बालकृष्ण शिवाकोटी स्मृति पुरस्कार २०८२ प्रदान
२०८२ माघ २९ बिहीवार २२:५५
shares

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनद्वारा आयोजित माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय बालकृष्ण शिवाकोटीको स्मृतिमा आयोजित कार्यक्रमअन्तर्गत पुरस्कार वितरण तथा समापन समारोह माघ २८ गते काठमाडौंमा सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसी भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार, शिक्षाविद् तथा विद्यार्थीको उल्लेख्य उपस्थिति थियो ।

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । स्थलगत कविता लेखनतर्फ उत्कृष्ट प्रदर्शन गर्दै केएमसी स्कुलका विधान सापकोटाले प्रथम स्थान हासिल गरी नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाल वेदविद्याश्रमका पंकज विनाडीले द्वितीय स्थान हासिल गरी नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । रत्नराज्य माध्यमिक विद्यालयकी लक्षिता भण्डारीले तृतीय स्थान हासिल गरी नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । अन्य सात जना विद्यार्थीलाई जनही नगद १ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले साहित्यले समाजको चेतना विस्तार गर्ने उल्लेख गर्दै युवा पुस्तामा सृजनशीलता विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले विद्यार्थीलाई निरन्तर अध्ययन र लेखन अभ्यासमा लागिरहन प्रेरित गर्नुभयो ।
अध्यक्ष शान्ता शिवाकोटीले स्वर्गीय बालकृष्ण शिवाकोटीको स्मृतिलाई जीवित राख्दै नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





















