दूतासका कर्मचारीको फोन वेबसाईटमा सार्वजनिक
सान् फ्रान्सिस्को, अमेरिका
जनवरी २९, २०२५ ।
अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा क्षेत्रमा चार महिनामा नेपाल सरकारको कार्यालयका रुपमा कन्सुलेट अफिस सुरु हुने भएको छ । अमेरिकाका लागि हाल कार्यबाहक राजदूत तथा नेपाली राजदूताबास वासिङटन डीसीस्थित नियोग उपप्रमुख शरदरराज अरनले सरकारले निर्णय कार्यान्वयनका लागि कार्यालय सञ्चालन प्रक्रिया थालेको जानकारी दिनुभएको हो ।
नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा आयोजित एवं नेजाका बोर्ड सदस्य ईश्वरी न्यौपानेको सहजीकरणमा भएको अन्तरक्रियामा अरनले भन्नुभयो, ‘नेपाल सरकारले यहाँको डिपार्टमेन्ट अफ स्टेटलाई पत्राचार गरिसकेको छ । सहमति आएपछि बजेटका लागि पठाइन्छ । सरासर काम भयो भने ३ देखि ४ महिनामा कन्सुलेट कार्यालयको प्रक्रिया टुङ्गिन्छ ।’
क्यालिफोर्नियाका ७० प्रतिशत नेपाली सान् फ्रान्सिस्को क्षेत्र पर्ने उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने तथ्याङ्क अध्ययनमा देखिएको उल्लेख गर्दै यस क्षेत्रमा कन्सुलेट कार्यालय स्थापना गर्ने सरकारको निर्णयले धेरैलाई लाभ हुने अरनले बताउनुभयो ।
नेजाले राहदानी तथा कन्सुलर शिविर सञ्चालनका लागि सान फ्रान्सिस्को आउनुभएका कार्यबाहक राजदूतसँग अन्तरक्रिया गरेको थियो । सो अवसरमा अरनले दूतावास र समुदाय जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अहिलेको समय पार्टनरसिप र कोलाबोरेसनको हो,’ दूतावासबाट सरल सेवाका लागि आफूले केही सुधार गरेको जानकारी दिँदै अरनले भन्नुभयो, ‘जनताका गुनासालाई छिटो सम्बोधन गर्दै सेवा सरल बनाउने सुरुवात भएको छ ।’ साँढे दुई महिनाअघि आउनुभएका अरनले टेलिफोन नउठ्ने समस्या अब नहुने बताउनुभयो । दूतावासमा टेलिफोन नउठ्ने गुनासो सबैभन्दा बढी हुने गरेको छ । कोही टेलिफोन घन्टी नै नबज्ने, कुनै नम्बर सञ्चालनमा नै नभएका सबैको अध्ययन गर्दै छिटो सेवा प्रवाहको व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ थियो । उदाहरण दिँदै अरनले भन्नुभयो, ‘अहिले सबै कर्मचारीको मोबाइल नम्बर वेबसाइटमै राखिएको छ ।’ कर्मचारीको नम्बर सार्वजनिक गरिएको यो पहिलो पटक हो । https://us.nepalembassy.gov.np/embassy-officials/ मार्फत दूतावास प्रविधि एवं अन्य कार्यक्रमविज्ञ तथा संघ-संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।
युनिभर्सिटी अफ क्यालिफोर्निया फ्रेस्नोका प्राध्यापक डा. मोहन डाँगीले दूतावास र नेपाली समुदायको सहकार्यबाट डायस्पोराको समस्या सामूहिक रुपमा हल गर्न सकिने बताउनुभयो । समुदायको सेवा विस्तार गर्न दूतावास उत्सुक हुनुपर्ने डाँगीको धारणा थियो ।
सोही अवसरमा युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीका प्राध्यापक डा. आमोदकुमार पोखरेलले क्यालिफोर्नियामा नेपालीको जनसांख्यिक अवस्थाका बारेमा एक अध्ययन पत्र प्रस्तुत गर्नुभएको थियो । अमेरिकामा जनसंख्या लिएको सन् २०१० को भन्दा सन् २०२० मा २ सय १६ प्रतिशत नेपाली बढेको जानकरी दिँदै उहाँले भन्नुभयो, ‘पछिल्लो पाँच वर्षमा यो संख्या झन् बढेको छ । रेकर्डमा नआउने नेपालीको संख्या झन् धेरै छ ।’ यहाँको कन्ट्रा कोस्टा काउन्टीमा त ५ सय ४५ प्रतिशतले नेपालीको जनसंख्या वृद्धि भएको तथ्याङ्क पोखरेलले प्रस्तुत गर्नुभयो ।
नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) का अध्यक्ष प्रितेश कार्कीले दूतावासको सेवा लिन निकै सास्ती खेप्नुपर्ने समस्या अब कन्सुलेट कार्यालय खुलेपछि सहज हुने बताउँदै दूतावासमार्फत सरकारलाई धन्यवाद दिनुभयो । ‘दूतावासको नयाँ टिमको कामप्रति अहिले देखिएको लगाव र सेवा भाव वास्तबमै प्रशंसायोग्य छ,’ कार्कीले भन्नुभयो । एनआरएनए क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालले पनि दूतावास सहयोगी भइदिन अनुरोध गर्नुभयो ।
सो कार्यक्रममा नेपाल वातावरण समूह नेफेजका पूर्वअध्यक्ष सहजमान श्रेष्ठ, अध्यागमन वकिल यज्ञ नेपाल, नेजाका सल्लाहकार सरोज काफ्ले, समाजसेवी मोहन वलीलगायतले दूतावास र समुदायको सहकार्यले मात्र जनतामा धेरै सेवा प्रवाह हुन सक्नेमा जोड दिनुभयो ।
(समाचार/फोटो स्रोतः नेजा ।)