सर्लाही ४ सँग मेरो सम्बन्ध पारिवारिक रूपमा विस्तार हुँदै गएको छ : सभापति थापा
२०८२ फागुन २ शनिवार १९:०८
shares

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही दिशामा अघि बढाउने स्पष्ट सोच, दृढ संकल्प र ठोस कार्ययोजना कांग्रेससँग रहेको बताउनुभएको छ ।
सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका सभापति थापाले आज शनिबार मतदातासँगको भेटघाटमा विगतका कमी-कमजोरीबाट पाठ सिक्दै वर्षौँदेखि प्रतिबद्धता जनाइए पनि पूरा हुन नसकेका कामलाई अब कार्यान्वयनमा लैजाने तयारीसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘दोस्रो विशेष महाधिवेशनपछि कांग्रेस नयाँ सोच र संरचनासहित अघि बढेको छ । अबको पाँच वर्षलाई लक्षित गरी हाम्रो योजना, ऊर्जा र प्रतिबद्धता तयार छ । विगतका अनुभवले हामीलाई सिकाएको छ, त्यसैले आगामी प्राथमिकता र कार्यदिशा दुवैमा हामी स्पष्ट छौँ ।’
सभापति थापाले युवालाई विदेश पलायन हुन नदिन स्वदेशमै रोजगारी सिर्जना गर्नु प्रमुख एजेन्डा भएको उल्लेख गर्नुभयो । त्यसका लागि निजी क्षेत्रलाई नीति–नियममार्फत प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘प्रत्येक वर्ष करिब पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने चुनौती हाम्रो अगाडि छ । यो काम सरकार मात्रले सम्भव हुँदैन । निजी क्षेत्रसँग सहकार्य गरेर लगानी बढाउनुपर्छ । सूचना प्रविधि क्षेत्रले नयाँ सम्भावना देखाएको छ । युवालाई दक्ष बनाउँदै विदेशी लगानी आकर्षित गर्न सकिन्छ । स्पष्ट नीति, सक्षम जनशक्ति र सहयोगी सरकार भए विश्वभरका लगानीकर्ता नेपालतर्फ आकर्षित हुने वातावरण बन्छ,’ उहाँले भन्नुभयो ।
सर्लाही–४ मा आगामी एक वर्षभित्रै शिक्षा, स्वास्थ्य र उद्यमशीलता क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफ्नो ज्ञान र अन्तर्राष्ट्रिय सञ्जाल प्रयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
यसैबीच, सभापति थापाले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारनन्दन चौधरी लगायतलाई कांग्रेसमा स्वागत गर्नुभएको छ । बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी, लोसपाका महासचिव तथा हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्रसहित विभिन्न दल परित्याग गरेका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा सभापति थापाले सर्लाही ४ सँग आफ्नो सम्बन्ध अब औपचारिक मात्र नभई पारिवारिक रूपमा विस्तार हुँदै गएको उल्लेख गर्नुभयो । ‘यहाँबाट पाएको माया, विश्वास र आत्मीयतालाई म कहिल्यै व्यर्थ जान दिनेछैन,’ उहाँले भन्नुभयो ।
















