मध्यपूर्व द्वन्द्वको प्रभाव : भारतका अधिकांश अन्तर्राष्ट्रिय उडान स्थगित
२०८२ फागुन १९ मंगलवार १३:३१
shares

एजेन्सी। । मध्यपूर्वमा जारी युद्धका कारण भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सेवा व्यापक रूपमा प्रभावित भएको छ । क्षेत्रीय हवाई क्षेत्रहरू अस्थायी रूपमा बन्द गरिएपछि भारत-खाडी गन्तव्यबीचका धेरै उडानहरू रद्द भएका छन् ।
विमानस्थल अधिकारीहरूका अनुसार मध्यपूर्वका विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि उडान सञ्चालन लगभग शून्यमा झरेको छ । यसले भारतबाट दैनिक रूपमा सञ्चालन हुने खाडी क्षेत्रका नियमित उडानमा प्रत्यक्ष असर पारेको छ ।
दक्षिण भारतस्थित कोइम्बटूर अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित विमानस्थलमध्ये एक हो । विमानस्थलका निर्देशक मोहम्मद आरिफले एएनआईसँग कुरा गर्दै मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण त्यहाँको हवाई क्षेत्र बन्द हुँदा उडान सञ्चालन न्यूनतममा सीमित भएको बताउनुभयो ।
कोइम्बटूरबाट अबुधाबी र शारजाहका लागि सिधा उडान सञ्चालन हुँदै आएको थियो । इन्डिगोले अबुधाबीका लागि हप्तामा चार दिन मंगलबार, बिहीबार, शनिबार र आइतबार उडान सञ्चालन गर्दै आएको थियो भने एयर अरेबियाले शारजाहका लागि हप्तामा पाँच दिन सेवा दिँदै आएको थियो ।
तर पछिल्ला दिनहरूमा यी अधिकांश उडानहरू रद्द भएका छन् । शनिबार शारजाह उडान सामान्य रूपमा सञ्चालन भए पनि अबुधाबी उडान रद्द गरियो । आइतबार दुवै गन्तव्यका उडान रद्द भए । सोमबार शारजाह उडान तालिकामा रहे पनि रद्द गरियो भने अबुधाबी उडान सञ्चालन भएन। मंगलबारका लागि दुवै गन्तव्यका उडान रद्द गरिएको जनाइएको छ ।
अन्य भारतीय विमानस्थलहरूबाट हुने मध्यपूर्व गन्तव्यका उडानहरूमा पनि यस्तै असर देखिएको छ। उडान रद्द भएपछि हजारौँ यात्रु प्रभावित भएका छन् भने वैकल्पिक यात्रा व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ ।



















