• २०८१ मङ्सिर ६ गते बिहिवार

बिहान पौने ६ जति बजेको हुँदो हो नेताजी बिउँझिदा । पलङको र्याकबाट मोबाइल तानेर चोर औंलाको दह्रो दबावका साथ स्वीच अन गर्नुभयो । ७ वटा मिस्ड कल नोटिफिकेशन रैछन्, नसम्झिएका नम्बरहरूलाइ डायल गरेर हेर्नुभयो, नाम देखिएपछि काट्नु भयो । २ वटा नम्बर सेभ भएका रहेनछन्, त्यत्तिकै छाडिदिनुभयो । नेताजीको मोबाइलका किहरू थिच्ने तरिका उर्जावान रहेछन्, उहाँको पार्टीका सिद्धान्तजस्तै, ड्याम् ड्याम् ।

हिजोको कुदाकुदले लोथ ज्यान बिहान उठ्दा हल्का असहजै रहेछ । बिस्तारै उठेर ट्वाइलेट जानुभयो । फर्केर डसनामुनीबाट खैनीको प्याकेट निकालेर मोल्न थाल्नुभो । थकित शरिर अझै सुतुँजस्तो लाग्यो, तर उर्जा प्रचूर भएकाले खैनी मडाइमा उर्जा पोख्नुभो । दुइचार पटक एउटा हत्केलाबाट अर्कोमा सार्दै, अघिल्लोमा फू फू गरेर धूलो फाल्दै १ मिनेटजत्तिमै स्वर्ण रंगको खैनी तयार भयो । तल्लो ओठको देब्रेपट्टि चेप्नुभो । दाहिनेपट्टि चुनाले हल्का खाएर चहर्याइरहेको रैछ । सिरानी ठड्याउनुभयो र अडेस लागेर बस्नु भयो । नेताजीले त्यसपछि फोनमा फेसबुक थिच्नुभयो, लगातार तल तल सार्दै लाइक गर्दै जानुभयो । केही केहीमा भने इमोजी वा अरूले गरेका रिप्लाइ कपी गर्दै आफुले रिप्लाइ गर्ने ठाउँमा पेस्ट गर्दै जानुभयो ।

त्यसपछि नेताजीले नोटिफिकेशनमा आएका र अरूले पोस्ट गरिभ्याएका/नभ्याएका जन्मदिन, वर्षगाँठ, बढुवा, पुरस्कार, रिजल्ट, भ्रमणआदि हरेक सन्दर्भका तत् तत् व्यक्तिसँगका आफ्ना फोटा खोज्दै, हाल्दै ट्याग गर्दै पोस्ट गर्न थाल्नुभयो । इमोजी आफैंले खोज्नुभयो, टेक्स्ट भने अरूका बाट कपी गर्नुभयो । नेताजी निक्कै ट्यालेन्ट भैसक्नुभाछ ।

नेताजीले त्यसपछि आफ्नो वालमा भेटिएका बिरामी, अशक्त, अस्पतालमा भर्ना, घरमा थला आदिका पोस्ट थाल्नुभयो । एकजना ताजा बिरामीसँग नेताजीको सेल्फी छैन रैछ, “अहो! जानै पो भ्याको छैन त, थैत!” नेताजीले आजै दिउँसो यो कर्म पनि सक्ने आफैंसँग वाचा गर्नुभयो । नेताजीले आफूसँगको वाचा चैं कति पूरा गर्नुभयो, बुझ्न तल पढ्दै जानुहोस् । बुझ्न मन नलागे बालै फरर! फोनमा नयाँ नोटिफिकेशन बज्न थाले ।

पौने सात बजिसकेछ, नेताजी अब भने जुरूक्कै उठ्नुभो । घाँटी खरो भयो । पलङको र्याकमाथि जगमा पानी राखेको थियो, घट्घट् पार्नुभो, लगभग पौने लिटरजत्ति नै । ट्वाइलेटले ठेल्यो । नेताजी ट्वाइलेट छिर्नुभो ।

फर्केर नेताजीले पहिले सहयोगीलाइ फोन लाउनुभयो, “ओइ केटा, काँ छस् ?” उताबाट के जवाफ आयो कुन्नी, यता नेताजीले भन्नुभो, “अँ दिनेशलाइ भनेर कागज झिका, अर्थमा मैले भन्देको छु, शाखामा ग’र भेट् । अनि अरू त बुझिहाल्छस्, भेटेरै भनुँला फोनमा नगरूम् है” । उताबाट के जवाफ आयो कुन्नी, यता नेताजीले हतारमा भन्नुभो, “अँ अँ सुन् न, कस्तो हतार हौ! ३ बजेतिर बिरमा आइज । यी नानाथरी म चिन्दिनँ, भोटर हुन्, भेट्नु त परो ।” फोन काटियो, नेताजीका औंला उर्जावान छन्, कुन दिन फोनको स्क्रिन रत्नपार्कको रेलिङ हुने हुन्!

भान्सामा छिरेर नेताजीले ग्याँस चुलो बाल्नुभो, ताप्के भेटिएन । चुलो निभाउनुभो । चुलोमाथिबाट ओट्सको बट्टा झिक्नुभो । फेरि चुलो बाल्नु भो । दौडिँदै सुत्ने कोठामा पुग्नुभो, दूधसहितको ताप्के ल्याएर बलेको चुलोमा बसाल्दा पनि नेताजीको उर्जा पोखियो, ताप्के दह्रै रैछ ।

ताप्के बसाएर फेरि फेस्बुक खोल्नु भयो, कत्ति हो नोटिफिकेशन पनि! लाइक गर्दाओर्दा दूध मात्तिसकेछ । हतारहतार ताप्के समाउनुभयो, बिँडले हात डाम्यो, ताप्के दूर्घटनामा पर्यो । नेताजीको संघर्ष गर्दाताकाको कमाइ ताप्के, दह्रै रैछ, फुटेन । “थुक्कः” नेताजीको मुखबाट अनायास मात्र निस्कियो ।

नेताजी फनक्क कोठा फर्किनुभो । खादीको जस्तो देखिने सर्ट, माथिबाट इस्टकोट, तल्तिर प्यान्ट लाउनुभो । शीरमा ढाका टोपी पहिरिनुभो । मोबाइल थिचेर पठाउ बोलाउनुभो । बाहिर निस्केर जुत्ता लाउनुभो । चाबी भित्रै बिर्सिएछ । “थुक्कः” यतिबेला मनमनै निस्कियो ।

चाबी लिन भित्र जाँदा फोन आयो । उताबाट बोल्न नपाइ “लोकेशनमा बस् भाइ, आएँ” भनेर फोन काट्नुभो ।

हस्याङफस्याङ गर्दै तल झरेर नेताजीले पछाडि फर्केर जीतको भावमा घर हेर्नुभो । ४ तलाको घरमा तेस्रो तलामा नेताजीको फ्ल्याट छ, कुनै निकट कार्यकर्ताले स्पोन्सर गरिदिएको । नेताजी प्राय एक्लै बस्नुहुन्छ, कहिलेकाहीं अनुकूलताअनुसारका साथी ल्याउनुहुन्छ ।

पठाउले फेरी फोन बजायो, अघिल्तिरै रैछ । फोन काटेर पठाउको दाहिने काँधमा आफ्ना उर्जावान दाहिने हात घड्याप्प दाबेर नेताजीले, “हिँड भाइ” भन्नुभो, पठाउ हुइँकियो ।

बाइक कोटेश्वरको एउटा गल्लीमा रोकियो । गलत लोकेशन भएकाले पठाउले “पुगेन सर” भन्यो । नेताजीले “भाइ, हामीले गर्दा पाको सुविधा हो, अलिक ख्याल राख है” भन्नुभो । अधवैंशे पठाउ विद्रोहबाट थाकिसकेको थियो क्यारे, निरूत्तर भै रिस बाइकको एक्सिलेटरमा पोख्यो ।

नेताजीले दुवै हात उचालेर उर्जावान अभिवादन गरून्जेल चिया आइसकेको थियो । “तनाव छ प्रभू” नेताजी उवाच ।

अरूको कुरा सुन्ने समय नेताजीसँग समय थिएन । छेउमा बसिरहेका एकजनाको हातबाट माड्दै गरेको खैनी लिएर आफ्नै उर्जा खन्याउँदै नेताजी शुरू भए, “धपेडी छ यार, तनाव छ । कति गर्नु, कतिलाइ गर्नु, जस कइल्यै छैन ।”

चिया आइपुग्दा नेताजी खैनी च्यापिसकेर तयार हुनुहुन्थ्यो । फेरी वाणी शुरू भो, “आज सिंहदरबार नछिरी भाछैन । अर्थमा छ, श्रममा छ । कर्मचारी चेन्ज भाको भइ । तनाव छ हौ । बरू जागिर खानेको काइदा होला है ?” नेताजी हाहाहाहामा हाँस्नु भो ।

नेताजीका नियमित श्रवणकर्ता कर्मचारीको मुख बोल्नलाइ आँ मात्र हुन पायो । नेताजीको अगाडि अरूले पालो पाउन सक्छन् र ?

नेताजी फेरि शुरू, “भनेको ठाउँमा सरूवा गर्देकै छ, मोज छ नि! ल सर, दिउँसो मान्छे आउँछ एकजना, हेरिदिनु है! भोटर हो ।” कामको विवरण खुल्दैन, तर कर्मचारीले स्वीकारोक्तिमा टाउको हल्लाइसके । बोल्न त पाए पो ।

नेताजीले एकजनालाइ गुहारे, “मलाइ अनामनगर पुर्याउ पुर्याउ” । पौने नौ बजेको थियो । सिंहदरबारको ठूलो दक्षिण गेट खुल्न समय बाँकी नै थियो ।

शुभेच्छुकको बाइकमा चढेर ओझेल नहुन्जेल नेताजीको उर्जावान देब्रे हात उठिरहेकै थियो ।

अनामनगरबाट धोबीखोला छिर्दा बीचतिरको एउटा होटलमुनी नेताजी ओर्लिनुभयो । दोस्रो तलाको एउटा कोठा ढक्ढक्याउनुभयो । अभिवादन साटासाट भयो ।

“आज त हुन्छ नि है ?” नेताज्यूलाइ सोधियो ।

“हुन्छ सर हुन्छ । म लागेको लागै छु । कर्मचारीले दुख दिए यार ।” नेताजी उवाच ।

“धेरै लस भयो सर ।” दबेको आशामा पुनः सोधियो ।

“था छ सर कता के हुन्छ भनेर । हामीलाइ पनि काँ सजिलो छ त ? अइले पनि तपाइँकै लागि सिंहदरबार हिँडेको” नेताजीको बोलीमा झर्कानको उर्जा सुनियो । अब कुनै प्रश्न आएन ।

ढक् ढक् भयो । तल होटलबाट २ प्लेट खाजा आएछ । नेताजीले बिहानको दूध र ताप्के सम्झिँदा सम्झिँदै खाजा भ्याउनुभयो ।

“म निस्केँ है!”

“हुन्छ सर, आज चैं….” त्रसित तर आशापूर्ण शब्दहरू सकिन पाएनन्, नेताजी उडन्छू भैसक्नु भाथ्यो ।

“साला उडूस्” उसले आफैंलाइ सुनायो, भित्ताहरू खित्खिताए ।

पौने दशतिर नेताजी दक्षिण ढोकामा हुनुहुन्थ्यो नेपाल राज्यको प्रमुख शासनकेन्द्रको । गेट वरिपरि अनि गेट पास लिने झ्याल वरिपरि राम्रै भीड थियो । सुकिला मुकिला, हल्का सुकिला, मैलाआदि लुगा लगाएका गोरा, काला, गोला, नेप्टा, अग्ला, डल्ला, मोटा र दुब्ला मान्छेहरूको भीड । हरेकका मुहारमा आशा, निराशा, त्रास, विश्वासजस्ता फरक फरक भाव पढ्न सकिन्थ्यो, तर नेताज्यूलाइ त्यस्तो पढ्न जाँगर लाग्दैनथ्यो । फोन थिचे, “अँ, आइसकेँ गेटमा” ।

उताबाट के भनेर फोन काटियो कुन्नी, नेताजीले आफ्नोतिरको फोन काट्नै परेन । गोजीमा हुले ।

एक्कैछिनमा बबरमहलतिरबाट एउटा स्कोर्पियो आयो । नेताजी पछाडिको ढोका खोलेर भित्रिए । भीडमध्येको एकजना नेपाली जनताले नेताजीको गाडी चिन्यो, मनमनै ढुंगा हानेर गाडीको शिशा फुटालिदियो । उसको आँखामा आक्रोश सहजै पढ्न सकिन्थ्यो, तर नेताजी सिंहदरबार घुसिसकेका थिए ।

श्रम मन्त्रालयको दोस्रो तलाको एउटा कक्षमा पुग्नुभो नेताजी, मन्त्रीका पिएका अनगिन्तिमध्ये एक पिएसँग ।

कर्मचारी आइनसकेकाले त्यही कक्षमा बसेर खैनी माड्दै सामान्य गफ गर्दै बिताए दुवैजनाले । घरिघरि मोबाइल बजिरह्यो, बात भैरह्यो ।

“सर, अब त अड्काउनुभएन यार । हाम्रो पनि इज्ज्तको पनि सवाल छ । आफ्नो एरियाको मान्छे यार, कति दुख दिनु ।” मधेशी लवजका पिएका अनगिन्तिमध्येका ति पिएले भने ।

“हजुर सर, मैले त टिप्पणी फर्वाड गरिसकेकै हो नि । पिए साबलाइ नै सोध्नुस् न । वाँ माथि ग’र बसेको छ फाइल ।” कर्मचारीले जवाफ दिए ।

“यो लखना पनि बबजेटै छ ।” अनगिन्तिमध्येका ति पिए रिसाए ।

“खै एम्बेसीले गर्दैन भन्ने सुनेँ” । कर्मचारीले भने ।

“म मिलाइहाल्छु सर, मेरो साथी छ त्यहाँ । सरजी, मान्छे राख्नुपर्छ के, काम लाग्छ ।” पिएमध्येका पिए आफ्नो चतुर्याइँप्रति निर्धक्क थिए, एकलट मज्जाले हाँसे पनि । कर्मचारी पनि कुटिल हाँसे ।

नेताजी र पिएमध्येका पिए सँगै बाहिर निस्के ।

“भै हाल्छ । म गराइहाल्छु । १७ वटा भएन भने पनि ९/१० वटा त निकाल्दिन्छु । भरे पुरानै ठाउँमा भेटौं है! अनगिन्तिमध्येका ती पिएले नेताजीसँग बिदा लिएर स्कर्पियोमा छिरे । के गराउने हो, के १७ वटा हो, पुरानै ठाउँ कहाँ हो त्यो सब मलाइ थाहा छैन, पिएका पिए र नेताजीलाइ पक्कै थाहा छ ।

श्रम मन्त्रालयको आँगनमा उभिएर नेताजीले स्कर्पियोको गन्ध सुँघे । आफैंप्रति ग्लानि भएर आयो ।

“साला हिजोको फुच्चे केटो, हिजोको फुच्चे पार्टी! आफूले २० वर्ष जुत्ता ख्याउँदा पनि पठाउमा कुद्नु पर्छ ।” नेताजीले आफैंलाइ गिज्याउनुभयो ।

साढे ११ बजेछ । नेताजी लखरलखर अर्थमन्त्रालयको क्यान्टिनमा पुग्नुभयो । चिकेन र भातको कुपन काट्नुभयो । पैसा तिरेर कुर्सीमा बस्न नपाउँदै २/३ जनाको हुलमा सम्भावित स्पोन्सर भेटिए । नेताजीले एकछिन नकुर्दाको स्पोन्सरशिप गुमाउँदा खिन्नता भएर आयो, तर अनुहारमा देखाउनुभएन ।

१२ बजेतिर नेताजी अर्थ छिर्नुभयो । खै के गरे कुन्नी, एक्कै छिनमा निस्किहाल्नुभयो । अब कता जाउँ कता जाउँ भयो । दक्षिण गेटतिरै बाहिर निस्किँदै गर्दा पर्यटन मन्त्रालयको याद आयो । त्यहाँ त मन्त्री पनि आफ्नै पार्टीका छन् ।

हल्का सिमसिम पानीमा रूझ्दै, घरिघरि पेटिका रूखमुनी ओतिँदै नेताजी पर्यटन मन्त्रालय पुग्नुभो । “चाँजो मिले गाउँतिरको एउटा पर्पोजलमा हल्का बजेट सेटिङ हान्न हुन्थ्यो” मनको चिउरा घिउसँग चपाउँदै हिँड्दा नेताजीलाइ सिमसिम पानीले असरै पारेन ।

नेताजी सरासर मन्त्री कक्षमा पुग्नुभयो । मन्त्री कता उद्घाटनमा गएका रैछन्, पिए टोली पनि अनुपस्थित । कम्प्युटरमा शेयर बजार हेर्दै गरेका सुब्बासाबले नेताजीलाइ खासै मतलब गरेनन् । नेताजीको मनको चिउरामा ढुंगा परेछ, दाँत किट्किट भयो ।
पर्यटनमुनी नेताजी एकछिन टोलाउनुभयो । पानी पनि दह्रै पर्दैथियो । छाता हुनेहरू र नहुनेहरू दुवैथरि वरिपरि चहलपहल गर्दैथिए, नेताजीसँग भने कुनै विजनेश थिएन ।

अचानक सम्झना आयो, गोजीबाट फोन निकालेर अलिक मज्जैले थिचेर, “काँ छस् ? दक्षिण गेट आइज, बिर जाउँ” नेताजीउवाच ।

उताबाट “हुन्छ” भनियो क्यारे, नेताजी पानीको परवाह नगरि फटाफट निस्कनुभयो । गेटबाहिर निस्कँदै गर्दा पानी रहिसकेको थियो । काठमाडौंको पानी, सारै बैमानी ।

हनुमानथानतिरबाट आएको कार्यकर्ताको बाइक लेन मिच्दै दक्षिण गेटको देब्रेपट्टि रोकियो । नेताजी चढेपछि फेरि फनक्क घुमाएर हनुमानथानतिरै लाग्यो । ट्राफिकले सिट्टि बजाउँदाओर्दा बाइक ओझेल भैसकेको थियो ।

डेढ बजेतिर बिर अस्पतालको पल्लो बिल्डिङमा गार्डले रोक्न खोज्दा “अध्यक्षज्यूले बोलाउनुभाको” भनेपछि पार्किङमा सहज पहुँच भयो ।

इमर्जेन्सीअगाडि भीडभाड रैछ । नेताजीले यसो चिहाउनुभयो । हिजोअस्तीको एक हुण्डरी पार्टिका एक थान भाइरल नेताको वरिपरि क्यामेरा, मोबाइल, माइक अनि रित्ता मान्छेको भीड देखेर नेताजी बिस्तारै मुर्मुरिनुभयो, “साला पुलिसको लाठी खाने हामी, ढाड भाँचिने हाम्रो, आन्दोलन हाम्रो, शासन हाम्रो, सत्ता हाम्रो, ब्याज खाने यी!” नेताजीको कार्यकर्ताले “४ दिनको चाँदनी हो, यिनका देखुँला ।” भनेर नेताजीलाइ थुम्थुम्याउने प्रयास गर्यो ।

नेताजीले रूमालले मुख थुन्नुभयो, कार्यकर्ताले मास्क लगाएका थिए । तीन तलामाथि ३७१ नं. बेडमा पुग्दा बिरामीको खुट्टामा ब्यान्डेज लगाएर, बाँधेर, तन्काएर, हुकमा लगाएर एउटा लठ्ठामा अड्काएको, टाउकोमा लगाएको सेतो ब्यान्डेजबाट हल्का रगत लिक भएको, ऒठ सुकेको, आँखा विस्फरित, ज्यान ख्याउटो भएको बिरामीले नमस्कार गर्न खोज्दा उसको हात उठेन । नेताजी हतारहतार अघि बढेर उसको हात समाउनुभयो । कठै, दयालु नेताजी ।

बिरामी गलित श्वरमा बोल्यो, “पार्टी भनि भनि कुटे” । नेताजी के सम्झनामा हुनुहुन्छ कुन्नी, बोली फुटेको छैन ।

“रा…का बानहरूलाइ हामीले पनि काँ छोड्थ्यौं र, साला पुलिस सुलिस सब सेटिङ हानिसकेको रैछ । त्यै पनि एउटाको त करङ भाचियो” बिरामीका बलिष्ठ कुरूवाले अजंगको साहस देखाए । बिरामीको शरिर त्रासले काँप्यो । नेताजी अझै सम्झनामै हुनुहुन्छ, तर खासै कुरा आएन । बिरामीको खुट्टापटि टुसुक्क बसेकी एउटी महिला भने मूक छिन् । उनको अनुहारमा न कुनै भाव छ, न आशा, न आक्रोश । छ त बस् थकान, दिक्दारी । ति बिरामीकी श्रीमती हुनुपर्छ ।

नेताजीले गोजीमा हात हाल्नुभो । मोबाइल झिक्नुभो र कार्यकर्तालाइ दिनुभो । फोटो खिच्नुपर्ने कुरा कार्यकर्तालाइ थाहै छ ।

फेरि के सम्झनुभो, मोबाइल तान्नुभो, गोजीमै राख्नुभो । नेताजी अचानक खुशी हुनुभो, भित्रभित्रै फुरेको कुराले । तर बिरामी हेर्न आको मान्छे, खुशी देखाउन त भएन!

“भाइ, दिन सबैको आउँछ । तिनलाइ म छाड्दिनँ । मैले माथि कुरा गरिसकेको छु । अहिले सिधै सिंहदरबारबाट आको । सब हेर्छु । पर्देशमा फोन गैसक्यो । डिएसपी परिचालन भैसक्यो । अदालतमा पनि भन्न लाको छु ।”

बिरामीको गलित मुहार उज्यालो भएजस्तो देखियो ।

नेताजीले मौका छोप्नुभयो । बिरामीको कम्मरनजिक गएर मोबाइललाइ सेल्फी मोडमा लैजानुभयो । कार्यकर्ता, कुरूवा दुवैजना बिरामीको टाउकोपछाडि दायाँबायाँ बसे ।

“खिचिक्!” नेताजीको मुहारमा कुटिल तर ग्लानियुक्त मुस्कान र कार्यकर्ताको मुहारमा चम्चा टाइपको मुस्कान, कुरूवाको मुहारमा विजयी मुस्कान र बिरामीको मुहारमा आशावान मुस्कान कैद भयो । कुरूवा महिला भने बिरामीको खुट्टानजिकको कुर्सीमै थिइन्, तिनको अनुहारमा अहिले पनि कुनै भाव थिएन ।

लगत्तै कार्यकर्ताले नेताजीको तर्फबाट बिदा मागे, “ल है हामी जाने अब, कार्यक्रम छ आम्रपालिकामा । अनि त्यसपछि मन्त्री भेट्नुछ तपाइँकै केसलाइ ।”

उनीहरू हिँडी पनि हाले ।

ढोका बाहिर निस्किनेबित्तिकै नेताजी हल्का जंगिए, “केइ ले’र आउनु पर्छ नि, तँ मुलाङ् पनि!”

फोटो खिच्दै गर्दा नेताजीले “एउटा फलफुलको पोको र १/२ हजार हस्तान्तरण गर्न पाको भा” भन्ने सम्झिँदै ग्लानि गर्दा फोटोमा ग्लानि पनि खिचिएको थियो ।

“हजारको तेल हालिहालेँ, अरू कताबाट बनाउनु हौ भन्नेबित्तिकै!” कार्यकर्ता यतिबेला भने खिन्न थियो ।

“साला कसरी चैं हुन्छ हौ!” नेताजी पनि खिन्न हुँदै बिर अस्पतालको गन्हाउने सिँढि ऒरालो झरे ।

साढे ४ बजेछ ।

पार्किङतिर पुग्दैगर्दा कार्यकर्ताले भन्यो, “भोक लागो हौ!”

“आम्रपाली कि कता हो कार्यक्रम छ भन्थिस् त ?” नेताजीउवाच ।

“गफ लाको” छोटो जवाफ ।

“जाँ…. ।” नेताजी उवाच ।

“हिँड”

नेताजी बाइकको पछाडी चढिसक्नु भएको थियो ।उहाँको दाहिने हात कार्यकर्ताको दाहिने काँधमै थियो ।

त्यो भन्दा पहिल्यै नेताजीले सेल्फी पोस्ट गरेर स्ट्याटस लेखिसक्नु भएको थियो, ” प्रिय मित्र झम्कबहादुरलाइ स्वास्थ्यलाभको कामना, अस्पताल प्रशासनमा गइ डिस्काउन्ट सुनिश्चित । हाम्रा कार्यकर्तामाथि आक्रमण गर्नेलाइ छाडिने छैन । समय आउँछ ।”

राजधानी शहरको एउटा (कू)ख्यात तारे होटलअगाडि बाइक रोकियो ।

“टहल्दै गर है” भनेर नेताजी गेटभित्र लम्किनुभयो ।

“दाइ २०० जति….” भन्दैगर्दा नेताजी पछाडि नफर्की दाहिने हात उठाएर हल्लाउँदै हतारमा भित्र जाँदै हुनुहुन्थ्यो । कार्यकर्ताले मनमनै नेताजीलाइ व्याकरणयुक्त गाली गर्यो ।

दरबानको सलाम खाइवरी लबीमा पुग्दा नेताजी फोनमा हुनुहुन्थ्यो, “अँ म याँ आइसकेँ, कता हो भेट्नुपर्ने!”

तारे होटलका तारे पाहुनाहरूको लोभलाग्दो अवलोकन गर्दैगर्दा फोन आयो । ६ तलामाथि आउने निम्तो आयो । नेताजीले कर्मचारीसँग लिफ्ट देखाइमागेर ६ तला पुग्नुभयो ।

स्विमिङ पुल र रेस्टुराँ भएको त्यो तलाको एउटा कुनाको टेबुलमा ३ जना बसिरहेका थिए । पर्खाल आधा भएको हुनाले त्यहाँ बसिबसी आधा राजधानी देख्न सकिन्थ्यो ।

“साला यत्रो सिमेन्टीको जंगलमा आफ्नु एउटा जोड्न सकिएन” कुनाको टेबुलमा पुग्दैगर्दा नेताजीको खिन्नता यसरी बोलेको थियो । तर नेताजी चतुर हुनुहुन्छ, अनुहारमा आउन दिनुभएन ।

अभिवादन साटासाट गरेर नेताजीले “त्यो गर्नै पर्ने भयो हैन त हजुर ?” भन्नुभयो ।

एकजना प्रौढ युवक जङ्गिए, “यत्रो लगानी भयो तपाइँहर्कै आशामा । अहिले आएर ल्याङ गर्ने?”

नेताजी अकमकिनु भयो । पहिल्यै आएर बसेका अर्को पार्टीका नेताले अघिबाटै खप्की खाइसकेका रैछन् । उनको अनुहार पनि हेर्न लायकै थियो ।

“हैन म मिलाउँछु । मिलाउँदै त छु । अहिले पनि सिंहदरबारबाटै आको ।” नेताजीले ढुक्क पार्न खोजे ।

“हैन खासमा त्यो जग्गा नै निजी हैन रैछ, बढीजसो ऐलानी । अहिलेको मेयरले छुन खान दिन्न भन्छ । तर म मिलाउँछु पक्का ।” नेताजी उवाच ।

“हो र कमरेड ? मन्त्री आफ्नो पावर तपाइँको…” भनेर अर्को पार्टीको नेताले थप्यो ।

खासमा नेताजीहरू देखिनका लागि मात्रै फरक पार्टीका देखिँदा रैछन्, हुनलाइ सबैजसो साझा हुँदा रैछन् क्यारे! सिंहदरबारमा जो गए पनि पावरमा उनै नेताजी मात्रै हुन्छन्!

अरू यावत गफ गर्दा गर्दै लञ्च सर्व भयो । प्रौढ युवकको लागि एउटा लार्ज पेग आएपछि नेताजीहरूको पनि जिब्रो रसाएर चुह्यो । प्रौढ युवक व्यापारी थिए, उनी नेताजीहरूलाइ चलाउन राम्रो जान्दथे । उनले नेताजीहरूको लागि पनि लार्ज प्याग नै मगाए ।

लार्ज प्याग कतिवटा सकिए थाहा भएन । बाहिरिन खोज्दा नेताजी झण्डै स्वीमिङ पुलमा झरे । प्रौढ युवक मज्जाले मुस्काए । उनले नेताजीहरूबाट प्यागभन्दा बढीको काम लगातार खुस्काउँदै आइरहेका थिए ।

लिफ्टबाट कार्यकर्तालाइ फोन लगाउँदा फोन ट्वाक ट्वाक ट्वाक गरे बन्द भयो, नेटवर्क लागेन ।

तल झरेर फेरि फोन गर्दा उठेन ।

अर्को नेताजीले, “दाइ म पुर्याइदिन्छु” भनेर ड्राइभर बोलाए ।

मिटिङ लामै भएछ क्यारे, सुनसान भैसकेको राजधानीको सडकमा गाडी बेतोड हुइँकियो ।

कोटेश्वर कट्नेबित्तिकै हल्का जाम रैछ । ध्यान दिएर हेर्दा एउटा ट्रिपरले एउटा स्कुटी हानेछ, प्रहरीहरू भीडको आक्रोश खप्न संघर्षरत थिए ।

नेताजीहरूको गाडी रोकिएर तनाव लिने मुडमा थिएन, छु मतलब!

नेताजीलाइ गेटमुनी बिदा गरेर अर्को नेताजीको गाडी ब्याक भयो ।

११ बजिसकेछ ।

नेताजीले फेरि एकचोटी घरलाइ हेर्नुभयो । तीन तलामाथिको फ्ल्याट अँध्यारो थियो ।

लडबडाउँदै माथि पुगेर ढल्मलाउँदै चाबी खोल्नुभयो । पेगले घाँटी अख्रक्क भएको थियो । बत्ती बालेर ढोका लाउनुभयो । चुरोट सल्काउँदै भान्सातिर छिर्नुभयो । बत्ती बाल्नुभयो ।

बिहान दूर्घटनामा परेको ताप्के उत्तानै थियो । दूधको दागले भुइँ हेर्न लायकको थिएन ।

नेताजीले जगको पानी बोकेर सुत्नेकोठामा जाँदै गर्दा पहाडको घर, बाआमा, बालापन, खेत खलियान, मकैका बुटा, तराइमा डेरामा राखेकी श्रीमती, काखे नानी, दिनभरिको कुदाइ सम्झिन भ्याउँदा ओर्दा उहाँको शरिर ड्याम्म ओछ्यानमा ढलिसकेको थियो । जगको पानी भुइँमा पछारिएर किङ्रिङ्रिङ्रिङ बजिराखेको थियो ।

लागे पागे बुढिया के दोष!

यो गाइजात्रे नेताजीको दिनचर्या हो । हुन त नेता नै गाइजात्राजस्ता हुनुहुन्छ, देशै गाइजात्रामय छ । त्यसैले यहाँ उल्लेखित नेताजीका समग्र विवरण र काल्पनिक नामहरू सहि ठहरिएमा पनि गाइजात्रा, गलतै ठहरिए पनि गाइजात्रा है त! हाम्रो होस् नहोस्, समस्त नेताजीहरूको जय होस्!

सागरमणि दाहाल
गाइजात्रे देशको गाइजात्रे जनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *