स्वीकृतिबिना भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
२०८२ फागुन ६ बुधवार ११:०८
shares

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई भित्तेपात्रो वा क्यालेन्डर प्रकाशन गरे १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो तथा क्यालेन्डर प्रकाशन गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको हो ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार कानुनअनुसार समितिबाट अनुमति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरेमा अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना हुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने उल्लेख छ । साथै, समितिको दिग्दर्शनको परिच्छेद १५ अनुसार स्वीकृति नलिई पात्रो वा क्यालेन्डर प्रकाशन गरेमा १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ ।
स्वीकृति बिना प्रकाशन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ । बेच्ने उद्देश्यले प्रकाशन गरिने तथा निःशुल्क वितरण गरिने दुवै प्रकारका पात्रो र भित्तेपात्रोका लागि अनिवार्य रूपमा स्वीकृति लिनुपर्नेछ ।
समितिले स्वीकृतिका लागि शुल्कसमेत निर्धारण गरेको छ । शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेन्डरका लागि दुई हजार, निःशुल्क वितरण गरिने क्यालेन्डरका लागि पाँच हजार र मूल्य तोकेर बिक्री गरिने क्यालेन्डरका लागि १० हजार रुपैयाँ शुल्क लाग्नेछ ।
















