एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

नेपालमा पुस्तकालय : अवस्था र महत्त्व

3.7K
shares

ज्ञानको भण्डार, सफलताको आधार, बौद्धिक घर, विचार जन्माउने स्थान, समृद्धिको आधार आदि थुप्रै वाक्यले पुकारिने स्थानको नाम हो, पुस्तकालय । यति धेरै वाक्यले सम्बोधन हुने स्थान- पुस्तकालय एक शैक्षिक, सामाजिक र सांस्कृतिक विकासका लागि अपरिहार्य शैक्षिक संस्था हो ।

पुस्तकालयलाई पुस्तक, पत्रपत्रिका, सन्दर्भ-सामग्री, डिजिटल स्रोत तथा अन्य सूचना-सामग्रीलाई वैज्ञानिक एवं व्यवस्थित रूपमा संकलन, वर्गीकरण, संरक्षण गरी प्रयोगकर्ताका लागि सहज रुपमा सेवा उपलब्ध गराउने शैक्षिक एवं सूचनात्मक संस्था भनिन्छ ।

हरेक वर्ग, क्षेत्र, पेसा, जात-जाति आदिका लागि उपयुक्त ज्ञान एवं सूचना संकलन र संरक्षण गरी आमपाठकसमक्ष पहुँच प्रदान गर्ने, पठन संस्कृतिको विकास गर्ने, अनुसन्धान र व्यावहारिक ज्ञानको प्रवर्धन गर्ने, शिक्षा र अध्ययनलाई सहयोग गर्ने, डिजिटल तथा सूचना साक्षरतालाई विकास गर्नेजस्ता विविध उद्देश्य पुस्तकालयको रहेको हुन्छ ।

अतः सबै प्रकारका शैक्षिक सामग्री संकलन गरी यत्र-तत्र-सर्वत्र पुर्‍याउने र सभ्य, शिक्षित एवं सफल समाजको निर्माण गर्ने हेतुले विश्वमा पुस्तकालयको स्थापना गरिएको पाइन्छ । यहाँ हाल नेपालमा पुस्तकालयको अवस्था, व्यवस्था र उपयोगिताका सम्बन्धमा चर्चा गरौं –

नेपालमा पुस्तकालयको इतिहास

नेपालको मध्यकालीन समयमा पुस्तकालयलाई ‘ग्रन्थालय’ नामले जानिन्थ्यो भने पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विभिन्न स्थानका हस्तलिखित ग्रन्थ हनुमान ढोकामा जम्मा गर्न थालिएको पाइन्छ । राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा १८६९ साल भाद्र १५ गतेका दिन ‘पुस्तक चिताई तहबिल’ भनी लालमोहर जारी भयो । ‘चिताई’ भन्नाले रेखदेख र ‘तहबिल’ भन्नाले ढुकुटी वा सङ्ग्रह भन्ने बुझिन्छ । औपचारिक रूपमा यसैलाई नेपालको पहिलो पुस्तकालय मानिन्छ ।

राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा १८६९ साल भाद्र १५ गतेका दिन ‘पुस्तक चिताई तहबिल’ भनी लालमोहर जारी भयो । ‘चिताई’ भन्नाले रेखदेख र ‘तहबिल’ भन्नाले ढुकुटी वा सङ्ग्रह भन्ने बुझिन्छ । औपचारिक रूपमा यसैलाई नेपालको पहिलो पुस्तकालय मानिन्छ ।

यहाँ रहेका पाठ्यसामग्री श्री ३ जंगबहादुर राणाले १९०४ सालमा थापाथली दरबारको जैसी कोठामा सारे भने १९५३ सालमा वीरशमशेरले दरबार स्कुलमा सारी ‘दरबार लाइब्रेरी’ नाम राखेका थिए । १९५७ सालमा त्यहाँबाट सबै शैक्षिक सामग्री घन्टाघरमा सारी ‘वीर पुस्तकालय’ अथवा ‘घन्टाघर लाइब्रेरी’ को नाममा सञ्चालन भएको थियो । २०२४ सालमा रामशाहपथमा नयाँ भवन बनाई यहाँका सबै सामग्री त्यहाँ राखिएको र यसलाई राष्ट्रिय अभिलेखालयको नाम दिइएको पाइन्छ ।

नेपालको पहिलो पुस्तकालयका सामग्री रहेको पुरातत्व विभागअन्तर्गत उक्त राष्ट्रिय अभिलेखालयमा विभिन्न विषय र महत्त्वका पुराना पाठ्यसामग्रीदेखि नेपाल सरकारद्वारा राष्ट्र सञ्चालनका क्रममा भए/गरेका महत्त्वपूर्ण सरकारी दस्तावेजको संकलन गर्ने गरिएको छ । हाल यहाँ कला, कौशल, धर्म, संस्कृति आदिका बारेमा जानकारी दिने विविध पाठ्यसामग्रीका साथै १४ लिपिका हस्तलिखित सामग्री छन् ।

२००७ सालअघि खुलेका पुस्तकालय

१९०३ सालदेखि राणाहरूले एकतन्त्रीय शासन सञ्चालन गरेपछि जनतालाई शिक्षाबाट वञ्चित गराइए तापनि निजी प्रयोजनका लागि केही पुस्तकालयको स्थापना गरेको पाइन्छ । जसमा वीर पुस्तकालय, केसर पुस्तकालय, सिंह पुस्तकालय आदि रहेको पाइन्छ ।

१९८६ सालमा सर्वसाधारणको उपयोगका लागि सार्वजनिक पुस्तकालय खोलेबापत महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत ४६ जना युवालाई भीमशमशेरले देशद्रोहीको आरोप लगाई जनही सय रुपैयाँ जरिवाना गराएका थिए । यो घटनालाई ‘लाइब्रेरी पर्व’ पनि भनिन्छ ।

राणा शासकको डरका बाबजुद पनि २००७ सालअगाडि उपत्यकाबाहिर विभिन्न पुस्तकालय रहेको पाइन्छ । अम्बिकाप्रसाद लाकौलको अगुवाइमा १९८३ सालमा पाल्पाको तानसेनमा ‘पुस्तक पढ्ने दलान’ नाम राखी पुस्तकालय स्थापना गरिएको थियो । यही पुस्तकालय २००४ सालदेखि ‘धवल पुस्तकालय’ को नाममा सञ्चालित छ ।

यसका साथै प्रदीप्त पुस्तकालय काठमाडौं–२००३, आदर्श पुस्तकालय विराटनगर–२००३, शारदा पुस्तकालय पाटन–२००३, विद्यामन्दिर पुस्तकालय बागलुङ–२००३, महावीर पुस्तकालय बुटवल–२००४, सार्वजनिक विद्याभवन पुस्तकालय धरान–२००४ लगायत अन्य विभिन्न स्थानमा पुस्तकालयको स्थापना भएको पाइन्छ । २००७ सालपछि भने देशभरि निर्वाध रूपमा पुस्तकालय खुलेको पाइन्छ ।

यसैबीच, ‘दिगो विकासका लागि आय-आर्जन प्रोजेक्ट’ भन्ने नाराका साथ सन् १९९१ मा स्थापित रिड नेपाल नामक गैरसरकारी संस्थाले नेपालमा सामुदायिक पुस्तकालयको स्थापना गर्दै आएको छ । विशेषगरी समुदायलाई लक्षित हालसम्म विभिन्न जिल्लामा गरी ४९ ओटा सामुदायिक पुस्तकालय स्थापना भएका छन् ।

संस्थाको नियमअनुसार समुदायले जग्गा उपलब्ध गराई अवन निर्माणमा १५ देखि २० प्रतिशत हिस्सा बेहोर्ने र आय-आर्जनको स्रोत जुटाउने भएमा यस संस्थाले सो स्थानमा उपयुक्त हुने पाठ्यसामग्री उपलब्ध गराई पुस्तकालय स्थापना गर्ने गर्छ ।

यस्तै, सन् २००० मा स्थापित ‘शिक्षित बालबालिकाबाट नै विश्व परिवर्तन हुन्छ’ भन्ने नाराका साथ रुम टु रिड नामक गैरसरकारी संस्थाले नेपालमा स्कुल-लाइब्रेरी स्थापना गरी शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले प्रावि र निमाविस्तरका विद्यार्थीलाई मध्यनजर गरी पुस्तकालय स्थापना गर्ने गर्दछ ।

हालसम्म विश्वमा १६ हजारभन्दा बढी पुस्तकालय स्थापना गरिसकेको यस संस्थाद्वारा नेपालमा मात्र करिब ४ हजार ९ सय ५० ओटा पुस्तकालय स्थापना गरिसकेको छ ।

पुस्तकालयको वर्गीकरण

पुस्तकालयलाई विशेषगरी राष्ट्रिय, सार्वजनिक, शैक्षिक, विशिष्ट र निजी पुस्तकालयको रूपमा वर्गीकरण गरेको पाइन्छ । कुनै पनि राष्ट्रको विकासका लागि राष्ट्रको चाहना र आवश्यकताअनुसार राष्ट्रमा प्रकाशित ज्ञान-विज्ञानका सामग्रीहरू संकलन गरी पुस्तकालय सेवा प्रदान गर्न एवं अन्तर्राष्ट्रिय क्षेत्रमा देशको पुस्तकालय सेवाको प्रतिनिधित्व गर्नका लागि राष्ट्रिय पुस्तकालयको भूमिका अग्रस्थानमा रहेको हुन्छ ।

उदाहरणको रूपमा ‘द ब्रिटिस म्युजियम लाइब्रेरी– बेलायत (सन् १७५३)’, ‘द लाइब्रेरी अफ् कंग्रेस– अमेरिका (सन् १८००)’, ‘लेनिन स्टेट लाइब्रेरी– रसिया (सन् १८६२)’, ‘नेसनल लाइब्रेरी अफ् इन्डिया– भारत (सन् १९०३)’ र ‘नेपाल राष्ट्रिय पुस्तकालय (वि.सं. २०१३) लाई लिन सकिन्छ ।

यसैगरी, शैक्षिक संस्थाले आफूलाई आवश्यक एवं उपयोगी पाठ्यपुस्तक संकलन गरी सञ्चालन गरेका पुस्तकालयलाई शैक्षिक संस्थाका पुस्तकालय भनिन्छ । शैक्षिक क्षेत्रका पुस्तकालयहरूमध्ये त्रि-चन्द्र कलेजको पुस्तकालय नेपालको सबैभन्दा पुरानो पुस्तकालय मानिन्छ ।

२०१६ सालमा नेपाल सरकार र यूएसएआईडीको सहकार्यद्वारा काठमाडौंको लालदरबारमा सेन्ट्रल लाइब्रेरी स्थापना भएको पाइन्छ भने २०१६ सालमै त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै त्रिपुरेश्वरमा त्रिवि पुस्तकालयको पनि स्थापना भएको थियो । २०१९ सालमा सेन्ट्रल लाइब्रेरी र त्रिवि पुस्तकालयलाई मर्ज गरी त्रिवि केन्द्रीय पुस्तकालयको स्थापना गरियो । त्यसपछि कीर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय हालसम्म देशको सबैभन्दा ठूलो शैक्षिक पुस्तकालयको रूपमा परिचित छ ।

सबै वर्गका जनतालाई लक्षित गरी निःशुल्क पुस्तकालय सेवा प्रदान गर्नका लागि सञ्चालित पुस्तकालयलाई सार्वजनिक पुस्तकालय भनिन्छ । उपत्यकामा रहेका प्रचलित सार्वजनिक पुस्तकालयहरूमा नेपाल राष्ट्रिय पुस्तकालय–२०१३ (पुल्चोक), केसर पुस्तकालय–२०२६ (केसरमहल), डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय–२०६० (लाजिम्पाट), उपत्यका सार्वजनिक पुस्तकालय– २०६२ (भृकुटीमण्डप) आदि छन् ।

यस्तै, कुनै निश्चित विषय वा क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएका पुस्तकालयलाई विशिष्ट पुस्तकालय भनिन्छ, जसमा जमलमा स्थित कानुन पुस्तकालयलाई लिन सकिन्छ । कुनै व्यक्तिविशेषले पाठ्यसामग्री संकलन गरी स्थापना गरेको पुस्तकालयलाई निजी पुस्तकालय भनिन्छ ।

मदन पुरस्कार पुस्तकालय–२०१२ (पाटनढोका) यसको रूपमा लिन सकिन्छ भने यहाँ नेपाली भाषामा प्रकाशित पाठ्यपुस्तक प्राप्त गर्न सकिन्छ । प्रायः निजी पुस्तकालय पछि गएर सार्वजनिक पुस्तकालयको रूपमा सञ्चालित भएको पाइन्छ । यस्तै, विदेशी संस्थाका पुस्तकालयहरूमा नेपाल–भारत पुस्तकालय (सुन्धारा), अमेरिकन लाइब्रेरी (महाराजगन्ज), ब्रिटिस लाइब्रेरी (हाल यो पुस्तकालय बन्द भएको हुँदा यहाँका पाठ्यसामग्री उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा राखिएको छ भने ब्रिटिस काउन्सिल नेपालमार्फत ‘डिजिटल लाइब्रेरी’ मार्फत सेवा उपलब्ध गराउने गरिएको छ) आदि रहेका छन् ।

नेपालमा अहिलेसम्म सार्वजनिक पुस्तकालयको संख्या यकिनसाथ भन्न नसकिए तापनि (खुल्ने र केही वर्षमै बन्द हुने भएकाले) विभिन्न संकलकको तथ्यांकलाई आधार मानेर हेर्दा यो संख्या ६ सयदेखि १ हजारको बीचमा रहेको पाइन्छ ।

नेपालमा पुस्तकालयको इतिहास हेर्दा १५ भदौ १८६९ साल (सन् १८१२ अगस्ट २८) मा तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहबाट ‘पुस्तक चिताई तहबिल’ नाम राखी पुस्तकालयको औपचारिक स्थापना भएको पाइन्छ । यही मितिलाई आधार मानी नेपालमा २०६५ सालदेखि भाद्र १५ गतेलाई ‘पुस्तकालय दिवस’को रूपमा मनाइने गरिएको छ ।

पुस्तकालय किताब राख्ने ठाउँ मात्र नभएर हरेक वर्ग, क्षेत्र एवम् समुदायका लागि आवश्यक ज्ञान र सूचनाको केन्द्र हो । विकसित राष्ट्रहरूमा आमजनमानसको दैनिक जीवनमा आइपर्ने हरेक प्रकारका सूचना प्रायः पुस्तकालयबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको हुन्छ । हरेक व्यक्तिको जीवनयापनलाई सहज बनाउन पुस्तकालयको भूमिका अग्रस्थानमा हुने गर्दछ ।

पुस्तकालय किताब राख्ने ठाउँ मात्र नभएर हरेक वर्ग, क्षेत्र एवम् समुदायका लागि आवश्यक ज्ञान र सूचनाको केन्द्र हो । विकसित राष्ट्रहरूमा आमजनमानसको दैनिक जीवनमा आइपर्ने हरेक प्रकारका सूचना प्रायः पुस्तकालयबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको हुन्छ ।

नेपालको सन्दर्भमा पुस्तकालयको महत्त्वप्रति आवश्यक मात्रामा सम्बन्धित निकायको ध्यान पुग्न सकेको देखिँदैन । पुस्तकालयसँग सम्बन्धित निकायकै यसको महत्त्वप्रति चासो कम हुनु, दक्ष जनशक्ति परिचालनमा ध्यान नपुग्नुजस्ता कारणले यसको विकास र विस्तार हुन नसकेको पाइन्छ ।

कुनै पनि देश विकास र समृद्ध हुनका लागि सबैभन्दा पहिला त्यहाँका नागरिक शिक्षित अनि सचेत हुन जरुरी हुन्छ । तर, हामी भने सम्बन्धित ज्ञानका कमीका कारण कतिपय निर्णय अरुको भरमा गर्ने गर्छौं । अतः देशको अवस्था कमजोर हुनुमा सरकार एवम् सम्बन्धित निकायलाई मात्र दोष दिने हाम्रो मानसिकताबाट विस्तारै हामी आफू पनि परिमार्जन हुन आवश्यक छ ।

अन्त्यमा, पुस्तकालय ज्ञान, शिक्षा र सूचनाको केन्द्र रहेको हुँदा आजको आधुनिक युगमा डिजिटल प्रविधिसँगै पुस्तकालयको भूमिका अझ व्यापक र प्रभावकारी बन्दै गएको छ । विश्वमा सशक्त, शिक्षित र सचेत समाज निर्माणका लागि पुस्तकालयको विकास र प्रवर्धन अपरिहार्य छ । पुस्तकालय हरेक प्रकारका ज्ञानको स्रोत र आजीवन सिकाइको आधार भएको हुँदा यसको प्रयोगबाट बौद्धिक विकास, सभ्य समाज निर्माण, संस्कृति र इतिहास संरक्षणलगायत समाज र राष्ट्र सबैका लागि महत्त्वपूर्ण रहेको हुँदा हरेक देशका सम्बन्धित निकायले यसको सही व्यवस्थापन गर्नु आवश्यक छ ।

जुनसुकै क्षेत्रको विकास र विस्तारका लागि त्यस क्षेत्रसँग सम्बन्धित जनशक्ति नै अग्रसर हुन आवश्यक हुन्छ । नेपालमा भने पुस्तकालय स्थापना भएको २ सय १५ वर्ष हुँदा पनि यसको महत्त्वको बारेमा सम्बन्धित व्यक्ति एवम् निकायमार्फत इमानदारीपूर्वक भूमिका निर्वाह र आवश्यक पहलकदमी नहुँदा यसको व्यवस्थापन, विकास र विस्तार हुन नसकेको हो ।

नेपाल आजको अवस्थामा आइपुग्नुको पछाडि पुस्तकालयको महत्त्वका बारेमा सम्बन्धित निकायको ध्यान नपुग्नु र यसको पहुँच आमजनमानसमा पुर्‍याउन नसक्नुको कारण पनि एक कारक हो भन्दा अत्युक्ति नहोला ।