एनआरएनए स्टेरिङ कमिटी बैठक : सदस्यता प्रमाणीकरणदेखि स्वतन्त्र अडिटसम्मका निर्णय
२०८२ माघ २९ बिहीवार ०७:५५
shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको १०औ बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । शनिबार सम्पन्न बैठकमा सदस्यता व्यवस्थापन, प्रतिनिधि छनोट, निर्वाचन प्रक्रिया तथा आर्थिक पारदर्शितालगायत विषयमा महत्वपूर्ण निर्णय गरिएको हो ।
बैठकले हाल मेम्बरसिप रजिस्ट्रेसन सिस्टममा विद्यमान पञ्जीकृत सदस्य, हाई लेभल कमिटीबाट प्राप्त सदस्य र समान्तर एनसीसीबाट प्राप्त पञ्जीकृत सदस्यहरूको संख्यालाई सांख्यिकीकरण गर्ने निर्णय गरेको छ ।
सबै पञ्जीकृत सदस्यहरूको इमेल वा फोन नम्बर अनिवार्य रूपमा अद्यावधिक हुनुपर्ने र उक्त विवरणलाई सम्बन्धित एनसीसी तथा बृहत् एकतामा समाहित दुवै कार्यसमितिबाट प्रमाणीकरण गर्नुपर्ने निर्णय भएको छ ।
अक्टोबर २०२५ मा तय भएको १२औं महाधिवेशनका लागि यसअघि डेलिगेट आवेदन दिएका आवेदकहरूलाई पुनः सहमतिका लागि इमेलमार्फत जानकारी गराइने कमिटीले जनाएको छ । तोकिएको समयभित्र असहमति नआएका प्रतिनिधिको आवेदन पुनः प्रमाणीकरण गरिनेछ भने नयाँ आवेदकका लागि नेपाली समयअनुसार १३ तारिख राति १२ बजेसम्म आवेदन खुला राखिने निर्णय गरिएको छ ।
दुवै पक्षबाट संख्यात्मक अनुमोदन गर्ने वा सम्बन्धित सदस्यहरूको गैरआवासीय हैसियत प्रमाणित गर्ने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । अन्तिम डेलिगेट सूची १४ फेब्रुअरीभित्र सम्बन्धित एनसीसीहरूले पठाइसक्नुपर्नेछ ।
बैठकले निर्वाचन डेलिगेट, निर्वाचन प्रक्रिया तथा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्न स्पष्ट कार्यविधि तयार गर्ने निर्णय गरेको छ । त्यस्तै एनआरएनएका दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी र विश्वसनीय बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने निर्णय भएको कमिटीले जनाएको छ । उक्त अडिट प्रक्रियाको संयोजन पूर्वअध्यक्ष आरके शर्माले गर्नुहुनेछ ।

















