गगन थापा : गर्विलो कांग्रेसको सपना बोकेका नेता
२०८२ फागुन ४ सोमवार १५:३९
shares

काठमाडौं । जेन-जी आन्दोलनको बलमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार अपदस्त भएपछि गगनकुमार थापाले राजनीति हस्तक्षेप ठोस रुपमा आरम्भ गर्नुभएको थियो । त्यही आन्दोलन उहाँका लागि नेपाली कांग्रेसको नेतृत्व गर्ने आधार बन्यो ।
पुस २७ र २८ गते काठमाडौंमा आयोजित विशेष महाधिवेशनबाट निर्वाचित गगनले नेपाली कांग्रेसको कमान्ड सम्हाल्ने औपचारिक अवसर प्राप्त गर्नुभएको हो । गगनले आह्वान गरेको कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले माघ २ गते आधिकारिकता प्रदान गरेको थियो ।
मुलुककै सबैभन्दा पुरानो दलको नेतृत्वमै हस्तक्षेप गरेर राजनीतिक बाजी मार्नुभएका गगन यतिबेला मधेस प्रदेशको सर्लाही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो गरिरहनुभएको छ । विशेष महाधिवेशनबाट पार्टी सभापति चयन भएपछि उहाँले चुनावी क्षेत्र पनि फेर्नुभएको हो ।
उहाँले यसअघि काठमाडौं ४ मा तीन पटक जित्नुभएको छ । २०७० सालको संविधानसभा तथा २०७४ र २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं ४ बाट उहाँ निर्वाचित हुनुभएको थियो । तर, यसपटक ३३ वर्षीय सचिन तिमल्सेनालाई आफ्नो ‘अड्डा’ सुम्पिएर गगन मधेस झर्नुभएको छ ।
काठमाडौं ४ मा उहाँले २०७० को संविधानसभा चुनावमा एमालेका निर्मल कुइँकेल र एकीकृत माओवादीका नन्दकिशोर पुनलाई पराजित गर्नुभएको थियो । त्यस्तै २०७४ र २०७९ मा उहाँले एमालेका राजन भट्टराईलाई प्रतिनिधिसभा पुग्नबाट रोक्नुभयो ।
अहिले कतिपयले गगनलाई काठमाडौं ४ मा जित्ने सम्भावना नदेखेर सुरक्षित क्षेत्र खोज्दै कांग्रेसको गढ सर्लाही ४ पुगेको बताइरहेका छन् भने कतिपयले गगनले मधेसबाट चुनाव जितेर फरक सन्देश दिन खोजेको उल्लेख गरेका छन् ।
तर, सर्लाही ४ पनि गगनका लागि सतप्रतिशत सुरक्षित स्थान भने होइन । कांग्रेसकै पूर्वनेता अमरेश कुमारले २०७९ को चुनावमा यो क्षेत्रबाट स्वतन्त्र उठेर चुनाव जित्नुभएको थियो । यसपटक अमरेश राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाहका कारण अमरेश थप बलियो भएको आकलन धेरैले गरिरहेका छन् । त्यसकारण पनि सभापति गगनले चुनावी रणनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने कतिपय विश्लेषकहरुले बताइरहेका छन् ।
‘राजनीतिक सन्तुलन र परिपक्वताका हिसाबले पनि गगनले जित्नुपर्छ’ भन्नेहरुको मत बलियो भए पनि रास्वपाका पक्षमा आइरहेको देशव्यापी उभारका कारण भने गगनका लागि सर्लाही फलामको चिउरा सरह हुने भने निश्चित छ ।
गगनको विगत
गगनको राजनीति कलेज जीवनबाटै आरम्भ भएको हो । त्रिचन्द्र क्याम्पसमा आईएस्सी अध्ययन गर्दादेखि नै उहाँले नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सक्रिय राजनीति थाल्नुभएको हो । २०५१ सालमा स्ववियु सदस्य निर्वाचित हुनुभएका उहाँ दुई वर्षपछि नै त्रिचन्द्र क्याम्पसको सभापति बन्न सफल हुनुभयो ।
त्यसपछि उहाँको राजनीतिक यात्रा निरन्तर उकालो लागिरह्यो । २०५७ सालमा नेविसंघको उपाध्यक्ष बन्नुभएका उहाँ २०५९ मा महामन्त्री निर्वाचित हुनुभयो । महामन्त्रीका रूपमा विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा उत्रिनुभएका गगन राजद्रोहको आरोपमा पटक–पटक पक्राउ पर्नुभयो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि चर्किएको विद्यार्थी आन्दोलनमा गगन अग्रपंक्तिमै रहनुभयो । २०६० पुस १ मा शाही शासनविरुद्ध भएको आन्दोलनका क्रममा सूर्यबहादुर थापा नेतृत्वको सरकारले नेविसंघका अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री गगन थापा तथा अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गरेको थियो ।
गगनले २०५९ सालदेखि नै गणतन्त्रको वकालत गर्दै आउनुभएको थियो । यही मुद्दाले उहाँलाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो । २०६२ भदौमा सम्पन्न कांग्रेसको महाधिवेशनले विधानबाट ‘संवैधानिक राजतन्त्र’ हटायो । दोस्रो जनआन्दोलन २०६२/६३ मा पनि गगन विद्यार्थी नेताका रूपमा अग्रपंक्तिमा सक्रिय रहनुभयो ।
जनआन्दोलनको सफलतापछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा गगन समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्न सफल हुनुभयो । २०६७ असोजमा सम्पन्न १२औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।
२०७२ फागुनमा भएको १३औं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरे पनि उहाँ सफल हुन सक्नुभएन । तर, २०७८ मा सम्पन्न १४औं महाधिवेशनमा शेरबहादुर देउवा सभापति निर्वाचित हुँदा नेता शेखर कोइरालाको पक्षमा उभिनुभएका गगन थापा स्वयं महामन्त्रीमा निर्वाचित हुनुभयो ।
पार्टीभित्र उहाँले प्रायः प्रतिपक्षीजस्तै भूमिका निर्वाह गर्दै आउनुभएको थियो । सत्ता र शक्तिको आडमा तत्कालीन सभापति देउवा तथा उहाँकी पत्नी आरजु राणा देउवामार्फत पार्टी सञ्चालन भइरहेको भन्दै गगनले आलोचनात्मक धार निरन्तर प्रस्तुत गर्दै आउनुभएको थियो । उहाँ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पटक–पटक दबाबमा परे पनि आफ्नो अडानबाट पछि हट्नुभएन ।
भदौ २३–२४ को ‘जेन–जी आन्दोलन’को पृष्ठभूमिमा गगनले देखाएको सक्रियता अन्ततः विशेष महाधिवेशनमार्फत विद्रोही स्वरूपमा रूपान्तरित भयो । महाधिवेशन प्रतिनिधिहरूको समर्थन पाएपछि गगन थापा मुलुककै पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुन सफल हुनुभयो ।
पार्टीमा सकारात्मक हस्तक्षेपका कारण गगन एउटा पुस्तालाई चार दिवारभित्र सीमित गरिदिन सफल हुनुभएको छ । अझ भनौँ, ‘पार्टीका ऐंजेरु’ मिल्काउन सफल हुनुभएको छ । पहिलो चरणमा उहाँले पार्टीगत राजनीतिमा ठुलो फड्को मार्नुभएको छ । राजनीति लामो रेशको घोडा हो भन्नेमा स्पष्ट रहनुभएका गगन यसपटकको चुनावी प्रतिस्पर्धा र जितका लागि मात्र अघि बढ्नुभएको छैन ।
पार्टी सुदृढ भयो भने गुमेको साख फेरि फर्किन्छ र आगामी निर्वाचनमा बलियो प्रजातान्त्रिक दलका रुपमा पुन:स्थापित भइन्छ । गगनको अहिलेको यात्रा सर्लाही ४ मात्र होइन, पार्टीलाई ‘गर्विलो कांग्रेस’का रुपमा स्थापित गर्ने हो ।


















