कवितासंग्रह “ग्रहणदान” पुस्तक सार्वजनिक
२०८२ मंसिर १ सोमवार १३:११
shares

काठमाडौं । कवि तथा लेखक वेद भट्टराईद्वारा लिखित कवितासंग्रह “ग्रहणदान” पुस्तक सार्वजनिक भएको छ ।
सोमबार पैरवी बुक हाउस प्रा.लि.को आयोजनामा काठमाडौँको पुतलिसडकस्थित ग्रिनलिफ रेस्टुरेन्ट एण्ड क्याफेमा एक समारोहबिच कवितासंग्रह सार्वजनिक गरिएको हो ।
वरिष्ठ साहित्यकार तथा समालोचक कृष्ण धारावासीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता पैरवी बुक हाउस प्रा.लि.का अध्यक्ष अधिवक्ता चन्द्रप्रसाद सिवाकोटीले गर्नु भएको थियो ।
कविता–सङ्ग्रह ‘ग्रहणदान’को पैरवी बुकका चन्द्रप्रसाद शिवाकोटी, साहित्यकार कृष्ण धारावासी, कथाकार डा. टीकाराम पोखरेल तथा साहित्यकार सुधा शर्माले टिप्पणी तथा धारणा राख्नुभएको थियो ।

छन्दमुक्त शैलीमा लेखिएका ५३ कविताहरू ‘ग्रहणदान’ शीर्षककै गहिराइमा अडिएको देखिन्छन् । पुस्तक पहिले लेखिएको भए पनि यसको भावभूमि अहिलेको सामाजिक अवस्थासँग उत्तिकै सान्दर्भिक रहेको र युवालाई स्वदेश फर्कन प्रेरित गर्ने, राजनीति र प्रशासन क्षेत्रबारे टिप्पणी गर्ने, समाजमा देखिएका द्वैध चरित्र र जीवनका वास्तविकताहरू उजागर गर्ने विषयवस्तु समेटेको उल्लेख गरेका थिए ।
पैरवी बुक हाउस प्रा.लि.ले प्रकाशन गरेको यस कवितासंग्रह १२० पृष्ठमा रहेको छ भने मूल्य रु.२७५/– रहेको छ । पुस्तकको लेआउट डिजाइन एस.के.डी. ग्राफिक एण्ड प्रिन्टिङ सोलुसनले गरेको हो ।




















