई धेरै दुःख लागेको बताउनुभयो । साथै ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको बताउनुभयो ।
उक्त अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्द्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासहरुमा गरेको निरन्तर योगदानप्रति यूएईका राष्ट्रपतिको कुशल नेतृत्वको उच्च प्रशंसा पनि गर्नुभयो । आगामी वर्षहरूमा आर्थिक साझेदारी र जनता-जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै हाम्रो द्विपक्षीय सम्बन्ध थप विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
उहाँले महामहिम राष्ट्रपति, यूएई सरकार र यूएई जनतालाई यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भनी नेपालको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो । टेलिफोन संवादका क्रममा उहाँले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्ततः नयाँ कूटनीतिको लागि ठाउँ उपलब्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताउनुभयो ।
उहाँले तत्कालको लागि नेपाली नागरिकहरूको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताउनुभयो । ट्रान्जिटमा रहेका यात्रुहरू बिस्तारै नेपाल वा तेस्रो देशहरूमा आ-आफ्ना गन्तव्यहरूमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने कुरामा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यूएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रको रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति यूएईको तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो ।
उहाँले नेपाल र यूएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीहरुको मेहनती बानी र असल आचरणको प्रशंसा गर्नुभयो । साथै संवादका क्रममा यूएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतहरुले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । नेपालीहरुको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको कुरा पनि व्यक्त गर्नुभयो ।
यसबीचमा केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै उहाँले परिस्थिति सहज भएपछि सहजीकरणका लागि सबै किसिमको सहयोग उपलब्ध गराइनेसमेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री सुशीला कार्की र यूएईका राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानबीचको कुराकानी सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।



















