डीएफडब्लू मेघा होली सम्पन्न
तीन हजारभन्दा बढीको सहभागिता
२०८२ फागुन १८ सोमवार ०७:०५
shares

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सासमा होली मनाइयो । नेपाली समाज टेक्सास्, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र र ईन्द्रेणी साँस्कृतिक संघको आयोजनामा यही मार्च १, २०२६ मा टेक्सासस्थित ग्रेपभाइन सहरमा ‘डीएफडब्लु मेघा होली’ कार्यक्रम धुमधामका साथ मनाइयो । होली पर्वको अवसरमा आपसी सद्भाव, प्रेम र उल्लास साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको होली कार्यक्रममा नेपालीको बाक्लो उपस्थिति रहेको थियो ।
प्रवास रहेर पनि नेपालको पहिचान एवम् संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ होलीको आयोजना गरिएको आयोजक संस्थाको धारणा रहेको छ । नेपाललाई विश्वभर चिनाउनका लागि गरिने विविध कार्यक्रममध्ये होली पनि एक रहेको छ ।
सो कार्यक्रममा सहभागी हुनेको अनुमानित संख्या तीन हजारभन्दा बढी रहेको नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुसालले जानकारी दिनुभयो । होलीलाई थप उल्लासमय वातावरण बनाउनका लागि नेपाली पहिचान झल्काउने पन्चेबाजाका साथै सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई व्यवस्थित र साझा बनाउन विभिन्न संघ–संस्थाको विशेष सहयोग रहेको थियो । सहयोगी संघ-संस्थाहरूः- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, टेक्सास च्याप्टर; लुम्बिनी सेवा समाज – अमेरिका; मगर संघ अमेरिका – टेक्सास समिति; सूदुर-पश्चिम नेपाली समाज – टेक्सास, यूएसए; नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स – डालस, टेक्सास; नेप्लिज बुद्धिस्ट एसोसिएसन – टेक्सास; युनाइटेड नेवा – यूएसए; युनाइटेड नेप्लिज एसोसिएसन – यूएनए; तामाङ सोसाइटी अफ टेक्सास; मधेशी एकता समाज; मधेशी एसोसिएसन इन अमेरिका; किरात याक्थुङ चुम्लुङ टेक्सास – यूएसए; किरात राई सोसाइटी अफ अमेरिका; झापाली समाज यूएसए; गुल्मेली चौतारी टेक्सास; अमेरिका मधेशी समाज; डालस हिमालयन स्पोर्ट्स लायन्स क्लब; टेक्सास थारू सोसाइटी; नेपाली साङ्गीतिक साँस्कृतिक समुह – टेक्सास; र टेक्सोमा नेप्लिज सोसाइटी रहेका थिए ।

होली पर्वलाई विशेषगरी हिन्दू धर्मावलम्बीले मनाउने “रंगहरूको पर्व” भनेर चिनिन्छ। होली पर्वलाई आपसी मेलमिलापको रुपमा पनि लिने गरिन्छ । यस पर्वलाई विशुद्ध सांस्कृतिक पर्वको रुपमा लिने गरिएको हुँदा यो पर्वमा स्वतःस्फूर्त रुपमा सम्पूर्ण नेपालीको उपस्थिति रहने गरेको छ । यो पर्वलाई केवल हिन्दूहरूको पर्व रुपमा मात्र नभएर सांस्कृतिक विविधता र सामाजिक एकताको प्रतीकको रुपमा लिने गरिन्छ । नेपालमा होली पर्व फागुन महिनाको पूर्णिमाका दिन (पहाडी क्षेत्रमा) र त्यसको भोलिपल्ट (तराई क्षेत्रमा) मनाउने गरिन्छ । यो पर्व विशेषगरी नेपाल र भारतमा निकै उल्लासपूर्वक मनाउने गरिन्छ ।



















