अझै घट्यो वाणिज्य बैंकहरुले दिने ब्याज
२०८२ फागुन १ शुक्रवार ०८:३९
shares

काठमाडौं । वाणिज्य बैंकहरुले फागुनका लागि पनि ब्याजदर घटाएका छन् । निक्षेप निरन्तर बढिरहेका बेला कर्जाको मागमा सुधार नभएपछि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।
वाणिज्य बैंकहरुले माघको तुलनामा फागुनमा दिने व्यक्तिगत मुद्दती निक्षेपको ब्याज औसतमा ०.११ प्रतिशत बिन्दुले घटेर ४.५७ प्रतिशतमा झरेको छ । माघमा मुद्दती निक्षेपको ब्याजदर औसत ४.६८ प्रतिशत थियो ।
फागुनका लागि २० मध्ये नौवटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ बैंकले यथावत् राखेका छन् । सञ्चालनमा रहेका २० मध्ये पाँच वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत माथि छ ।
नेपाल बैंकको सबैभन्दा धेरै ५.१ प्रतिशत छ भने हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया र एनएमबी बैंकको ५ प्रतिशत छ । ग्लोबल आईएमई बैंकले फागुनका लागि ४.७५ प्रतिशत बनाएको छ । त्यस्तै प्रभु, नबिल र माछापुच्छ्रे बैंकको समान ४.५५ प्रतिशत छ ।
फागुनका लागि सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र सिटिजन्स बैंकको समान ४.५ प्रतिशत छ । कुमारी बैंकले ४.४३ प्रतिशत यथावत् राखेको छ ।
सिद्धार्थ, एभरेस्ट, नेपाल एसबीआई, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ अधिकतम ब्याज दिनेछन् । व्यक्तिगत मुद्दती निक्षेपको मात्रै नभएर संस्थागत मुद्दती निक्षेपको पनि औसत ब्याजदर घटेको छ ।
अहिले बैंकिङ प्रणालीमा १४ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । त्यसमाथि निक्षेप लगातार बढिरहेको छ भने कर्जाको माग अत्यन्तै सुस्त छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पुससम्ममा जम्मा डेढ खर्ब कर्जा विस्तार भएको छ ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तार हुने लक्ष्य तय गरेको छ । तर, ६ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले मात्र बढेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत छ ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत छ भने कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत छ । मुद्दती निक्षेपको ब्याजदर घट्दा लागत घट्ने भएकाले बैंकहरुले कर्जाको ब्याजदर पनि घटाउने गर्छन् ।

















